साहित्य
दिपेन्द्र के खनाल (निर्देशक)
केही वर्षयता नेपाली रजतपटमा आशाका किरणहरू देखिन थालेका छन् । केही फरक र राम्रा चलचित्र बन्न थालेका छन् । दशकौँदेखि चल्दै आएको मूल धारभन्दा बाहिर रहेर बनाइएका चलचित्रले राम्रो व्यापारमात्र गरेका छैनन्, केही सम्भावनाको ज्योती पनि सञ्चार गराएका छन् ।
दशकौँसम्म नेपाली चलचित्र निर्माणमा एकछत्र राज गरेका चलचित्रकर्मी भन्दा पनि पछिल्लो समय नयाँ प्रयोग गर्न रुचाउने निर्देशकलाई दर्शकले रुचाएका छन् । यस्तै दुई–चारजनाले समग्र नेपाली चलचित्र उद्योगलाई जबर्जस्त घिसारिरहेका छन् ।
यस्तै सीमित निर्देशहकमध्येका एक हुन्, दीपेन्द्र के खनाल । खनाल नेपालका एक त्यस्ता निर्देशक हुन्, जो नेपाली चलचित्र उद्योगमा नयाँ ट्रेन्डको सुरुवात गर्छन् । तर, त्यसलाई छोडेर फेरि अर्को नयाँ ट्रेन्ड खोज्छन् । ‘पशुपति प्रसाद’, ‘चपली हाइट’, ‘झोले’जस्ता चलचित्र निर्माण गरेर दर्शकलाई फरक टेस्ट बाँड्दै आफ्नो भिन्न पहिचान बनाउन सफल खनाल निर्देशित चलचित्र ‘चपली हाइट–२’ प्रदर्शनको तयारीमा छ । प्रस्तुत छ, ‘चपली हाइट–२’ र समग्र नेपाली रजतपटका विषयमा केन्द्रित रहेर निर्देशक खनालसँग गरिएको कुराकानीः
‘चपली हाइट–२’ कस्तो खालको चलचित्र हो ?
रोमान्टिक थ्रिलर हो । युवाको कथा छ यसमा । अहिलेका युवाको छुट्टै खालको सोच छ, लाइफस्टाइल छ । त्यो सोच र जीवनशैलीले उसलाई कहाँ पुर्याउँछ भन्ने देखाउन खोजिएको छ । माया, पिरती, धोका सबै छ यसमा । मुभी सस्पेन्स छ । (चलचित्र भाेली २ गते रिलिज हुँदैछ । )
युवाको सकारात्मक कि नकारात्मक कथा छ ?
युवाको जीवनशैलीसँग सम्बन्धित छ । अहिले छुट्टै तरिकाले सोच्ने युवा जमातको जीवनशैली र त्यसले निम्त्याउने सकारात्मक र नकारात्मक दुवै छ । मुख्य त यसो गर्नु हुन्न भन्ने नै छ ।
चलचित्रको विषयवस्तुचाहिँ के छ ?
‘चपली हाइट’ भन्नेबित्तिकै एउटा रहस्य हो । अहिले नै सबै कुरा भनेँ भने केही नै रहँदैन, हेर्न पनि मजा आउँदैन । त्यसैले अहिले सस्पेन्स नै राखौंँ । हलमा गएर हेर्नुको मजा नै बेग्लै हुन्छ ।
सिक्वेल हो कि होइन ?
होइन, ‘चपली हाइट’ त्यो बेलाका युवाको कथा थियो । अहिलेको ‘चपली हाइट–२’ अहिलेकै युवाको कथा हो ।
त्यसो भए नाम किन एउटै राख्नुभयो त ?
नामको सन्दर्भ फरक छ । ‘चपली हाइट’मा कुनै समय त्यो घटना घट्यो अहिले फरक घटना घटेको हुन सक्छ । चलचित्र चपली हाइटबाट सुरु भएको हुन सक्छ, वा अन्य कुनै घटना चपली हाइटसँग सम्बन्धित हुन सक्छ । त्यसैले नाम एउटै रहेको हुनसक्छ ।
नाम बेच्नलाई मात्रै ‘चपली हाइट’ नाम राखिएको जस्तो देखिएन र ?
होइन, त्यस्तो होइन । चलचित्र त्यहीँबाट सुरु भएर त्यहीँ अन्त्य भएको हुन सक्छ । चपली हाइट ठाउँको नाम हो । त्यसैले चलचित्र कहीँ न कहीँ ठाउँसँग सम्बन्धित छ ।
‘चपली हाइट’ भन्नेबित्तिकै सेक्स जोडिएर आउँछ हैन ?
यसलाई कसले कसरी बुझ्छ भन्ने हो । सेक्स, भल्गारिटी र ग्ल्यामरमा फरक पर्छ । सेक्स जोडिन्छ भन्दिनँ म, ग्ल्यामर जोडिन्छ । युवा पुस्ताको शैली, उनीहरुका क्रियाकलाप, उनीहरुको बोली व्यवहारमा सेक्स झल्किने हो । यी फरक कुरा हुन् । ‘चपली हाइट–२’ को कुरा गर्नुहुन्छ भने पीजी सर्टिफिकेट पाएको चलचित्र हो । यो भनेको युनिभर्सल हो । १३ वर्षमुनिको बच्चालाई पनि चलचित्र हेर्न अभिभावकले हल लिएर जानुपर्छ । यसको अर्थ सबै परिवार सँगै बसेर चलचित्र हेर्न सकिन्छ भन्ने हो ।
त्यसो भए सेक्स, ग्ल्यामर र भल्गारिटी भन्ने कुरामा रहेको बुझाइमा नै गल्ती छ ?
भल्गारिटी र ग्ल्यामरसमा के फरक छ भन्ने कुरा मुख्य हो । यी दुईको बीचमा एउटा पातलो घेरा हुन्छ । यसमा सानो गल्ती गर्यो भने त्यो भल्गारिटी हुन्छ । तर, त्यसलाई सही तरिकाले प्रस्तुत गरियो भने त्यो ग्ल्यामर हुन्छ । मैले त्यो घेरा कहिले पनि क्रस गरेको छैन । ‘चपली हाइट–२’ मा पनि गरेको छैन । ‘चपली हाइट’मा पोस्टरको विषयलाई लिएर थोरै विवाद भएको थियो, अहिले त त्यो अवस्था छैन ।
त्यो भए ‘चपली हाइट’मा जस्तो यसमा विवाद हुँदैन ?
हुँदैन । पछि कथामा कस्तो कमेन्ट आउँछ भन्ने मात्रै हो । अलिकति हिरोले हिरोइनलाई किक हानेको सिनमा महिला अधिकारकर्मीले कुरा उठाउँछन् कि भन्ने थियो । त्यसमा पनि त्यो सिनले चलचित्रको कथावस्तु नै टर्न गर्ने हुनाले सेन्सर बोर्डले पनि त्यसलाई काटेन । त्यसैले विवाद हुँदैन भन्नेमा म विश्वस्त छु ।
तपाईं सधैं नयाँ कलाकार लिनुहुन्छ नि किन ?
पहिलो कुरा, मलाई जोखिम मोल्न मन पर्छ । दोस्रो, नयाँ विषयवस्तुलाई प्रस्तुत गर्न नयाँ पात्र भयो भने हलमा दर्शकले विश्वास गर्छन् जस्तो लाग्छ । परिचित अनुहारभन्दा फ्रेस विषयलाई फ्रेस अनुहार भयो भने दर्शकलाई प्रत्यक्ष हेरिरहेको अनुभूत हुन्छ जस्तो लाग्छ मलाई । त्यही भएर नयाँ कलाकार लिने गर्छु ।
तपाईंले बनाएका चलचित्रमा केही न केही नयाँ हुन्छ । ‘चपली हाइट–२’मा त्यस्तो के नयाँ छ, जुन आजसम्म नदेखिएको होस् ?
एउटै कुरा के हो भने म जोखिम मोल्न रुचाउँछु । अरु के चलेको छ भनेर त्यसको पछि लाग्छन् । तर म केही नयाँ गर्न रुचाउँछु । मैले‘झोले’ बाट सुरु गरेको डार्क कमेडीजस्तै धेरै चलचित्र बनाइए । ‘कबड्डी’, ‘कबड्डी कबड्डी’ डार्क कमेडी नै हुन् । तर, मैले भने फेरि त्यस्तै बनाइनँ । ‘पशुपति प्रसाद’ पनि मौलिक विषयवस्तुमा बनाएँ । थ्रिलर मुभी ‘चपली हाइट’ नेपालकै पहिलो हो । ‘भिजिलान्ते’ पनि नेपालको पहिलो थ्रिडी सिनेमा हो । म नयाँ नयाँ उठाउँदै जान्छु, अरु त्यसलाई पछ्याउँदै जान्छन् । म र अरुमा फरक त्यतिमात्रै हो ।
कुरा आयो के छ ‘चपली हाइट–२’ मा के फरक छ भन्ने । पहिलोमा भन्दा धेरै कुरा फरक छ । ‘चपली हाइट’ बनाउँदा म परिपक्व थिइनँ, जति अहिले परिपक्व भइसकेको छु । सानो क्यानभास थियो ‘चपली हाइट’मा । अहिले ठूलो क्यानभास छ । मैले बनाएको भए पनि टेक्निकल रूपमा ‘चपली हाइट’ कमजोर थियो । अहिले एड्भान्स टेक्नोलोजी छ । ‘चपली हाइट’ मलाई यस्तो देखाउनु थियो जुन पहिला मैले गर्न सकेको थिइनँ । त्यो यसमा देखाएको छु ।
स्क्रिप्टमा पनि मैले निकै मेहनत गरेको छु । प्रत्येक युवालाई ‘चपली हाइट’ मेरो कथा हो भन्ने लाग्छ ।
तपाईं दर्शक भएर हेर्दा नेपालमा राम्रो चलचित्र बनेका छन् कि छैनन् ?
हामी यति धेरै सीमाभित्र बसेर चलचित्र निर्माण गर्छौं कि त्यो निर्देशकलाई मात्रै थाहा हुन्छ । आर्थिक, सामाजिक सीमितता छ । सरकारले केही सहयोग गरेको छैन । पछिल्लो दुई वर्ष हेर्नुस्, नेपाली चलचित्र उद्योग युवाले मात्रै जबर्जस्ती काँधमा बोकेर घिसारिरहेका छन् । अहिले नेपाली चलचित्रलाई हेर्न र माया गर्न थालिएको छ । दुई–चार जना युवा भन्दा कसैको हात छैन ।
चलचित्र राम्रो बनाउने मुख्य हात कसको हो ? कलाकार, निर्देशक या निर्माताको ?
निर्देशक । राम्रो भए ताली र नराम्रो भए गाली दुवै उसैले पाउने हो । त्यसैले चलचित्र कस्तो बनाउने उसकै हातमा हुन्छ । कस्तो कलाकार लिने, प्राविधिक को लिने, त्यो दोस्रो कुरा हो । चलचित्रको विषय के हो, त्यसलाई निर्देशकले बुझेको छ कि छैन, न्याय गर्न सकेको छ कि छैन । त्यसमा चलचित्र कस्तो बन्छ भन्ने निर्धारण हुन्छ ।
यी सीमितताभित्र बसेर चलचित्र बनिरहेका छन्, यसलाई सन्तोषजनक मान्न सकिन्छ ?
म त भन्छु, यहाँको अवस्थालाई हेर्दा निकै राम्रा चलचित्र बनिरहेका छन् । बलिउडको लगानीमा हामीले चलचित्र बनाउने हो भने त्यो भन्दा धेरै राम्रा चलचित्र बनाउन सक्छौं । मलाई अर्बको छेउमा पुगेर कसैले चलचित्र बना भन्छ भने मलाई त हिन्दी सिनेमाभन्दा राम्रो चलचित्र बनाउन सक्छु भन्ने आत्मविश्वास छ । निर्देशकले देखाउन खोजेको कुरा पनि देखाउन पाउँदैन यहाँ त ।
के अवरोध हो त्यस्तो ?
सबैलाई थाहा छ । मलाई राम्रो राजनीतिक चलचित्र बनाउन मन लाग्यो भने संक्रमणकालको हवाला दिँदै रोकिन्छ । समाजिक विषयवस्तु उठाउन उठाउन थालियो भने त्यसलाई सेन्सरले रोकिदिन्छ । यस्ता धेरै कुराहरू छन्, जसले निर्देशकले आफ्नो क्षमता देखाउन पाइरहेको छैन ।
एउटा काल्पनिक प्रश्न गरौं न । एक अर्ब लगानी गर्छु, चलचित्र बनाउनुस् भनेर कसैले भन्यो भने कस्तो चलचित्र बनाउनुहुन्थ्यो ?
मलाई बायोग्राफिक, ऐतिहासिक र पोलिटिकल चलचित्र बनाउन मन लागेको थियो । भनेजति लगानी गर्न सक्ने निर्माता भए सायद म त्यस्तो चलचित्र बनाउने थिएँ, जुन चलचित्र बनाउन मन लागेर पनि म मन बाँधेर बसेको छु । अब त सोच्न पनि छोडिसकेँ त्यस्ता विषय । जंगबहादुरको कथा अहिले भन्नुपर्यो भने त्यसलाई जीवन्त रूपमा उतार्न समय, जनशक्ति र पैसा धेरै लाग्छ नि । त्यसैले त्यस्ता विषयलाई आर्थिक सीमिततामा उठाएर आफैंलाई कमजोर बनाउनु भन्दा हात नै नहाल्नु ठिक हुन्छ भन्ने लाग्छ ।
स्क्रिप्ट कमजोर भएर पनि राम्रा चलचित्र बनेनन् भनेर आत्मसमीक्षा गरिरहने तर व्यावसायिक साहित्यकारलाई स्क्रिप्ट लेखनका लागि प्रोत्साहन पनि नगर्ने किन ?
अहिले पछिल्लो समय केही साहित्यकार यसतर्फ आकर्षित भएको पाएको छु । अमर न्यौपानेले पनि चलचित्र लेख्दै हुनुहुन्छ भन्ने सुनेको छु । यो खुसीको कुरा पनि हो । निर शाहले बनाउने चलचित्रमा उहाँ लेखकको रूपमा मैले देखेको थिएँ । घोषणा भने भएको छैन होला । कुमार नगरकोटी पनि चलचित्रमा आबद्ध हुँदै हुनुहुन्छ भन्ने सुनेको छु । खगेन्द्र लामिछानेले त गरि नै रहनुभएको छ ।
अहिलेसम्म प्रकाशित कुनै कृतिमा चलचित्र बनाउन मन लागेको छ ?
नयनराज पाण्डेको ‘लु’ लाई चलचित्र बनाउन मलाई मन लागेको हो । केही कुरा पनि भएको हो । तर, पैसा र त्यहाँभित्रको विषयवस्तुले रोक्यो । त्यहाँ भारतविरोधी कुरा धेरै छन् । नेपाल–भारत सीमाका विषय छन् । भाषा, जातिका कुरा छन् । अहिले जाति र भाषामा नै एक किसिमको द्वन्द्व भइरहेको छ । मधेस र पहाडबीच फाटो ल्याउने कुरा भइरहेका छन् । यो समयमा यस्तो विषयलाई चलचित्रमा उतार्न सकिँदैन । सेन्सर बोर्डले पास गर्दैन । अर्को कुरा कृतिलाई न्याय गर्ने अवस्था बन्दैन भने म त्यसमा चलचित्र नै बनाउँदिनँ ।
सरकारले के गरिदिनुपर्छ चलचित्र विकासका लागि ?
सरकारले मुख्यतः चलचित्रमा कतिसम्म राख्न दिने सेन्सर नै स्पष्ट हुनुपर्छ । किताबमा भएको कुरा चलचित्रमा देखाउन पाइने कि नपाइने, राजनीतिक विषयलाई उठाउन दिने कि नदिने भनेर चलचित्रकर्मीसँग छलफल गरेर स्पष्ट हुनुपर्छ । सरकारले चलचित्रलाई अहिलेसम्म वास्ता गरेको छैन । चलचित्रले त देशलाई चिनाउँछ । यसमा सरकारको ध्यान जानुपर्छ । राजनीतिक, ऐतिहासिक, बायोग्राफिक चलचित्रलाई अनुदान दिनुपर्छ ।
चलचित्र विकास बोर्डमा राजनीतिक नियुक्ति हुन्छ । यो पटकमात्रै हो चलचित्रकर्मी राजकुुमार राई विकास बोर्डको अध्यक्ष भएको । चलचित्र नबुझेको मान्छेलाई बोर्डमा ल्याउनु भएन ।
बक्स अफिसको कुरा लागू भयो भने पनि त्यो नेपाली चलचित्र उद्योगका लागि ठूलो कुरा हुन्छ । हेरौँ, राजकुमार दाई लागू गराएरै छाड्छु भनेर लाग्नुभएको छ । त्यो भयो भने पनि हाम्रा लागि ठूलो उपलब्धि हो । राज्यलाई पनि कर हुन्थ्यो । राज्य र चलचित्र उद्योग दुवैलाई राम्रो हुने थियो ।
तपाईंलाई राम्रो लागेको नेपाली चलचित्र ?
खासै त्यस्तो कुनै छैन । आफ्नो चलचित्र भनेजस्तो होला, ‘पशुपति प्रसाद’ नै मलाई राम्रो लागेको हो । हलबाट उत्रिएपछि मैले ३० पटक भन्दा बढी हेरिसकें । र, पनि हेर्न अल्छी लागेको छैन, धीत् मरेको छैन । हिन्दीमा ‘थ्रि इडियट’ पनि म जति पटक टिभीमा आउँछ, छुटाउँदिनँ ।
‘पशुपति प्रसाद’मा सुन व्यवसायीलाई किन त्यति क्रुर बनाउनुभाको ?
वास्तवमा त्यो सम्पत्तिप्रति मानिसको मोह देखाउन खोजिएको हो । ऊ आफैँ दमको बिरामी छ । कृत्रिम श्वास लिइरहेको हुन्छ । धर्म कमाउन मन्दिर पनि गइरहेको हुन्छ । तर, पैसाका लागि ऊ हत्या गर्न पनि तयार हुन्छ । मान्छे आईसीयूमा हुन्छ तर, पनि उसले आफ्नो सम्पत्तिको त्यहाँ पनि चिन्ता गरिरहेको हुन्छ । त्यो देखाउन खोजिएको हो ।
‘चपली हाइट–२’बाट कस्तो अपेक्षा गर्नुभएको छ ?
अहिलेसम्म कसैले पनि नराम्रो भनेको छैन । ट्रेलरको रेस्पोन्स पनि राम्रो आइरहको छ । कथा, प्रविधिका हिसाबले चलचित्र अब्बल बनेको छ । माया, प्रेम, थ्रिलर युवाको विषय भएकाले चलचित्र मन पराइदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।
आगामी प्रोजेक्ट ?
एउटा लभ स्टोरी चलचित्र गर्ने सोचमा छु । खगेन्द्र लामिछानेसँग कामको योजना पनि बनिरहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७३ १२:४१
प्रतिक्रिया दिनुहोस्