site stats
बाह्रखरी :: Baahrakhari
देश
बेलायती राजदूत मधेसमा, मिथिला चित्रकला प्रचारप्रसारमा सहयोग गर्ने आश्वासन 

जनकपुरधाम । नेपालका लागि बेलायती राजदूत निकोला पोलिट मधेस प्रदेशमा आएकी छन् । सोमबार जनकपुरधाम आइपुगेकी पोलिटले राजनीतिक भेटघाटसँगै यहाँको इतिहासिक धार्मिक र सांस्कृतिक सम्पदा संरक्षण सम्बर्द्धनमा पनि चासो देखाइन् ।

आज नारी विकास केन्द्रको अवलोकन गर्दै उनले मिथिला चित्रकलाको प्रचारप्रसारमा सक्दो सहयोग गर्ने बताइन् । राजदूत पोलिटले यस्तो ठाउँमा आफू पहिलो पटक आएको बताइन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"यो वातावरणले म प्रभावित भएकी छु । नारी विकास केन्द्रमा कार्यरत कलाकर्मीहरूले निकै प्रशंसनीय कार्य गरिरहेका छन्," उनले भनिन्, "उहाहरूले आफूसँग भएको कलालाई एक पुस्ताबाट अर्को पुस्तामा समेत हस्तान्तरण गरिरहनुभएको छ ।"

उनले महिलाहरू सामूहिक रूपमा मिथिला कला क्षेत्रका लागि अग्रसर रहेकाले यसको बजारीकरण, व्यवसायीकरण तथा सहज व्यवस्थापनका लागि गम्भीर रहेको र बेलायत सरकारले यस्ता कार्यमा सहयोग गर्ने आश्वासन दिइन् ।

जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता मिश्रले सामुहिकरुपमा महिलाहरूको लगनशीलताकै कारण मिथिला चित्रकलाको चर्चा हुने गरेको बताइन् । उनले मिथिला चित्रकलाप्रति तिनै तहको सरकारले ठोस योजना ल्याउन नसकेको स्वीकार गरिन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले नारी विकास केन्द्र तथा घरमै बनाइएको हस्तकलाहरूलाई राम्रो मूल्यमा बेच्ने वातावरण बनाउन व्यापार महासंघ सक्रिय हुने बताए ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्