
मुम्बई । अभिनेता सुशान्त सिंह राजपूतको निधन र त्यसपछिको लागुऔषध मुद्दाका कारण अभिनेत्री रिया चक्रवर्ती गत वर्षदेखि चर्चामा छिन् । सोही कारण उनी पछिल्लो समय चलचित्रको पर्दाबाट टाढिएकी थिइन् ।
अब भने उनी द्रौपदीको भूमिकामा देखिन सक्ने नवभारत टाइम्सले उल्लेख गरेको छ । पौराणिक कथा महाभारतबाट प्रेरित भएर एउटा ठूलो प्रोजेक्ट बन्दै छ । द्रौपदीको भूमिकामा अभिनेत्री रियालाई अफर गरिएको छ । यस भूमिकामा लागि अभिनेत्रीसँग प्रारम्भिक कुराकानी मात्रै भएको र यस विषयमा उनले सोचिरहेको जनाइएको छ ।
उनको अभिनय रहेको चलचित्र ‘चेहेरे’ रिलिजको प्रतीक्षामा छ । यस चलचित्रमा रियासँगै अमिताभ बच्चन, इमरान हाशमी, अन्नु कपुर, रघुवीर यादवलगायतको भूमिका रहेको छ ।
यस्तै, उनी हालैमात्र ‘द टाइम्स ५० मोस्ट डिजायरेबल वुमन २०२०’ को शीर्ष स्थानमा आएकी थिइन् । अनलाइन भोटिङ र आन्तरिक जुरीको आधारमा यो सूची तयार पारिएको हो ।