अमरावतीजस्तो कान्तिपुरी अर्थात् काठमाडौं बेलाबखत निसासिन्छ । कहिले राजनीतिका कारण उकुसमुकुस हुन्छ त कहिले नाकाबन्दीजस्तो आर्थिक कारणले यहाँको जीवनरेखा खलबलिन्छ । यसपटक भने काठमाडौंको आकाशलाई तुवाँलाले ढाकेका कारण यहाँको जनजीवनमात्र हैन जीवजन्तु पनि निसासिन पुगेका छन् । काठमाडौंमा बढेको वायु प्रदूषणको मात्रा अत्यन्त खतराको स्तरमा पुगेपछि सरकारले शुकवार सावधानी अपनाउन सचेत गराएको छ ।
अचेल काठमाडौंको वायु प्रदूषण सधैँ जनस्वास्थ्यका लागि खतरनाक रहिआएको छ । कचौरा आकारको यस उपत्यकामा उत्पन्न हुने धुवाँ र धुलोको मात्रा हुरी वा वर्षाले मात्र हटाउन सक्छ । सम्म मैदान वा भिरालो पहाडले जति प्रदूषण हावा निस्कने बाटोविनाको उपत्यकाले धान्न सक्तैन ।
यस उपत्यकाका बासिन्दा र शासकले भने उपत्यकाको भौगोिलक बाध्यताको सामान्य सत्य पनि बुझ्न खोजेनन् । यसैले दुनियाँकै प्राचीन र सुन्दरमध्येको एक बस्ती मानिएको काठमाडौं उपत्यकाको वायुसमेत विषालु बनाए । यसपटक त उपत्यका वरपर विभिन्न भेगमा लागेको डँडेलोबाट उठेको धुवाँ पनि काठमाडौंको प्रदूषित हावामा मिसिँदा सासै फेर्न नसकिने हुन पुगेको हो ।
विज्ञहरूका अनुसार उपत्यकाको वायु प्रदूषण अपेक्षित मात्रामा कम हुन हुरी वा पानी आउनुपर्छ । अहिलेसम्म नेपालमा कृत्रिम हुरी र वर्षाको अभ्यास भएको छैन । यसैले यी दुवै कामका लागि प्रकृतिको ‘कृपा’ पखर्नुको विकल्प छैन । तर, वायु प्रदूषणको मात्रा घटाएर खतराको स्तर कम गराउन भने सरकार र उपत्यकावासीले चाहेमा सकिने देखिन्छ । यस्ताे अवस्था पटकपटक आउन सक्ने हुनाले बेलैमा निश्चित उपाय अनाउने गरेमा पछिल्ला सङ्कट टार्न सहज हुनेछ ।
सरकारले उपत्यकावासीलाई वायु प्रदूषणको अवस्थालाई ध्यानमा राखी घरबाहिर नबस्न र केही दिन बिहान नहिँड्न सल्लाह दिएको छ भने प्रदूषण बढाउने धुवाँ, धुलो बढ्ने काम नगर्न अनुरोध गरेको छ । सावधानी अपनाउन सरकारले दिएको सल्लाह जनहितकारी नै छन् । वायु प्रदूषण र कोभिडको सङ्क्रमण दुवैको प्रकोप रोक्न मास्कको प्रयोग प्रभावकारी हुने हुनाले सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गरौँ । यिनको पालना गरेर आफू र आफन्तलाई सकेसम्म सुरक्षित बनाउनु जनताको पनि दायित्व हो ।
वायु प्रदूषणको मात्रा कम गराउने अरू उपायप्रति भने सरकार मौन देखियो । मूलतः सवारी साधनको प्रयोग नियन्त्रण गर्ने हो भने उल्लेख्यरूपमा वायु प्रदूषण घटाउन सकिन्छ । यसैले सरकारले बिदाका दिनमा अत्यावश्यक सेवाका बाहेक अरू सवारी चलाउन निरुत्साहित गर्ने, केही दिन सार्वजनिक यातायातबाहेक निजी सवारी साधन आलोपालो चलाउन लगाउने र ब्यारेक, अस्पताल, सामूहिक आवासलगायतका स्थानमा खाना बनाउन दाउराको प्रयोग रोक्ने तथा फोहोर डडाउन नदिनेजस्ता उपायमा जोडदिनु आवश्यक छ । काठमाडौंका जनता र शासक दुवैले अमरावती तुल्य यस उपत्यकालाई बिखालु हावाबाट मुक्त पारेर मानव बसोवासका लागि योग्य तुल्याउन इच्छुक छन् त ?