site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

निर्माण योजनाको लागत अनुमानअनुसारको बजेट सुनिश्चत भएपछि शिलान्यास र सम्पन्न भएर जाँचपास भइसकेपछि उद्घाटन गर्ने चलन अहिले भर्सेलामा परिसक्यो । अब त कुनै दिन एकैपटक शिलान्यास र उद्घाटन गरिए पनि आश्चर्य नहुने भएको छ । 

प्रदेश नम्बर १ को पाँचथरमा निर्माणाधीन खानेपानी योजना पूरा नहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार उद्घाटन गरेका छन् । पाँचथरको तुम्बेवा गाउँपालिका - ३ मा तमोरबाट पानी तानेर वितरण गर्ने निर्माणाधीन  खानेपानी आयोजना निर्माण कम्पनीले हस्तान्तरण नै गरेको छैन भने धारा जडानलगायतका काम पनि पूरा भएका छैनन् । 

KFC Island Ad
NIC Asia

यसरी कामै नसकिएका आयोजना उद्घाटन गर्न हतार गर्नेमा देउवा पहिलो प्रधानमन्त्री भने होइनन् । पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले त नक्सा र लगत अनुमानै नगरिएका अनगिन्ती योजना शिलान्यास गरेका थिए भने काम नसकिएका थुप्रै आयोजनाको उद्घाटन पनि गरेका थिए ।

सामान्यतः निर्माणका क्रममा भएका त्रुटि, कमजोरी र बदमासी ढाकछोप र छलछाम गर्न ठेकेदार तथा आयोजनाका कर्मचारीहरूले यसरी उद्घाटन गराउन हतार गर्ने गरेको देखिन्छ । यस्तै योजनाको शिलान्यास वा उद्घाटन गर्दा सम्बन्धित क्षेत्रमा आफ्नो मत र प्रभाव बढ्ने भ्रममा राजनीतिक नेतृत्वले पनि आँखा चिम्लेर  तम्सने गरेको पाइन्छ । 

Royal Enfield Island Ad

पाँचथरको आयोजनामा पानी तान्ने काम सफल भएको रहेछ । खानेपानीका धारा जडानलगायतका कामै बाँकी रहेको त आयोजना प्रमुखले नै सकारेका छन् । यसैले त्यस आयोजनको प्रधानमन्त्री देउवालाई निरीक्षणसम्म गराएको भए हुन्थ्यो । अधुरो योजना उद्घाटन गराउनु त प्रधानमन्त्री पदकै उपहास गर्नुजस्तो भयो । 

ओलीका पालामा गरिएको धरहरा उद्घाटन र अवस्था हेरेर पनि कम्तीमा प्रधानमन्त्री देउवा सस्तो प्रचारवाजीबाट जोगिन सक्नुपर्थ्यो । धरहरामा पहिलो ठेकेदारले बेहोर्नु पर्ने रकम हतपत गरिएको शिलान्यास र उद्घाटनका चक्करमा कतै लतपत भएर हरायो । 

अधुरा आयोजना उद्घाटन गर्ने परम्परा नै बसाउने हो भने बजेटमा ‘निर्माणाधीन उद्घाटित आयोजना’ नयाँ शीर्षकमा रकम विनियोजन गर्नुपर्ने भयो । सम्भवतः संसारमा कतै पनि यस्तो शीर्षकमा रकम विनियोजन नहोला । उद्घाटन भइसकेको योजनालाई सम्पन्न मान्ने कि नमान्ने भन्ने अर्को दुबिधा पनि हुनेछ ।

यसैले अब योजनाको लगत अनुमान र नक्सा नै नबनाई शिलान्यास र योजना सम्पन्नै नभई उद्घाटन गर्ने विद्रूप प्रचलन अन्त्य होस् । यस्तो तमासा देखाउनु प्रकारान्तरले जनताको उपहास गर्नु नै हो । जनतालाई मूर्ख ठानेर चटक देखाउन खोज्दा चटकी र जमुरेहरूकै तमासा हाेला नि ! 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ११:२५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro