site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगातार सात दिन बढेको सेयर बजारमा आठौँ दिन सामान्य करेक्सन

काठमाडौं । लगातार सात दिनसम्म बढेको सेयर बजारमा साातको चौथो दिन बुधबार (आज) भने सामान्य करेक्सन भएको छ । मंगलबार २६७४.४७ अंकको ऐतिहासिक उचाइमा बन्द भएको नेप्से बुधबार २.८५ अंकले करेक्सन भएर २६७१.६२ अंकमा बन्द भएको छ ।

नेप्समो करेक्सन हुँदा कारोबार पनि घटेको छ । मंगलबार करिब साढे ७ अर्बको कारोबार भएकोमा आज नेप्सेमा ७ अर्ब २६ करोड ६९ लाख ७३ हजारको कारोबार हुँदा १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता सेयर किनबेच भएको छ ।

चैत मसान्त नजिकिँदै गर्दा ब्याज तिर्ने समय भएकोले केही किन्ने र केही बेच्ने लगानीकर्ताको प्रतिस्पर्धाका बीच नेप्सेमा सामान्य करेक्सन देखिएको हो । वैशाखपछि सेयर बजारले नयाँ उचाइ लिने अपेक्षामा केही लगानीकर्ता सेयर खरिद गर्न तयार देखिएका छन् भने केही लगानीकर्ताले चैत मसान्तमा भुक्तानी गर्नुपर्ने ब्याजका कारण सेयर बेच्न खोज्दा बजारमा भने उतार–चढाव देखिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुईतिहाइ बढी हिस्सा रहेको वित्तीय क्षेत्रको तेस्रो त्रैमासिक रिपोर्ट राम्रो आउने अपेक्षा र बैंकिङ प्रणालीमा चैत मसान्तमा केही संकुचन हुने देखिए पनि वैशाखबाट बजेट खर्च वृद्धि हुँदा तरलता बढ्न सक्ने भएकोले पनि लगानीकर्ता बजार बढ्नेमा आशावादी देखिएका छन् । जसले गर्दा चैत मसान्तमा पनि सेयर बजारमा ठूलो करेक्सन आउने संकेत नदेखिएको विश्लेषकहरु बताउँछन् ।

गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षमा बैंकहरुको नाफा १० अर्बभन्दा माथि बढ्ने संकेत देखिएको बैंकिङविज्ञ अनलराज भट्टराई बताउँछन् । जसले गर्दा पछिल्लो एक वर्ष देखिएको बुलमा पनि खासै बढ्न नसकेको बैंकहरुको सेयर मूल्य बढ्न सक्ने र अर्कोतर्फ अब सिजनले पनि सेयर बजार बढ्ने समय रहेकोले पनि वैशाखपछि सेयर बजारले थप उचाइ लिनेमा लगानीकर्ता विश्वस्त हुँदा चैत मसान्तमा पनि बजारमा खरिद चाप रहेको हो ।

तर, चैत मसान्तसम्म बैंकिङ प्रणालीमा हुने तरलता र वैशाखबाट बढ्न सक्ने निक्षेपको ब्याजदर बजारको दिशा परिवर्तन गर्न सक्ने कतिपयका बुझाइ छ । मंगलबारसम्मको तथ्यांकमा बैंकिङ प्रणालीमा ५० अर्ब तरलता रहेको छ । तर, यो साता बैंकिङ प्रणालीमा निक्षेप घट्न सुरु भएको र कर्जा भने बढ्ने क्रममा नै देखिएइकोले तरलता घट्न सक्ने देखिन्छ ।

सोमबार ४४ खर्ब २ अर्ब रहेको बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप मंगलबार ४४ खर्ब १ अर्बमा झरेको तर कर्जा लगानी भने सोमबार ३९ खर्ब ४६ अर्बबाट बढेर मंगलबार ३९ खर्ब  ५० अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यता, भोलिको लागि नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन्सको लागि करिब साढे  १५ अर्ब रुपैयाँ अर्थात् ९ अर्ब  ६४ करोड भारु भुक्तानीको लागि पत्र काटेको छ । उक्त रकम भुक्तानी हुने र चैत मसान्तमा राजस्वको रुपमा  सकारी कोषमा पैसा जाने हुँदा राजस्व घट्ने भएकोले तरलता केही घट्ने अवस्था भने देखिएको छ । जसको संकत पनि देखिएको छ । गत सातासम्म १ प्रतिशतभन्दा तल रहेको अन्तर बैंक ब्याजदर डेढ प्रतिशतबाट माथि लागेको राष्ट्र बैंकले जनाएको छ ।

कस्ता रह्यो आजको बजार ?
प्रि–ओपन सेसनमा नै २० अंकमाथिले वृद्धि भएर २६९४.५४ अंकमा खुलेको नेप्से  ‘इन्ट्रा–डे’ कारोबारमा  ऐतिहासिक २७०० अंकको विन्दुनजिक पुगेको थियो ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचकका साथै होटेल तथा पर्यटन, विकास बैंक, लघुवित्त उपसूचकमा वृद्धि हुँदा पनि लगानी, जीवन तथा निर्जीवन बिमा, हाइड्रोपावर, व्यापार, उत्पादजन र अन्य उपसूचक घट्दा नेप्सेमा सामान्य करेक्सन देखिएको हो । होटेल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै  ६.०५ प्रतिशत, लघुवित्त उपसूचक २.१६ प्रतिशत र  विकास बैंक उपसूचक १.५ तथा बैंकिङ उपसूचक ०.२९ प्रतिशतले बढेको छ ।

यता, व्यापार उपसूचक सर्वाधिक ३.९४ प्रतिशतले करेक्सन हुँदा, हाइड्रोपावर उपसूचक १.२४ प्रतिशत, निर्जीवन बिमा उपसूचक १.४५ प्रतिशत, उत्पादन उपसूचक १.४ प्रतिशत र लगानी उपसूचक १.६६ प्रतिशतले घटेको छ ।

आज कारोबार रकममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लिड गरेको छ । बैंकको २७ करोड  ६३ लाख २५ हजारको कारोबार हुँदा चिलिमे हाइड्रोपावरको २२ करोड १५ लाख ३५ हजार, छिमेक लघुवित्तको १९ करोड ४३ लाख ६२  हजार, वोमी लघुवित्तको १८ करोड १७ लाख २३ हजार र नेपाल दूरसञ्चार कम्पनीको १५ करोड ८० लाख ३२ हजारको कारोबार भएको छ ।

महिला लघुवित्तसहित, चन्द्रागिरि हिल्स, एनआईसी एशिया लघुवित्त रिलायन्स फाइनान्स, युनिभर्सल पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रैराङ हाइड्रोपावरको सेयर मूल्य भने सर्वाधिक ७ प्रतिशतमाथिले घटेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १५:५९
प्रतिक्रिया दिनुहोस्