site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
धोका दिएका ‘१० भाइ’ ओलीको अन्धभक्त हुन नसके नेकपा (एस) मै आउँछन् 
Sarbottam CementSarbottam Cement

नेकपा (एकीकृत समाजवादी) पार्टी यति बेला संगठन निर्माणमा जुटेको छ । नेकपा (एमाले)बाट विभाजित भएर गठन भएको उक्त पार्टी राष्ट्रिय सम्मेलनको तयारीमा पनि छ ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा आगामी केन्द्रीय कमिटी बैठकले सम्मेलनको मिति तय गर्ने बताउँछन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिले (एकीकृत समाजवादी) रोज्ने पाउने समयावधि सकिइसकेको छ । माधवकुमार नेपाल एमालेमा रहँदा साथ दिएका १० नेताहरूले विभाजनमा उनलाई साथ दिएनन् । खतिवडा उनीहरूले आफूहरूलाई अन्तिम समयमा धोका दिएको बताउँछन् । तर, उनीहरूसँग चित्तदुखाइ भने नभएको उनले बताए । प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर नेता जगन्नाथ खतिवडासँग बाह्रखरीका कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :

एमालेमा माधवकुमार नेपालकै पक्षमा रहनुभएका नेताहरूले पार्टी विभाजनमा साथ दिनुभएन, स्थानीय तहमा पनि त्यसकै असर देखिएको हो ? नयाँ पार्टीमा खासै उत्साह देखिएन नि !

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रमा माधवकुमार नेपाललाई साथ दिइरहेका साथीहरू परिवर्तनकामी, विद्रोही, क्रान्तिकारी हुनुहुन्छ भन्ने सोचेका थियौँ ।

अन्ततः उहाँँहरूले हामीलाई धोका दिनुभएको छ । उहाँहरू अवसरवादको दलदलमा फस्नुभएको छ । उहाँहरूले केपी ओली प्रवृत्तिप्रति आत्मसमर्पण गर्नुभयो । हामी यो कुरामा दुःखी छौँ । उहाँहरूसँग हामी रिसाएका छैनौँ । विद्रोह गर्ने अन्तिम तयारीमा उहाँहरू लाग्न सक्नु भएन । आँट गर्नुभएन । नेकपा (एकीकृत समाजवादी) बनाएर पार्टी चलाउन सकिन्छ भन्ने सोच्नु भएन ।

Global Ime bank

उहाँहरूले विकल्पमा खेल्न सक्नु भएन । उहाँहरूप्रति चित्तदुखाइ छैन । आज त्यहीँ बस्नुभएको छ, भोलि त्यहीँ भित्र अट्न सक्नु हुन्न भन्ने लाग्छ । अट्नुहोस्, शुभकामना छ । नभए जहिले आउन सक्नुहुन्छ । आउनुस्, स्वागत गर्न तयार छौँ ।

उहाँहरूको कारणले देशभर हस्ताक्षर गएर एकीकृत समाजवादीमा आउन बाधा पुगेकै हो । केपी ओली र निकटस्थहरूभन्दा पछिल्लो समयमा जानुभएका मित्रहरूहरूले सबैभन्दा बढी बाधा पुर्‍याउनुभएकै हो ।

विद्रोह हामीले पनि गरेको हो, सही नगर्नुस्, केही समय पख्नुस्, केही समयपछि हामी त्यतै जाने हो, अहिले विचार–विमर्श गरौँ भनेर, अनेकौँ भ्रमपूर्ण कुराहरू सारेर उहाँहरूले हाम्रा मित्रहरूलाई रोक्ने प्रयास गर्नुभएकै हो । त्यसो नगर्नुपर्थ्यो । यो काम गरेकोमा हामीलाई बडो दुःख लागेको छ ।

केपी ओलीको रिसका कारण मात्रै पार्टी विभाजन गरियो, पार्टी विभाजनको औचित्य पुष्टि हुन सकेन, त्यसैले साथ दिन सकिएन भन्दै हुनुहुन्छ नि ?

उहाँहरूले नै यो विचारको कुरा गर्नुभएको हो । दक्षिणपन्थी अवसरवादका विरुद्धमा जुटौँ भनेर साझा प्रतिबद्धता गरेका हौँ ।

आज उहाँकै साथमा रहेकाहरूले पनि विद्रोहको विकल्प छैन भन्नुभएको हो । नयाँ पार्टीको निर्माण गर्नुको विकल्प छैन भनेर कतिपय डमी साना पार्टी निर्माण गर्न क्रियाशीलता देखाउनुभएको हो । विधानहरू बनाएर हिँड्नुभएको हो । समग्रमा नेपालको कम्युनिस्ट आन्दोलनलाई विसर्जनवादतिर धकेल्यो केपी ओली प्रवृतिले भनेर त्यसका विरुद्ध जुटेका हौँ ।

अचानक, रातारात कुन प्रवृत्तिमा सुधार आयो ? उहाँहरूले विसर्जनवाद होइन, परिवतर्नकारी हो, अग्रगमनकारी हो भनेर देख्नुभयो ? यो उहाँहरूको बुझाइ नै आश्चर्यजनक छ । कार्यतकर्ताले देशव्यापी रूपमा प्रतिक्रिया व्यक्त गरेका छन्– यिनीहरूले माधव नेपाललाई डिलबाट धकेलेर तल लडाउने कोसिस गरे र आफू फर्किएर किचडमा सामेल हुन थाले भनेका छन् ।

समयले जाँच गर्ला, हामी जनताको बीचमा परीक्षा दिन गइरहेका छौँ । परीक्षामा कति अंक ल्याउँछौँ, आगामी दिनको निर्वाचनले प्रष्ट बनाउनेछ ।

संगठन निर्माणको पहलकदमीमा हाम्रो सफलता र असफलताले यो कुरालाई प्रस्ट पार्नेछ । तर, औचित्य पुष्टि हुँदैन भन्नु सरासर गलत छ । केपी ओलीले कम्युनिस्ट आन्दोलन जोगाउँदैनन् ।

कम्युनिस्ट पार्टीको नेतासँग हुनुपर्ने चरित्र उनीसँग छैन । उनले कम्युनिस्ट पार्टीको विचार, प्रणाली, व्यवहारलाई समाप्त गरिसकेका छन् । उनी विसर्जनवादी हुन भनेपश्चात् उहाँहरूले यस्तो भन्नुको औचित्य छैन ।

एमालेमा नै रहेका ‘१० भाइ’ एकीकृत समाजवादीमा आउने सम्भावना छ त ?

उहाँहरूले ०७५ जेठ २ को अवस्थामा पार्टी फर्कियो भनेर जे घोषणा गर्नुभएको थियो, त्यो नफर्किएको हामीले देखिरहेका छौँ । ओलीले जेठ २ मा फर्किएको होइन, यसलाई श्राद्धमा बिरोलो बाँधेको जस्तो नसम्झनुस् भनेर भनिसक्नुभएको छ ।

अर्को कुरा, यी गतिविधिबाट नेताहरू असन्तुष्ट भएको कुरा समाचारमा आइरहेको छ । एउटै मञ्चमा केपी ओली र हिजोका १० जना मित्रहरूसँगै उभिँदा ओलीले गरेका कटाक्ष प्रहार सुनेकै छौँ ।

संगठनभित्र पहुँच र हैसियत नदिनका निम्ति उहाँले खेलेका भूमिकाहरू, ठाउँठाउँमा गरेको मन्तव्य, भित्रभित्रै गरेको सर्कुलर, गुटबन्दीले पनि सबै कुरा जीवित गरेको हामीले देखिरहेका छौँ ।

१० भाइ अर्थात् त्यो पंक्ति, जसले हामीलाई अन्तिम समयमा धोका दिएर जानुभो, उहाँहरूको विरुद्धमा संगठनमा पस्नै नदिने गरी क्रियाकलाप गरेको र ओली समर्थकले बहिस्कार गरेको परिस्थिति विद्यमान छ ।

त्यसकारण उहाँहरू त्यहाँ धेरै दिन बस्न सक्नु हुन्न । बस्नुभएछ भने हिस्सेदार, साझेदार होइन, केपी ओलीको अन्धभक्त भएर बस्नुहुनेछ । उहाँहरूलाई स्वाभिमानको चेतना जागृत भयो, विद्रोह गर्नुभयो भने आउने ठाउँ हामी नै हौँ । उहाँहरू दास मनोवृत्ति बोकेर, अन्धभक्त भएर बस्नुभयो भने त्यस्ताका लागि त औषधि नै छैन ।

विभाजनले एमालेमा ९ प्रतिशत मात्रै क्षति भयो भन्ने दाबी गरिएको छ, तपाईंहरूको पार्टी सोचेजस्तो त बने नि होइन ?
स्थानीय तहको सनाखतको नतिजलाई हेरेर उहाँहरूले केही कुरा भन्नुभएको होला । स्थानीय निर्वाचनमा केही मुख्य समस्या थिए ।

पहिलो कुरा, माधव नेपाललाई दबाएर टिकट दिने बेलामा नै भेदभाव गरिएको थियो । धेरै व्यक्तिहरू केपी ओलीको समर्थकको बनाइएको थियो । यसले गर्दा हामीसँग सनखात कम हुनु स्वभाविक भयो ।

अर्को कुरा, हाम्रो मध्यपन्थी मित्रहरू, अन्तिम समयमा धोका दिनेहरूले छरेको भ्रमको कारण पनि हो ।

तेस्रो कुरा, गाउँपालिका, नगरपालिकाका अध्यक्ष–प्रमुख नकारात्मक हुँदा स्थानीय विकास निर्माणमा समस्या पर्छ, उहाँहरूसँग अन्तरविरोध राख्नु हुँदैन भनेर धेरै वडाध्यक्ष र वडा सदस्यहरू डराउनुभएको छ । आफ्ना योजना असफल हुन्छन् र जनताले दुःख पाउँछन् भनेर उहाँहरूले यता सनाखत गर्नुभएको छैन, केही समय पर्खिरहनुभएको छ ।

हिजोसम्म नेतृत्व गरिरहेको कम्युनिस्ट पार्टीका अध्यक्षले कार्यकताहरूलाई आफैँले टेलिफोन गरेर दबाब दिई, अनेकौँ प्रलोभन देखाई, धम्की, त्रास र आशमा पारी जबर्जस्त रोक्न खोज्नु पनि अर्को महत्त्वपूर्ण कारण बनेको छ । बहादुरीका साथ सनाखत गरेका जुझारु कमरेडहरूले नै सक्कली कम्युनिस्ट पार्टी बनाउनुहुनेछ । डराएर बस्नुभएका साथीहरू कार्यकाल सकिएपछि हामीसँगै आउनुहुनेछ ।

एमाले अध्यक्षको त्यस प्रयासको प्रतिवाद गर्नुभएन ? कि नेता–कार्यकर्तालाई बुझाउन सक्नुभएन ?

प्रतिवाद गर्नुपर्ने थिएन । यसमा लडभिड गर्नुपर्ने विषय थिएन । मानिससँग कुुराकानी गर्ने, छलफल गर्ने हो । निर्वाचन आयोगले हामीलाई थोरै समय दियो ।

त्यसले गर्दा पनि कतिपय ठाउँमा आफ्नो विचार पु¥याउन सकेनौँ । पार्टी दर्ता भएको २१ दिनमा सनाखत गर्न दिनुपर्नेमा निर्वाचन आयोगले हठात् रूपमा पार्टीको निवेदन दर्ता गरेको दिनको २१ दिन दिएर अप्ठेरोमा पार्‍यो ।

कानुनी रूपमा निर्वाचन आयोगकै कारण कतिपय केन्द्रीय सदस्य तथा सांसदको सनाखत हुन समस्या पैदा भयो । यी धेरै कारण छन् । तर, हामी खुसी छौँ । एक व्यक्ति मात्रै उभिन्छ भने पनि त्यसले समाजलाई परिवर्तन गर्ने क्षमता राख्छ । हामीसँग धेरै उभिनुभएको छ । आधार खडा भएको छ ।

अब कसरी अघि बढ्नुहुन्छ ?

यो स्वाभाविक गतिमा अघि बढ्छ । संगठन निर्माणको गतिमा अघि बढिरहेको छ । जनसंगठन निर्माण, विस्तारको प्रक्रिया अघि बढेकै छ । राजनीतिक प्रतिवेदन तयार गर्ने र समसामयिक राजनीतिक, आर्थिक, सामाजिक दृष्टिकोण के हुन् भन्ने कुरा सुनाउने ।

कस्तो कम्युनिस्ट पार्टी निर्माण गर्न चाहन्छौँ भन्ने प्रतिवेदन लेखनमा लागेका छौँ । त्यसको सानो झलक आउँदो केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नेछौँ । त्यसपश्चात् प्रतिवेदन लेख्नेछौँ ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिमा हाम्रा धारणा के हुन्, देशको विकास र यसको मोडालिटीको विषयमा के हो, कस्तो संगठन निर्माण गर्न चाहन्छौँ, हामी जाने बाटो के हो भन्ने कुरा हाम्रो प्रतिवेदनमा लेख्नेछौँ ।

विचार, राजनीति र चरित्रका हिसाबले समाप्त हुँदै गएको एमालेभन्दा बिल्कुलै पृथक, सबैलाई समेटेर हिँड्ने, क्रान्तिकारी चरित्रको पार्टी देशको वैकल्पिक कम्युनिस्ट पार्टी हो भन्ने कुरा पुष्टि गर्नेछौँ ।

एमालेभन्दा एकीकृत समाजवादीलाई कसरी फरक भन्ने ?

त्यो कुरा प्रतिवेदनमा प्रस्ट रूपमा आउनेछ । समाजवाद निर्माण गर्ने आधार के हुन् भन्ने एउटा दिशा तय गर्नेछौँ । देशका राजनीतिक शक्तिलाई हेर्ने दृष्टिकोण के हो, आजको संविधानअन्तर्गत भोलि बन्ने मुलुकको ढाँचा के हो र राजनीतिक दलहरूसँको सहकार्य गर्ने वातावरण के के हुन् भन्ने दिशातिर हामिी केन्द्रित हुनेछौँ ।

कम्युनिस्ट पार्टीको अघि देखापरेका दक्षिणपन्थीवादका चुनौती जो केपी ओली अथवा नेकपा (एमाले) नेतृत्व गरिरहेको छ, यो विसर्जनवादको विरुद्धमा क्रान्तिकारी पार्टी निर्माण गर्न कसरी वामपन्थी र कम्युनिस्टलाई एकताबद्ध गर्छौँ भन्ने विषयमा प्रकाश पार्नेछौँ । नेपाली जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र उनीहरूको सेवा र सुशासनका लागि कुन मोेडालिटीबाट जानुपर्छ, सामाजिक सुरक्षा कसरी गर्नुपर्छ भन्ने विषयमा हाम्रा धारणा प्रस्ट पार्नेछौँ ।

एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस नगरे संसद् चल्न नदिने भन्दै अवरोध गरिएको छ, यसमा तपाईंको धारणा के छ ?

केपी ओली र नेकपा (एमाले)को स्वेच्छाचारी प्रवत्तिको झल्को आइरहेको छ, संसद्मा । उहाँहरूको चिन्तन, व्यवहार अलोकतान्त्रिक छ भन्ने यसले प्रस्ट देखाउँछ । उहाँको तर्कको खण्डन गर्दछौँ । त्यसको विरोध गर्छौँ । संसद्लाई चल्न दिन आग्रह गर्दछौँ ।

संसद्को प्रक्रिया अघि बढ्दा मात्रै लोकतन्त्रलाई बलियो बनाउन मद्दत पुग्नेछ । संसद् र सरकारले जे गरिरहेको छ, कमी–कमजोरी होलान्, तर कानुनानुसार गरिरहेको छ भन्ने कुराको महसुस गर्न, हिजो तपाईंहरूले पनि यस्ता काम गर्नुभएको थियो । आलोचना थियो र पनि अघि बढिरहेका थिए ।

यो कुरालाई राम्रोसँग आत्मसात् गर्न र लोकतान्त्रिक संस्कृति निर्माण गर्न एमालेको नेतृत्वपंक्तिलाई अनुरोध गर्न चाहन्छु । तर, विडम्बना !

केपी ओली कहिल्यै लोकतान्त्रि बन्न सक्नु भएन । स्वेच्छाचारी, तानशाही, फाँसीवादी चरित्रको नेतृत्व गर्ने पात्र बन्न पुग्नुभयो । त्यसैको चरित्र संसद्मा प्रस्तुत भएको छ । जुरुक–जुरुक उठेर नाच्ने । कतिपय मर्यादापालकको हातमा टोकेर घाइते नै बनाइदिने । यस्तै अनैतिक र अवाञ्छित गतिविधि गरिहनुभएको छ, यसले नेकपा (एमाले) र लोकतन्त्रको शिर निहुर्‍याएको छ ।

उहाँहरूले तपाईंको पार्टीका सांसदलाई कारबाही नगरे सभामुखको राजीनामा नै मानुभएको छ नि ? 

उहाँहरूले माग्न सक्नुहुन्छ । दबाब दिन सक्नुहुन्छ । राजनीतिक ढंगले आवाज उठाउन सक्नुहुन्छ । शान्तिपूर्ण ढंगबाट, लोकतान्त्रिक विधिले विरोध गर्ने र आफ्नो आवाज उठाउने अधिकार छ । त्यसलाई सभामुखले संसद्बाट सम्बोधन गर्ने हो, गर्न तयार हुनुपर्ला । तर, राजीनामाको प्रश्नको औचित्य पुष्टि हुन सक्दैन ।

यहाँहरूले जबज नमानेको भन्दै प्रदीप नेपालले पार्टी छाडेको घोषणा गर्नुभयो । वामदेव गौतमले पनि जबजकै सर्त राख्नुभएको छ, जबज त्याग्नुभएको हो ?

यो राजनीतिक छलफल गर्ने विषय हो । नेपालको राजनीतिमा जबजको सारका केही राजनीतिक स्वरूपहरू परिर्वतन हुँदैन । जस्तै, बहुदलीय राजनीतिक प्रणालीको अभ्यास गर्ने कुरा जबजको पनि महत्त्वपूर्ण कुरा हो, त्यो परिवर्तन हुँदैन । हामी जनवादी, प्रगतिशील रूपान्तरणकारी अथवा मार्क्सवादी, लेनिनवादी, द्वन्द्ववादी जे भनौँ, यो कुरामा परिवर्तन हुँदैन ।

जबजको एउटा कुरामा परिवर्तन हुन्छ, त्यो भनेको जनताको बहुदलीय जनवाद होइन त्यहाँ समाजवाद हुनसक्छ । राजनीतिक प्रणाली त संविधानले निश्चित गरिसकेको छ । जनताको बहुदलीय जनवाद त संविधानमा प्रविष्ट गरिसकेकै छ ।

जनताको पक्षमा ल्याउनका निम्ति जनपक्षीय संविधान पनि बनायौँ । अब बहुदलीयता शासन प्रणालीमा प्रवेश गरिसक्यौँ । समाजवाद पनि संविधानमा लेखिसक्यौं । अब त्यो समाजवादको व्याख्या गर्न बाँकी छ ।

नेपाली जनताको जीवनस्तरमा रूपान्तरण, परिवर्तन गर्ने, जीवनस्तरमा गुणात्मक वृद्धि गर्ने समाजवादको ढाँचा, आर्थिक कार्यक्रम के हो, राजनीतिक, सांस्कृतिक कार्यक्रम के हो, हामी जाने बाटो के हो, यसमा जनताको बहुदलीय जनवादले परिकल्पना गरेको भन्दा धेरै नयाँ वस्तु थपेर हामीले कार्यक्रम बनाउनुपर्नेछ ।

यसकारण जनताको बहुदलीय जनवादका तीनै पक्ष नेपालको संविधानमा समावेश गरेका छौँ । त्यसैले जनवादी क्रान्ति सम्पन्न गर्‍यौैँ भनेर भनेका हौँ ।

अब त्यसमध्ये समाजवादलाई विकर्सित गर्न हाम्रो पार्टीको जरुरी भएको छ । यसले भविष्यको, समाजवादको नेतृत्व गर्छ । त्यसैले हामीले हाम्रो पार्टीलाई पनि एकीकृत समाजवादी भनेका छौँ ।

जबज पनि संविधानमा उल्लेख गरिएको छ, त्यसलाई पालना गर्छौँ । समृद्ध समाजवादको यात्राको लागि नीति तय गर्छौँ । त्यसैले एमालेभन्दा हामी पृथक छौँ ।

वामदेव गौतम एकीकृत समाजवादीमा नै आउनुहुन्छ त ? कुराकानी भएको छ ?

उहाँले पार्टी अध्यक्षसँग बारम्बार संवाद गर्नुभएको छ । उहाँका दृष्टिकोणलाई मेल खाने कुराहरू र बेमेलका कुराहरू के–के हुन सक्छन्, सहयात्राका एजेन्डाबारे व्यापक छलफल हुँदै छ ।

एमाले छोडिसक्नुभएको छ । एमालेकै स्कुलबाट प्रशिक्षित, हामीसँग वामदेव गौतमको धेरै कुरा मिल्छ । हामीसँगै मूल प्रवाहीकरणमा तयार हुनुहुन्छ भन्ने विश्वास छ । केही समय लाग्ला, वामदेव गौतम हामीसँग हुनुहुन्छ भन्ने विश्वास गरौँ ।

पार्टीले दल दर्ताको प्रमाणपत्र पाएपछि नै सरकारमा सामेल हुने भनिएको थियो, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ किन ? 
हाम्रो संसदीय दल बनेपछि यसको निर्णय गर्ने कोसिस गर्‍यौँ । केही राजनीतिक समस्या सत्ता साझेदार दलमा पनि छ । केही कानुनी, संवैधानिक जटिलता अदालतले पनि अल्झाइरहेको छ ।

त्यसमा पनि केही दिन हेर्नुपर्छ भन्ने छ । नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशन र त्यससँग जोडिएको तनावले पनि केही भएको छ । तर, एकदमै चाँडै निर्णय गर्न तयार छौँ । हाम्रो पार्टी कुनै पनि बेला सरकारमा जाने नामहरू दिन तयार भएर बसेको छ । प्रधानमन्त्रीजीले समय निकाल्नुहुनेछ र चाँडै हुन्छ भन्ने आशा छ ।

एमसीसीको विषयमा तपाईंको पार्टीको धारणा के हो ?

आजको अवस्था र सर्तका आधारमा एमसीसी लागु हुँदैन । पास हुँदैन । यसलाई के–के कुरामा सुधार गर्नुपर्छ र एमसीसी नेपाली जनताको हुन्छ, अमेरिकी सुरक्षाको रणनीतिअन्तर्गत नपर्ने गरी अब यो बन्यो भनेर नेपाली जनताले विश्वास गर्नेछन्, कुन–कुन कुरा सुधार गरे विकास कार्यक्रम हुनेछ, कुन–कुन कुरा सुधार गरे अनुदान हुनेछ, अहिले त अमेरिकी राजदूतावासले यो लगानी हो भनेको छ । एउटाले लगानी, एउटाले अनुदान भन्छ ।

कन्फ्युजन क्रियट गर्ने कुरा अमेरिकी पक्षबाट पनि भएको छ । कतिपय कुरा उपाध्यक्ष आएर प्रस्ट पार्नु पनि भएको छ । मूलतः नेकपा रहँदा झलनाथ खनाल नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन र त्यसका विचार नै हाम्रो हो । यही अवस्थामा एमसीसी पास हुन सक्दैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय