महाव्याधि घोषित कोभिड-१९ को सङ्क्रमणको अर्को लहर नेपालमा पनि देखिन थालेको छ । भारतलगायतका अरू केही मुलुकमा त केही साता पहिले कोभिड-१९ फेरि फैलन थालेको थियो । गत वर्षजस्तै यसपटक पनि नेपालमै जोखिम नबढ्दासम्म सरकार र केही हदसम्म नागरिकहरूले समेत हेलचेक्य्राइँ गर्दा स्थिति भयावह हुने जोखिम देखिएको छ ।
महाव्याधिको सङ्क्रमणको पछिल्लो लहरमा विद्यार्थी र शिक्षकशिक्षिका बढी सङ्क्रमित भएका छन् । विद्यालय सञ्चालन गर्ने तर कोभिड-१९ को सङ्क्रमण रोक्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने प्रवृत्तिले नै पछिल्ला दिनमा शिक्षक र विद्यार्थी सङ्क्रमणको चपेटामा परेका हुन् । सङ्क्रमण रोक्ने उपाय अपनाउनै नसकिने हो भने भौतिकरूपमा कक्षा र परीक्षा सञ्चालन गर्ने मामिलामा पुनर्विचार गर्नुपर्छ ।
सङ्क्रमण नियन्त्रण र जनजीवन पनि सहजतापूर्वक सञ्चालन हुने उपाय खोज्न सरकारले अहिलेसम्म खासै ध्यान दिएको देखिएन । गत वर्ष सबैभन्दा पहिले नेपालमा कोभिड(१९ को सङ्क्रमण हुनै सक्तैन भन्ने स्वाँठ तर्क दिएर सरकारका जिम्मेवार पदाधिकारीले समय खेर फाले । अनि सरकारले जनतालाई हुने सास्तीको वास्तै नगरी एकाएक देशभर बन्दाबन्दी (लकडाउन) थोपरिदिए ।
बन्दाबन्दी गर्दाजस्तै हटाउँदा पनि सरकारले जनस्वास्थ्यको आधार अपनाएन । अर्थात्, विना आधार बन्दाबन्दी गरियो भने सङ्क्रमण नियन्त्रणको कुनै तयारी नगरीकनै हटाइयो । सरकारको यस्तो गैरजिम्मेवार अभ्यासको सिको नेपाली जनताले पनि गरे ।
गाउँघरतिर त सङ्क्रमणको परीक्षण नै गरिएन भने नियन्त्रणको उपाय पनि अपनाइएन । सहरबजारमा पनि मास्क लगाउनेदेखि हात धुने र भौतिक दूरी कायम राख्न कसैले ध्यान दिएन । सङ्क्रमणको जोखिम कम नहुँदै स्वास्थ्य सावधानी अपनाउन नछाडेको भए सम्भवतः अहिलेको अवस्था उत्पन्न हुनेथिएन । कतै सङ्क्रमणको जोखिम देखा परे पनि आत्तिनुपर्ने थिएन ।
जनसाधारणभन्दा पनि सङ्क्रमणको जोखिम बढाउने धेरै हेलचेक्र्याइँ राजनीतिक दलका नेता कार्यकर्ताले गरे । सरकारका पक्षविपक्षमा निकालिएका जुलुसहरू यथार्थमा नेपालको राजनीतिक नेतृत्वको गैरजिम्मेवार प्रवृत्तिको दृष्टान्त बन्न पुगेको छ । यसैले अब पनि देशको नीति निर्माणमा निर्णायक हुनुपर्ने यो तत्त्व जिम्मेवार र जनस्वास्थ्यप्रति संवेदनशील हुने अपेक्षा गर्नु मूर्खता हुन्छ ।
अतः सरकारले के निर्णय गर्ला भनेर नपर्खी स्थानीय तहहरू र विद्यालय व्यवस्थापन तथा अभिभावकहरूले विद्यालयहरूलाई महाव्याधि सङ्क्रमणको केन्द्र बन्न नदिन गम्भीर बन्नु आवश्यक छ । विद्यालयको कार्यतालिकामा जोड दिने हैन विद्यार्थीको शैक्षिक उपलब्धि हासिल हुने तर तिनको स्वास्थ्यमा सम्झौता गर्न नपर्ने उपायहरू खोजिनुपर्छ ।
साना नानीहरूका लागि त खोप नै बनिसकेको छैन । शिक्षणमा संलग्न जनशक्तिलाई खोपमा प्राथमिकता दिँदामात्रै पनि विद्यालयमा र विद्यालयबाट सङ्क्रमण फैलने जोखिम कम गर्न सकिन्छ । कम्तीमा पनि विद्यालयले मास्क अनिवार्य गर्ने, भौतिक दूरी कायम राख्ने र हात धुनेजस्ता स्वास्थ्य सावधानी अपनाउन विशेष ध्यान देओस् । अर्को सङ्क्रमण र त्यसैका निहुँमा बन्दाबन्दी थोपरियो भने नेपालीका लागि निकै महँगो हुनेछ ।