site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बालबालिकाको मानसिक स्वास्थ्यलाई प्रदूषणले असर गर्ने अध्ययनको निष्कर्ष

लण्डन । बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा वायु प्रदूषणले असर गर्ने एक अध्ययनले देखाएको छ । २५ वर्षसम्म संयुक्त रुपमा गरिएको ब्रिटिस/अमेरिकी अध्ययनले वायुप्रदुषणमा हुर्कने बाललबालिका र किशोरकिशोरीहरुमा १८ वर्ष उमेर पुगेपछि मानसिक समस्या देखिने उच्च सम्भावना रहने देखाएको हो ।

बेलायतको वेल्स र इंल्यान्डमा सन् १९९४-१९९५ मा जन्मेका दुई हजार ३९ जुम्ल्याहा बालबालिकामा यो अध्ययन गरिएको थियो । बाल्यकालमा नाइट्रोजन अक्साइड एवं कणीय पदार्थसँग अनावरण हुनु (संसर्गमा आउनु) र चिन्ता, उदासिनता जस्ता विकार विकसित हुनुबीच अध्ययनले अन्तरसम्बन्ध देखाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"समग्रमा यी नतिजाहरुले सुझाव दिन्छ कि युवावस्थामा मानसिक समस्या बढ्नुमा अधिक जिम्मेवार बाल्यकालमा निरन्तर नाइट्रोजन अक्साइडयुक्त मध्यम स्तरको वायु प्रदुषणमा रहनु हो," अध्ययनमा उल्लेख गरिएको छ । 

वायु प्रदुषण र मानसिक समस्याको जोखिमबीचको सम्बन्ध तनावपूर्ण नरहे पनि यसको जोखिम भने अवश्य रहेको छ । अध्ययनको नतिजा मानसिक स्वास्थ्यसम्बन्धी अन्य व्यक्ति, परिवार वा छिमेकीको धारणको प्रभावबाट मुक्त रहेको दाबी गरिएको छ ।

"ठूला सहरमा हुर्किरहेका बालबालिकाहरु ठूलो जनसंख्याका कारण मानसिक रोगको ठूलो जोखिम सामना गरिरहेका छन्," अध्ययनकी सहलेखिका डा. हेलेन फिसरले भनिन्,  "हामीले हाम्रा शहरलाई हरियाली र खुल्ला स्थानका रुपमा कल्पना गरे पनि त्यहाँ कसैले कल्पना नगरेका गोप्य खतरा हुनसक्छन् भन्ने स्पष्ट भएको छ ।" फिसर किंग्स कलेजको इन्स्टिच्युट अफ साइक्याट्रि, साइकोलोजि एण्ड न्यूरोसाइन्सले गरेको अध्ययनकी एक प्रमुख अध्ययनकर्ता हुन् ।

सहभागीहरु १८ वर्षको भएपछि एडीएचए, चिन्ता, मदिरामा निर्भरता लगायत दश साधारण मनोवैज्ञानिक विकारहरुको लक्षणको मूल्यांकन गरीएको थियो । यसबाट उनीहरुको मानसिक स्वास्थ्य अवस्था जनाउने साइकोप्याथोलोजी फ्याक्टर (पी फ्याक्टर)को मापन गरिएको बताइएको छ । पी फ्याक्टर उच्च भएकाहरुमा चिन्ता, मदिरा सेवन गर्ने बानी जस्ता लक्षण धेरै देखिएको छ ।

प्रदूषणले मुटु, फोक्सो र स्नायु प्रणालीमा असर गर्ने कुरा यसअघिका अध्ययनहरुले नै पुष्टि गरिसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका प्रत्येक १० मध्ये ९ जना उच्च मात्राको प्रदूषणमा रहेका छन् । द गार्जियनबाट

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ००:१८
प्रतिक्रिया दिनुहोस्