site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
टेकुको पचली भैरव उत्पत्तिको वियोगान्त प्रेमकथा
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी

काठमाडौं । काठमाडौं उपत्यका मठमन्दिर, शक्तिपीठ र किंवदन्तीले जीवन्त सहरका रूपमा चिनिन्छ । नेपाल मण्डल (काठमाडौं उपत्यका)को उत्पत्तिबारे धार्मिक र सांस्कृतिक मिथकहरू अति नै लोकप्रिय मानिन्छन् ।

यस्तै, काठमाडौंस्थित टेकुमा रहेको ‘पचली भैरव’को पनि आफ्नै विशेष महत्व र सांस्कृतिक मिथक छ । पचली भैरव सबै भैरवहरूको प्रमुख मानिन्छ । किंवदन्तीअनुसार पञ्चलिंगेश्वरको अपभ्रंश भएर पचली भएको हो । 

भगवान पचली भैरवको वास्तविक नाम पचली भैरव थिएन । पचली भैरव को थिए ? कसरी पचली भैरव बन्न पुगे ? आज हामी टेकुस्थित पचली भैरवको उत्पत्तिको कथा सुनाउँदै छौँ, त्यो पनि नाट्य रूपान्तरणमार्फत ।

Dabur Nepal

वियोगान्त प्रेमकथाले सिद्ध भएका पचली भैरव 
परापूर्वकालमा किराँतमा एक राजा थिए । यलम्वर नामका ती किराँती राजा तान्त्रिक योग र तन्त्रमन्त्रले सिपालु थिए । राजा यलम्वर हरेकदिन भेष परिवर्तन गरेर पाँच प्रकारका ऊर्जाको लिङ्ग उत्पत्ति भएको वाग्मती र विष्णुमतीको दोभानमा पवित्र तीर्थस्थल पञ्चलिंगेश्वरमा गएर ध्यानमा बस्ने गर्थे । शान्त अनि प्राकृतिक सुन्दर पञ्चलिंगेश्वरमा ध्यानमग्न यलम्वरलाई एकदिन नेवा सुन्दरी रुकमणी अर्थात् नैअजिमाले देख्छिन् ।

त्यस्तो शान्त जंगलमा जंगली जनावरको डर नमानी ध्यानमा मग्न सुन्दर पुरुषप्रति रुकमणीको दिल आउँछ । रुकमणीले अर्को दिन आफ्नी संगीहरूलाई पनि यलम्वरलाई देखाउन लग्छिन् । तर, रुकमणीका संगीहरूले जिस्काएर यलम्बरको ध्यान भङ्ग गरिदिन्छ ।

त्यसपछि पलाउँछ यलम्बर र रुकमणीको प्रेमको, पालुवा । त्यसदिनदेखि रुकमणी र यलम्बरको भेट हरेकदिन हुन थाल्छ । उनीहरूको प्रेमसम्बन्ध यति गहिरो हुन्छ कि रुकमणीको पेटमा यलम्बरको प्रेमको ‘नासो’ पलाउँछ ।

तर, त्यसदिनदेखि यलम्बर र रुकमणीको भेट हुन छोड्छ । यलम्बर कुनै खबरै नगरी ध्यान बस्न आउन छोडेपछि रुकमणी चिन्तित हुन्छिन् । रुकमणी चिन्तित हुनु स्वाभाविक पनि थियो । किनकि उनले नाम, थर, घर केही थाहा नभएका परिचयविनाका पुरुषलाई विश्वास गरेर आफू नै सुम्पिएकी थिइन् ।

रुकमणीको परिवर्तित व्यवहारलाई नजिकबाट नियालिरहेकी उनकी आमाले एकदिन रुकमणीलाई सबै कुरा भन्न आग्रह गर्छिन् । रुकमणीले पनि बेलीबिस्तार लगाउँदै यलम्बरसँगको सम्बन्ध र दुईबीचको सम्बन्धको ‘नासो’ आफ्नो शरीरमा हुर्किरहेको बताउँछिन् । 

किशोरी अविवाहित छोरी गर्भवती बनेकोमा समाजले थाहा पाए अनर्थ हुने डर उनकी आमालाई लाग्छ । त्यसो हुन नदिन उनले रुकमणीलाई प्रेमीको परिचय थाहा पाउने जुक्ति दिन्छिन् । 

आमाले भनेअनुसार नै रुकमणीले धेरैदिनपछि भेट्न आएका आफ्ना अपरिचित प्रेमी अर्थात यलम्वरलाई जालमा फसाएर आफ्नो परिचय खुलाउन जिद्दी गर्छिन् ।

तर, यलम्वरले भने कति कुराहरू रहस्यमै सीमित भए राम्रो हुने भन्दै प्रेमिका रुकमणीलाई जिद्दी नगर्न आग्रह गर्छन् ।  “बुझ्ने कोसिस गर, कतिपय रहस्यहरू, रहस्यनै भएको उत्तम हुन्छ । त्यसैले मलाई यहाँबाट जान देऊ,” यलम्वर प्रेमिकालाई सम्झाउने प्रयास गर्छन् ।

तर, रुकमणीले आफ्नो प्रेमी र हुनेवाला सन्तानको बुवाको परिचय जान्ने अधिकार भएको भन्दै अन्ततः यलम्वरलाई रहस्य खोल्न बाध्य बनाउँछिन् । 

आफ्नो प्रेम साँचो हो भनेर प्रमाणित गर्न यलम्वर (पचली भैरव) रहस्य खोल्न तयार हुन्छन् । तर, उनले रुकमणीसँग सर्त राख्छन् । उनी सर्त मान्न तयार हुन्छिन् ।

यलम्वरले तन्त्रमन्त्र गरेको अक्षता दिँदै भन्छन्, “तिमीले मेरो रूपको दर्शन पाएपछि, पुनः यस मनुष्य रूपमा फर्कन यस मन्त्रयुक्त अक्षेता मलाई छर्किनू ।” 

यहाँबाट सुरु हुन्छ यलम्वरबाट पचली भैरवको यात्रा... । के रुकमणीले प्रेमी यलम्वरलाई दिएको वाचा पूरा गर्छिन् त ?, के रुकमणीले प्रेमीको वास्तविक रूप देखेपछि पुनः मनुष्य रूपमा फर्काउन सक्छिन् ? के रुकमणीले मन्त्ररूपी अक्षता छर्किन सफल बन्छिन् ?

यी सबै जिज्ञासा मेट्न टेकुस्थित कौशी थिएटरमा पुग्नुपर्नेहुन्छ । बज्रकला कुञ्जको प्रस्तुतिमा ‘कौशी थिएटर’ मा बिहीबारदेखि मंसिर ४ गते शनिबारसम्म ‘पचली भैरव’ शीर्षकको नाटक प्रस्तुत भइरहेको छ । नाटक शनिबारबाहेक हरेक दिन साँझ साढे ५ बजे र शनिबार दिउँसो १ र साँझ साढे ५ बजे हेर्न सकिन्छ । 

चन्द्रमान मुनिकारको परिकल्पना/कथा संकलन/निर्देशनमा मञ्चन भैरहेको यस सांस्कृतिक नाटकलाई इँगिहोपो कोंइच सुनुवारले नाट्य रूपान्तरण तथा सह–निर्देशन गरेका हुन् । 

यस नाटकबारे मुनिकार भन्छन्, “पछिल्लो २८ वर्षदेखि संस्कृतिसँग नजिक रहेर काम गरिरहेका हामीहरूले यसै सिलसिलामा योपटक ‘पचली भैरव’ माथि नाट्य प्रस्तुति तयार पारेका हौँ । हामीले चरिया नृत्य प्रशिक्षणदेखि हरेक वर्ष केही न केही माध्यममार्फत नेपालको संस्कृतिलाई फैलाउने र जोगाइराख्ने कोसिस गरिरहेका छौँ ।” 

मुनिकार अगाडि थप्छन्, “पछिल्लो समय नाटकघरहरूमा धेरैजसो विदेशी नाटकहरू मञ्चन भइरहेको देख्दा आफ्नै किन नगर्ने त ? हाम्रो आफ्नै कथाहरू पनि धेरै छन्, भनेर पनि यो छानेका हौँ ।”

नाटकमा प्रयोग भएका भेषभूषा, पृष्ठभूमिमा समयसमयमा बज्ने संगीत अनि नेपाल भाषाका गीतसंगीत, बेलाबेला बोलिने संवादले नेपाली संस्कृति र कलाकौशलाई चित्रण गरेको छ । तर, यो कथा नेवार जातिको मात्रै नभई समग्र नेपालीको हो भन्ने अपनत्व महसुस गराउन भनेर नाटक समग्र नेपालीभाषामा तयार पारेको उनले बताए । तर, केहीकेही संवादहरू भने नेपाल भाषामा पनि छन् । 


चरिया नृत्य प्रशिक्षण गर्ने बज्र कला कुञ्जका र बाँकी बाहिरकागरी जम्मा ११ जना कलाकारहरूले अभिनय गरेका छन् । नाटकमा सुदनमान मुनिकार, नानुमैँया महर्जन, सृर्जना शर्मा, करिना सुनुवार, श्रृष्टिना मुनिकार, संगीता थापा, युवहाङ राई, इँगिहोपो कोँइच सुनुवार, अनिसा श्रेष्ठ, पवित्रा राई र रोशनी चौधरीको अभिनय रहेको छ । 

यो नाटक तयार पार्न निर्देशक मुनिकारले दुई वर्षदेखि तयारी थालेका थिए । पचली भैरवमा लिखित पुस्तक तथा मौखिकी आधारित कथाहरू र पौराणीक भनाइ र सुनाइहरूको मालाबाट यो नाटक तयार पारिएको हो ।

टेकुको पचली भैरवमा, टेकुको पचलीमा गएर प्रेमिकाका कारण सिद्ध हुन पुगेका पचली भैरव, डरले प्रेमीलाई मनुष्यरूपमा फर्काउन दिइएको मन्त्ररूपी अक्षता आफैँले निलेकी नैअजिमा (रुकमणी) र पचली भैरव र नैअजिमाको प्रेमको नासो छोरा मुसुका गणेशको मूर्ति स्थापना भएको छ । मुसुस्क हाँसिरहने भएकाले उनको नाम मुसुका गणेश रहेको किंवदन्ती छ ।

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro