site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साँच्चै कुनै दिन सुध्रेला त त्रिवि ?

गएको केही साता मेरो दिनचर्या थापाथलीस्थित बाह्रखरीको कार्यालयबाट बल्खु पत्रकारिताको डिन कार्यालय र बल्खुकै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यालय आउनुजानु हुन पुगेको थियो । 

यो दौडधुप आफूले मेहेनतसाथ पढेर पास भएको प्रमाणपत्र लिनलाई थियो । कहिले कोरोनाका कारण सेवा ठप्प त कहिले कार्यालय समयमा नै कर्मचारी नभएर त कहिले एकदिन फर्म बुझाउने अनि अर्को दिन लिन जाने नियमको चपेटामा त्रिविका विद्यार्थीहरुसँगै म पनि परेँ ।

बल्लतल्ल चारपटकको आउजाउमा मैले मेरो स्नातकोत्तरको तीन सेमेस्टरको ग्रेड सिट पाएँ । हुन न मजस्ता विद्यार्थीले यो दुःख पाउनुमा त्रिविको गैरजिम्मेवार  कार्यशैली अनि कर्मचारीको मात्रै नभएर आफ्नै कलेजको कारण पनि थियोे । शोधपत्र (थेसिस) बुझाउने म्याद नसकिँदै विद्यार्थीको ग्रेड सिट जतनका साथ राख्न नसक्ने कलेजकै कारण मैले यति धेरै दुःख खेपेँ । अर्को मैले पनि समयमा नै लिनुपर्ने थियो कि ? तर प्रत्येक सेमेस्टरको ग्रेड सिट त्यहीबेला कलेजमा नै पाइन्छ भन्ने जानकारी मलाई थिएन ।

सायद, धेरैलाई नहोला । नत्र त थेसिस सकेर कलेजमा जाँदा प्रसाशनका सम्बन्धित कर्मचारीले अब अरु विद्यार्थीहरुजस्तै तपार्इँ त्रिविमा नै जानुपर्छ नभन्नु पर्ने हो । 

निजी कलेजमा पढेको भए यति धेरै झन्झट सहनुपर्ने थिएन कि ! ग्रेड सिट त धन्नले पाएँ । तर, मजस्तो त्रिविका विद्यार्थीले यति सजिलै झन्झट मुक्त हुन कहाँ पाउनु  ?  कामवश बिहान ८ बजे नै घरबाट हिँडेको मैले त्यो दिन २ बजे ग्रेड सिट हातमा पर्दा समेत एक कप कालो चियाबाहेक केही मुखमा हाल्न पाएको थिइन । त्यो पनि अफिसमै ११ बजे चियाको समय भएकाले मात्रै मुखमा परेको थियो ।  

तैपनि भोको पेटको बेवास्ता गर्दै म हतारहतार ग्रेड सिट लिएर बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय पुगेँ । ग्रेड सिट नै चारपटकमा बल्ल हात परेका कारण म ट्रान्सक्रिप्टका लागि फेरि अर्को दिन आउँला भन्ने अस्वथामा नै थिइन । 

ट्रान्सक्रिप्ट लिन गेटभित्र मात्रै के पसेको थिएँ गेटको थोरै परसम्मै उभिरहेको लामो लाइन देखेँ । बिचरा मेरो भोको पेटले बेस्कन कुरुरु गरे हार मानेको संकेत दियो । तर पनि म हार मान्न चाहन्न थिएँ र हतारहतार माथि सोधपुछ कक्षमा गएर पत्रकारिताको स्नातकोत्तरको ट्रान्सक्रिप्टको फर्म लिएर भरी लाइनमा बस्न जान दौडिएँ । 

त्यहाँ दुईवटा काउन्टर थियो, एउटा ग्लोबल आईएमई बैंक अनि अर्को नेपाल राष्ट्र बैंकको । हुनत त्रिविले विद्यार्थीकै सजिलोका लागि त्यहीँ बैंकको सुविधा मिलाएको होला । तर, मलगायत त्यहाँ पुगेका विद्यार्थीलाई भने त्यो सुविधा नभएर घाँडो थियो म गलत नहुँला । 

किनभने, त्यहाँ आएका धेरैजसो जागिरेहरु नै थिए । म पो पत्रकारितामा थिएँ र अफिस समयमै सजिलै ४–५ पटक पनि त्रिवि आउजाउ गर्न सहज भयो । तर, बैंक वा अरु निजी कार्यालयका जागिरेले मेरोजस्तो सुविधा कहाँ पाउँथे र ? 

एकजना करिब ४० वर्ष कटिसकेजस्तो देखिने महिला उनकै अगाडि लाइनमा बसेका युवकसँग गुनासो पोख्दै थिइन् – “आज त अफिस पूरै बिदा लिएर आएको । कि पूरै दिन बिदा लिनुप¥यो नभए आधा बिदा लिन एकपटक अफिस पुग्नु पर्‍यो । आधा बिदा दिनुभन्दा पूरै बिदा लियोस्जस्तो गर्छन् हाकिमले । यो त्रिवि आउनलाई जहिले पनि एकदिनै छुट्याउनुपर्ने ।”

करिब ३०–३५ जना भएको लाइनको म अन्तिमबाट दोस्रो थिएँ । अगाडिको त्यत्रो लाइन देखेर मलाई अत्यास लागिसकेको थियो । त्यसमाथि भोक अनि अफिसमा जहिले त्रिवि जान्छु भनेर कतै अन्तै गयो कि ? काम ठगेको हो कि भन्लान् भन्ने चिन्ता ! त्यसैले सोचेँ यो लामो लाइनको फोटो भिडियो खिच्छु अनि अफिसमा देखाउँछु नभए ‘टिकटक’मा हालिदिन्छु । 

म मेरो लाइन अगाडिका युवकलाई मेरो ठाँउ रुँगिदिन भन्दै भिडियो खिच्न अगाडि गएँ । म बसेको नेपाल राष्ट्र बैंकको अनि उता ग्लोबल आईएमई बैंकको लाइनको तस्बिर खिचेर आउँदासम्म मेरोपछाडि अरू १० जना थपिइसकेका रहेछन् । 

मैले भिडियो खिचेको देखेरे मेरो पछाडिकाहरुले मलाई केही केरकार पनि गरे र म पत्रकार भएको जसै थाहा पाए आआफ्नो पीडा पोख्न थाले । 

एमपीएको फर्म भर्नका लागि आएका उमेरले करिब ४०–५० का जस्तो देखिने एक विद्यार्थीले अघिदेखि कता बिसाऊँ कता बिसाऊँ भन्ने भैरहेको उनको गुनासोको भारी मेरै पोल्टोमा बिसाए – “अहिले अनलाइनको जमाना छ । तर, तीन घन्टा लाममा बसेर फर्म भर्न पैसा बुझाउनुपर्ने बाध्यता छ । हामी (विद्यार्थी)लाई दुःख दिएर यो त्रिविले के पाउने ? यस्तो कहिले सुध्रिने ?” 

यी त प्रतिनिधि पात्रमात्रै हुन् । करिब ३०–४० जनाको लामो लाइनमा उभिएर आफ्नो पालो कुरिरहेका हरेक विद्यार्थीको गुनासो अनि जिज्ञासा एउटै सुनिन्छ, त्रिवि कहिले सुध्रिने ?, विद्यार्थीलाई कति दुख दिने ?

बैंकहरु डिजिटल प्रविधि आत्मसात गर्दै दिनानुदिन ग्राहकलाई भर्चुअल सेवा दिने प्रयासमा छन् । हरेक बैंकले आफ्ना ग्राहकलाई क्यासलेस पेमेन्टका लागि हौसाइरहेका छन् । आज तपाईँ मल रेस्टुराँदेखि सानो पसलमा जाँदा पनि फोन पे, मोबाइल ब्यांकिङको सुविधा सजिलै लिन पाउनुहुन्छ । 

व्यवसायीहरु पनि त्यो नोट गनेर बस्नुभन्दा क्यासलेस कारोबारमा नै सजिलो मान्छन् । 

प्रविधिले कति धेरै कोल्टे फेरि सकेको छ भने हिजो पर्स घरमै बिर्सदा लजास्पद महसुस गर्नुपर्ने थियो भने आज तपाईँको गोजीमा एक सुको नहुँदा पनि तपार्इँले मोबाइल फोनबाटै फोन पे गरेर सजिलै क्यासलेस कारोबार गर्न सक्नुहुन्छ ।

परन्तु, दिनहुँ हजारौं विद्यार्थी आउजाउ गरिरहने त्रिविले भने अझै विद्यार्थीलाई ५ सय, १ हजार तिराउन पनि घन्टौंको लाइनमा राखेर दुःख दिने गरेको छ । 

“पहिलो त सामाजिक दूरी पनि छैन । अर्कोे बैंकको काउन्टर पनि एउटामात्रै छ । आफुले मेहेनतका साथ पढेर पास गरेको प्रमाणपत्र लिन पनि घन्टौं लाइनमा बस्नु परिरहेको छ,” झापा घर बताउने विक्रम खड्का पनि मलाई नै आफ्नो बाध्यता पोखिरहेका थिए – “हजार, दुई हजार तिर्नका लागि पनि यत्रो लाइन । यो त्रिविमै आउनका लागि हामीले एकदिन नै लगाएर आउनु परेको छ । यो सिस्टम त भएन ।” 

उनी साथीको* सर्टिफिकेटका लागि आएका रहेछन् । उनीहरुको पीडा सुन्दासम्म मेरो एक कप कालोचियाको भरमा बसिरहेको पेटलाई अब मैले अन्याय गर्नुहुँदैनजस्तो लाग्यो र केही कच्याकुचुक खाएर लामको त्यही ठाँउमा बस्न आउने सर्त अनि सम्झौता सहित म नजिकैको खाजा पसलमा गएँ । 

खाजा पसलमा एक प्लेट चाउमिनका लागि मैले त्यो आन्टीलाई ५ पटक त छिटो है आन्टी मेरो पालो आइसक्यो होला भन्दै छिटो ल्याइदिन आग्रह गरिरहेँ । 

साँच्चै यस्तो डिजिटल युगमा त्रिविले किन यो प्रविधिलाई आत्मसात गर्न नसकेको होला ? के त्रिविले यस विषयमा आजसम्म सोच्न जरुरी नठानेकै होला त? खाजा खाँदैगर्दा मेरो मनमा प्रश्नहरु उब्जिन थाले । फेरि अर्को मनले जवाफ फर्काइहाल्यो, “सोही बैंकको त्रिविभन्दा बाहिरको शाखामा गएर पैसा जम्मा गर्छु भन्दा त हुँदैन भन्ने त्रिविले कहाँ डिजिटल पेमेन्टसम्म जाने आँट अनि सोच गर्छ होला ?”

झट्टै आउँछु भनेर गएको म आधा घन्टा लगाएर खाजा खाएर आउँदासम्म पनि पालो आउने अत्तोपत्तो थिएन । त्यो बेलासम्म म लाइनको ठ्याक्कै बीचमा पुगिसकेको रहेछु । अनि मेरो पालो राखिदिएकोमा धन्यवाद भन्दै फेरि तिनै एकछिन भेटेका साथीहरुसँग कुरा गर्न थालेँ । आखिर पत्रकार जो परियो, गफिन उत्तिकै मन लाग्ने । 

अघिको खड्कासँगै आएका उनको अर्को साथी विष्णुबहादुर रोकायाले मेरो ठाँउ कुरिदिएको गुन सम्झाउँदै भन्न थाले – “तपार्इँको लागि यहाँ म दुईतीन जनासँग झगडा गरिसकेँ” त्यसरी पठाएर फेरि त्यही लाइनमा कहाँ बस्न पाइन्छ भनेका रहेछन् उनीहरूले । अनि मैले हाँस्दै भनेँ, “हो र ? तपार्इँलाई विशेष धन्यवाद है, के गर्नु त बिहानदेखि भोकै भएकीले सहनै नसकेर गएको । यस्तै  छ त्रिविको ताल के गर्नु त ? ”

मेरो कुरा भुइँमा खस्न नपाउँदै उनले गम्भीर प्रश्न तेस्याउँदै भने – “नेपालीहरु बेरोजगार छन् जति बसे पनि भइहाल्छ नि भन्ने सोचेका हुन् कि ?”

लाइनमा उभिँदाउभिँदै गाह्रो भएछ कि कसो एकजना यसो भित्तामा अडेस लगाउँदै बोल्न थाले, “तीनवटा झ्याल छ तर काम भने एउटाबाट मात्रै भइरहेको छ । यो तीनवटै काउन्टरबाट गरेको भए पनि यतिधेरै बेर त लाग्दैन थियो नि । यसो काउन्टर संख्या अनि कर्मचारी बढाउनु नि ।” 

उनको जवाफमा अघि एमपीएको फर्मका लागि आएका अधबैसेँले जवाफ भने – “हो बढाइदिए त हुने अझ जुन ब्रान्चमा गएर तिर्दा पनि हुने गर्नुपर्ने हो । हामी हाम्रो पायक परेको बैंकमा तिरेर यता रसिद लिएर आफ्नो डकुमेन्टमात्रै लिन आउथ्याँै । तर के गर्नु त्यसो गरे भने यिनले  कमिसन पाउदैनन् कि ? अनि कहाँ दिन्थे त अरु ब्रान्चबाट तिर्न ।”

भनिन्छ नी गन्तव्यको नजिकनजिक पुग्न थालेसँगै हतास, उत्साह झनै बढ्न थाल्छ । त्यसैगरी जति हामी काउन्टरको नजिक पुग्यौँ मेरो पछाडिकाहरु बीचमा कोही पस्न खोजेजस्तो गर्नेहरुलाई कराएर निकालिहाल्थे । यतिमात्रै कहाँ हो र कोही पैसा तिरेर गैसकेकाहरु पनि केही नमिलेर यसो काउन्टरको झ्यालमा चियाउन पुगेका भने उहीँ पुगेर कहाँ बीचमा छिरेको भन्नै पुग्थे । 

अन्ततः करिब तीन घन्टाको लाममा बसेपछि मेरो पालो आयो र म ७५० रुपैँया सहित फर्म बुझाएको रसिद र ट्रान्सक्रिप्टको लागि आवश्यक कागजात बुझाउँदै पीडा र आक्रोश पोख्नेहरूको कथा अवश्य छाप्ने आश्वासन दिएर बाग्मती करिडोरको बाटो हुँदै कार्यालय फर्केँ । 

साँच्चै कुनै दिन सुध्रेला त त्रिवि ?

* सच्याइएको । सर्टिफिकेटमात्रै हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro