site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बादल बैठकमा बसेपछि धकेलियो कार्यदल गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल गठन गर्ने बैठकमा गृहमन्त्री रामबहादुर थापा बादललाई पनि सहभागी गराएपछि नेकपा एमालेको आन्तरिक एकताको प्रयास पुनः धकेलिएको छ ।

गृहमन्त्री थापा बादलमा उपस्थित गराउनुको निहितार्थ एमाले एकताको मुख्य आधार बनाइएको २०७५ जेठ २ मा फर्कन ओलीले अनिच्छा देखाएको नै रहेको खनाल–नेपाल समूहले निष्कर्ष निकालेका छन् । यही कारणले शुक्रबार नै गठन गर्नुपर्ने कार्यदल शनिबार पनि गठन हुन सकेन । कार्यदलमा बादल पनि सहभागी गराइए अस्वीकार गर्नुपर्ने केही सदस्यहरूको मत रहेको खनाल–नेपाल समूहका नेता बताउँछन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले शुक्रबार र शनिबार केन्द्रीय सदस्यहरूसँग जुम मिटिङमार्फत् छलफल गरेको थियो । भर्चुअल बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति शङ्का व्यक्त गरेका हुन् । 

“शुक्रबार अलिअलि साथीहरू जोडिनुभएको थियो । शनिबार अधिकांश साथीहरू जोडिनुभयो । पार्टी एकताको आधार २०७५ जेठ २ लाई बनाउनुपर्छ । पार्टी एकतापूर्वको पार्टीको सांगठनिक संरचना–निकायहरू, नीति, नेतृत्व स्वीकार्न तत्पर हुन्छन् भने एकताको प्रयास गरौँ भन्ने नै छ,” स्थायी कमिटी सदस्य युवराज ज्ञवाली भन्छन् ।

जेठ २ मा फर्किए पनि कम्युनिस्ट पार्टी बन्दैन

प्रधानमन्त्री ओलीले एकताको नाममा अल्मल्याउन खोजेको अधिकांश खनाल–नेपाल समूहका नेताहरूले सामूहिक निष्कर्ष निकालेका छन् । ओलीको विगतको चरित्र, कार्यशैली, चिन्तन, मनोदशा अध्ययन गर्दा पनि उनी एकता–विरोधी नै ठहर हुने सदस्यहरूले बुझाइ व्यक्त गरेका थिए ।

“केहीकेहीको जेठ २ मा पुगेर पनि कम्युनिस्ट पार्टी बन्नेवाला छैन । यो पार्टीले समाजवादी आन्दोलनको अगुवाइ गर्न सक्दैन, नयाँ ढङ्गले जानुपर्छ भन्ने निचोड सुनाएका थिए,” ज्ञवाली थप्छन्, “त्यो सङ्ख्या पनि सानो छ । अधिकांशको जेठ २ मै फर्किएर सहमति खोज्ने प्रयास गरौँ । जेठ २ को सङ्गठनात्मक ढाँचाअनुसार फर्कन सम्भव छैन, देखिएन भने नयाँ ढङ्गले बढिहाल्नुपर्छ, ढिला गर्नुहुँदैन भन्ने आम धारणा छ ।”

उपचुनाव नजिकिँदा मिल्न दबाब

नेकपा विग्रहले रिक्त गराएको राष्ट्रिसभा सदस्यमा जेठ ६ गते उपचुनाव हुँदैछ । एमाले विग्रहकै कारण एमाले–एमाले बीच प्रतिष्पर्धा हुने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादल र संघीयता (विकेन्द्रीकरण)विद् डा. खिमलाल देवकोटा मैदानमा छन् । बादल एमालेको सूर्य चिह्नधारी उमेदवार हुन् । गठबन्धनकातर्फबाट खनाल–नेपालपक्षीय देवकोटा छन् ।

एमाले विवाद नमिल्ने हो भने बादल जित्न कठिन हुने आकलन ओली स्वयम्ले पनि गरेका छन् । राष्ट्रियसभा एमाले एक्लैको ५ हजार १३० मत रहेकाले पार्टी मिल्नु अनिवार्यजस्तै भएको नेताहरू बताउँछन् ।

बादलको स्वीकारोक्ति बढोस् र नेता खनाल–नेपाल समूहलाई जेठ २ वरै सहमतिको विन्दु खोज्न दबाब होस् भनेर ओलीले एमाले मिलाउने बैठकमै प्रविष्ट गराएका थिए ।

त्यसले संशय उत्पन्न गराएको र ओली जेठ २ मा फर्कन तत्पर नदेखिएको सन्देश प्रवाह भएको ज्ञवालीको पनि बुझाइ छ । “बादल बैठकमा ल्याएपछि त्यसले संशयचाहिँ उत्पन्न गराएको छ,” उनले बाह्रखरीसँग भने ।

खनाल–नेपालनिकट केन्द्रीय सदस्यहरूले उपचुनावअघि नै छिनोफानो गर्नुपर्ने बताएका छन् ।
“दुई–तीन दिनभित्रै वारपारको दिशामा जानुपर्छ । अब अल्मलिनुहुँदैन भन्ने आम नेताहरूको धारणा रहेको छ,” केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर भन्छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro