site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
बाबुसाहेबहरूको दिल्ली ‘तीर्थाटन’

दिल्ली ‘तीर्थाटन’ बाट पर्केपछि ‘बाबुसाहेबहरू’ निकै खुसी भएजस्तो देखियो । उनीहरू तीर्थाटनका क्रममा गोरखनाथ मठका महन्तको दर्शनका लागि लखनउसम्म पुगे । 

तीर्थाटन टोलीका अगुवा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत त ‘देउवा सरकारप्रति भारतकाे सद्भाव’बाट पुलकित भएछन् । राम्रो हो । यो सद्भाव देखाउने ‘भारत’ भनेको भारतीय जनता पार्टी (भाजपा) हो भन्ने सजिलै बुझिन्छ ।    

हुन पनि उनीहरू भाजपाकै निम्तामा दिल्ली गएका हुन् क्यारे ! सरकारमा पनि भाजपा नै छ । यसैले नेपाली कांग्रेसकाे संस्थापन (?) भाजपासँग नजिकिन खोजेको हुनुपर्छ । र नै त,  अहिले कांग्रेस र भाजपाबीचको सम्बन्धलाई ‘उचाइमा पुर्याउने पहल’ थालिएको होला ।

नेपाली कांग्रेसका संस्थापक नेताहरू धेरैको भारतसँग निकट सम्बन्ध त थियो नै । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाहरू त भारतमै जन्मे हुर्केका थिए । उनीहरूले राजनीति पनि भारतमै र भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक भएर थालेका थिए । यसैले भारतीय स्वतन्त्रता सेनानी मानिएका हुन् बीपी, किसुनजीदेखि कम्युनिस्ट नेता मनमोहन अधिकारीसम्म ।

भारतीय स्वतन्त्रता आन्दोलनमा होमिएका नेपाली तरुणहरू त्यहीँका नेताहरूबाट प्रभावित हुनु स्वाभाविकै हो । त्यही क्रममा उनीहरू विशेषगरी बीपी कोइराला भारतका समाजवादीको निकट भए । समाजवादी पार्टीमै सक्रिय पनि भए । भारतीय समाजवादीहरूसँग उनको राजनीतिक तथा व्यक्तिगत सम्बन्ध आजीवन कायम रह्यो । र, बीपीको मृत्युपछि पनि सुशील कोइराला बाँचुन्जेलसम्म नेपाली कांग्रेसको नजिकको सम्बन्ध भारतका ‘समाजवादी’हरूसँगै थियो ।

भारतको राजनीतिमा स्वतन्त्रता आन्दोलनदेखि नै समाजवादीहरू र संघ परिवार एकअर्काका विरोधी रहिआएका छन् । समाजवादीहरू गान्धीभन्दा एक पाइला अगाडि बढेर अंग्रेजविरुद्ध हतियार उठाउन पनि तयार भएका थिए भने भाजपाका नेताहरू अंग्रेजी उपनिवेशका पक्षमा थिए । राष्ट्रिय स्वयंसेवक संघलगायत हिन्दु प्रभुत्ववादी संगठनहरूको एउटा समूहलाई संघ परिवार भनिन्छ । भारतीय जनता पार्टीको जन्म जनसंघकै बीउबाट भएको हो । 

संघ परिवारसँग बीपीहरूको सैद्धान्तिक विमति  थियो । उता राजा महेन्द्रले भने नेपालमा लोकतन्त्रको हत्या गरेपछि भने संघीहरूसँग निकट सम्बन्ध बनाएका थिए । महेन्द्रले बनाएको हिन्दुकट्टरपन्थीसँगको सम्बन्ध ज्ञानेन्द्रसम्मै आइपुगेको छ । ज्ञानेन्द्रलाई कुम्भमेलामा योगी आदित्यनाथको स्वागतले यही पुस्तौनी सम्बन्ध उजागर गर्छ । 

नेपालमा लोकतन्त्रको हत्यापछि भारतबाट सुवर्ण शमशेर र पछि बीपीको नेतृत्वमा सशस्त्र आन्दोलन हुँदा वा नेपालमा लोकतान्त्रिक आन्दोलनको दमन हुँदा संघ परिवार र राजदरवारको भने निकट सम्बन्ध थियो ।  उनले हिन्दु कट्टरपन्थीको भावनात्मक सहानुभूतिलाई नेपालको लोकतन्त्रविरुद्ध प्रयोग गरेका थिए । नेपालकाे लोकतान्त्रिक आन्दोलनमा भारतको संघ परिवारले कहिल्यै सहयोग गरेन । संघीहरूको लोकतन्त्रसँग कुनै मोह छैन ।

संघीहरू नेपाली का‌ग्रेस वा लोकतन्त्रवादी प्रगतिशील शक्तिका दुःखका साथी पनि होइनन् । लोलोपोतो त सुषमा स्वराजले खड्गप्रसाद ओलीलाई समेत प्रधानमन्त्री नहुँदै ‘स्वागत दर्शन’का लागि आएर पारेकै थिइन् ।

हिन्दु प्रभुत्ववादी भाजपा र उदार लोकतन्त्रवादी नेपालीबीच कांग्रेसबीचको ‘सद्भाव’ बढ्ने गति अलि पत्यारलाग्दो देखिएको छैन । संघ परिवार कुनै पनि दृष्टिमा बहुलवादी हुनसक्तैन भने बहुलवाद त्याग्ने हो भने नेपाली कांग्रेस कांग्रेस रहँदैन ।

ज्ञानेन्द्र शाहलाई  योगी आदित्यनाथले गरेको स्वागतको कुनै संकेत त पक्कै छ । कांग्रेस नेताहरूलाई योगीसँग भेटाउनुको कुनै तात्पर्य पनि होला । योगीलाई भाजपाका भावी प्रधानमन्त्रीका रूपमा संघ परिवारभित्र र बाहिर पनि हेरिँदैछ । नेपाली कांग्रेसका नेताको पनि योगीप्रति योगीको ज्ञानेन्द्रप्रति जस्तै सद्भाव हो कि ?

(बाबुसाहेबहरूलाई ‘कुर्नेस’ कै नियास्रो लागेकाे हो भने दिल्ली पुगेर किन घुमाएर कान छुनु  ? यतै सम्बन्ध बढाए भैगो नि ! बहुसङ्ख्यक नेपाली जनताले नमाने पनि बाबु्साहेबका आफन्तहरूकाे एउटा झुन्ड त कुर्नेस गर्दैछ क्यारे !) 

नेपाली जनताले बनाएको संविधान भारतकाे अहिलेको संस्थापनले नरुचाएको त स्पष्टै छ । नेपाली कांग्रेसलाई पनि यो संविधान नरुचेकै हो कि ? पहिलेको नेपाली कांग्रेस हुँदो हो त भाजपाको काखमा लुटपुटिने ‘संस्थापन’को चाहना पार्टीभित्रै चर्को छलफलको विषय हुन्थ्यो होला । 

कांग्रेसमा अहिले व्यावहारिक लाभहानि नहेरी सिद्धान्तकाे कुरा गर्ने नेता देखिँदैनन् । यसैले भारतको सत्तारूढ दलसँग नजिकिन खोजेकोमा प्रश्न गर्ने हिम्मत बिरलैले गर्लान् । परन्तु, लोकतन्त्रको माया गर्ने नेपाली बौद्धिक जगतले यस विषयमा छलफल गर्नुपर्ने होइन र ?  

बीपी २०३३ मा स्वदेश फर्कन हतारिनुको एउटा कारण भारतमा सङ्कटकाल लागेपछि समाजवादीहरूमाथि गरिएको दमन पनि थियो । आफ्ना मित्रहरूमाथि भएको दमनप्रति पनि बीपीले नेपाल फर्केर असन्तुष्टि प्रकट गरेका हुन् । 

अहिले नेपाली का‌ग्रेस र भारतीय जनता पार्टी दुवै सरकारमा छन् । सरकारी स्तरमा दुवै देशबीच सम्बन्ध सकेसम्म राम्रो बनाउने प्रयास पनि गर्नुपर्छ । तर, पार्टीस्तरको सम्बन्धमा भने विचार गर्नुपर्ने हो । नेपाली कांग्रेसले कम्युनिस्टहरूको सिको पार्टीगत सम्बन्धमा पनि गर्न खोजेको त हैन होला नि ! 

एकताका चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच निकै निकटता बढेको थियो त । चिनियाँ ‘मेन्टरहरू’ नेपाली कम्युनिस्ट नेतालाई खुबै अर्ती दिन्थे । अब कांग्रेसले पनि संघ परिवारबाट राजनीति, रणनीति सिक्ने हो कि ?    

कि नेपाली कांग्रेसले आफूलाई साँच्चै नै सम्भ्रान्त वर्गको पार्टीमा बदलेको हो ? छिमेकी त नीतीशदेखि ममतासम्म पनि सत्तामै थिए । ती कसैलाई नभेटी आदित्यनाथलाई मात्र भेटेर के सन्देश दिएका हुन् बाबुसाहेबहरूले ? कांग्रेसविरुद्ध महेन्द्र र वीरेन्द्रले समेत संघ परिवारसँग निकटता बढाएका थिए । ठिटा बाबुसाहेबहरूले थाहा पाएका छैनन् भने पाका नेताहरूसँग सोधे हुने । नत्र रञ्जित रेकै काठमाडौं डिलेमा दोहोर्याएर पढे पनि हुन्छ ।

अड्कलेरै सही रेले लेखेकै छन् त ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro