site stats
बाह्रखरी :: Baahrakhari
विशेष
धनकटी 

सूर्य टाउकोमाथि आइसकेको थियो । मनभोरन धान काट्नमा व्यस्त थिए । धनकटी (धान काट्ने)को समय थियो । उनी दिनभरमा एउटा सिंगै कोला (खेत)को धान काट्ने सुरमा थिए ।

मनभोरन गिरहतको खेतमा बिहान पाँच बजे नै धान काट्न आएका थिए । उनकी स्वास्नी अहिलेसम्म पनि भात लिएर आएकी थिइनन् । उनलाई भोक लागिसकेको थियो । उनी पटकपटक हातको परेला बनाएर घाम छेक्दै गाउँतिर हेरिरहेका थिए । सायद भोकसँगै रिस उठिरहेको थियो ।

धान काट्दाकाट्दा पसिनाले निथु्रक्क भिजेका उनी पटकपटक आकाशतिर पनि हेरिरहेका थिए । उनलाई गिरहत (मालिक) सम्झेरै रिस उठिरहेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धान काट्न छाडेर उनले निधारको पसिना औँलाले निचोरेर फाले । धानको निनमा पसिना फाल्दा फ्यात्त बोल्यो । उनले बालाबाट धान टिपेर मुखमा हाले । दाँतले टोक्दै चामल निकालेर खाए । बोक्रा थु थु गर्दै फाले ।

जति काम गरे’नि खान नपुग्ने, मालिकहरू भने बसीबसी खाने ! उनले मनमनै भने । एकनासले धान काटेर उनको हात, खुट्टा र कम्मर दुखिरहेको थियो । तैपनि थकाइको वास्ता नगरी उनले लगातार धान काटिरहे ।

उनकी स्वास्नी भात लिएर आइन् । धानको आलीहरूमा चारैतिर रहरको दाल र तिलको झाङ थियो । उनकी स्वास्नीले रहरको छहारी परेको धानको पसही (निन)मा भातको पोटली राखिन् ।

स्वास्नी आएको देखेर उनी हँसिया फालेर निधारको पसिना पुछ्दै भातको पोटली छेउमा बसे । भने, ‘किन ढिला आइस् ?’ 

उनको कुरा सुनेर स्वास्नीले भनिन्, ‘एक घाम सुकाएको उसिना धान आज फेरि एक घाम सुकाउनु थियो । त्यही सुकाएर मिलमा राखेर आएँ । राति भात पकाउनलाई चामल छैन । त्यसैले ढिला भयो ।’

उनले धेरै कुरा गरेनन् । सानो घैलामा ल्याएको पानी लोटामा खन्याउँदै उनले हात, मुख धोए । उनको हात मैलो भएकोले हात धुँदा पहेँलो, निलो, कालो पानी हातबाट निस्किरहेको थियो । उनले राम्ररी हात पखाले ।

खेतको कामले उनको तलुवा निलो, कालो, पहेँलो भइसकेको थियो । उनकी स्वास्नीले पोटली खोलेर भातको थाल उनको अगाडि राखिदिइन् । कोभी, आलुको तरकारी र तोरीको सागको मिठो बास्ना आइरहेको थियो ।

तरकारीको मिठो बास्नासँगै उनले थुक घुटुक्क निले । र, धानको निनमा पलेँटी कस्दै भात खान थाले । उनले खाइरहँदा उनकी स्वास्नी धान काट्न गइन् ।

उनलाई भोक लागेकोले भात यति मिठो लाग्यो कि उनले भातको थालबाहेक अन्त कतै हेरेनन् । भात नसकुन्जेल उनले कपाकपकपाकप भात खाइरहे । र, भात खाइसकेर एक लोटा पानी घटघटी पिए ।

उनको भोक बल्ल शान्त भयो । जिउको पसिना पनि ओभाइसकेको थियो । उनले डकारे । उनलाई थकाइ लाग्यो । आलस्यले छोप्यो । धान काट्न मन लागेन ।

अन्ततः भात खाएर धानको पसहीमा (निन) निदाए । उनकी स्वास्नीले त्यति बेलासम्म एउटा कुनामा बाँकी भएको धान काटिसकेकी थिइन् ।

उनी एक निद्रा सुतेर उठे । उठेर आङ तन्काउँदै रहरको झाङतिर हेरे । रहरको झाङलाई छलेर घाम उनको अनुहारमा आइसकेको थियो । घाम लागेकाले उनी धेरै सुतेछु कि भनेर हतारिँदै उठे । गाग्रीबाट लोटामा पानी भरेर पिए ।

‘ए ! घुँडा र कम्मर सारै दुखिरहेको छ’ भन्दै उनी दुवै हात तन्काउँदै तल झारे । घुँडामा हात टेकेर उठे । स्वास्नीतिर हेरे । देखे, कोलाको एउटा कुनाको बाँकी धान उनकी स्वास्नीले काटिसकेकी थिइन् ।

चौरभरि सबैजनाको खेतमा धान काटिरहेको कचकचकचकच आवाज आइरहेको थियो । थोरै खेत भएका गाउँका गिरहतले आफैँले धान काटिरहेका थिए भने धेरै खेत भएका गिरहतहरू सरोवर, जुलम, उजरा, सोहिता र ढोरीयाको खेतमा उनकै टोलका मुसहरहरू बेचुवा, बुधना, जंगली, चुलहुवा र लीला सपरिवार धान काटिरहेका थिए ।

बिल्टु पासवान, रोहित पासवान, आशिष राम र गजना रामले ललन र भजन गिरहतको धान काटिरहेका थिए ।

उनले चारैतिर हेरे । चारैतिरका सबै धान काट्नमा व्यस्त थिए । उनीहरू धान काट्न व्यस्त देखेर उनको जिउमा ऊर्जा थपियो । ‘सबैले धेरै नै धान काटिसके । आफू भने सुतेर समय बर्बाद गरेँ’ भन्दै मनमनै केही गुनगुनाउँदै उनले हँसिया हातमा लिए । हँसियाले धान छोप्न (बाला भएको धानको अगाडिको भाग निनबाट मुठो बनाउँदै काट्नु) थाले ।

परालको बोझा बाँधेर मालिकको टौवाबारीसम्म बोकेर लग्नुपर्थ्यो । धानको बोझा गिरहतको घरमा ओसार्नु पनि थियो । उनकी स्वास्नी धान काट्न सकाएर धान छोप्न थालिन् । दुवैजना मिलेर आधा कोला (खेत)को धान छोपिसकेका थिए ।

हलुवाइन (भुजा र पकौडा बेच्ने जातको स्वास्नीमान्छे) मुरही, कचरी लेऊ भन्दै मंसिर महिनामा खेतमा सधैँ बेच्न आउँथिन् । उनी काम गरिरहेको हेर्न उनका गिरहतको घरबाट कोही आएका थिएनन् । गिरहत नभएको बेलामा उनी लुकीलुकी धान साटेर मुरही र कचरी किनेर खान्थे ।

यसरी मुरही, कचरी किन्दा हलुवाइनलाई धान दिनुपर्थ्यो । छेउको खेतमा धान काटिरहेका बुधना र उनकी स्वास्नीले हलुवाइनलाई बोलाएर मुरही र चप किने । मनभोरनलाई पनि मुरही र चप खान मन लाग्यो । बुधनाले किनिसकेपछि हलुवाइन टाउकोमा मुरहीको ढाकी बोकेर मुरही, कचरी भन्दै बाटोबाटै हिँड्दै थिइन् । मनभोरनले ‘म किन्छु, यहाँ आ’ भनेर हलुवाइनलाई बोलाए । उनको कुरा सुनेर उनकी स्वास्नीले भनिन्, ‘गिरहतले देखे भने गाली गर्छन् ।’ 
उनले स्वास्नीको कुरा बेवास्ता गर्दै भने, ‘एकपजा (मुठो) धान छोपेर यहाँ ल्या । गिरहतले देखे देखून् । मरीमरी काम गर्नुपर्ने, मुरही पनि खान नपाउने !’

उनकी स्वास्नीले गाउँतिर नजर डुलाउँदै डराइडराइ एकपजा धान ल्याइन् । हलुवाइनले आलीमा मुरहीको ढाकी राखिन् । आलीमा बोरा बिछ्याइन् । धानको पजा बोरामा राखेर धानको बाला खुट्टाले माड्न थालिन् । माड्दै धान झारिन् ।

मनभोरन र उनकी स्वास्नी पटकपटक गाउँतिर हेरिरहेका थिए । धान माडेर पुवार (निन) हलुवाइनले छेउमा राखिन् । पराल केलाउँदै मौनी (काँसले बनाइएको धान नाप्ने सानो भाँडो)ले हलुवाइनले धान नापिन् ।

नौ मौनी धान भएछ । नौ मौनी धानमा पाँच मौनीको मुरही र चार मौनी धानको पकौरा, कचरी, चप, फोपी (ढुंग्री) र लाई (भुजाको लड्डु) लिए । मनभोरनका लागि भात बाँधेर ल्याएको कलौ बन्हना (कपडा)मा उनकी स्वास्नीले मुरही र कचरी बाँधिन् ।

हलुवाइन् टाउकोमा मुरहीको ढाकी बोकेर पूर्वतिर ‘मुरही, कचरी लेऊ’ भन्दै बेच्न हिँडिन् । हलुवाइनले राखेको निन उनीहरुले पसहीमुनि लुकाए ।

आधा कोलाको धान छोपेर भोक लागिसकेकाले उनले हलुवाइनसँग किनेको मुरही, कचरी बसेर खाए । पानी पिए । बाँकी भएको मुरही छोराछोरीका लागि पोटली बाँधेर राखे ।

गाउँबाहिर आफ्ना गिरहत आउँदै गरेको उनले देखे । गिरहत गाउँबाट भर्खर निस्केका थिए । उनले गिरहतको पहिरन देखेरै गिरहत आउँदै गरेको ठम्याए ।

उनले स्वास्नीलाई भने, ‘गिरहत आउँदै छन् । जा मुरहीको पोटली लुका ।’ धानको निन उनीहरूले पहिले नै लुकाइसकेका थिए । उनकी स्वास्नीले चारैतिर लुकाउने ठाउँ खोज्दै आँखा डुलाइन् । छेउको खेत गिरहतकै थियो । धान लागेकै थियो त्यो खेतमा । उनले त्यही खेतको धानमा मुरहीको पोटली फालिन् । र, पोको लुकाइन् ।

मुरहीको पोटली छेउको खेतमा लुकाएर उनीहरू काम गर्न व्यस्त भए । गिरहत आएपछि चारैतिर हेरे । उनले सबै ठिक देखे ।

गिरहतले आलीमा उभिँदै भने, ‘मनभोरना रे, चाँडै धान काटेर सका । धान धेरै पाकेर सिस (बाला) खेतमै झर्न लागेको छ ।’
गिरहतको कुरा सुनेर मनभोरनले निधारको पसिना पुछ्दै मालिकतिर नजर दिँदै भने, ‘एक हप्तामा सबै धान काटेर सकाउँछु गिरहत ।’ 
‘चाँडै सका’ भन्दै गिरहतले भने, ‘म थानबाला खेत हेर्न जान्छु ।’ उनी खेततिर गए ।

गिरहत छउन्जेल उनकी स्वास्नी डराइरहेकी थिइन् । गिरहत गइसकेपछि उनले लामो सास फेरिन् ।

उनकी स्वास्नीले छोरीलाई खेतमा धान छोप्ने बेलामा झरेको धानको बाला टिप्न बोलाएकी थिइन् । एक छिनपछि उनकी छोरी सुखलाही आई । खेतमा झरेका धानको बाला सुखलाही ‘लोरहन’ (झरेको बाला टिप्नु, शीला खोज्नु) थाली ।

छोरीले धान लोरहिसकेपछि मनभोरनले यताउता हेरे । गिरहत आउने कुनै सुइँको थिएन । एकपजा धान बाँध्दै छोरीलाई भने, ‘यो धान लिएर घर जा । गिरहतले देखे मार्छन् । गिरहत आउनुभन्दा अगाडि नै भाग ।’

उनकी स्वास्नीले लुकाएको मुरहीको पोटली ल्याउँदै छोरीलाई भनिन्, ‘यो पनि लिएर जा । गाउँको डगहरबाट नजानू । गिरहतनीले देख्छिन् । बारीको बाटो जा ।’

मनभोरनले सुखलाहीको टाउकोमा एकपजा धान बोकाए । स्वास्नीले मुरहीको पोटली काखमा च्याप्न लगाइन् । उनीहरूले छोरीलाई घर पठाए । उनीहरू साँच्चिकैका चोर त थिएनन्, तर आफूले मजदुरी गरेअनुसारको श्रमको मूल्य नपाउँदा चोर्न बाध्य थिए ।

उनका पुर्खाहरुले इमानदारीपूर्वक काम गर्दै आएका थिए । तर, कति इमानदारीपूर्वक काम गर्थे ? उनीहरू पनि कहिलेकाहीँ गिरहतको आँखा छलेर चोर्थे । छोरी गएपछि उनीहरू ढुक्क भए ।

उनीहरूले पूरै खेतको धान छोपिसकेका थिए । जिना (धानको निनको डोरी) बिछ्याउँदै चारचारपजा धानको बोझा बाँधे । सोह्र बोझा धान भयो । उनले तीनवटा बोझा लटरम्म फलेका धानका बालाहरू भएकाको बोझा बाँधे । उनलाई गिरहतले छान्न लगाए भने उनले ठूलो बोझा रोज्छु भनेर लटरम्म बाला भएको बोझा आफ्नो भागमा राख्ने विचार गरे ।

एक बोझा धान पाएबापत परालको बोझा बाँधेर पनि मालिकको टौवाबारीसम्म बोकेर पुर्याउनुपर्थ्यो । उनले भारमा (बाँसको भाटा÷खर्पनझैँ वस्तु) दुवैतिर धानको बोझा झुन्ड्याए । धानको बोझा ओसार्न तयार भए । र, टुक्रुक्क बसेर दुवै काँध थापेर उनले काँधमा भार उचाले ।

भार उचाल्दा उनको खुट्टा तल धसे । आफ्नो घुँडामा हात राख्दै बल लगाउँदै उठे । भारीले पिठ्युँ कुप्रियो । बल लगाउँदै पिठ्युँ सिधा गरे । उनको घुँडाको हड्डी कटकट बोल्यो । धानको भारीले भार पनि करकर बोलिरहेको थियो । उनले भारमा दुईवटा बोझा बोक्दै स्वास्नीतिर हेरे ।

उनकी स्वास्नी एक्लै धानको बोझा उचाल्दै टाउकोमा बोक्न खोजिरहेकी थिइन् । तर, उचाल्न सकिरहेकी थिइनन् । उनी भार बोकेरै स्वास्नीको छेउमा गए । एक हातले भार समात्दै अर्को हातले स्वास्नीलाई बोझा उचाल्न सहयोग गरे ।

उनकी स्वास्नीले पनि निहुरेर टाउकोमा धानको बोझा बोकिन् । भारी बोकेर उनकी स्वास्नीको थोरै पिसाब फिस्स निस्कियो । उनी भुँइमा थचक्क बसिन् । उठ्नै सकिनन् ।

मनभोरनले आफ्नो एउटा हातले स्वास्नीको हात तान्दै बल लगाएर उनलाई ताने । उनी घुँडामा हात टेक्दै उठिन् । उनले धेरै नै मुती सकेकी थिइन् । उनको खुट्टा पिसाबले भिज्यो । तर, मनभोरनले थाहा पाएनन् ।

उनले दायाँ हातले धानको बोझा समातेर बायाँ हातले खुट्टामा लागेको पिसाब सारीमा पुछिन् । पिसाबले पोलेर उनको खुट्टामा कुटकुट काटिरहेको थियो । फेरि राम्ररी पुछिन् ।

दुवैजना धानको बोझा बोकेर आलीमा आए । धानको भार दुवै काँधमा बोकेर मनभोरन आली हुँदै गिरहतको घरतिर लागे । बाटोमा उनी जति घरनजिक जाँदै थिए, त्यति नै उनलाई धानको भार गह्रौँ लाग्न थाल्यो । उनी पसिनाले निथ्रुक्कै भिजे । पटकपटक दायाँ र बायाँ काँधमा भार सारिरहेका थिए ।

उनले धानको भारी बोकेको काँध यति धेरै तातो भइसकेको थियो कि मंसिरको चिसो हावाले पनि गर्मी नियन्त्रण गर्न सकेन ! भारीले उनको काँध असाध्य पोलिरहेको थियो । त्यो पोलाइ आगोभन्दा कम थिएन ।

उनी बिनाचप्पलको खुट्टा हिँडिरहेका थिए । चिसो भए पनि गर्मीले जेठ महिनाको गर्मी अनुभव गरिरहेका थिए । जति पाइला अगाडि सार्थे, त्यति नै उनको पाइला पछाडि सरेको भान भइरहेको थियो ।

यतिन्जेलसम्म काँध भारले पोलेर उनको पूरा जिउ तातो भइसकेको थियो । उनको ओठ, मुख र तालु सुकिसकेको थियो । तिर्खा लागिरहेको थियो । उनको मुखमा थुक थिएन । उनी पटकपटक जिब्रोले तालु चाटिरहेका थिए । उनलाई मुख सुक्खा र नुनिलो मात्र लागिरहेको थियो ।

अब गिरहतको घर धेरै टाढा लाग्यो उनलाई । उनले बोकेको भार आफ्नै सुरमा करकर बोलिरहेको थियो । भार चुड्ला कि भनेर उनलाई डर पनि लागिरहेको थियो । तर, दुवैतिर धानको बोझा भारमा झुन्डिरहेको थियो ।

उनकी स्वास्नी मुखमा धान फाँक्दै (धानको बोक्रा टोकेर चामल खाँदै) हिँडिरहेकी थिइन् । उनकी स्वास्नी दुरमतीयाको घाँटी पनि भारीले प्याकप्याक भइरहेको थियो । उनी बेसरी हात हल्लाउँदै हिँड्न थालिन् । त्यसरी हात हल्लाएर हिँड्दा जिउमा साह लागेर एक पाइला बढी चाल्न सकिन्छ भन्ने उनलाई लाग्यो ।

दुरमतीया मनभोरनको पछिपछि टाउकोमा बोझा बोकेर हिँडिरहेकी थिइन् । उनको अवस्था पनि त्यस्तै थियो । उनी पटकपटक घाँटी यताउता सार्न खोजिरहेकी थिइन् । तर, बोझाको भारीले सकिरहेकी थिइनन् ।

उनी पनि पसिनाले निथ्रुक्क भिजेकी थिइन् । उनको पेटीकोट र ब्लाउज सबै भिजिसकेको थियो । उनी भन्दै थिइन्, ‘अब हामी गिरहतको खेतमा काम नगरौँ है ।’
अगाडि भार बोकेर हिँडिरहेका मनभोरन हस्याङफस्याङ गर्दै बोले, ‘गिरहतको खेतमा काम नगरे के खान्छेस् ?’ 
उनले पनि भारी पाइला चाल्दै भनिन्, ‘भोकै मर्छु, तर श्रमको मूल्य नपाउने काम गर्दिनँ ।’

स्वास्नीको कुरा सुनेर उनी सोचमा परे । तथापि, उनका पाइला सरिरहेका थिए गिरहतको घरतिर । उनले काँधको भारी बिर्से । उनी सोच्न थाले— दिनभरि काम गरेर गिरहतलाई धनी बनाउनुभन्दा भोकै बस्नु जाती ।

तेह्रवटा बोझा गिरहतको घरमा ओसार्न बाँकी थियो । तीनवटा बोझा बल्ल ओसारेका थिए । उनीहरूले रातको आठ बजेसम्म सबै बोझा ओसारे । र, घर फर्किए ।

घर फर्किंदा उनका छोराछोरी भात नखाई सुतिसकेका थिए । दुरमतीया मिल गइन् । दिउँसो ढाकीमा धान राखेर गएकी थिइन् । मिलवालाले धान कुटेर राखिदिएका थिए । उनीसँग पैसा थिएन । धान कुटाइ चामल एक पसर (दुवै अँजुली चामल) दिइन् । चामलको ढाकी बोकेर घर फर्किन् । एक छाक पुग्ने चामल नाङ्लोमा निफनिन् । तरकारी केही थिएन ।

दिनभरि काम गरेर पनि सही मूल्य नपाएकाले दुवैजना उदास थिए । राति पकाउनका लागि केही नभएकोले हरियो खुर्सानी र नुन सिलौटामा पिसेर चटनी बनाइन् । त्यही चटनी र उसिना भात दुवैजनाले खाए ।

अर्काको खेतमा काम गरेर छोराछोरीको पनि स्याहार गर्न नपाउने न घर चलाउने खर्च पुग्ने ! राति नुन र भात खाएर सुत्ने र बिहानै उठेर काममा जानुपर्ने बाध्यताले उनीहरू सारै उदास थिए । नुन, भात खाएर जिउमा तागत नै कति हुन्छ र । तैपनि, सुखारुखा खाएर गुजारा चलाउन दिनभरि धनकटी गर्थे ।

भोलिपल्ट बिहानै उनी र उनकी स्वास्नी लेरुवाको (धानको पछाडिको भागको पराल) बोझा बाँधेर सबै लेरुवा गिरहतको टालबारीमा ओसारे । लेरुवा ओसारेर सोह्र बोझा धानमा दुई बोझा धान पाए । एक बोझा धान लटरम्म फलेको बाला भएको रोजेकै बोझा पाए । तर, अर्को बोझा रोजेर पनि गिरहतले दिएनन् । सानो बोझा गिरहतले लिन लगाए ।

उनले एक छिनसम्म सानो बोझा लिँदै लिएनन् । गिरहत पनि दुइटै ठूलो बोझा दिन्नँ भनेर हठी कसेर बसे । गिरहतको हठ देखेर तिनले एउटा सानो र एउटा ठूलो बोझा लिए ।

सोह्रवटा बोझामा दुईवटा बोझा मात्र पाउँदा उनीहरू उदास थिए । त्यत्रो काम गर्दा पनि थोरै पारिश्रमिक पाएर उनीहरू मनमनै रिसाए । घर आएर दुरमतीयाले धानको बोझा भ्यात्त छाप्रोको अगाडि राखेर रिसाउँदै छेउमा भएको ढाकीमा एक लात हान्दै भनिन्, ‘चुइयाँ गिरहतको कहिले भलो नहोस् । मरीमरी काम गर्यो, लिने बेला रोजेको बोझा पनि लिन पाइँदैन !’

उनको कुरा सुनेर मनभोरनले थपे, ‘अर्को वर्षदेखि म यो गिरहतकोमा काम गर्दिनँ । बरु इँटा भट्टामा काम गर्न जान्छु । यस्ताको त कहिले भलो नहोस् ।’ 
०००
दिन बित्दो थियो । अर्को वर्ष पनि आयो । अर्को वर्ष उनीहरू धनकटी गर्न गएनन् । पटकपटक गिरहतले धान काट्न भने । तर, उनीहरू धनकटी गर्न गएनन् ।

मनभोरनको अध्यक्षतामा मुसहरी, दुसधटोली, खतबेटोली र चमरटोलीका मजदुरहरू तीन महिनाअगाडि नै बैठक बसेर आफूहरूले श्रमको सही मूल्य नपाएकाले गिरहतहरूको खेतमा काम नगर्ने निर्णय लिएका थिए ।

मजदुरहरू परिवर्तन भएको देखेर बेलुका गाउँभरिका गिरहतहरूको बैठक बस्यो । मुसहरी, दुसधटोली र चमरटोलीमा गिरहतहरूको आगमन भयो । तिनले काम गर्न किन नआएको कुरा कामदारहरूलाई सोधे । उनीहरूले पनि श्रमको सही मूल्य नपाएकाले काम गर्न नआएको कुरा बताए ।

यो हल्ला गाउँमा फैलियो । मजदुरहरूले हड्ताल गरेर बसेको कुरा हावा बनेर गाउँगाउँ फैलिएर गयो ! मनभोरनले सबै कामदारहरूलाई उचालेको कुरा गिरहतहरूले थाहा पाए । ती रिसाए । तर, मनभोरनलाई केही फरक परेन ।

कामदारहरू काम गर्न नआएकाले गिरहतहरूको खेतको धान पाकेर खेतमै झर्न थाल्यो । त्यति धेरै खेतको धान काटेर साध्य पनि थिएन । गिरहतहरूले श्रमिकहरूलाई पटकपटक धान काट्न बोलाए । तर, अहँ ! उनीहरू एकढिका भएर काम गर्न जाने कुरामा अडिग रहे । तिनले सिधै अस्वीकार गरे ।

पछि उनीहरूले आफ्ना माग पनि राखे । धान काटेको ज्याला धानको सट्टामा पैसा माग्न थाले । एकजना श्रमिकको ज्याला दैनिक पाँच सय रुपियाँको माग गरे । यो माग गिरहतहरूलाई स्वीकार्य भएन । बरु अरू गाउँबाट कामदार ल्याएर भए पनि काम गराउने निचोडमा उनीहरू पुगे ।

गिरहतहरू अरू गाउँमा पनि कामदार ल्याउन गए, तर कुनै पनि गाउँका श्रमिकहरू आएनन् । यति बेलासम्म सबै गाउँका श्रमिकहरू एकजुट भइसकेका थिए ।

गिरहतहरू परबाटै आइरहेको देखी श्रमिकहरू अनुहार नै अर्कैतिर फर्काउँथे । गिरहतहरू पनि तिनको व्यवहार देखेर निराश हुँदै घर फर्किन्थे ।

खेतभरिका धान पाकेर बालाहरू खेतमै नुहेर झर्न थाले । यता, श्रमिक टोलमा रहेका सबैजनाको घरमा खानेकुराहरू सकिँदै गएको थियो । गिरहतहरूलाई पूर्ण विश्वास थियो, भोक लाग्यो भने मजदुरहरू अवश्य काम गर्न आउनेछन् । वास्तवमा गिरहतहरू घमन्ड गरेर बसेका थिए । तर, श्रमिकहरू टोलबाट एकजना पनि बाहिर निस्केनन् । बरु दिनरात पानी मात्रै पिएर बसे ।

ती केटाकेटीहरूलाई बचेका खाना खुवाउँथे । पुरुष र महिलाहरूले आ–आफ्ना जातका गोराइत (मुख्य मान्छे)को घरमा धर्ना दिन थाले । माग पूरा नगरेसम्म आफूहरूले भोकभोकै यहीँ ज्यान दिने धम्की दिन थाले ।

जातीय गोराइतहरू मिलेर गाउँका मुख्य गोराइतकहाँ गएर छिट्टै समस्या समाधान गर्ने सल्लाह गरे । गाउँको मुख्य गोराइतले गिरहतहरूसँग बैठक राखे ।

जमिनदारहरूले ‘भोकमरीले मरे बल्ल श्रमिकहरू काम गर्न आउँछन्, हामी उनीहरूको माग पूरा गर्न सक्दैनौँ’ भनेर अड्डी कसे । गिरहतहरूको अडान गोराइतले श्रमिकलाई सुनाए ।

फेरि एकपटक श्रमिकहरू जंगिए । सबै श्रमिकहरू एक भए । सबै श्रमिक महिला, पुरुष गाउँको मुख्य माइनजनको खलियानमा धर्ना बस्न जम्मा भए । हाम्रो श्रमको मूल्य निर्धारण गर भन्दै विद्रोहका साथ उनीहरूले माइनजनको घर घेराउ गरे ।

माइनजनले भिडलाई शान्त पारे । भोका र नांगा बच्चाहरू काखमा बोकेर श्रमको मूल्य माग्न उनीहरू हड्तालमा बसेका थिए । भोकले बच्चाहरूको पीडापूर्ण क्रन्दन सुनिन्थ्यो । रोएको, कराएको सुनिन्थ्यो ।

ती श्रमिकहरूको टोलमा भोकमरी लागिसकेको थियो । पेटमा पटुका बाँधेर उनीहरू गाउँका माइनजनको घर घेराउ गरिरहेका थिए । उनीहरू आक्रोशित थिए । आक्रोश देखेर माइनजनले गिरहतको समूह र कामदारको समूहको बैठक बोलाए ।

गिरहतहरू श्रमिकहरूलाई दैनिक पाँच सय रुपियाँ दिन नसक्ने निर्णयमा पुगे । पैसा नदिने निर्णयमा पुगेपछि श्रमिकहरूले पाँच बोझामा चार बोझा गिरहतलाई बुझाउने र एक बोझा धान आफूहरूले लिन पाउनुपर्ने माग राखे । गिरहतहरूलाई भने उनीहरूको त्यो माग पनि मन परेन । 

सहानुभूतिका दुई शब्द कुनै गिरहतका मुखारविन्दबाट निस्केनन् ! श्रमिकको माग कुनै पनि हालतमा पूरा नगर्ने निर्णयमा गिरहतहरू एकजुट भए ।

उता, टोलटोलमा भोकले केटाकेटी र बूढापाकाहरू छटपटिरहेका थिए । हड्तालको असर सबैभन्दा बढी साना बच्चाहरूमाथि परेको थियो । बच्चाहरूको अवस्था देखेर यो हड्ताल धेरै नलम्ब्याउने सोचमा श्रमिकहरू पुगिसकेका थिए ।

भोकले राति आँखामा निद्रा थिएन । दिउँसो चैन थिएन । छटपटीबाहेक अरू केही थिएन । कारण, सञ्चित अन्न पनि सकिएको थियो ।

गाउँका सबै श्रमिकहरू एकढिका भए । रातमा सबै टोलका श्रमिकहरू एकै ठाउँ जम्मा भए । सबैको हातहातमा बाल्टिन, लोटा, आरी, बटुको, कमन्डोल, टुकुस, ग्यालन र हँसिया थियो ।

उनीहरूले मध्यरातमा पेट्रोल पम्पमा आक्रमण गरे । पम्पको कर्मचारीको घाँटीमा हँसिया राखेर डर देखाए । पम्पका कर्मचारी डरले मुसाझैँ बने । तिनले पेट्रोल पम्पबाट पेट्रोल आफूसँगको भाँडामा भर्न थाले ।

आन्दोलनका लागि गाउँगाउँबाट श्रमिकहरू झरेका थिए । यसरी हजारौँ श्रमिक मिलेर राति वरपरका सात–आठ गाउँका खेतहरू घेराउ गरे । भाँडामा ल्याएको पेट्रोल र डिजेल खेतमा पाकेको धानमा छर्किन थाले । धान पाकेका बिघौँबिघा खेतमा मटीतेल, डिजेल र पेट्रोल छर्के । र, सबै धान खेतमा आगो सल्काए ।

गाउँभन्दा बाहिर खेतमा लागेको आगोको झिल्का टाढाटाढासम्म देखिन्थ्यो । आगोको राप महसुस हुन्थ्यो । गिरहतहरू भने खेतमा लागेको आगोको ज्वाला देखेर छटपटिन थाले । मजदुरहरूले नै आगो लगाएको हुनुपर्छ भन्ने अनुमान तिनको थियो ।

उनीहरू डराउँदै घरमा लुके । लुकेरै तिनले मजदुरहरूलाई गाली पनि गर्न थाले । गाउँमा सन्त्रास छायो । सबैजनाको भागाभाग भयो । आगो लगाएको थाहा पाएपछि गिरहतहरू घरबाट निस्किन सकेनन् । गाउँबाहिर निस्कन खोज्दा खेतको आगो सम्झेर उनीहरू डराए । तिनले आफ्नै ज्यान बचाउन थाले । टाउको समातेर घरमै छटपटिरहनुको विकल्प थिएन ।

भोलिपल्ट खेतमा धानका बिटाहरू जलेर कालो खरानी मात्र बाँकी थियो । गिरहतहरू श्रमिकहरूदेखि डराउन थाले । उनीहरूको टोल पनि जान छाडे । धान खेतमै जलाएकाले गिरहत सबै मजदुरहरूसँग रिसाएका थिए । अझ, रिसाउनुभन्दा बढी डराएका थिए, घरमा पनि आगो लाउन बेर छैन भनेर ।

मजदुरहरू गिरहतको खेतमा काम नगरेर एक घण्टा हिँडेर भए पनि बजारको इँटा भट्टा, प्लाइबोर्ड फ्याक्ट्री र राइस मिलमा भारी बोक्ने काम गर्न थाले । सहरमा मजदुरहरूले ज्यालादारीमा काम पाएका थिए ।

सबै मजदुरहरू सहर काम गर्न गएकाले गिरहतका खेतमा काम गर्ने कामदार भएनन् । पाए पनि आफूले चाहेको ज्याला पाएपछि मात्र बल्ल काम गर्न जाने निर्णय सुनाउँथे ।

यसरी मालिकहरूले मजदुरमार्फत काम गराउँदा घाटामा गए । अर्को वर्षदेखि थोरै खेत भएका गिरहतहरूले आफैँ खेती गर्न थाले । धेरै खेत भएकाहरूले आफ्नो खेत बटैयामा दिने निर्णय लिए ।

गाउँमा कामदार पाउन गाह्रो भइसकेको थियो । खेत भएकालाई खेती गर्न धौधौ परेको थियो । सहर नजाने श्रमिकहरूले बटैया, ठेक्का र मोहीमा खेती गर्न थाले ।

खेतमा काम गर्ने श्रमिक नपाएकोले आफ्नै खेतबारी पनि भारी लाग्न थालेको थियो, गिरहतहरूलाई ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १०:४२
प्रतिक्रिया दिनुहोस्