site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् । सरकार र राज्य प्रणालीको सुरुआत नै नागरिकको जीवनरक्षाका लागि भएको भन्दै उनले शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा नै आफ्नो पहिलो दायित्व भएको बताए ।

उनले राजनीतिक विचारधाराबाट परिचालित नभई काम, कर्तव्य, भूमिका र योगदानको आधारमा सुरक्षा निकायको मनोबल बढाउने भूमिकामा आफू रहने बताए । प्रस्तुत छ, गृहमन्त्री बालकृष्ण खाँणसँग गरिएको कुराकानीको सम्पादित अंश :

अत्यन्तै चुनौतीपूर्ण अवस्थामा तपाईंले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । आगामी दिनमा आफ्नो चुनौती के देख्नुभएको छ ?
म एउटा नेपाली कांग्रेसको सिपाही हुँ । मुलुकको एउटा जिम्मेवार नागरिक पनि हुँ । त्यसकारण मैले गृह मन्त्रालयलाई एउटा नागरिकको आँखाबाट हेर्छु । जनप्रतिनिधिको रुपमा जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा मैले मिहिनत गर्छु । त्यसकारण मैले के अनुभूत गरेको छु भने यो मन्त्रालय आउनुभन्दा अगाडिदेखि नै, सरकार सञ्चालन गर्ने क्रममा सरकारको बारेमा पहिलो अनुभूति दिने नै यो मन्त्रालय हो, सरकार छ भनेर । मानौँ, जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जानुप¥यो, त्यहाँ गृह मन्त्रालय मातहतको जिल्ला प्रशासन कार्यालय हुन्छ । त्यसैगरी, कहीँ केही प्रकोप भयो, त्यहाँ गृह मन्त्रालयको सुरक्षा निकाय पुग्नुप¥यो । त्यसले गर्दा जनतालाई सरकार छ, सरकार मेरो साथमा छ, दुःख–सुखमा साथ दिन्छ भन्ने अनुभूति दिनुपर्छ भन्ने मेरो मान्यता र सोच हो । त्यसको लागि नै म कार्यरत रहन्छु ।

Prabhu Bank
Agni Group
NIC Asia

तपाईंसँग रक्षा मन्त्रालय चलाएको अनुभव छ, सुरक्षाकर्मीको मनोबल बुझ्नुहुन्छ होला, राजनीतिक हस्तक्षेपका कारण सुरक्षाकर्मीको मनोबल सबैभन्दा कमजोर भएको छ । तपाईंको भूमिका राजनीतिक हस्तक्षेप बढाउनमा केन्द्रित हुन्छ वा मनोबल बढाउनमा केन्द्रित हुन्छ ?
गृह मन्त्रालयअन्तर्गतका राष्ट्रसेवकहरु होस् या नेपाल सरकारका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी मित्रहरु हुनुहोस् या शिक्षक, प्राध्यापक सबै हुनुहोस् या सुरक्षा निकायमा कार्यरत अधिकृत र जवानहरु होस्, सबैले मुलुक निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याइरहनुभएको छ । तर, हाम्रो मन्त्रालय मातहत भएका सम्पूर्ण सुरक्षाकर्मी र राष्ट्रसेवकहरुले आवश्यक परेमा चौबीसै घण्टा खट्नुपर्छ । ज्यानको जोखिम राखेर गर्नुपर्छ ।

अहिले कोरोना महामारी छ । कहीँ बाढी छ । पानीमा नागरिक डुबिरहेको छ । बाढीले बगाइरहेको छ । पुलिसले त हामफालेर रेस्क्यु गर्नुपर्‍यो नि । उसले कोरोना महामारी छ भनेर मास्क खोज्न थाल्दैन नि । आफ्नो जीवनलाई जोखिममा राखेर पनि नागरिकको रक्षा गर्ने दायित्व बोकेका सुरक्षाकर्मी र राष्ट्रसेवकलाई हामीले सम्मान गर्नैपर्दछ । उहाँहरुलाई पर्याप्त साधन, स्रोत दिन सकेका छैनौँ । पर्याप्त सुविधा दिन सकेका छैनौँ । तैपनि, ती राष्ट्रसेवक र सुरक्षाकर्मीहरुको यो देश हाम्रो हो, हामी यो देशको नागरिक हौँ र हाम्रा परिवारका सदस्यहरु पनि नागरिक हुन् । त्यसकारणले परिवारका सदस्यप्रतिको मेरो जुन कर्तव्यबोध छ, जुन दायित्व छ देशका नागरिक र देशप्रति पनि मेरो दायित्वबोध छ भनेर त्यो दायित्वबोध भएको कारणले उहाँहरु काम गरिरहनुभएको छ । यस्तो बेलामा हामीले उहाँहरुलाई प्रोत्साहित गर्ने, उत्साहित गर्ने र उहाँहरुको मनोबल बढाउने नै हो ।

Global Ime bank

नेपाल प्रहरीमा जघन्य प्रकृतिको अपराधको अनुसन्धान गर्ने एउटा टिम छ । तर, गृह मन्त्रालयले निजामतीबाट पनि छानबिन समिति बनाउँछ अनि ती घटनाको सत्यतथ्य बाहिर आउनुको सट्टा अनुसन्धान प्रभावित भएको उदाहरण पनि छन्, के भन्नुहुन्छ ?
यसमा मिडियाले पनि सहयोग गर्नुपर्छ । कुनै घटना घट्यो, नेपाल प्रहरीले त तत्काल त्यहाँ अनुसन्धान थाल्छ । उसको त त्यो दायित्व र कर्तव्यभित्रै पर्छ । तर, त्यसको तथ्य छानबिन गरेर बाहिर ल्याउन केही समय पनि लाग्छ । फेरि, छानबिन भइरहेको बेलामा सबै कुराहरु छानबिनका रिपोर्टहरु बाहिर ल्याउनु पनि उचित नहोला । किनभने, कतिपय कुराहरु छानबिन भइराखेको हुन्छ । पत्ता लगाउन खोजिरहेको हुन्छ । जम्मै कुरा भन्ने हो भने त सम्बन्धित अपराधी भागिरहेको पनि हुन्छ । त्यसकारणले त्यसको गोपनीयता राखेको पनि होला । तर, जनस्तरबाट आवाज उठ्छ, हामीले पनि उठाइन्छ । पुलिसले छानबिन गर्नै सकेन । पुलिसले अपराधीलाई पक्रनै सकेन, जाँचबुझ नै गर्न सकेन । विभिन्न स्तरबाट त्यो कुरा उठ्दाखेरी छानबिन समिति बनाइदिऊँ भनेर मन्त्रालयले छानबिन समिति बनाइदिन्छ । छानबिन बनाउँदाखेरी पनि प्रहरीले त्यसमा अनुसन्धान त गर्नैपर्छ ।

त्यसकारणले यसमा कतिपय यस्ता मुद्दाहरु होलान्, कतिपय यस्ता घटना होलान्, जहाँ तथ्यगत छानबिन गर्नुपर्ला । कहीँ संसदीय छानबिन समिति चाहिएला । कहीँ न्यायिक छानबिन समिति चाहिएला । कहीँ प्रशासनिक छानबिन समिति चाहिएला । तर, कुनै घटना भयो र त्यो घटना बाहिर आयो, जनमानसमा एउटा आक्रोश जाग्यो भने त्यो घटनाको तथ्य पत्ता लगाउने भन्दा पनि जनमानसमा उठेको आक्रोशलाई शान्त पार्नका लागि छानबिन समिति बनाइदिएको घटनाहरु पनि होलान् । त्यसकारणले कतिखेर साँच्चै छानबिन समिति बनाउने, कतिखेर पुुलिसमाथि पूरै भरोसा गरेर पुलिसलाई हामीले साथ दिने, त्यसका लागि बरु आवश्यक सामग्री, उपकरणहरु दिने कि त्यसमा तपाईंहरुले पनि मद्दत गर्नुस्, म पनि लागौँला ।

हिजो तपाईं विपक्षी दलको प्रमुख सचेतक हुनुहुन्थ्यो, प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो । कयौँ घटनामा तपाईंले आफैँले प्रश्न गर्नुभएको छ । आज तपाईं जवाफ दिने ठाउँमा र जिम्मेवारी लिने ठाउँमा आउनुभएको छ । यी दुई भूमिकाको सन्तुलन कसरी मिलाउनुहुन्छ ?
घटना भयो । त्यतिखेर प्रश्न उठाइयो । जिज्ञासा उठाइयो । जानकारी सरकारसँग मागियो । किनकि, आम नागरिकसँग, जनप्रतिनिधिसँग घटनाको बारेमा केही तथ्यहरु थाहा हुन्छ । केही कुरा देखिन्छ, सुनिन्छ । तर, सत्य, यथार्थ थाहा नहुन सक्छ । त्यसकारणले यो घटनाको बारेमा यथार्थ कुरा जनतासमक्ष ल्याइयोस् भनेर जनप्रतिनिधिले माग गर्नु त्यो सही कुरा हो । तर, सरकारले, सरकारको प्रतिनिधि या मन्त्रीले त्यसमा सत्यतथ्यको जानकारी दिने हो । विगतमा हामीले जुन ढंगले प्रश्न उठाएका छौँ, ती प्रश्नहरुको जवाफ कतिपय सवालमा आफैँ दिने ठाउँमा पनि पुगिन्छ । त्यसकारणले खास गरेर हाम्रो यो बहुदलीय शासन व्यवस्था त्यो पनि बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रमा सरकार कहिले प्रतिपक्षमा पुग्छ, कहिले प्रतिपक्ष सरकारमा पुग्छ । त्यसैले यसलाई सहजै रुपमा लिनुपर्ने हुन्छ । र, विगतको कतिपय सन्दर्भहरुलाई हामीले अध्ययन पनि गर्नुपर्दछ । र, त्यो अध्ययनबाट हामीले पाठ लिएर आउने दिनमा अझै राम्रो पनि गर्न सक्नुपर्दछ ।

तपाईंका प्राथमिकताहरु के–के हुन् ?
पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हो । किनकि, यो राज्यप्रणालीको दुनियाँमा प्रार्दुभाव किन भयो, सरकार किन बन्यो, समुदायमा हामी किन बस्यौँ भन्दा हाम्रो जीवनरक्षाको लागि हो । मान्छेले आफ्नो जीवनरक्षाको लागि मान्छे मान्छेसँग मिलेर समुदाय बनायो, राज्य प्रणाली सुरुवात गर्‍यो । मेरो शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा मेरो पहिलो दायित्व हो, कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै हाम्रो मूल प्राथमिकता हो । त्यसकारले विभिन्न घटना, परिघटनाबाट मान्छेको ज्यान जाने कुरा होस्, चाहे यो कोरोना महामारीबाट मान्छेको ज्यान जाने कुरा होस्, संक्रमणको कारणले, जुनखालको हाम्रो अर्थ व्यवस्था पनि थिलथिलो भएको छ । यसैलाई नै हामीले प्राथमिकताको साथ अगाडि लाने हो । गृह मन्त्रालयका थुप्रै कार्यक्षेत्रहरु छन् । त्यसलाई पनि हामीले परिष्कृत गर्दै राम्रो गराउँदै जाने हो ।

तपाईंले पदबहाली गरेलगत्तै विभिन्न सुरक्षा अधिकारीहरुसँग छलफल गर्नुभएको थियो, के कुराकानी भएको थियो ?
उहाँहरुले यो मन्त्रालयको सांगठनिक ढाँचा, यसको काम, कर्तव्य, कार्यक्षेत्रको बारेमा जानकारी गराउनुभयो । मैले आफ्नो अनुभवहरु र उहाँले जानकारी गराएको कुराहरुमा आफ्नो धारणाहरु राखेँ र सबैलाई धन्यवाद दिएँ । त्यसपछि यो मन्त्रालय मातहतका सुरक्षा निकायहरुसँग आफ्नो–आफ्नो निकायमै छलफल हुन्छ । त्यसपछि विभिन्न तहगत विभागहरु छन् उनीहरुसँग पनि छलफल हुन्छ । अहिले खालि मैले पदबहाली गरेँ । सचिवजीले यहाँको स्थितिको बारेमा र यसको सांगठनिक ढाँचाको बारेमा, काम, कर्तव्य, अधिकार र भूमिकाको बारेमा, केही समस्या र चुनौतीहरुको बारेमा ब्रिफ गर्नुभयो ।

मैले एउटा नागरिकको चस्मा लगाएको जुन अवस्थामा म छु, मैले एउटा नागरिकले गृहको बारेमा, नागरिकले सुरक्षाको बारेमा, सुरक्षाकर्मीको बारेमा जे धारणा राख्छ, त्यो मैले राखेँ । हामी सबै मिलौँ । मूलभूत रुपमा नेपालको जुन शासन प्रणाली छ, यो शासन प्रणालीमा नेपाली जनता नै मालिक हुन् । र, हामीहरु राजनीतिकर्मी, जनप्रतिनिधिहरु पनि हामी सेवक हौँ । तपाईंहरु राष्ट्रिय सेवक पनि जनताको सेवक हो । त्यसकारणले हामी एकापसमा हातेमालो गरौँ । जनतालाई मालिक बनाउने, मालिकको अनुभूति दिने, संविधानमा, विधिमा, कानुनमा मालिक त बनाइयो । तर, मनमा, अनुभूतिमा जनतालाई साँच्चै सरकार सेवक भएछ, जनप्रतिनिधि सेवक भएछन्, हामी मालिक भएछौँ भन्ने अनुभूति दिन सकौँ । त्यसको लागि सामूहिक प्रयत्न गरौँ । म तपाईंहरुसँग मित्रवत् व्यवहार गर्छु । म तपाईंहरुको साथीको रुपमा आएको छु भनेँ मैले ।

सशस्त्र प्रहरीको बीओपी स्थापनाको कार्य आक्रामक ढंगले अघि बढिरहेको छ, यसमा तपाईंको प्राथमिकता के रहन्छ ? प्रहरीको समायोजन, सरुवा–बढुवाको बारेमा के छ ?
बीओपीको बारेमा, नेपालको भूमिको रक्षा गर्ने काम हाम्रो हो । सरकारको हो । नागरिकको सुरक्षा गर्ने दायित्व पनि हाम्रो हो । बीओपीले राष्ट्रिय भूमिको रक्षा र नागरिकको रक्षामा मद्दत पु¥याउँछ भन्ने नै हामी सबैको विश्वास हो र त्यसले निरन्तरता पाउँछ । जहाँसम्म सरुवा–बढुवाको कुरा गर्नुभयो, त्यसमा कार्यक्षमताकै आधारमा गर्नुपर्दछ भन्ने मेरो मान्यता हो । एउटा सामान्य नागरिकले पनि के भन्छ भने यसले राम्रो, जनताको मन जित्ने काम गरेको छ, जनतालाई सम्मानित गर्दै आफ्ना कामहरु सम्पन्न गरेको छ भने कतिपय जिल्लामा सीडीयोलाई, राष्ट्रसेवक कर्मचारीलाई, पुलिस प्रशासकलाई अभिनन्दन गरेर खाँदा र मालाले ढाकेर पठाइदिएका पनि छन्, सम्मान गरेर बिदाइ हुने बेलामा । कतिपय ठाउँमा साटाकसुटुक हिँड्नुपर्ने अवस्था पनि छ । यो सन्तुलन मिलाएरै गर्नुपर्ने हुन्छ । मैले यसमा अध्ययन गर्नै बाँकी छ ।

भर्खर आएको छु । सबैको सल्लाह मलाई चाहिन्छ, कसरी मैले जाने । बाहिर जनमानसमा के छ भन्दाखेरी बढुवामा व्याचका व्याच जम्प गराउनु राम्रो होइन भन्ने छ जनतामा । एकदमै विशेष दख्खल हासिल गरेको, कुनै विज्ञता हासिल गरेको, कुनै त्यस्ता ठूला घटनाहरुलाई बढो गम्भीरताका साथ अनुसन्धान गरेर ठूलो स्याबासीलायक काम गरेकाहरुलाई, काम गर्नेले सम्मान पाउँछ, काम गर्नेले स्थान पाउँछ भनेर इम्प्रेसन दिन गर्ने कुरा अलग हो । नभएदेखि व्याचका व्याच मिचेर गर्नु राम्रो होइ्न भन्ने आम जनताको भनाइ छ । त्यसप्रति म गम्भीर छु ।

कोभिड महामारीमा अग्रभागमा खटिएका सुरक्षा निकायलाई दिने भनिएको भत्ता अहिलेसम्म पनि नपाएको अवस्था छ, यसबारेमा के गर्नुहुन्छ ?
कोभिड महामारीमा सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरु खटिनुपरेको छ । जनताको सुरक्षाका लागि पनि सरकारको प्रतिबद्धता छ । सबैलाई भ्याक्सिन छिटोभन्दा छिटो लगाउने । सबैको उपचार गर्ने । सबै संक्रमितहरुको जीवन बचाऊँ, त्यसका लागि सरकार दत्तचित्त छ । त्यसको साथसाथै गृह मन्त्रालय र हाम्रो सुरक्षा निकायहरुले फ्रन्टलाइनमा बस्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सुरक्षाकर्मीहरुको पनि जीवनरक्षाको दायित्व सरकारको हो । मन्त्रालयको हो । विभागको हो । त्यतापट्टि पनि हामी गम्भिर छौँ । उहाँहरु संक्रमित नहुनुहोस् । त्यसका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउने । आवश्यक प्रशिक्षण दिने । आवश्यक भ्याक्सिनहरु दिने । संक्रमित भइहाल्यो भने ती सुरक्षाकर्मी र राष्ट्रसेवकको पनि जीवनरक्षा गर्ने, तीनको पनि उपचार गर्ने दायित्व हाम्रो हो भनेका छौँ । त्यसको लागि मैले उहाँहरुसँग ब्रिफिङमा पनि भनेको छु कि राम्रो कामको लागि सराहना गर्दछु र तपाईंहरुको जीवनरक्षाको लागि सरकार साथमा छ । मन्त्रालय तपाईंहरुको साथमा छ । उहाँहरुलाई उत्साहित र प्रोत्साहित गर्ने काम गर्छौँ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement