site stats
बाह्रखरी :: Baahrakhari
देश
किशोरीलाई ‘गर्भवती बनाएर’ फरार किशोर अदालतमा हाजिर

जनकपुरधाम । किशोरीलाई गर्भवती बनाएर फरार भएका एक आरोपित किशोर अदालतमा हाजिर भएका छन् ।

महोत्तरीको जलेश्वरकी १८ वर्षीया किशोरीलाई गर्भवती बनाएर फरार धनुषाको महेन्द्रनगरका २४ वर्षीय शिवराज श्रेष्ठ जिल्ला अदालत धनुषामा हाजिर भएका हुन् । शिवराज करिब दुई वर्षपछि कानुन व्यवसायीमार्फत अदालतमा हाजिर भएका छन् ।

अदालतले थुनछेक बहसको प्रक्रिया अगाडि बढाएको छ । आज दुवै पक्षको बकपत्र हुने जाहेरीवालाको अधिवक्ता रिंकुकुमारी यादवले जानकारी दिइन् ।

Argakhachi Cement Island Ad

दुई वर्षअघि शिवराजले ती किशोरीलाई बलात्कार गरेको आरोप छ । बलात्कारपश्चात् गर्भ बसेको किशोरीको भनाइ छ । गर्भ बसेपछि विवाह गर्नुको साटो गर्भपतन गराउन उनको परिवारले दबाब दिएको किशोरीको जाहेरीमा उल्लेख छ ।

ती किशोरी ०७६ मंसिरमा गर्भवती भएकी थिइन् । त्यसको दुई महिनापछि पुसमा जिल्ला प्रहरी कार्यालय धनुषामा जबर्जस्ती करणी मुद्दा दर्ता गराइएको थियो ।

“न्याय नपाए बच्चा लिएर अदालतअगाडि अनशन बस्छु,” किशोरीले भनिन्, “मेरो मुद्दालाई प्रहरी र अदालतले घुस लिएर कमजोर बनाएको छ । धरौटीमा छोड्ने प्रयास गर्दै छ ।”

जाहेरीवालाको अधिवक्ता यादवले पनि मुद्दा कमजोर बनाइएको जिकिर गरिन् । “जुन हिसाबले प्रहरी र अदालतले कागजात तयार पारेको छ, त्यो हिसाबले मुद्दा कमजोर देखिन्छ,” उनले भनिन्, “आरोपी धरौटीमा रिहा पनि हुनसक्छ ।”

शिवराजको बयानमा के छ ? 
आरोपित शिवराज श्रेष्ठले ती किशोरी आफ्नो साथी रहेको स्वीकार गरेका छन् । तर, आफूले करणी नगरेको उनको दाबी छ । आफूले करणी नगरेका कारण गर्भको सम्बन्धमा केही थाहा नभएको बयान उनले दिएको जनाइएको छ ।

“निज मेरो साथी भएको हुनाले उनको शरीरमा रहेको ट्याटु मेटाउनको लागि मसँग पैसा मागिन् । मैले निजलाई म विद्यार्थी मान्छे, मसँग पैसा छैन भनेकोमा निजले सोही कुराको रिसिइबी राखी मलाई फसाउने, दुःख दिने किटानी जाहेरी दिएकी हुन्,” किशोरले बयानमा भनेका छन्, “निजलाई मैले करणी नै नगरेकाले निजको गर्भको विषयमा मलाई केही थाह भएन् ।”

कसरी भयो चिनजान ?
किशोरीकी एक साथीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरका शिवराजसँग चिनजान गराइदिएकी थिइन् । दुवैजनाबीच सामान्य कुराकानी हुँदाहुँदै फेसबुकमा साथी बने । फेसबुक हुँदै फोनमा कुराकानी गर्दागर्दै दुवैजना एकर्कासँग नजिक भएको खुलेको छ ।

त्यसपछि शिवराजले आफ्नो इच्छाविपरीत पटक–पटक जर्बजस्ती करणी गरेको किशोरीको आरोप छ । ०७६ पुसमा युवतीले आफू गर्भवती भएको थाहा पाइन् । उनले सबै कुरा शिवराजलाई फोन गरेर सुनाइन् । शिवराजले गर्भपतन गराउन सल्लाह दिएको उनको भनाइ छ ।

तर, गर्भपतन गराउन किशोरीले अस्वीकार गरिन् । सोही बेलादेखि शिवराज सम्पर्कविहीन थिए । ०७७ भदौ ५ गते परोपकारी संस्थाको रेखदेखमा किशोरीले छोरालाई जन्म दिइन् । अहिले उनको छोरा एक वर्ष १० दिनको भएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ११:३४
प्रतिक्रिया दिनुहोस्