
काठमाडौं । गत आर्थिक वर्षको नेपालको कुल वस्तु आयातले कुल बजेटभन्दा बढी पुगेको छ । आयात मुलुकको कुल बजेटभन्दा माथि पुग्दा व्यापार घाटा कुल बजेट खर्चभन्दा माथि पुगेको छ । गत आर्थिक वर्षको लागि सरकारले कुल १४ खर्ब ७४ अर्बको बजेट ल्याएको थियो । तर गत आर्थिक वर्षको कुल आयात भने करिब साढे १५ खर्ब पुगेको छ ।
भन्सार विभागको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा कुल १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजारको आयात भएकोमा गत आर्थिक वर्षमा कुल आयात २८.६६ प्रतिशतले वृद्धि भएको हो ।
आयातसँगै निर्यातमा पनि उल्लेख्य वृद्धि भएपनि आयातको अनुपातमा निर्यातको हिस्सा न्यून हुँदा व्यापार घाटा गत आर्थिक वर्षको कुल बजेट खर्चभन्दा माथि पुगेको छ । गग आर्थिक वर्षमा नेपालको निर्यात व्यापार पहिलोपटक १ खर्ब नाघेको हो ।
आर्थिक वर्ष २०७६/०७७ को तुलनमा गत आर्थिक वर्षमा निर्यात ४४.४३ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालबाट कुल ९७ अर्ब ७० करोड ९१ लाख ५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
गत आर्थिक वर्षका लागि १४ खर्बको बजेट ल्याएकोमा सरकारले बजेटको मध्यावधि समीक्षामार्फत त्यसलाई संशोधन गर्दै १२ खर्ब ६६ अर्ब खर्च हुने अनुमान गरेको थियो । तर, गत आर्थिक वर्षमा बजेटको संशोधित अनुमान पनि पूरा नभएर ११ खर्ब ८० अर्ब ९५ करोड २९ लाख मात्रै बजेट खर्च भएको थियो ।
जबकि व्यापार घाटा भने करिब १४ खर्ब पुगेको छ । गत आर्थिक वर्षको नेपालको कुल व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार पुगेको छ ।
यसअघि आर्थिक वर्ष २०७७/०७६ मा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख ४३ हजारको आयात भएकोमा गत वर्ष १५.६३ प्रतिशतले घटेको हो ।