आत्महत्यालाई समाजले पाप, अपराध वा व्यक्तिको मानसिक कमजोरीका रूपमा हेर्ने गरेको छ । परन्तु, यो मनोसामाजिक समस्या र परिस्थितिको उपज हो । संसारमा बर्सेनि दस लाख जनाभन्दा बढीले आफ्नो प्राण लिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।
प्रहरीका अनुसार नेपालमा यस आर्थिक वर्षको आठ महिनामा चार हजार ४८३ जनाले आत्महत्या गरेका छन् । अगिल्लो वर्ष यति नै अवधिमा तीन हजार ५३४ जनाले आफ्नो ज्यान लिएका थिए । अर्थात्, गत वर्षका तुलनामा आत्महत्या गर्नेको संख्या यस वर्ष २६।८५ प्रतिशत बढेको देखिन्छ ।
जनस्वास्थ्यका दृष्टिबाट हेर्ने हो भने यो निकै भयावह अवस्था हो । यद्यपि, यो प्रहरीमा सूचना पुगेको अङ्कमात्र हो । सामाजिक वर्जना र सजायको भयसमेतका कारण मृतकको परिवारले आत्महत्याका घटना सार्वजनिक गर्नसमेत चाहँदैनन् । यसैले आत्महत्याका घटना प्रहरीको अभिलेखमा दर्ता भएको भन्दा धेरै र अवस्था भयावह भएको अनुमान सहजै लगायन सकिन्छ ।
आत्महत्यालाई नेपाली समाज र राज्यले पनि अझै पनि गम्भीरतापूर्वक लिएको भने देखिँदैन । व्यक्तिले आफ्नो जीवन निरर्थक भएको ठहर गरेपछि आत्महत्याको बाटो रोजेको देखिन्छ । नत्र, सबै प्राणीका लागि सबैभन्दा बढी प्यारो लाग्ने जीवन आफैँ त्याग्न कुन मनुष्य प्रवृत्त हुँदो हो र रु
आत्महत्या उन्मुख व्यक्तिमा निराशा, अवसाद, एकान्तप्रियताजस्ता सङ्केत देखिन थाल्नेबित्तिकै परिवारका सदस्यहरू चनाखो हुने हो भने धेरै हदसम्म रोक्न सकिन्छ । तर, आत्महन्ता सबै नै असामान्य प्रवृत्तिका हुन्छन् वा तिनमा असामान्यता देखिन्छ भन्ने हुँदैन ।
जेहोस्, बेलैमा सही हस्तक्षेप हुनसके आत्महत्याका घटना धेरै हदसम्म रोक्न सकिने पुष्टि संसारका विभिन्न देशमा गरिएका अध्ययनबाट भइसकेको छ । यस्ता कार्यक्रममा मनोसामाजिक विमर्शदेखि व्यक्तिलाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउनेसम्मका उपायहरू पर्छन् ।
नेपालमा भने आत्महत्यालाई जनस्वास्थ्यको विषयका रूपमा भन्दा मनोसामाजिक समस्या र दण्डनीय अपराधकै रूपमा हेर्ने गरिन्छ । सम्भवतः यही कारणले आत्महत्याको तथ्याङ्क पनि प्रहरीले राख्ने गरेको हो । सफल भए सजाय नहुने तर विफल भए दण्ड सजाय भोग्नुपर्ने एउटैमात्र ‘अपराध’ आत्महत्या हो ।
नेपालमा आत्महत्याको सङ्ख्याका साथै प्रचलन दर पनि विश्वका तुलनामा बीचतिरै देखिए पनि बचाउन सकिने मानव जीवन खेर जानु पक्कै पनि समाज र राज्यका लागि चिन्ताकै विषय हो । यसैले नेपाल सरकारले बेलैमा यस समस्या सम्बोधन गर्ने उपाय खोज्नु आवश्यक देखिन्छ । आत्महत्यालाई कायरता मान्ने सामाजिक मानसिकतामा सुधार एकातिर आवश्यक छ भने अर्कातिर यसलाई जनस्वास्थ्यको विषय मानेर सरकारले कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्छ ।
नीति निर्माताले आत्महत्या रोकथाम जनस्वास्थ्यकै महत्त्वपूर्ण र अभिन्न पक्षका रूपमा स्वीकार गरेर यस विषयमा गम्भीर ध्यान दिनुपर्ने देखिन्छ । आत्महत्यालाई राज्यले अपराधका रूपमा होइन स्वास्थ्य समस्याका रूपमा लिनुपर्छ । यस्तै नेपालमा आत्महत्याका कारण र असरजस्ता विषयमा क्षेत्रगत तथा विधागत अध्ययन अनुसन्धान जरूरी देखिन्छ ।