site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंजस्तै खैरेनी पनि !

पोहोरकाे बन्दाबन्दी (लकडाउन) मा नाै महिना तनहुँकाे आँबुखैरेनीमा थुनिएकाे थिएँ । इन्टरनेटले काठमाडौंकाे नियास्रो मेटेको थियो । काठमाडौं फर्केकाे नाै महिनापछि गएको साता आँबुखैरेनी आएकाे छु । यसपल्ट धेरै बस्ने योजना पटक्कै छैन ।

काठमाडौंमा जस्तै बेथिति छ यता पनि । शनिबारमात्र  पनि कम्तीमा १० पटक बिजुली गयो । खाेप लगाउनुपर्ने कतिले लगाउन पाएका छैनन् र मापदण्डमा नपर्नेले लगाइसकेका छन् ।  मास्क लगाउने पनि भेटिन्छन् तर धेरैले चिउँडोमा झुन्ड्याउने गरेका देखिए । कोभिडको डर पटक्कै मानेकाे देखिएन । 

बत्तीमुनि अँध्यारो 

काठमाडौंमा बिजुली जाँदा रातमा त खासै फरक पनि पर्दैन । दिउँसै पनि अत्यासै लाग्ने गर्मी हुँदैन । घरकै कुनै कुनामा शीतल ठाउँ भेटिनसक्छ  । खैरेनीमा भने घरभित्र बसेका बेला बिजुली बन्द हुँदा सास्ती नै हुन्छ । यसैले बिजुलीकाे चासाे बढी नै हुनेरहेछ ।

आँबुखैरेनी मर्स्याङ्दी जलविद्युत् आयोजना भएको ठाउँ हाे । यसैले कम्तीमा यस क्षेत्रमा त बिजुली आपूर्ति अलि राम्रो हुनुपर्ने अपेक्षा गर्नु अर्घेल्याइँ पक्कै हुँदैन । 

त्यसो त यहाँका बासिन्दाले मर्स्याङ्दी निर्माणका बेला धेरै गुमाएका पनि छन् । (केहीले कमाएका पनि छन् तर कमाउनेमा प्रायः बाहिरबाट आउनेहरू छन् भने गुमाउने धेरै त्यहाँका पुराना बासिन्दा छन् । )त्यसबापत बिजुलीको राम्रो आपूर्ति खाेज्ने त अधिकारै हुनुपर्ने हो ।  

खैरेनीमा बिजुली गइरहने खासै कारण पनि रहेनछ । व्यवस्थापन गर्न खाेजे सजिलै सकिने समस्याकै कारण सास्ती दिइने रहेछ । कतै बनाउन वा केही मिलाउन परे झ्याप्प वरपरकाे बिजुली काट्यो । उपभोक्तालाई सूचना दिनुपर्छ भन्ने नै कसैलाई नलाग्ने ! वा सकेसम्म विद्युत् आपूर्ति नियमित होस् भन्ने सोच नै छैन ।

केही कर्मचारीले सुटुक्क बताएअनुसार मूल समस्या ट्रान्सफर्मरलगायतका थोत्रा उपकरणकाे प्रयोग हाे । उपत्यका वा ठूला सहरमा फेरिएका काम नलाग्ने थोत्रा सामान तानतुन पारेर मर्मत गरी  जिल्लाका साना सहर वा गाउँतिर पठाइन्छ रे ! यसैले उपत्यकाबाहिरको आपूर्ति बढी अनियमित भएकाे हो रे !

यसकाे अर्काे अर्थ के पनि हाे भने उपत्यकालाई मात्र नेपाल ठान्ने राणाकालदेखिकै मानसिकताले बिजुलीमा पनि गाउँका जनता ठगिएका रहेछन् । बेलाबखत सानाेतिनो किचलो गर्नेबाहेक अहिलेसम्म आबुखैरेनीका उपभोक्ताले खासै अप्ठेरो पारेका छैनन् । विद्युत् प्राधिकरणले बेलैमा बुद्धिमानी देखाएन भने जनता सधैँ ‘सुधा गाई’ भइरहने छैनन् ।

बत्तीमुनि अँध्यारो भन्ने उखान बिजुली आएपछि त फेरौँ न ! यत्तिका लागि पनि जनता जाग्न नपरे हुने हो । स्थानीय सरकारले पनि अगाडि सरेर बिजुली नियमित बनाउन प्रयास गर्नुपर्ने हैन ? यहाँ उत्पादित बिजुली अरूलाई दिन्नौ भन्ने दिन नआओस् ! 

खोपको कथा पनि उस्तै 

पहिलो मात्रा कोभिसिल्ड लगाएका १३ लाख ज्येष्ठ नागरिक पर्खेर बसे तर 

काठमाडौ‌मा पहुँच हुनेका कामदारले समेत बेलैमा कोभिसिल्डको दुवै मात्रा खोप पाएका थिए । यो रोग राजधानीबाट बाहिर पनि सरेछ । आँबुखैरेनीमा समेत अघोषित चाहिँ ‘राष्ट्रिय मापदण्ड’ अपनाइएको रहेछ । 

“अरू बुँदामा जेसुकै लेखिएको भए पनि पहुँच र प्रभाव हुनेहरूले चाहेका बेला खोप पाउनेछन्” भन्ने बुँदा सरकारले घोषणा गरेको मापदण्ड र निर्देशनहरूमा छुटेकाे देखियो । यथार्थमा सबैतिर समानरूपले लागू भएको मापदण्ड सायद यही हो । पहुँच र प्रभावको विस्तार पनि  गाउँगाउँमा सिंहदरबारजस्तै व्यापक भने भएछ ।

गाउँपालिकाका पदाधिकारीका परिवार र नातेदार, कर्मचारीका परिवार, स्थानीय राजनीतिक दलका नेता र कार्यकर्ता र तिनका परिवार, धनी व्पापारीले प्राथमिकता पाएछन् । मेरा ९० वर्षका पितालाई कोभिसिल्डको दोस्रो मात्रा पाउन ६ महिना लाग्यो । पहिलो मात्रा २०७७को फागुन २३ गते लगाइएको थियो । 

दोस्रो मात्राका लागि मैले त्यहाँका स्वास्थ्यका हाकिमसँग आग्रह गरेको पनि थिएँ । यसबीच पहुँच हुनेहरूलाई दोस्रो मात्रा दिइएको पनि थाहा पाएँ । तैपनि, यी ९० वर्षीय वृद्धलाई २०७८ सालको साउन २८ नभई अर्को मात्रा खोप जुरेन । 

खोप लगाउन नपाउनेमात्र र नमान्ने पनि रहेछन् । अहिले सायद सरकारले तोकेको मापदण्डअनुसारका मानिसले खोज्दै आए खोप लगाउन पाएका छन्। पहुँच हुनेका लागि त मापदण्ड न काठमाण्डौंमा चाहिन्थ्यो न यहाँ नै चाहिँदो रहेछ । खोपमा पनि राज्यका अरू सुविधाजस्तै पहुँच हुने र नहुनेबीच असमानता छ जताततै । सायद, अपवाद कतै छैन । 

भिडभाड काठमाडौंकै जस्तो त छैन तर कोभिडको सङ्क्रमण भएको कसैले वास्ता गरेको देखिएन । मास्क अभियानको पोस्टरले जति नै कुरीकुरी गरे पनि कसैले टेर्दैन । समाजको अराजकता र राज्यको अनियमितता दुवै आँबुखैरेनीमा पनि बलियो छ । थाहा छैन यो ‘द न्यारो करिडर’मा वर्णन गरिएको अफ्रिकाकाे जस्तो अवस्था कतिन्जेल सँगै जाने हो ?

अरू जेभए पनि कम्तीमा राज्य गाउँमा पुगेको छ अब त म पनि ठोकुवा गर्न सक्छु ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro