site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
सानेपामा बसेर क्रियाशील सदस्य थप्ने र हटाउने ‘गिरोह’ सक्रिय भयो 
Sarbottam CementSarbottam Cement

कुनै ठूलो विवाद नभए कांग्रेसको १४ औँ महाधिवेशन अबको केही दिनमै सुरु हुँदैछ ।

भदौ १८ गते वडा अधिवेशन सुरु गरेर कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनको औपचारिक सुरुवात गर्दैछ ।

नेतृत्वका लागि धेरै आकांक्षी देखिएको यसपटक पनि संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा समूह र इतरसमूहबीच नै प्रतिष्पर्धा हुने देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ संरचनाअनुसार बनेको वाग्मती प्रदेशको नेतृत्वका लागि काभ्रेका पूर्वसभापति समेत रहेका नेता मधु आचार्यले तयारी थालेका छन् । 

प्रस्तुत छ, कांग्रेसको आसन्न महाधिवेशनमा केन्द्रित रहेर कांग्रेस जिल्ला सभापतिहरुको आन्दोलनको नेतृत्व गरेर दबाब दिएका एक नेता आचार्यसँग बाह्रखरीले गरेको कुराकानीः 

Global Ime bank

पार्टीको मूल नेतृत्वले विवाद टुंग्यायौँ भनेपछि जिल्ला सभापतिले किन आन्दोलन थालेका थिए ?

पार्टीको मूल नेतृत्वले विवाद टुंग्यायौँ भनेपछि विवाद टुंगिएको होइन, विवाद सही ढंगले टुंग्याउनुस् भनेका हौँ ।

सबैको सहभागिता होस् भन्ने हाम्रो चाहना थियो । करिब पूरा हुने अवस्था देखिएपछि अहिले हामीले आन्दोलन स्थगित गरेका हौँ ।

यहाँ समितिमाथि फेरि समिति बनाइयो के का लागि ? अनि त्यसले पनि विवाद टुंगो लगाउन नसकेको हो ?

रमेश लेखक संयोजकत्वको समितिले क्रियाशील सदस्यताको जे जति नामावली प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लाबाट आएका नामावली एकपटक वेबसाइटमा सार्वजनिक गर्‍यो । त्यो समितिले यसमा कुनै प्रश्न भएमा सीधै केन्द्रमा उजुरी गर्न सूचना पनि जारी गर्‍यो ।

त्यो आफैँमा विधान विपरीतको कदम थियो । विधानअनुसार जिल्ला छानबिन समितिमा उजुरी गरेर त्यसले छानबिन गरेर टुंगो लगाउनेपर्ने बाटो दिनुपथ्र्यो । विधानको व्यवस्थालाई उल्लंघन गरेर ठाडै माथिबाट उजुरी माग गर्नुभयो । 

विधान विपरीतका काममा पनि उहाँहरुमाथि प्रश्न छन् । उहाँहरुले नै भन्नुभयो कि पाँच हजार भन्दा बढी उजुरी छन् । त्यसको सम्बोधन कसरी भयो, कुन कुन नाम सदर भयो, सदर भएका किन भए र सदर नभएका किन भएनन् त्यसको पारदर्शी रेकर्ड राख्न सक्नुपर्थ्यो । एउटा दुर दराजमा भएको क्रियाशील सदस्यताका लागि आवेदन गरेको व्यक्तिले आफ्नाबारेमा के निर्णय भयो भनेर जान्न पाउने अधिकार हुनुपर्छ भनेका हौँ ।

मेरो त उहाँहरुप्रति आपत्ति उहाँहरुले देखाएको पारदर्शीतामा छ । उहाँहरुले तलबाट उजुरी माग्नुभयो । तर, सदस्यता चाहिँ वेबसाइटबाट हटाउनुभयो । त्यसपछि अँध्यारो कोठाभित्र के काम भइराखेको छ ? कति नाम तलबाट सिफारिस भएका भन्दा बढी थपिए ? कति नामहरु तलबाट सिफारिस भएर काटिए भन्ने कुुरा धेरै अन्योल नै छ ।

क्रियाशील सदस्यता छानबिन समिति त कांग्रेसका सबैजसो गुटको प्रतिनिधित्व हुनेगरी बनाइएको थियो नि । त्यसले कसरी विभेदपूर्ण काम गर्न सक्छ ? 

म तपाईंलाई एउटा कुरा के जानकारी गराउँ भनेसमितिमा रहेकै साथीहरुले हाम्रा कुरा सुनिएनन् भनेर पटक पटक हात उठाउनुभएको छ । नीतिगत रुपमा जे निर्णय भए त्यसको कार्यान्वयनमा पनि संस्थापनइतरबाट आएका सुझावहरु कटाउने, छुटाइदिने काम भएका छन् । तर, एउटा पक्षका अनुकूलता हुने हुँदा रातारात उलटपुलट भएका छन् । 

समितिमै रहेका साथीहरुका अनुसार अघिल्लो दिनसम्म अमुक जिल्लाका अमुक पालिकाका अघिल्लो दिनससम्म १०० सदस्य छ । भोलिपल्ट बिहान गएर हेर्दा एकैपटक ३०–४० मा झारिएको छ । यहाँ त छानबिन समिति भन्दा पनि अर्को गिरोह सक्रिय भएको छ । पञ्चायतकालमा भूमिगत  गिरोह भनेजस्तो पार्टी कार्यालयमा सदस्य थप्ने र झिक्ने गिरोह सक्रिय भयो । 

यसले के संकेत गर्दैछ ? 

अधिवेशनलाई दश लाख क्रियाशील सदस्यहरुको महोत्सव बनाउनुभन्दा पार्टीलाई धाँधलीपूर्ण ढंगबाट कब्जा गर्ने नियत स्पष्ट नै छ । 

त्यसमा संस्थापन भन्नाले सभापति आफैँ लाग्नुभएको छ ? 

सभापति आफैँ लाग्नुभएको छ छैन सभापति आफैँले प्रस्ट्याउनु होला । तर, संस्थापन क्रियाशील सदस्यतामा अनियमितता गरेर पार्टी कब्जा गर्ने खेलमा लागेको प्रस्ट देखिन्छ । 

जसरी क्रियाशील सूची तयार भएको छ, त्यसकै आधारमा अधिवेशनमा जान बाध्य गराउने नियत उहाँहरुको छ । 

धाँधलीपूर्ण अधिवेशन गर्ने कि सार्ने भन्ने विषयमा मतभेद भएको हो तर अहिले धेरै कुरा मिल्दै गएको छ ।

धाँधली रोक्न सक्ने अवस्थामा पनि हुनुहुन्न तपाईंहरु ?

कुन तागत भन्नुभएको ? नैतिक तागतको कुरा गर्नु हुन्छ भने धेरै माथि छौँ । तर, कम्प्युटर फोड्ने, सफ्टवेर तोड्ने त्यो बाटो हामीले सोचेको होइन । त्यो हाम्रो बाटो हुन पनि सक्दैन । 

कतिपयले के भन्छन् भने यो पहिलेदेखि नै दल विभाजनसम्बन्धी आएका अध्यादेशको मक्सद भनेको कांग्रेस फुटाउने हो ? महाधिवेशनपछि त्यो बाटोमा जान सक्छ ?

कांग्रेसभित्रै न्यायका लागि सत्यका लागि जनता कार्यकर्ताका लागि लड्ने प्रशस्त उर्जा र तागत छ । पार्टी फुटाउने गल्ती कांग्रेसबाट हुन सक्दैन ।

तपाईं काभ्रेको जिल्ला सभापति भइसक्नुभएको व्यक्ति अहिले पनि सक्रिय हुनुहुन्छ अब केन्द्रमा जाने तयारी हो ?

म जुन जिम्मेवारीमा रहन्छु त्यसकाप्रति निष्ठापूर्वक काम गर्छु । म यहाँ भन्दा अगाडि केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक भएर काम गरेँ, मुलुकभर प्रशिक्षण अघि बढाएको हो ।

विराटनगरदेखि सुन्दरीजलसम्म बीपीसहित छ जनालाई पक्राउ गरेर ल्याएको बाटोमा बीपी विचार यात्रा भनेर पदयात्रा गर्ने कार्यक्रमको नेतृत्व मैले नै गरेको हुँ  ।

त्यस्तै गणेशमान सिंह जेल तोडेर निस्केर भारतसम्म पुग्दा जुन जुन बाटो हुँदै जानुभयो र पछि ठोरीमा पक्रेर जुन बाटो हुँदै काठमाडौं ल्याइयो त्यो बाटोमा गणेशमान बलिदान यात्रा अभियान भनेर कार्यक्रम गरेका हौँ । म कर्ममा विश्वास गर्छु ।
अहिले मेरो लक्ष्य के छ भने म नेपाली कांग्रेसको वाग्मती प्रदेशका प्रतिनिधिहरुले साथ दिनुहुन्छ भने नेतृत्वको तयारीमा छु ।

परामर्शमा मात्रै हो कि उमेदवारी नै घोषणा गर्नुभएको हो ? 

म त्यस्तो घमण्डी नेचरको पनि छैन कि यो धर्तीमा मबाहेक कोही पनि छैन, वाग्मतीमा म बाहेक कोही पनि छैन भन्ने । तर, अवसर पाएँ भने काम गर्छु । सबैलाई समेटेर अघि बढ्छु । सहमति, सहकार्य र एकताका आधारमा संगठनलाई डोर्याउँछु ।

गिरिजाबाबुले भनेको बाटोमा संगठनलाई डोर्याउँदै यो संगठनलाई नयाँ ढंगले सशक्त बनाउने कुरामा म योगदान दिन सक्छु भन्ने विश्वास ममा छ । 

अब १८ गते त अधिवेशन सुरु होला तर हामीले नेतृत्व चयन गर्‍यौँ भनेर निर्वाचन आयोग जाने चाहिँ कहिले नि !

सही प्रश्नमा आउनुभएको छ । यसभन्दा अगाडि हामी जिल्ला सभापतिहरु दुईदिन काठमाडौंमा बसेर छलफल गर्‍यौँ । त्यसको मुख्य निष्कर्ष दुईवटा थियो । 

एउटा पार्टीको वैधानिकतालाई हँचुवा हिसाबले हेर्नु हुँदैन, वैधानिकता बचाउने हिसावले महाधिवेशन गर्नुपर्छ, सुरुवात गरेर होइन, भदौ २३ भित्र महाधिवेशन सम्पन्न गर्नुपर्छ भनेर लागेका थियौँ, विकल्प पनि दिएका थियौँ ।

संविधानले पाँच वर्ष छ महिनाभित्र हरेक पार्टीले प्रदेश र केन्द्रका पदाधिकारीको निर्वाचन गरिसकेको हुनुपर्नेछ भन्छ । 

प्रदेश कांग्रेस समिति नै छैन । त्यसकारण बनेपछि मात्र पाँचवर्ष लागु हुन्छ । तर, केन्द्रीय पदाधिकारीको त पाँच वर्ष छ महिना भदौ २३ देखि सकिँदैछ ।

यो बीचमा केन्द्रीय कार्यसमितिको अधिवेशन सम्पन्न हुनेगरी फाष्ट ट्रयाक कार्यतालिका बनाएर लैजाऔँ भनेकै हौँ । तर नेतृत्वले मानेन । १८ गते सुरु गरेको हिसाबले वैधानिकता बचाउँछ जस्तो मलाई लाग्दैन ।

पार्टीको विधानमा एउटा विशेष महाधिवेशन भन्ने व्यवस्था छ, त्यसमा जाऔँ भन्ने हाम्रो प्रस्ताव थियो ।

यतातिर क्रियाशील सदस्यता अझै पूर्णरुपमा हल भइसकेको छैन । पारदर्शी समाधानको ग्यारेन्टी अझै भएको छैन । 

अर्कोतर्फ १८ गते वडाको अधिवेशन हुन्छ कि हुँदैन भन्ने आशंका अझै छ । यो सुरुवातले मात्रै कांग्रेसको वैधानिकता बताउँदैन ।

कांग्रेसलाई १० लाख सदस्यता चाहिने किन ? यदि १० लाख, १५ लाख, २० लाख सदस्य पुर्‍याउने हो भने कांग्रेसलाई यो कार्यकर्तामा आधारित पार्टी किन नबनाउने ? आम मानिसको बनाउने हो भने किन क्रियाशील सदस्यता वितरण गर्ने ?

आहा ! तपाईंले जे प्रश्न गर्नुभयो, मेरो मनको कुरा बोल्नुभयो । मेरो मनको कुरामात्र होइन नेपाली कांग्रेसको पछिल्लो परिमार्जित विधान छ नि विधानको पनि आत्मा त्यही हो । 

नेपाली कांग्रेसको परिमार्जित पछिल्लो विधानले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लागि अनलाइनबाट पनि आवेदन गर्न सकिने व्यवस्था गरेको छ । म त अहिले कांग्रेसको विशेष महाधिवेशन गरेर वैधानिकताको जुन खतरा छ, त्यसबाट पार्टी बचाऔँ भनिरहेको छु । 

त्यसपछि पार्टी विधानको व्यवस्थाअनुसार अनलाइन प्रणालीबाट मुलुकभरीबाट क्रियाशील सदस्यताको आवेदन खुला गरौँ जसले निवेदन दिन्छ सबैलाई कांग्रेस बनाऔँ भन्ने मेरो धारणा हो ।

अहिले त धेरै कसैको इच्छाले भइरहेका हुन्छन् ।

वैैज्ञानिक आधार भनेको त इच्छुक भएकाहरुले आवेदन गर भनेको हो । यो कुनै कम्युनिष्ट, क्याडरबेस्ड पार्टी होइन । 

अन्ततः हामी मास बेस्ड पोलिसीमा जानु पर्छ, पर्छ । नगई सुखै छैन । कांग्रेस जस्तो खुला पार्टी बन्द सदस्यता प्रणालीमा बस्न सक्दैन । बस्नु हुँदैन । 

त्यसो भए कहिलेसम्म जान्छ ? 

म त अहिले नै जानुपर्छ भन्नेमा हो । विशेष महाधिवेशन  गरौँ अनि जाऔँ भनेको हो ।

यो विशेष महाधिवेशन चाहेको रामचन्द्र पौडेललाई सभापति बनाउनका लागि हो भन्ने छ नि !

रामचन्द्र पौडेल नै सभापति बन्नुभएछ भने त्यो स्वागतयोग्य नै कुरा हो । रामचन्द्र सभापति बन्ने कुरा अस्वाभाविक मान्नुपर्ने के छर ?

समकालीन नेतामा रामचन्द्र पौडेलजस्तो अर्को नेता नै छैन ।

शेरबहादुर देउवाको परीक्षण पनि भइसकेको छ । रामचन्द्र पौडेलले कार्यकारी नेतृत्व गर्नु भएको छैन । पार्टी सभापति हुनुहुन्छ भने त्यो स्वाभाविक हुन्छ । 

प्रसंग बदलौँ
कांग्रेसले अहिले जारी राखेको ‘गरिखाने अभियान’ कस्तो अभियान हो ?

यो अभियान धेरै पुरानो त होइन । यो विषयमा मलाई पहिलोचोटी अघिल्लो हप्तामात्रै खबर आएको थियोे र म गएको थिएँ ।

कार्यपत्रहरु पहिलोपटक त्यहीँ सुनेको हुँ । यसले जोे सोच लिएर आएको छ, त्यसलाई राम्रोसँग अघि बढाउनुपर्छ । राम्रोसँग अघि बढाउने हो भने यो अभियानले कांग्रेसलाई फाइदा नै गर्छ ।

नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुँदा एउटा ‘कन्सेप्ट’ लिएर आएका थियौँ ।

नेपाली कांग्रेसका कार्यकर्तालाई २४ घण्टे कार्यकर्ता बनाइनु हुँदैन । उहाँहरु सबैसँग कुनै न कुनै किसिमको पेशा व्यवसाय हुन्छ, हुनुपर्छ, उहाँहरुको न्युनतम आवश्यकता जुन आर्थिक आवश्यकता हुन्छ, त्यो उहाँहरुको आफ्नो निजी पेशाबाट पूरा हुने सुनिश्चित हुनुपर्छ र कसैले पनि अब पेशा व्यवसाय भनेर लेख्नुपर्ने ठाउँमा राजनीति भनेर लेख्ने कुराको अन्त्य गरिनुपर्छ ।

यो अभियान बीपी कोइरालाले भनेको समाजवादसँग कसरी मेल खान्छ ? कम्युनिष्टले तपाईंहरुलाई लगाउने पुँजीवादसँग यसको ‘म्याच’ हुन्छ कि हुँदैन ? 

यो कार्यक्रमलाई म चाहिँ उत्पादनसँग जोडिएको र उत्पादनलाई बजारसँग जोड्ने जुन विषय छ, उद्यमशील बनाउने एउटा अंग हो । पुँजीवाद भनेर श्रमिकको शोषणसँग जोडिएको परम्परागत अवस्था अहिले छैन ।

हिजोको समाजवाद पनि अहिले त्यही ढर्रामा रहेन । पुँजीवाद पनि त्यो अवस्थामा छैन ।

यी सबैमा सोसल जस्टिस र सोसल वेलफेयरका कुराहरु सँगसँगै जोडिएर आइसके । डेलिभरी जोडिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement