site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्यादेवी भण्डारी साक्षी राखेर ओली–नेपालबीच विवाद साँघुर्‍याउने समझदारी

काठमाडौं । राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच विवाद साँघुर्‍याउने समझदारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर ओली–नेपालबीच समानान्तर गतिविधि नगर्ने, विवादलाई थप नचर्काउने र स्पष्टीकरण पत्र थमाएर जवाफ माग गरिएका वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाल पक्षका ३० जना नेता, सांसदहरूमाथिको कारबाही फिर्ता लिने समझदारी भएको एमाले उच्च स्रोतले जानकारी दियो ।

उच्च स्रोतका अनुसार अहिले बालुवाटारमा प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूसँग परामर्श, छलफल गरिरहेका छन् । आजै बैठक बसेर कारबाही फिर्ता र जेठ ६ गते उपनिर्वाचनका लागि उमेदवार टुङ्ग्यायने विषयमा निर्णय लिने बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमालेको विश्वसनीय स्रोतले बाह्रखरीलाई जानकारी दिएअनुसार बिहीबार अपराह्न ४ः२५ बजे प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भेट्न उनकै निवास पुगेका माधव नेपाल साँझ ७ बजे शीतल निवास प्रविष्ट भएको थिए ।

भेटको पहल राष्ट्रपतिले भण्डारीले नै गरेको स्रोतको जिकिर छ । नेता नेपाल पक्षका नेताहरूले पनि संवादका लागि राष्ट्रपति भण्डारीले धेरै पटक आग्रह गरेको बताउँदै आएका छन् ।

स्रोतका अनुसार नेपाल पुगेको केही बेरपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास छिरेका थिए । उनीहरूबीच सवा १० बजेसम्म संवाद भएको स्रोतले बतायो । भेट सकेर सुरुमा नेता नेपाल बहिर्गमन भएका थिए । त्यसको आधा घण्टापछि ओली निस्किएको स्रोत बताउँछ ।

के भयो शीतल निवासमा कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते बोलाइएको संसद्को विशेष अधिवेशनको तिथि नजिकिँदै जाँदा बिहीबार राजनीतिक दौडधुप तीव्र बन्यो । दिउँसो विष्णु पौडेल, घनश्याम भुसाल, योगेश भट्टराई सहितका नेता दरबार मार्गको याक एण्ड यति होटलमा बसेर विवाद साँघुर्‍याउने विषयमा छलफल गरे । अपराह्न साढे  पौडेल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट मेरियटमा होटलमा छलफलमा बसेका थिए । छलफलमा मूर्त कुराकानी नभए पनि सकारात्मक थालनी भएको सुरेन्द्र पाण्डेले बाह्रखरीलाई जानकारी दिएका थिए ।

राति शीतल निवासमा ओली र नेपालबीच सघन संवाद भएको स्रोतको दाबी छ ।

एमाले स्रोतका अनुसार खनाल–नेपाल समूहका केही नेताहरू अनौपचारिक हिसाबले ओलीसँग संवादमा थिए । उनीहरूले आधा घण्टा भए पनि २०७५ जेठ २ सम्मै कायम रहेको पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने र त्यसैले निर्णय गरेर अघि बढ्ने विकल्प सुझाएका थिए । त्यसो हुँदा तिक्तता केही हदसम्म मत्थर हुने उनीहरूको बुझाइ थियो ।

“खनाल–नेपाल समूहभित्र विवाद साँघुर्‍याउनुपर्छ । ओलीले टेक्ने ठाउँ दिनुपर्छ भन्ने मत बाक्लो बन्दै थियो,” एमाले स्रोत भन्छ, “माधवकुमार नेपाल पक्षका साथीहरू ६ बुँदे लिएर पनि हिँड्नु भएको थियो । तर, हिजोचाहिँ विवाद थप नबढाउने, गुटका भेला, समानान्तर गतिविधि रोक्ने र कारबाही फिर्ता गर्ने समझदारी भएको छ ।”

पछिल्लो समय नेता नेपाल र उनी निकटस्थहरूले कारबाही फिर्ताको ग्यारेन्टी खोजेको ओलीनिकट नेता बताउँछन् । “त्यो आश्वासन, ग्यारेन्टी प्रधानमन्त्रीले गरिदिएर मात्रै हुँदैन । राष्ट्रपतिले नै भनिदिनुपर्‍यो भन्ने उहाँहरूको भनाइ थियो । खासगरी माधवको तर्फबाट त्यो आशय प्रकट भएको थियो,” एमाले स्रोतको जिकिर छ ।

नेता नेपाल शीतल निवासमा सघन संवादमा जुटिरहँदा उनी पक्षका घनश्याम भुसाल, योगेश भट्टराईसहित  बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गरेकाे एमालेका नेता बताउँछन् ।

एमाले स्रोतले आजै (शुक्रबार) नै परिणाम निस्कनेगरी संवादको प्रक्रिया अघि बढेको पनि बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १०:०१
प्रतिक्रिया दिनुहोस्