site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कसले पाउँछन् चीनबाट आउने खोप ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले जुलाई महिनाभरमा चीनबाट तीन चरणमा कोभिड–१९ विरुद्धको खोप ल्याउने भएको छ । चीन सरकारसँगको गोप्य सम्झौता (नन डिस्क्लोजर एग्रिमेन्ट)मा कोभिड–१९ विरुद्धको भेरोसेल खोप ल्याउन लागिएको हो । 

जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार चीनबाट विभिन्न चरणमा खोप खरिद गर्न लागिएको हो । 

कति खोप आउँदैछ चीनबाट ?

जुलाई महिनाभित्र ४० लाख डोज खोप ल्याउने पहल भएको भए पनि खोपको मात्रा यकिन नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यद्यपि, प्रधानमन्त्री कपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चीनबाट ४० लाख डोज खोप ल्याइने भन्दै खोप आयातको उडान तालिकासमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । 

“अहिलेको आवश्यकता भनेको कुनै पनि हालतमा खोप ल्याउनु हो । खोपको मूल्यलगायत सम्झौतामा भएका सबै कुराहरू अहिलेलाई नखुलाऔँ,” विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले भने । 

नेपाल वायुसेवा निगमले भने असार २५ देखि साउन ८ गतेसम्म गरी तीन चरणमा आफ्नो जहाज खोप लिन चीनको बेइजिङ जाने जनाएको छ । 

कसले पाउँछन् चीनबाट ल्याएको खोप ?

चीनबाट ल्याउन लागिएको भेरोसेल खोप लगाउने पहिलो प्राथमिकतामा सरकाले ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई राखेको छ । यो उमेर समूहका नागरिकको संख्या १७ देखि झन्डै १८ लाख रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताए । 

अबको खोपको प्राथमिकतामा सिन्धुपाल्चोक र मनाङका बाढी तथा पहिरो प्रभावित नागरिकलाई पनि राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् । 

वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा विदेश जान लागेका, नागरिकलगायत विभिन्न पेशागत समूहका नागरिकले आफूहरूलाई खोप उपलब्ध गराउन माग गर्दै आएको भए पनि अहिले उनीहरूको बारेमा कुनै निर्णय नगरिएको डा. पोख्रेल बताउँछन् । 

“कुनै निश्चित स्थानमा संक्रमणले महामारीको रूप लियो अथवा खोप दिनैपर्ने विपत्ति आइलाग्यो भने मन्त्रिपरिषद्को निर्णयमा प्राथमिकता समूह थपिनेछ । अन्यथा अहिलेको प्राथमिकता भनेको उमेर समूह नै हो,” डा. पोखरेलले भने ।
 
दुवै डोज दिइने 

चीनबाट ल्याउन लागिएको खोप पनि सरकारले एकै व्यक्तिलाई दुई डोजका दरले (पूर्णखोप) दिने तयारी गरेको छ । खोप कति मात्रा आउने भन्ने निश्चित भएपछि दोस्रो डोजका लागि समेत सुरक्षित गरी खोपको वितरण सुरु गरिनेछ । 

खोपको उपलब्धताका आधारमा खोप लगाउने समूह थप्दै लगिने डा. पोख्रेलले बताए । 

दोस्रो डोज कोभिसिल्ड लगाउनेको पालो कहिले ?

कोभिसिल्ड खोपको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १३ लाख नागरिकका लागि पनि सरकारले दोस्रो डोज दिने पहल गरिरहेको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत साढे तीन लाख डोज खोप यही जुलाई महिनाभित्र आउने डा. पोख्रेलले जानकारी दिए । 

दश लाख डोज कोभिसिल्ड खोप खरिदका लागि भुक्तानी लिइसकेको भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले भारत सरकाले निर्यत खुला गर्ने वित्तिकै नेपाललाई पहिलो चरणमा खोप दिने प्रतिबद्धता गरेको पनि उनले बताए । “भारतबाट १० लाख र कोभ्याक्सबाट साढे तीन लाख डोज कोभिसिल्ड खोप आएमा दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिन पुग्छ । हामी त्यसका लागि पनि प्रयासरत छौँ,” उनले भने । 

यो बाहेक, अमेरिकाको जोन्सन एन्ड जोन्सन खोप ल्याउनका लागि पनि पहल भइरहेको डा. पोख्रेलको भनाइ छ । यद्यपि कोभ्याक्स अन्तर्गत आउने साढे तीन लाखबाहेक कुनैपनि खोपको टुङ्गो भने लागिनसकेको उनको भनाइ छ । 

नेपालमा हालसम्म ७ लाख ५८ हजार ४६ जनाले दुवै डोज र २६ लाख ६ हजार ५ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

यसअघि जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकलाई सरकारले असार २२ गतेदेखि दोस्रो डोज खोप दिँदैछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro