परशु प्रधान
धरान जाने बसमा चढेँ, तर मन भने धेरै निराश थियो । यति धेरै निराशा र दुःख सायद कहिल्यै भएको थिएन । बाटोमा धेरै मानिसहरू बसमा चढ्थे र उत्रन्थे पनि । तर, म भने टाढा कहीँ कतै थिएँ । अर्थात्, धरानमा थिएँ, फुस्रेमा थिएँ । सर्दु खोलमा थिएँ ।
सारा धरान बजार मभरि फनफनी घुमिरहेको थियो । भानुचोकको हुलमा म एक छिन मिसिन्थेँ । भानुको मूर्तिलाई हेर्थेँ । सो मूर्ति कहीँ कतै हराउँथ्यो । अनि, दन्तकालीमा पुगेर सुस्ताउँथेँ । दन्तकालीदेवीका सम्बन्धमा पहिले कहिल्यै म यति सिरियस थिइनँ । तर, आज मलाई लाग्यो– धरानमा बसबाट ओर्लेर सिधै दन्तकालीदेवी कहाँ पुगूँ । अक्षता र फूल चढाऊँ र केही समय सारा विगत र सारा वर्तमानलाई भुलेर देवीको शरणमा ध्यान मग्न होऊँ ।
त्यहाँबाट म मास्तिर जान्छु । बूढासुब्बासम्म पुग्छु । अग्ला बाँसका झ्याङहरूमा लुक्छु । र, फेरि बसमा हुन्छु ।
बाटामा केही कलकारखाना आउँछन्, खेतहरू देखापर्दछन् । बाटामा पहाड र तराईका मिश्रित अनुहारहरू आउँछन् । सुन्तलाको भारी बोकेर भर्खरै पहाडबाट झरेका लालीगुराँसहरू देखापर्दछन् । ती सबैबाट म भने बेखबर छु । धरानबाट म पहाडहरूमा उक्लन्छु र अरुण नदीको किनारामा पुग्छु । त्यसकै किनारै–किनार अगाडि बढेर म पिखुवा खोलालाई भेट्छु । पिखुवा मलाई आफ्नै खोलाजस्तो लाग्छ । त्यहाँसम्म पुग्न मैले पिखुवाको २०÷२२ जँघार तर्नुपर्ने हुन्छ ।
हिउँदको महिना भएकोले हिउँजस्तो चिसो पानी छ । म सर्वाङ काँप्दै जँघारहरू तर्न लाग्छु । खोलाको किनाराहरूमा स–साना भट्टीहरू देख्छु । भट्टीमा सरासर पस्छु । जाँडका निगारहरूमा आफूलाई केही समय साट्छु । साँझ झमक्क परिसक्छ । गोरेटोको नामोनिशान केही देखिन्न । त्यही भट्टीमा रात काट्छु । कुखुराको चखिलो मासु र रक्सीका धेरै बोतलहरूसँग दुःख गरी कमाएको नोटहरू साट्छु ।
कुनै सानो स्टपमा गएर बस अड्छ र मेरो तन्द्रा भंग हुन्छ ।
म आफ्नी दिदीलाई भेट्न धरान जाँदै छु, अलि जोडसँग म सम्झन्छु– दिदीसँग भेट्न जाँदै छु कि दिदीको निष्प्राण शरीरसँग, दिदीको लाससँग । म झस्कन्छु— म त दिदीको लाससँग भेट्न जाँदै छु । सनाखत गर्न जाँदै छु कि यो निर्जीव शरीर खास मेरी दिदी सुन्तलीको हो । ‘सुन्तली...’ म चिच्याउन खोज्छु । बसमा चढ्नेहरू चढिरहेका छन्, ओर्लनेहरू ओर्लिरहेका छन् ।
पिखुवा खोलाले मलाई अग्ला पहाडहरूमा पुर्याएर छाडिदिन्छ । खोलाको दायाँबायाँका नागीहरूमा लगेर फ्याँकिदिन्छ । यिनै अग्ला डाँडाका नागीहरूबीच सुन्तली र म जन्मेका थियौँ । बुवा बोर्नियाका जंगलहरूमा मान्छेको सिकार गर्ने लाहुरे हुनुहुन्थ्यो । हामी लाहुरेका धनीमानी, सम्मानित छोराछोरी थियौँ । के खाऊँ र के लाऊँ थिएन ।
नजिकैको प्राइमरी स्कुलमा गुडमर्निङ सर पढ्थ्यौँ । सुन्तलाका बोटहरूमा चढेर खेल्थ्यौँ । कहिलेकाहीँ सिक्तेल खोलासम्म गाउँलेहरूसँग मिली दुवाली फर्काउन जान्थ्यौँ । लेकको गोठमा गएर अघाउन्जेल मोही खाएर फर्कन्थ्यौँ । कठै ! ती दिनहरू पनि थिए । म थिएँ र मेरी मयालु दिदी सुन्तली थिई । गाउँघरमा मन मिल्दा अरू धेरै साथीभाइहरू थिए ।
अहिले यी दिनहरू पनि आए । यी दिनहरूलाई पनि मैले हेर्नुपर्ने भयो । सुन्तलीको अनुहार चिन्ने खास नातेदार भाइ हुनुपर्ने विडम्बना पनि मैले भोग्नुपर्ने भयो ।
देखिरहेको सुन्तलीको अनुहारलाई म फेरि आफूभित्रको क्यानभासमा रङहरूले कोर्न थाल्छु । सुन्तली निक्कै गोरी थिई, सुन्तलाका केस्राझैँ रसिला ओठहरू थिए त्यसका । ठूला गोला आँखाहरू अनि सधैँ हासिरहने सेता र चम्किला दाँतहरू । न त्यो अग्ली, थिई न होची । न मोटी थिई, न पातली । हार्मोनियम बाजाबाट निस्केका सारेगमका मधुर स्वरहरू साटिएका थिए, सुन्तलीको गलामा । सुन्तलीलाई सजिलै चिन्न सकिने त दायाँ गालाको कोठी छ, सुन्तलीको !
अनि, अचानक एक दिन लाहुरे बा घरमा आइपुग्नुभएको थियो । अचानक उहाँले हामी सबैलाई ल्याएर धरानको एउटा महलमा उभ्याएर भन्नुभयो– आज मैले बल्ल आफ्नो सपना पूरा गर्न सकेँ । पहाडमा हाड घोटेर मेरा बाजे–बराजुले जिन्दगी बिताए । मैले पनि आधाजसो जिन्दगी बोर्नियाको जंगलहरूमा नै बिताइसकेँ । तर, तिमीहरू भाग्यमानी छौ, जे भए पनि धरानसम्म ल्याइपुर्याएँ । यो घर हाम्रो हो सुन्तली ! यो घर धनेको हो । तिमीहरू यहीँ पढ्ने अब ।
कत्ति खुसी भएका थियौँ हामी सबै अर्थात्, मेरी आमा, दिदी सुन्तली र म । यौटा बोर्डिङ स्कुलमा हामीलाई नाम लेखाइदिएर बा फेरि फर्कनुभएको थियो । दुई वर्षपछिको लामो बिदामा फेरि धरान फर्कने संकल्पका साथ टेलिभिजन ल्याइदिने वचन पनि दिएर बा फेरि लाहुरे हुन जानुभएको थियो ।
बा जानुभएको रातभरि हामी निदाउन सकेका थिएनौँ । धरान हामीलाई त्यसै पनि गर्मी लाग्यो । झन् त्यसमाथि बासँगको घटीमा दुई वर्षको बिछोड । त्यस उकुसमुकुसमा, त्यस गर्मीमा आमाले भन्नुभएका यी स्वरलहरीहरू अहिले पनि ममा झङ्कृत भइरहेका छन्– धने ! बाले तँलाई इन्जिनियर बनाउन चाहनुभएको छ र सुन्तलीलाई डाक्टर । तिमीहरूले हाम्रो सपनालाई पूरा गर्नुपर्छ । अनि, हामी पनि सन्तोषको सास छाड्न पाउँछौँ ।
तर, कोसीमा पानी धेरै बगे–बगिरहे । बा–आमाका सपनाहरू कहिले आँधी भएर आए, कहिले हुरी र कहिले बतास । सुन्तली र म पढ्दै गयौँ । बाले राम्रै रकम पठाउनुहुन्थ्यो । हामीलाई खान, बस्न र पढ्न कुनै दुःख थिएन ।
गाडीले चारकोसे झाडी प्रवेश गर्यो । झ्यालबाट बाहिर हेरेँ, जंगल नाम मात्रको बाँकी छ । न घना जंगल, न जीवजन्तु, न कुनै चराचुरुंगी, जंगलका बीचबीचमा झुपडीहरू छन् । जंगलहरू सबै मंगल भइसके ।
जंगलहरू सबै डन्डी र सिमेन्टका महलहरूमा साटिइसके । केन्द्रबाट जंगलरक्षाको बजेट कागजमा आयो र नोटमा साटिएर, रूप बदलिएर फेरि ती केन्द्रमा नै पुगे, काठमाडौंमा नै पुगे । बैंकहरूले थोरै काम र धेरै तलब पाए ।
बेप्रसंगका यी कुराहरू कहाँबाट मसँग गाँसिन आइपुगे । दिमाग रनन गरी तात्यो । छाद आउलाजस्तो भयो । कहीँ केही खालीहरू छन्, गह्रुँगो छ । कहीँ कतै केही भारी छ । अगाडि पुल छ, तर्न सक्तिनँ । पोखरी पनि छ, पौडिन सक्तिनँ । कुनै हिन्दी सिनेमाको कथाजस्तो लाग्छ, पत्याउनै नसकिने ! त्यही पत्याउनै नसकिने विश्वासहीन प्रसंगमा म गाँसिन पुग्छु फेरि ।
दुई वर्ष यौटा चलचित्रको रिलझैँ समाप्त भएको थियो । सुन्तलीसँग जिस्कँदै, पढ्दै र लड्दै दुई वर्ष दुई निमेषजस्तो समाप्त भएको थियो र एक बिहान बा फेरि धरान आइपुग्नुभयो । यसपटक उहाँको साथमा यौटा फिल्मी हिरो पनि थियो, पूरा सुटेडबुटेड ।
हामी सबैले विस्मयका साथ हेरेका थियौँ, यो को नयाँ मान्छे बाले बोकी आउनुभयो भनेर । तर, त्यही राति रातो स्कचसँगै बाले घोषणा गर्नुभयो— यी हाम्रा हुनेवाला ज्वाइँ । सुन्तलीलाई ठ्याम्मै सुहाउँदो । हाम्रै फोर्समा काम गर्दछन् । मैले छानेर ल्याएको ठूलीकान्छी ! राम्रो साइत हालेर टीकाटालो गरिदिनुपर्छ । हामीसँगै आयौँ र सँगै फर्कन्छौँ ।
आमाको आँखामा हेरेँ– विश्वास पनि, अविश्वास पनि थियो । उहाँले शंका गर्नुभयो– छोरी भर्खर १६ लागी । अहिल्यै बिहे गर्ने उमेर भइसक्यो र !
साँच्चै नै सुन्तली तरुनी भइसकी । मैले त कहिल्यै यस्तो सोचेकै थिइनँ । त्यो रातभरि हामी सबै गम्भीर भयौँ– धेरै गम्भीर । किनकि, त्यो रातभरि मलाई सुन्तलीको अनुहार हेर्न मन लाग्यो ।
त्यसका आँखाहरूमा स–साना भुरा माछाहरू पौडन लागेका रहेछन् । छातीमा स–साना फलहरू फल्न सुरु भएछन् । गालामा रातो रङ पोतिन लागेछ, ओठमा रगतको टाटो अलि गाढा हुन लागेछ । त्यही राति मैले यसै निर्णय गरिदिएँ– सुन्तली खास तरुनी भइछ र तरुनीको बिहे गरिदिनु राम्रो हो । अनि, आफू पनि लाइनमा बसिन्छ ।
बुवा र हुनेवाला भिनाजु आएपछि घरको रूपरङ फेरिन लाग्यो । बिहेका लागि पनि घरको शृंगार आवश्यक भयो । घरबाहिर मात्र होइन, भित्र पनि डिस्टेम्पर लगाइयो । झ्याल–ढोकामा इनामेल मात्र लगाइएन कि नयाँ बाथरुम पनि बन्यो ।
जीवनको यौटा नयाँ बाटोमा हिँड्न लागेको अनुभूतिले हुनसक्छ, सुन्तली पहिलेभन्दा गम्भीर थिई । तर, घरको झैँ उसको सिँगारपटार पनि बढ्न लाग्यो । बिहे भएको दुई वर्षपछि सुन्तली सिंगापुर, ब्रुनाई घुम्न जाने कार्यक्रम पनि बन्यो । घरमा सधैँजसो नयाँ मालसामान आउन लागे । यौटा रंगीचंगी महलमा घर बदलियो ।
अहिले म जाने लागेको धरान मलाई सुन्दर लाग्यो, स्वप्निल र भावपूर्ण लाग्यो । धन्य पहाड छाडिएछ, धन्य धरान आइएछ, धन्य भाग्मानी रहेछौँजस्तो लाग्यो । अहिले म त्यही मेरो धरान जान लागेको छु, प्यारो र न्यानो धरान जान लागेको छु ।
तर, समयमा कत्रो अन्तर छ, स्थितिमा कत्रो विसंगति छ । हरे ! म आफ्नै एकैपेटकी दिदी सुन्तलीको मृत अनुहार सनाखत गर्न जाँदै छु, अझ त्यसको लास बुझ्न जाँदै छु । म बसमा नै चिच्याउन चाहन्छु– सुन्तली...सुन्तली...मेरी प्यारी दिदी सुन्तली !
बराहक्षेत्रको पवित्र मन्दिरमा गएर सुन्तली र सनमानको प्रेमको बन्धन बाँधिएको थियो, जिन्दगीको दोभान गाँसिएको थियो । अरुण र तमोर मिलेको थियो । सनमान र सुन्तली दुवै खुसी थिए । आमा र बाको त कुरै भएन ।
लाहुरे लोग्ने पाउनु सबैका लागि कहाँ सम्भव हुन्छ ? यो त पूर्वजन्ममा लिएर आउनुपर्छ । हाम्रो परिवारमा ती धेरै खुसीका दिनहरू थिए, सफलता र गौरवका वर्षहरू थिए । धङधङ छ अझ बाँकी मसँग । मकहाँ गएर ब्युँझूँ ? कुन सपना देखेर ब्युँझूँ ? सायद म कहिल्यै ब्युझिदिनँ ? कहिल्यै उठेर यो खुला आकाश हेर्न सक्तिनँ । कुनै पापबोध आफूभित्र, कुनै अपराधबोध किन भइरहेछ ?
खै, कहाँ गएर ओर्लूँ ? सायद मैले ओर्लने ठाउँ कहीँ कतै छैन । म धरान पुगेर ओर्लन चाहन्नँ । यो बस रातोदिन गुडिरहोस्, एकनास गुडिरहोस् । म गइरहूँ कुनै अनन्त यात्रामा, कुनै लामो यात्रामा— मलाई यस्तै केही लाग्यो ।
सुन्तली धरानमा बसी । आमासँग बसी । उसको पढाइ बिहेमा गएर समाप्त भयो । म भारतसम्म पढ्न गएँ, इन्जिनियर भएर देश सेवा गर्न । देशभरि साँचो रूपमा पुलहरू बनाउन, साँचो रूपमा बाटोघाटो बनाउन म विदेश गएँ र सुन्तलीबाट टाढा भएँ । आमाबाट टाढा भएँ र निराशिएँ ।
सुन्तलीले भिनाजुबाट धरानमा नयाँ घर किनेर सुखपूर्वक बस्न लागेकी सुनेँ । डलरहरू आएको कुरा सुनेँ । तरहरामा दुई–चार बिघा खेत जोडेको थाहा पाएँ । उसको सुखमय जीवन मेरा लागि निश्चय नै खुसीको विषय भयो । अझ यौटी छोरीसमेत पाएकी समाचार मेरा लागि रमाइलो कुरा भयो । यौटा भाइका लागि यी सुखद् समाचारहरू नै थिए ।
आउँदै गरेको सुखद् समाचारसँगै यौटा दुःखद् समाचार पनि थियो, मेरी आमाको असामयिक मृत्यु । आमाको मृत्युलाई मैले स्वभाविकतासँग गाँसे र मन बुझाएँ– यस संसारमा स्थायी भन्ने कुरा केही पनि छैन, सबै अस्थायी । यो आउने र जाने क्रम नै सृष्टि हो ।
अब बा फर्कनुभयो । रिटायर्ड जिन्दगी बिताउन लाग्नुभयो । जुन पहाडको गोठ उहाँले छाडी आउनुभएको थियो, त्यही गोठमा फेरि दिन काट्न जानुभयो । कुनै दिन बुवाले लेख्नुभएको थियो— म अब धरान बस्तिनँ छोरा ! त्यो धरानको घरसँग तेरी आमाको सम्झना गाँसिएको छ, उसको छाया गाँसिएको छ । त्यहाँ बसेर म खुसी हुन सक्तिनँ छोरा ! बाँकी मेरो समय आफू जन्मेकै ठाउँमा काट्न दे ।
मेरो पढाइ सिद्धिएको छैन । अझ एक वर्षजस्तो बाँकी छ । र, त्यो पूरा नगरी म धरान जान लागेको छु, दिदीको निष्प्राण शरीर हेर्न । मजस्तो अभागी को होला ? मजस्तो दुःखी को होला ? म सोच्तछु र चुपचाप बाहिर हेर्छु । धरानको बसस्टप आउन लागेको छ । एकैछिनमा भानुभक्तको प्रतिमा देखापर्न लागेको छ । साँझ पर्न–पर्न लागेको छ ।
यो यात्राको कथा अब सुरु हुन्छ— म विगतलाई एकैपटक सम्झन्छु । ती दिनहरूमा सुन्तली धरानमा एक्ली थिई, न उसलाई माया गर्ने बा–आमा थिए, न म थिएँ । न भिनाजु नै । धरानको एक प्रकारको रमाइलो र उत्तेजक वातावरणमा सुन्तली गाँसिई । जिन्दगीलाई उसले नयाँ अर्थमा स्वीकारी ।
बराहक्षेत्रको मन्दिरमा बराहभगवान्को दर्शन गर्न जाँदा रातहरू पनि सुन्तली त्यहीँ काट्न लागी । उसको क्षितिजमा नयाँ सम्भावनाहरू देखापर्न लागे, जहाँ लोग्ने र छोरी शून्यमा हराए ।
बसस्टपका पसलहरूमा बियरका बोतलहरूमा हराउन लागेकी सुन्तलीलाई धेरैले देखे । भेँडेटारका भट्टीहरूमा पनि सुन्तलीलाई धेरैले भेटे । भिनाजुले पठाएका डलरहरू उसका लागि सालका पातहरू भए । डलरहरू कुनै रूखमा फल्दैनन् भन्ने कुरा उसले बुझ्ने प्रयास गरिन । सुन्तली चंगाजस्तो धरानको आकाशमा उड्न लागी । धेरै किसिमका लट्टाइहरूसँग ऊ सहभागी भई । ऊ सबैकी भई, कसैकी भइन ।
कहिलेकाहीँ म दुई चार हरफ चिट्ठी पाउँथेँ, साह्रै सानो चिठी । जसमा सुन्तलीले आराम छु भनेर लेख्थी । एकाकी जीवनको आक्रोश पोख्थी । बुवाले एक प्रकारले धरानलाई बिर्सिसक्नुभएको थियो । पहाडी खोलाहरूमा माछा मारेर उहाँ विगतमा बाँच्न चाहनुभएको कुरा सुन्तलीले जानकारी दिन्थी । पुस्तकहरूमा अल्झिएर म ती चिठीहरू पढ्थेँ र बास्केटमा फ्याल्थेँ । वास्तवमा म सबै सरल रेखाहरू सोच्थेँ । यी बांगाटिंगा गोरेटाहरू, विषम रेखाहरू मेरो सोचाइबाहिरका विषय थिए ।
कहिले सुन्थेँ– सुन्तली अर्कैसँग गई । फेरि फर्केर आई । फेरि कहीँ कतै गई र फर्केर आई । तर, म विश्वास गर्दिनथेँ । यी निरर्थक हल्लाहरू हुन्, यौटी नारीलाई बदनाम गर्ने दुष्प्रयासहरू हुन् भन्ने म सोच्तथेँ ।
सुन्तलीले यस्ता विषयहरूमा कहिल्यै केही लेखिन । पछिपछि त उसले चिठी लेख्न पनि छाडी । सायद, उसले आफ्नो यौटा मायालु भाइलाई बिर्सी । आफ्नो लाहुरे लोग्नेलाई सधैँका लागि बिर्सी । छोरीलाई मात्र होइन, आफूलाईसमेत बिर्सी ।
उसले आफूलाई पनि किन यस्तरी बिर्सी ? किन आफूलाई यस्तरी एकाकी र निरीह अनुभव गरी ? ...म रुन खोज्छु । तर, यो रुने समय होइन । म मनलाई दह्रो पार्छु ।
बस कहीँ कतै बिग्रेको छ । जंगल सिद्धिनै लाग्दा यसरी बस बिग्रनु बोर लाग्ने कुरा हो । धरान आइपुग्नै लाग्दा यात्रीहरू दुःखी हुन्छन् । त्यस हुलमा म पनि मिसिएको छु ।
अनि, भिनाजु विदेशबाट आइपुग्नुभएको थियो । उहाँ थुप्रै सपनाहरू लिएर फेरि धरान आइपुग्नुभएको थियो । तर, भोलिपल्ट आफ्नै कोठामा सुन्तलीको लास भेटिएको थियो । भिनाजु त्यो दिन बिहानै फेरि बोर्निया नै फर्कनुभएको थियो । सुन्तली मारिई वा आफैँले आत्महत्या गरी, यो निश्चय हुनुपर्ने थियो । त्यो निश्चय लिन म आउनुपरेको थियो र आइरहेछु । मैले भिनाजुको दुष्कर्मको नै शंका गरेँ ।
बसस्टपमा पुगेर म सोचिरहेछु– सुन्तली दिदीको लास हेर्न जाऊँ कि भिनाजुजस्तै म पनि धरानको माटो टेकेर फेरि फर्कूँ ! म अनिश्चयमा छु– यो फिल्ममा हुने घटनाजस्तो सुन्तलीको मृत्युलाई म के भनेर लिऊँ, कसरी लिऊँ ? मेरो मन भारी भएर आउँछ । फनफनी रिंगटा लाग्छ ।
यस रिंगटाबीच सुन्तलीको अनुहार एक्कासि मभित्र यसरी छटपटाउँछ—मेरो निष्प्राण लासलाई त्यसरी घृणा नगर मेरो प्यारो भाइ ! मेरो यस नियतिलाई स्वीकार गर मेरो मायालु भाइ ! मेरो प्यारो भाइ धने ! तिमीले आफ्नी दिदी सुन्तलीलाई चिनेर सनाखत मात्र गर्ने होइन कि लास पनि बुझिलिनुपर्छ । कमसेकम मलाई बेवारिसे लास नबनाइदेऊ, मेरो यत्ति अनुरोध मेरो प्यारो भाइ तिमीसित ।
(वरिष्ठ कथाकार परशु प्रधानको कथासंग्रह ‘उत्तराद्र्ध’का सम्पूर्ण कथाहरू धारावाहिक रूपमा प्रकाशित गर्ने क्रममा पुस्तकको यो अन्तिम कथा प्रस्तुत गरेका छौँ ।)