अव्यवस्था र भ्रष्टाचारबीच प्रत्यक्ष सकारात्मक सम्बन्ध हुन्छ । सायद यही कारणले भ्रष्ट शासनमा अव्यवस्था पनि धेरै देखिन्छ । उदाहरण खोज्न टाढा जानु पर्दैन । कोभिड-१९ को सङ्क्रमणपछि नेपालमा देखिएको अव्यवस्था र भ्रष्टाचार नै पर्याप्त हुन्छ ।
कोभिड-१९ को महामारी सुरु हुने बेलामा स्वास्थ्य सामग्री विशेषगरी परीक्षणका साधनको चर्को अभाव भयो । नियमितरूपमा किन्नुपर्ने स्वास्थ्य सामग्री खरिद गर्ने निर्णयसमेत बेलैमा नगरेर सङ्कट उत्पन्न गराइएको थियो । परीक्षणका लागि आवश्यक किट नभएर हाहाकार मच्चियो ।
त्यसपछि सत्तारुढ दलका नेताका आफन्तहरू संलग्न कुनै ‘ओम्नी’ नामको कम्पनीका नाममा भए गरिएको अनियमितता सबैलाई थाहा नै छ । ओम्नीलाई दिइएको स्वास्थ्य सामग्री किन्ने ठेक्कामा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता बदर गरेको थियो ।
अहिले अक्सिजनको अभावले भयावहरूप लिएको छ । बेलैमा अक्सिजनको पर्याप्त व्यवस्था नभए कहालीलाग्दो अवस्था उत्पन्न हुने चेतावनी जनस्वास्थ्यविद्हरूले समय छँदै दिएका थिए । सरकार भने अक्सिजनको थप अभाव भए कृपापात्रहरूले कमाउने मौका पाउँछन् भनेझैँ तमासा हेरेर बस्यो ।
चीनले नेपालको अक्सिजनको सङ्कटमा मानवीय सहयोगस्वरूप केही हजार अक्सिजन सिलिन्डर अनुदानमा दियो । तर, त्यसरी पाइएको अक्सिजनको वितरण पनि व्यवस्थित गरेको देखिएन । अस्पताललाई सकेसम्म चाँडै हस्तान्तरण गरिनुपर्ने अक्सिजनका सिलिन्डरहरू सत्तारुढ दलका सांसद र मन्त्रीका घरडेरामा थन्क्याइए ।
कहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कहिले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले अक्सिजन वितरणको जिम्मा लिए तर सरकारी अस्पतालकै निर्देशकले आफ्नो अस्पतालको भागको अक्सिजन ‘माथिल्लो दर्जाका प्रहरी’ले लगेको भावुक वेदना सामाजिक सञ्जालमा पोख्नु पर्यो ।
त्यतिमात्र होइन, स्वास्थ्य मन्त्रालयका प्रवक्ताले समेत सांसदहरूले आफूखुसी अक्सिजन माग्दै र बाँड्दै हिँड्ने होइन भनेर सार्वजनिकरूपमै सम्झाउनु पर्यो । उनले सांसद र मन्त्रीले आफ्नो सरकारलाई विश्वास गर्नुपर्छ भन्ने पनि सम्झाएका छन् । तर, उनका भनाइ सही भए पनि कसैले टेरेको देखिएन ।
सरकारले जानजान जन्माएको यही अव्यवस्थाको चरमरूप ‘अक्सिजन लुट’मा प्रकट भएको हो । र, यो संयोगवश वा अज्ञानवश भएको होइन भन्ने बलिया आधार छन् । अक्सिजनको ‘लुट’ले अन्ततः हाहाकार नै बढ्ने हो । हाहाकारपछि कालोबजारी हुनु स्वाभाविकै हो ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीको शासनका संयन्त्रहरू भताभुङ्ग बनाउने, प्रणाली भत्काउने, अधिकार आफूमा केन्द्रित गरेर निरङ्कुश शासन चलाउने मनसुवाको उपज नै अहिलेको अवस्था हो । यसैले प्रधानमन्त्री ओलीको प्रणाली भत्काउने र तजबिजमा शासन चलाउने अधिनायकवादी प्रवृत्ति समाप्त नभएसम्म अव्यवस्था र लुट पनि कायमै रहने देखिन्छ ।