सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का असन्तुष्ट समूह (झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष)ले पार्टी एकताको सम्भावना टरेको निष्कर्ष निकालेका छन् । खनाल–नेपाल समूहले बिहीबार र शुक्रबार केन्द्रीय सदस्यहरूसँग ‘भर्चुअल’ छलफल गरेका थिए ।
छलफलको निचोड पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर एकता बचाउने होइन, नयाँ आन्दोलन निर्माण गर्नुपर्छ नै भन्ने कुरा मूलभूत रूपमा उठेको थियो ।
शनिबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यहरूको निचोडअनुरूप नै अदालतको फैसलापश्चात् एउटा निष्कर्षमा पुग्नुपर्ने निर्णय गरेको थियो ।
त्यसो त पार्टी एकता बचाउनुपर्छ भन्दै खनाल–नेपाल समूहका दोस्रो तहका नेता ओली पक्षसँग निरन्तरजसो संवादमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल दुवै पार्टी एकता बचाउन भन्दा पनि आ–आफ्नो बाटो लाग्न उद्यत रहेको उनीहरूको आरोप छ ।
तर, हस्तक्षेपकारी ढंगले संवादमा जुटिरहेकाले केही दिनभित्रै परिणाम निस्कने दोस्रो पुस्ताका नेताहरू बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली तथा खनाल–नेपाल समूहका तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच केही दिनअघि बाक्लै संवाद भयो ।
एमालेभित्रको अन्तरसङ्घर्ष र नयाँ पार्टी गठनमा भइरहेको ढिलाइबारे खनाल–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश :–
तपाईंहरूले दुई दिन केन्द्रीय सदस्यसँग छलफल गर्नुभयो । जिल्लाका अध्यक्ष, सचिवहरूबाट पनि राय–सुझाव माग्नुभयो । तर, नयाँ पार्टी खोल्ने निष्कर्षमा अझै पुग्न सक्नुभएन । एकताको सम्भावना अझै जीवित देखिएको हो ?
एउटा कुरामा तपाईंहरू के प्रष्ट हुनुपर्छ भने यो पार्टी कुनै अमुक नेताको होइन । यहाँ हामी सबैको सामूहिक–समान योगदान छ । सबैको त्याग–बलिदानपूर्ण संघर्षको साझा उपलब्धी पनि हो, एमाले । अतः हामी पहिलो कुरा पार्टी एकता कै पक्षमा छौँ । एकतालाई बचाउन सकियो भने कम्युनिस्ट आन्दोलनको रक्षा र प्रबर्द्धन गर्न सकिन्छ नै भन्ने हाम्रो विश्वास छ ।
अर्को एकताबद्ध एमालेको भविष्यसँग मुलुकको लोकतान्त्रिक आन्दोलनको भविष्य पनि गाँसिएको छ । पार्टी आन्दोलन कमजोर हुँदा लोकतन्त्र बलियो हुन सक्दैन । यसो भनिरहँदा एमालेको हालत जे छ, जुन पथमा एमाले हिँडिरहेको छ, यो कसैले कल्पना गरेको थिएन । एमालेको अध्यक्षको आसनमा केपी ओली हुनुहुन्छ । उहाँको सोचाइ एमाले बलियो बनाउने, कम्युनिस्ट आन्दोलन बलियो बनाउने, समाजवादको दिशातिर जाने छैन । उहाँ एक्लै अघि बढिराख्नुभएको छ । एक्लै अघि बढ्दामात्रै आफ्नो भविष्य सुरक्षित देख्नुभएको छ । त्यसो हुँदा एकतामा पनि उहाँलाई रुचि छैन । आफूलाई बलियो बनाउन प्रतिगमनको सहारा लिइराख्नुभएको छ ।
अस्ति कुन्नि के भए र हो, उहाँले संवादको पहल अघि बढाउनुभयो । माधवकुमार नेपालसँग संवाद पनि गर्नुभयो । कार्यदल बनाएर जति पनि समस्या छन्, तिनलाई साँघुर्याउने र सहमतिको वातावरण बनाउने बताउनुभयो । जेठ २ मा फर्कने सैद्धान्तिक समझदारी नै थियो त्यतिबेला ।
उहाँहरूले सुवास नेम्वाङको नेतृत्वमा कार्यदल बनाउनुभयो । हाम्रो तर्फबाट भीम रावल तय हुनुभयो ।
तर, उहाँको ‘रवैया’ देखिइहाल्यो ।
कार्यदलका संयोजकसहित वरिष्ठ नेता, जसको यो पार्टी आन्दोलन निर्माणमा असाधारण योगदान छ, उहाँहरूलाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्नुभयो । वार्ता टोलीका प्रमुखलाई नै कारबाही गरेपछि संवादको प्रक्रिया कसरी अघि बढ्छ ? यो त भाँड्ने कुरा थियो ।
कार्यदलका संयोजकलाई कारबाही गर्ने, अनि व्यक्तिगत नेताहरूलाई छलफलमा बोलाउने काम गरिराख्नुभएको छ । यो हामीले नबुझेका छैनौँ ।
अहिले केपी ओलीकै कारण एकता कमजोर, धराशायी हुने अवस्थामा पुगेको छ । वस्तुतः आन्दोलन अहिले विभाजनको दिशामा छ ।
यसमा तपाईंहरूको पनि कमजोरी छ नि, तपाईंहरू एकताका निम्ति भनेर कार्यदल पनि बनाउने, फेरि वाग्मती प्रदेशको राष्ट्रियसभा उपननिर्वाचनमा पार्टीको निर्देशनको अवज्ञा गर्नुभयो । आफ्नै पार्टीको सरकार ढाल्न २६ सांसद बोकेर शीतल निवास जानुभयो, एकता प्रयास बिथोल्ने काम यसलेचाहिँ गरेन ?
यो केपी ओलीले नै सिर्जना गरेको बाध्यता हो । फागुन २३ गते अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेको अध्यक्षको रूपमा फर्काएको हो । तर, फागुन २८ गते बैठक राखेर उहाँ गुटमा झर्नुभयो । पुरानै गुटलाई निरन्तरता दिनुभयो । यो त अदालतको फैसलाको अपमान हो नि ।
अदालतले एमाले ब्युँताइदियो । तर, प्रधानमन्त्रीले हामीलाई स्वीकार गर्न नै तयार हुनुभएन । ढोका बन्द गर्ने काम भयो । एक प्रकारले भन्ने हो भने हामी भित्रको न बाहिरको भयौँ ।
यसपछि हामी जाने ठाउँ कहाँ हुन्थ्यो ? पार्टी कमिटीमा बसेर छलफल गर्ने वातावरण छैन । सबैतिर ढोका बन्द भएपछि हामी कार्यकर्तामाझ गयौँ । भेला गर्यौँ । त्यसलाई आधारभूत तहसम्म विस्तार गर्ने निर्णयमा पुग्यौँ ।
सबैलाई थाहा छ, बहुमत शक्ति (पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरोमा) हामीसँग छ । त्यो शक्ति, सामर्थ्यलाई निश्क्रिय राख्न सकिँदैनथ्यो । पुनःगठनको दबाब थियो हामीलाई । तर, त्यसले एकताको सम्भावनालाई लत्याएको थिएन । राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्ष पनि एकतालाई बचाउने त्यसका लागि अधिकतम कोसिस गर्ने भन्ने नै हो ।
नवौँ महाधिवेशनले उहाँलाई पार्टी अध्यक्ष जितायो । तर, उहाँ गुटको अध्यक्षभन्दा माथि उठ्न सक्नुभएन । उहाँको पार्टी चलाउने ज्ञान, सीप, क्षमताकै अभाव देखियो । गुटको व्यवस्थापक उहाँ हुनुभयो । पार्टीको नेता बन्न सक्नुभएन । सकेको भए त उहाँले सबैलाई मिलाएर लान, हार्दिकता देखाउन सक्नुपर्थ्यो नि ।
एकलौटीले त विद्रोहलाई निम्तो दिइहाल्छ नि !
आज केपी ओली कता जाँदै हुनुहुन्छ ? आन्दोलनले परिकल्पना गरेको बाटो यही हो ? नेतालाई लगाम लगाउने, सम्झाउने, बुझाउने विधानले हो । प्रधानमन्त्रीलाई संविधानले हो । त्यही नमानेपछि कहाँ पुग्ने ? दुर्घटना, पतन सिवाय उहाँको गन्तव्य देखिँदैन ।
अहिले सिंगै देशले एकै स्वरमा गलत भयो । भएन । विधि मान्नुप¥यो भनिरहेको छ । पार्टीको मात्र कुरा छैन नि यहाँ, सिंगो देशले । तर, उहाँ सुन्नेवाला नै हुनुहुन्न !
एउटा प्रतिगमन अदालत सच्याइदियो । फेरि अर्को प्रतिगमन । आफूले भनेजस्तो भएन प्रतिगमन । आफूलाई बचाउन प्रतिगमन । प्रतिगमनलाई पछ्याएर कहाँ पुग्ने ? त्यो त उहाँले जान्ने कुरा हो ।
मिल्न त मिल्ने, तर प्रतिगमनसँग मिल्ने कुरा आएन ।
यहाँले वाग्मती प्रदेशको उमेदवारको कुरा गर्नुभयो । यो लुकाइरहनु पर्ने तथ्य होइन, हामीले नै त्यहाँ उमेदवार खडा गरेका छौँ । उमेदवार तय गर्दा प्रधानमन्त्रीले एकवचन सोध्नु भएन । मिटिङ राखेर के गरौँ भन्नुभएन ।
हाम्री त विद्रोहमा छौँ । हाम्रो माग भनेकै जेठ २ मा पार्टी कमिटी फर्काउने हो । जेठ २ को कमिटीले रामबहादुर थापा त चिन्दैन । हामी जेठ २ मा फर्कने भन्ने तर ओली रामबहादुर थापा उमेदवार बनाएर आउने, यो हामी कसरी मान्न सक्छौँ ? रामबहादुर थापालाई उमेदवार स्वीकार्दा हामी जेठ २ को बटमलाइनबाट पछि हटेको ठहर्ने भएकाले त्यहाँ अवज्ञा भयो होला ।
यति धेरै तिक्तता, असमझदारी हुर्किइसकेपछि अझै एकताप्रतिको मोह चाहिँ किन ? नयाँ पार्टी गठन गरेर जान किन खुट्टा कमाइरहनु भएको छ ?
पार्टी भनेको दल, चुनाव चिह्न, कार्यालय मात्रै होइन । चेतना हो । आन्दोलन हो । त्यो त बनिरहेकै छ नि । विद्रोह पनि त एक प्रकारको पार्टी नै त हो ।
दल घोषणा गरिहाल्नु पनि हुन्थ्यो । तर, त्यसका लागि सबैकुरा मिल्नु पनि पर्यो । परिस्थिति हेर्नु पनि पर्यो ।
हामीले धेरै नै अपमानित महसुस गर्नुपर्यो । पीडा झेल्नुपर्यो । तर पनि एकता बचाउनुपर्छ भन्ने त लागेकै छ । यसको कारण जनताको अपूर्व विश्वास हो । जनताको माया, विश्वास त केपी ओलीले सिध्याइ नै दिनुभयो । तर, हामी उहाँकै पथमा जान सक्दैनौँ ।
तपाईंलाई छिचोलेर भनौँ– हामी तुरुन्तातुरुन्तै पार्टी गठन गर्न नसक्ने होइनौँ । गर्नै पनि पर्छ । पर्खिंऊँ न । न ओली यसबीचमा भएका गल्ती, कमीकमजोरीप्रति आत्मालोचित हुनुहुन्छ कि, सच्चिएर अघि बढ्न तयार हुन्छन् भने एमालेलाई नै रुपान्तरण गर्न सकिन्छ नि । रूपान्तरणसहितको एकता सम्भव पनि त छ भनेर पर्खिइरहेका हौँ ।
ठ्याक्कै दोस्रो तहका नेताहरूको भावनासँग तपाईंको तर्क मिल्यो । पछिल्लो समय एमालेमै रहेर संघर्ष गर्नुपर्छ भन्ने मत बलियो बन्दै गएको हो ?
आफूले सिर्जना गरेको पार्टी टुटोस्, फुटोस्, छिन्नभिन्न होस् त कसलाई लाग्छ र ? दोस्रो तहका नेताहरूको चाहना पनि त्यही हो । उहाँहरूले पनि आत्मसमर्पण गर्नुपर्छ त भन्नुभएको छैन नि ।
उहाँहरूमा ‘एमाले नै हो हाम्रो घर । हामी ओत लाग्ने ठाउँ यही हो । हिजो यही पार्टी देखाएर जनतालाई समृद्धि दिन्छौँ भनेर आएका हौँ’ भन्ने पवित्र भाव देखिन्छ ।
ओली तयार छन् त ? अहँ त्यो सम्भावना छैन ।
अहिले नै देखिराख्नु भएको छ नि, कुन ध्येयले मन्त्रिपरिषद् पुनःगठन गर्नुभयो । राज्य प्रणालीलाई आफ्नो मुट्ठीमा राखेर चलाइरहनुभएको छ ।
त्यसो हुँदा एकताको सम्भावना टर्दै जान्छ । नयाँ पार्टी गठनको आवश्यकता प्रखर बन्दै जान्छ ।
फरि केपी ओलीसँग एकताको सम्भावना किन पनि टाढिँदै छ भने उहाँ निकै घातक कामतिर अग्रसर भइराख्नुभएको छ । जननिर्वाचित संसदलाई पटक–पटक विघटित तुल्याउँदा संविधान बच्दैन । संविधान समाप्त हुँदा गणतन्त्र, संघीयता पनि रहँदैन । उहाँ आफूलाई बचाउन सबै समाप्त पार्ने दिशामै हुनुहुन्छ ।
अब अदालतको फैसलापछि नै एउटा निष्कर्षमा पुग्ने हो ?
मुख्यरूपमा त्यही हो । अदालतको फैसला कस्तो आउँछ, त्यसपछि नै हामी निष्कर्षमा पुग्छौँ । यसबीचमा हामीले गर्नुपर्ने तयारी छँदै छ ।