site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपा विघटनको परकम्प : एमालेले हेर्दाहेर्दै गुमायो मुख्यमन्त्री
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । “पार्टी संगठनमा जितहारको नैतिक जिम्मेवारी नेतृत्वले लिनैपर्छ, सात प्रदेशमा कतै टेक्ने ठाउँ छैन, यत्रो इतिहास बोकेको गर्विलो पार्टी प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको छ !”

२०७५ असार ७ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको भेला आयोजना गरेको थियो । लामो समय सत्तासिन रहेको पार्टी प्रतिपक्षको पनि साँघुरो घेरामा खुम्चिनु परेपछि गुल्मीका जिल्ला सभापति भुवन श्रेष्ठले नेतृत्वसमक्ष पोखेको आक्रोश हो यो ।

कांग्रेसका नेता कार्यकर्ताले पाँचैवर्ष प्रतिपक्षीमा बस्नुपर्ने ठानेका थिए । र, रचनात्मक र सशक्त प्रतिपक्षीको रूपमा आफूलाई उभ्याउनुपर्ने बताउँदै आएका थिए । दुई तिहाइनिकट मतका साथ सरकारको नेतृत्व गरिरहेको नेकपालाई पाइला–पाइलामा खबरदारी गर्नुपर्ने धारणा राख्दै आएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, परिस्थिति कांग्रेसले आकलन गरेअनुरूप अघि बढेन ।

तीन वर्ष बित्न नपाउँदै गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली (पोखरेल) मुख्यमन्त्रीको शपथ लिएका छन् ।  कर्णाली प्रदेश र प्रदेश नम्बर दुईमा पनि कांग्रेस सत्तारोहण भइसकेको छ ।

Royal Enfield Island Ad

नेकपा विघटनको परकम्प 

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा इतिहास बनिसकेको छ । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि नेकपा विधिवत् विघटन भयो । 

त्यसभन्दा अगाडि, पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटनको निष्कर्षमा पुगेपछि नै नेकपा विभाजित–विभक्त भइसकेको थियो ।

त्यसको असर केन्द्र सरकारलाई पर्ने नै भयो । लहरो प्रदेशतिर पनि सोझिएको थियो ।

वाग्मती, प्रदेश नम्बर १, लुम्बिनी प्रदेशमा पनि एमाले सरकार विस्थापनका प्रयास नभएका होइनन् । वाग्मती प्रदेशमा त नेकपा हुँदा नै त्यहाँको सरकार विस्थापनको प्रयास भएको थियो । तत्कालीन मन्त्री (शालिकराम जम्कट्टेल, युवराज दुलाल)हरू नै सरकार गिराउन सांसदहरूको हस्ताक्षर बटुल्न थालेका थिए ।

अहिले प्रदेश नम्बर १ र वाग्मतीमा एमाले संसदीय दल एकढिक्का हुँदा त्यहाँका सरकार सुरक्षित नै देखिएका छन् । वाग्मती प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका झलनाथ खनाल र माधवकुमार नेपाल समूहबीच समझदारी भएर नीति तथा कार्यक्रम पारित सहजरूपले पारित भयो ।

लुम्बिनी प्रदेश सरकारको दशा टरिसकेको छैन । त्यहाँ मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोहोर्‍याएर अविश्वासको प्रस्ताव दर्ता भयो । कारबाहीमा परेका जनता समाजवादी पार्टीका चारजना सांसद् पदको थमौती भएपछि विपक्षी गठबन्धन हच्किएका छन् । र, अविश्वासको प्रस्ताव अघि बढ्न सकेको छैन । मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन पनि आनाकानी गरिरहेका छन् ।

नेकपा विसर्जनका कारण एमालेले गण्डकी प्रदेशमा भने गम्भीर धक्का बेहोर्नु परेको छ । नेकपा विवाद उग्र बन्दै जाँदा पनि सुरक्षित ठानिएको गण्डकीमा एमाले सरकारबाट बहिर्गमित भएको छ ।

केन्द्रकै सिको गर्दागर्दै विस्थापित भए गुरूङ

नेकपा विघटित भएपछि एमालेले नै प्रदेश सरकारहरू हल्लाउन सुरु गर्‍यो । सर्वप्रथम चैत ४ गते कर्णाली प्रदेश सरकारबाट हात झिक्यो । र, आफ्ना तीनैजना मन्त्रीहरूलाई फिर्ता बोलायो । तिनताका प्रकाश ज्वाला (आर्थिक मामिला तथा योजनामन्त्री), नन्दसिंह बुढा (उद्योग, वन तथा वातावरणमन्त्री), दल रावल (सामाजिक विकासमन्त्री) थिए ।

४० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको २० मत थियो । माओवादी केन्द्रका एक सांसद (धर्मराज रेग्मी) कारबाहीमा परेपछि मुख्यमन्त्री महेन्द्र शाहीको विपक्षमा मत पुग्ने उसको विश्वास पनि थियो ।

तर, केन्द्रमा विभाजित एमाले त्यहाँ पनि एकढिक्का रहने कुरा भएन । ४ मत (प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा, कुर्मराज शाही) विपक्षमा जानेबित्तिकै शाहीको सरकार जोगियो ।

यता गण्डकी प्रदेशमा मध्यचैतबाट नै नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी) सक्रिय भएका थिए ।

उनीहरूले वैशाख २ गते सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरे । त्यही दिन मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिदिए ।

वैशाख २ गते नै विपक्षी गठबन्धनले २८ सांसदको हस्ताक्षरसहित संविधानको धारा १८३ (३) अनुसार प्रदेश प्रमुख समक्ष समावेदन गरे ।

प्रदेश प्रमुखले वैशाख १५ गते अधिवेशन आह्वान गरेका थिए । तर, घटनाक्रममा ट्विस्ट देखापर्‍यो । जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भए । स्वतन्त्र सांसद दीपक मनाङे पनि उपस्थित भएनन् ।

अघिल्लो दिन अविश्वासको प्रस्ताव विफल बनाउन भूमिका खेलेका मनाङे भोलिपल्टै सामाजिक विकास मन्त्रालय फुटाएर खेलकुदमन्त्रीको शपथ लिए ।

त्यसबीचमा केन्द्रकै जस्तो कसरत गण्डकीमा नगरिएको होइन । आफूअनुकूल निर्णय नहोला भनेर वैशाख २० गते प्रदेश प्रमुख अमिक शेरचनलाई हटाइयो । र, उनको ठाउँमा सीता पौडेललाई नियुक्त गरियो ।

मुख्यमन्त्रीबाट राजीनामा र पुनः शपथको साक्षी गण्डकी प्रदेश बन्यो । वैशाख २७ गते अविश्वासको प्रस्तावमाथि छलफल–निर्णय हुने मिति तय थियो । तर, अघिल्लो दिन मुख्यमन्त्री गुरूङले पदबाट राजीनामा दिए ।

प्रदेश प्रमुख पौडेलले वैशाख २६ गते नै तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।

उक्त समयभित्र कसैको दाबी नपुगेपछि उपधारा ३ अनुसार ठूलो दलको सरकारको हैसियतमा गुरूङले नै मुख्यमन्त्रीको शपथ लिएका थिए ।

सरकार टिकाउन एमालेले जनमोर्चालाई समेत विभाजित तुल्याएको थियो । तर, बिहीबार (जेठ २७ गते) गुरूङले विश्वासको मत प्राप्त गर्न सकेनन् । उनको प्रस्तावको पक्षमा २७ मत मात्रै आयो । विपक्षी गठबन्धनमा ३१ मत पुग्यो । पार्टी ह्विप उल्लंघन गरेका कृष्ण थापा तटस्थ बसे ।

अघिल्लोपटक काँध थापेका स्वतन्त्र सांसद दीपक मनाङे पनि उनकै विपक्षमा उभिएपछि गुरूङ सरकार ढल्नु स्वाभाविकै भइगयो । मुख्यमन्त्री विपक्षी गठबन्धनका नेता अर्थात् कांग्रेसको पोल्टामा पुग्यो । 

संघीयताको विषयमा प्रधानमन्त्री केपी ओलीसँग आँखा जुधाएर कुरा गर्न सक्ने गुरूङ प्रतिपक्षीको बेञ्चमा पुगेका छन् ।

पार्टी (नेकपा)भित्रको विवाद बेलैमा समाधान गर्न नसक्दा र विघटनको तहमा पुर्‍याउँदाको परिणाम एमालेले किस्ताकिस्तामा बेहोर्दैछ । कांग्रेस र एमालेकै असन्तुष्ट समूहसँग मिलेर माओवादी केन्द्रले भने आफ्नै हैसियत सुरक्षित तुल्याउँदैछ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro