site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
के गर्छ खनाल/नेपाल समूह ? सुरेन्द्र पाण्डे भन्छन्– राजीनामाको हल्ला नियोजित प्रचार 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते विश्वासको मत लिने बताएसँगै सदनभित्र ‘निर्णायक’ र ‘गेम चेञ्जर’ देखिएको एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह सघन छलफलमा जुटेको छ ।

सोमबारदेखि नै आन्तरिक छलफल, परामर्शमा जुटेको भए पनि मूर्त निष्कर्ष निस्किइनसकेको एक नेताले जानकारी दिए ।

पार्टीका वरिष्ठ नेता खनाल कोरोना सङ्क्रमणका कारण नर्भिक अस्पताल थापाथलीमा उपचाररत छन् । नेता नेपालले आफ्नो समूहनिकट सबै सांसदसँग छलफल गरिरहेका छन् । खनाल–नेपाल समूहसँग कम्तिमा ३० सांसद रहेको बताइएको छ । २१ जना प्रत्यक्ष निर्वाचित सांसद त्यस समूहमा छन् । ३७ मध्ये केही लकपकाइसकेको उनीहरूको निचोड पनि छ ।

Dabur Nepal

अहिले खनाल–नेपाल समूहभित्र तीनवटा विकल्पमा छलफल भइरहेको त्यस समूहका नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री ओलीले राम्रो नियतले विश्वासको मत लिन नलागेको उनीहरूको सामूहिक निष्कर्ष छ । “राम्रो नियतले विश्वासको मत लिन लागेको भए संसद्को नियमित (बर्खे) अधिवेशन आह्वान भइहाल्थ्यो, बजेट अधिवेशन बोलाउन नै विलम्ब भइरहेको अवस्थामा विशेष अधिवेशनको बाटो रोज्नु कुनै हालतमा सकारात्मक मान्न सकिँदैन,” ती समूहका नेता भन्छन्, “यो पनि षड्यन्त्रकै सिलसिला हो । त्यसकारण ओलीको रणनीति बुझेर मात्रै निष्कर्षमा पुग्नुपर्छ । हामी हतारिएर निर्णय गर्ने पक्षमा छैनौँ ।”

ती समूहका नेताका अनुसार छलफलमा फ्लोर क्रस गर्ने, संसद् बैठकमा अनुपस्थित हुने या त्यसअघि नै प्रत्यक्ष निर्वाचित आफ्ना सबै सांसदले सामूहिक राजीनामा दिने विकल्पमाथि छलफल भइरहेको छ ।

नेपाल समूहका प्रभावशाली नेता रघुजी पन्तले सामूहिक राजीनामाको विकल्पबारे पनि छलफल भएको स्वीकार गरे । “साथीहरूले धारणा राख्ने क्रममा सामूहिक राजीनामाको कुरा पनि गर्नु भएको छ । तर, निष्कर्ष भने निस्किइसकेको छैन,” उनले बाह्रखरीसँग भने ।

प्रधानमन्त्री ओली स्पष्टरूपमा अल्पमतमा छन् । कानुनी हिसाबले बुधबारसम्म बहुमतमै रहेको देखिए पनि माओवादी केन्द्रले समर्थन फिर्ताको निष्कर्षमा पुगिसकेको छ । ओलीका ‘कृत्यहरूको भण्डाफोर’ गरेर बुधबार समर्थन फिर्ताको पत्र बुझाउने निष्कर्षमा पुगिएको संसदीय दलका प्रमुख सचेतक देव गुरूङले जानकारी दिएका छन् । राजनीतिकरूपमा ओली सरकारबाट समर्थन झिकेको फागुन २३ मै भए पनि कानुनी हिसाबले बुधबार फिर्ता हुने उनी बताउँछन् ।

पार्टीभित्र आन्तरिक विग्रह त छँदैछ । एमालेको १२१ मत भए पनि खनाल–नेपाल समूहका कम्तिमा २० सांसद आफ्ना पक्षमा उभिँदैनन् भन्ने ओलीलाई थाहा नभएको होइन । जनता समाजवादी पार्टी (जसपा) पनि प्रधानमन्त्री ओलीको कित्तामा सामूहिकरूपमा उभिन सक्दैन । त्यहाँ पनि मत विभाजनको अवस्था छ । यस्तो अवस्थामा विश्वासको मतको बाटो रोज्ने मुलुकलाई निर्वाचनतिर धकेल्ने ओली मनोदशा बुझन् कठिन नरहेको खनाल–नेपाल समूह बताउँछ ।

त्यसो हुँदा फागुन २७ अघि नै सामूहिक राजीनामाको विकल्पमा जाँदा वैकल्पिक सरकार गठनको मार्ग प्रशस्त हुने केही नेताहरूको बुझाइ हुनसक्ने खनाल–नेपाल समूहका नेताको भनाइ छ ।

“अहिले सदनमा कायम रहेको संख्याका आधारमा विश्वासको मत प्राप्त गर्न १३६ मत आवश्यक पर्छ । एमाले एकट्ठा हुँदा पनि १५ मत अरू पार्टीबाट तान्नुपर्छ । जसपाको एउटा हिस्सा सघाउन तयार भए पनि त्यति मत आउने देखिँदैन,” असन्तुष्ट समूहका एक नेता भन्छन् ।

खनाल–नेपाल समूहका केही नेता अझै पनि पार्टी एकढिक्का रहोस् भन्नेमै देखिन्छन् । उनीहरूले वैशाख २७ लाई ‘कट् अफ् डेट’ मानेर केही नयाँ समझदारी जुटोस् भन्नेमा छन् ।

“प्रधानमन्त्री ओलीले साँच्चै यो सरकारको निरन्तरता चाहेको हो भने नेपाल समूहसँग संवाद अघि बढाउने समय छ । विगतको तिक्तता भुलेर दुवै समूह एकएक कदम पछि हट्न तयार हुने हो भने एमाले नेतृत्वकै सरकारले निरन्तरता पाउन सक्छ । तर, अहिलेसम्मको ओलीको मनोदशा हेर्दा त्यो सम्भावना क्षीण बन्दै र टर्दै गएको छ,” एक नेता भन्छन् ।

उनले ओलीले संवादको पहल नगर्ने, ३० जनालाई स्पष्टीकरण पत्र थमाइएकै  छ । केहीले फर्कने अन्तरदशा देखाए पनि बाँकी समूहमा प्रतिबद्ध नै छन् भनेर थप कारबाहीको अस्त्र उज्याउन थाले ‘मर्ता क्या नहीँ कर्ता’को अवस्थामा खनाल–नेपाल समूह पुग्ने उनको ठम्याइ छ ।

“त्यस्तो बेलामा फ्लोर क्रस नै विकल्प हुन्छ,” उनी भन्छन्, । नेता नेपालको पनि यही धारणा देखिन्छ । उनले ओलीले यसबीचमा चाल्ने कदम, अरू दलहरूको पोजिसन हेरेर सामूहिक निष्कर्षमा पुग्नुपर्ने उनले बताएका छन् । हतारमा गर्ने निर्णय प्रत्युत्पादक हुनसक्नेतर्फ सचेत हुनुपर्ने उनले धारणा राखेका छन् ।

‘राजीनामा नियोजित प्रचार’
खनाल–नेपाल समूहका अर्का प्रभावशाली नेता सुरेन्द्र पाण्डे ओली समूहले राजीनामाको नियोजित प्रचार थालेको बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै नेता पाण्डे खनाल–नेपाल समूह त्यो निष्कर्षमा पुगेको हल्लाको सर्जक बालुवाटार नै भएको शङ्का गर्छन् ।

बाह्रखरीसँग कुराकानी गर्दै उनले भने, “राजीनामाको हल्ला बेकारको कुरा हो । बालुवाटारले नै हल्ला फिँजाएको हुनसक्छ । हामी त्यस्तो निष्कर्षमा पुगेका छैनौँ ।”

शेरबहादुर तामाङ भन्छन्– राजीनामाको विकल्प आत्मघातक !

भर्खरै एमालेको कार्यालय सचिवको जिम्मा पाएका नेता शेरबहादुर तामाङ पनि सामूहिक राजीनामा अनावश्यक हल्ला भएको बताउँछन् । तीनजना सांसद (गंगा चौधरी (सत्गौवा), समिना हुसेन, कलिला खातुन)लाई स्पष्टीकरण सोध्ने जिम्मेवारीसमेत पाएका उनले खनाल–नेपाल समूह त्यो दिशामा अघि बढ्नै नसक्ने जिरह गर्छन् ।

“स्पष्टीकरण सोधिएका केही मूल पार्टीमै रहने बताइसक्नुभएको छ । त्यसो हुँदा नेतृत्वको सानो हिस्सामात्रै उहाँहरूसँग बाँकी रहन्छ,” उनले भने, “उहाँहरू त्यो दिशामा अघि बढ्न सक्नुहुन्न ।”

उनले त वैशाख २७ अघि नै केही समाधानको खोजी हुने बताए । “नेताहरू लागिरहनुभएको छ । मलाई जहाँसम्म लाग्छ, एमाले एकढिक्का, एकताबद्ध रहन्छ,” उनले समाधानको उपाय पहिल्याउँदै बाह्रखरीसँग भने, “२०७५ जेठ २ गते नै फर्कन त सम्भव नहोला तर बीचका केही समाधानका बाटा छन् ।”

उनले महाधिवेशन आयोजक कमिटीको जिम्मेवारी हेरफेर गरेर पार्टी, आन्दोलनलाई एकताबद्ध राख्न प्रयास हुने उनको भनाइ छ । २०५४ सालमा माले आन्दोलनको कित्तामा उभिएका र केही समयअघि मात्रै धार परिवर्तन गरेका उनले फुटेर गए ‘ग्राउन्डशून्य’ हुने अवस्था रहेको बताउँछन् । “अहिले फुटेर जानेको हिस्सामा झण्डा बोक्नेसमेत मान्छे नहुने अवस्था छ । किनभने उहाँहरू एमाले आन्दोलन, पार्टी विकास गरेर आएको नेतृत्व हो । त्यो पहिचान गुमाएर अघि बढ्दा साथ दिने कार्यकर्ता हुँदैनन्,” उनी यकिनका साथ भन्छन् ।

प्रधानमन्त्री विश्वासको मत लिने अवस्थामा किन पुगे ? भन्ने बाह्रखरीको जिज्ञासामा उनले पार्टीको अवस्था क्लियर गर्न नै यो विकल्प रोजिएको बताए । “केही साथीहरू अलमलमा पर्नुभयो,” उनले खनाल–नेपाल समूहलाई लक्षित गर्दै भने, “बीचमा किन अड्किएर बस्ने ? पार्टीको नेतृत्व गर्ने भए त्यही अनुसार अघि बढ्नपर्यो । नगर्ने अरू हिसाबले अघि बढ्ने हो त्यता जानुपर्यो । अलमल गर्नु भएन, विश्वासको मतमार्फत् क्लियर गर्नुपर्यो भनेर नै हो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro