site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
तिज गीतलाई चर्चा कमाउने माध्यम बनाइयो 
Sarbottam CementSarbottam Cement

हिजो हामी टीका लगाएर प्लास्टिकमा रोटी बोकेर हिँड्थ्यौँ, आज चकलेट दिन थालियो । तर, समयको परिवर्तनका नाममा आफ्नो धरातलचाहिँ बिर्सिनु हुँदैन । कला र संस्कृति भुल्नु हुँदैन । आधार नै छोडेर परिवर्तन हुन खोज्यौँ भने संस्कृति बिग्रिन्छ ।

समय सामान्य हुँदा बर्सेनि दर्जनौँ तिज गीत सार्वजनिक गर्ने पशुपति शर्माका यो वर्ष आधा दर्जन तिज गीत पनि बजारमा आएनन् । कोरोनाको कहरका कारण तिजको माहोल नरहेकाले धेरै सिर्जना नगरेको उनी बताउँछन् । बेचैन मनले गरेको सिर्जना अपेक्षित रूपमा राम्रो नहुने भएकाले पनि आफूले यो वर्ष तिज गीतमा जोड नदिएको उनले सुनाए ।

विगतका वर्षमा तिजमा नेपालबाहिर मात्रै एक दर्जनभन्दा धेरै तिज कार्यक्रममा प्रस्तुति दिने पशुपति अहिले घरमै बसेका छन् । वर्षौँसम्म आम्दानीविहीन भएर बस्दाको नयाँ अनुभवले पनि धेरै कुरा सिकाएको बताउने पशुपति शर्मासँग भड्किलो बन्दै गएका तिज गीत र यसको सेरोफेरोमा केन्द्रित रहेर बाह्रखरीले गरेको छोटो कुराकानी :
० ० ०
कोरोना संक्रमणको त्रास कायमै छ, तिज कसरी मनाउँदै हुनुहुन्छ ? 
अघिल्ला वर्षहरू भइदिएको भए देश तथा विदेशका कार्यक्रममा व्यस्त हुने समय हो यो । तर, कोरोनाले अहिले घरमै बस्नुपरेको छ । त्यसैले कार्यक्रमहरू हुने कुरा भएन । यो वर्ष घरमा बस्ने, समाचारहरू पढ्ने, परिवारसँग बस्ने नै हो ।

तिज मनाउने वातावरण नभए पनि गीतहरू आइरहेका छन् । तिजका नाममा केही गीत भड्किला भए भन्ने आलोचना पनि भइरहेको छ नि !
हो, यसमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पटक–पटक सचेत गराउँदै आएको छ । विज्ञप्ति नै निकालेर आग्रह गर्दै पनि आएको छ । प्रतिष्ठानको उपाध्यक्ष भएका नाताले मेरो पनि आग्रह तिजको गीत गाउने हो भने यसको भाका र मर्मलाई नभुलौँ भन्ने हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसको अर्थ कलाकारहरू जिम्मेवार छैनन् ?
व्यक्ति स्वयं आफैँ जिम्मेवार र मर्यादित हुनुपर्छ । मेरा सिर्जनाले समाजमा कत्तिको नकारात्मक असर गरेको छ समाजमा, त्यसको असर भोलिका दिनमा कस्तो पर्छ भन्ने कुरामा सचेत हुनैपर्छ ।

के भयो भने तपाईंले भनेजस्ता जिम्मेवार तिज गीत र सिर्जना आउलान् ?
सेन्सर बोर्ड छैन । सम्बन्धित सरकारी निकाय मौन छन् । प्रतिष्ठानलाई पनि यसो गर/नगर भन्ने अधिकार छैन ।  सम्झाउने र बुझाउने मात्रै हो, अनुरोध मात्रै गर्ने हो । लोकगीत–संगीतको संरक्षण गर्ने निकायहरूलाई चाहिँ यसको माया छैन । संस्कार र संस्कृति कसरी जोगाउने भन्नेमा उहाँहरूको पहल छैन । तर, मुख्य कुरा हामी अनुशासित हुने हो । भोलि मेरो सन्ततिले आजको संस्कार र संस्कृतिलाई कसरी ग्रहण गर्छ भन्ने चिन्ता हामी सबैमा हुनुपर्छ ।

Global Ime bank

आफ्नो संस्कार र संस्कृतिलाई चुनौती दिने गीत निकाल्नुका पछाडि के कारण हुनसक्छ ? 
व्यापार नै मुख्य कारण हो । भ्युज र चर्चा कसरी कमाउने भन्नेमा ध्यान छ । यहाँ इज्जतभन्दा पनि चर्चाको लोभ छ, चाहे त्यो नकारात्मक नै किन नहोस् । कसरी पैसा कमाइएला भन्ने सोचबाट निर्देशित हुँदाको परिणाम हो यो ।

भोलिको पुस्तामा तिज र तिज गीत पुग्दा आजको भन्दा फरक होला ?
समय परिवर्तनशील छ, हिजोभन्दा आजको समय फरक छ । हिजो हामीले मनाउने दसैँ र आज हामीले नै मनाउने दसैँमा फरक आइसक्यो । हिजो हामी टीका लगाएर प्लास्टिकमा रोटी बोकेर हिँड्थ्यौँ, आज चकलेट दिन थालियो । तर, समयको परिवर्तनका नाममा आफ्नो धरातलचाहिँ बिर्सिनु हुँदैन । कला र संस्कृति भुल्नु हुँदैन । आधार नै छोडेर परिवर्तन हुन खोज्यौँ भने संस्कृति बिग्रिन्छ । तिज भनेको के हो, यसको महत्त्व के हो, यसको विशेषता के हो भन्ने हेक्का राख्नुपर्छ ।

घरमा रहेका छोरी–चेली माइत जान नपाउँदाका पीडा, छोरीसँग भेट नहुँदा आमाका दुःख तिज गीतमा समेटिन्थ्यो । तिज के हो र यसको महत्त्व के हो नबुझी यसलाई भड्किलो तरिकारले मनाउन थालिएको छ ।

कलाकारलाई भड्किलो तिज गीत गाउन समाजले पनि प्रेरित गरिरहेको छ ?
आरोप–प्रत्यारोप लगाउनुभन्दा पनि समाजका हरेक पक्षले तिजलाई फरक तरिकाले मनाउन थालेको सत्य हो । एक महिना अगाडिबाट दर खान थालिएको छ । दर खाने भनेर ह्विस्की खाएर बस्ने गरेको हामीले देखिरहेका छौँ । तर, कलाकारहरू टेलिभिजन र युट्युबमा देखिने भएकाले उनीहरू मात्रै नोटिस भएको हो । समाजका हरेक पक्ष सचेत हुनुपर्ने समय आइसकेको छ ।

तिजका नाममा भड्किला गीत गाउनुका पछाडि व्यापार नै मुख्य कारण हो भन्नुभयो, त्यहीअनुसारको कमाइ हुन्छ ? 
युट्युबबाट केही पैसा आउने हो । त्यसबाट पनि धेरै आउने होइन । पहिला–पहिला गीत चल्यो भने कार्यक्रममा बोलाइन्थ्यो र त्यहाँबाट पैसा आउँथ्यो, अहिले त्यो स्रोत पनि छैन । पैसाको लोभले गर्नुभएको हो भने त्यो सोचेजस्तो छैन । तर, विवाद भए पनि होस् चर्चामा चाहिँ आउनुपर्छ भनेर हर्कत गर्ने कलाकारहरू पनि हुनुहुन्छ । तर, यसले अन्ततः उहाँहरूलाई पनि फाइदा चाहिँ हुँदैन ।

चर्चा कमाउने माध्यमका रूपमा तिज गीत प्रयोग भइरहेका छन् ? 
हो । यो देखिएको छ । नराम्रो काम गरिरहँदा त्यसले सधैँ फाइदा गर्छ भन्ने छैन । एउटै व्यक्ति सधैँ चलिरहन्छ भन्ने छैन । सबैको समय आउँछ । आफू चलेको समयमा पनि राम्रो गर्न सकिएन भने भोलिका दिनमा कठिन हुनसक्छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पर्व गीतहरूको संरक्षणमा आवश्यक काम गरिरहेको छैन ?
म उहाँहरूको कुरै बुझ्दिनँ । हामी कहिले सेन्सर बोर्डको कुरा गर्छौँ, मौलिकताका विषयमा जानकारी गराइरहेका हुन्छौँ । तर, सरकारी निकायले कसरी काम गर्छ, लोक संगीत जगेर्नाका लागि के काम गरिरहेको छ, अहिलेसम्म के गरेको छ, गर्न नचाहेको हो कि नगरेको हो भन्नेमा म अनविज्ञ छु ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय