काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् । ललितपुर उद्योग बाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा उनले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफूले पहल थालेको बताए ।
“बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्नेगरी बैंकको ब्याजदर सीमा निर्धारण गर्दै व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु,” उनले भने, “राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशतभन्दा बढी राख्न हुँदैन पनि भनेको छु ।” उनले चाँडै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने बताए ।
अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका कारण शोधनान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै उनले बिस्तारै सुधार भइरहेको दाबी गरे । “शोधानान्तर स्थितिमा सुधार हुँदैछ । तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौँ,” उनले भने ।
४७ बस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने उनको विश्वास छ ।