site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘प्रधानमन्त्री पदले ढोका ढकढक्याउँदा’ किन खोल्न सकेन ? 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राजनीतिक अवसरको सदुपयोगमा चुकेको छ । संसदमा झन्डै दुईतिहाइ मत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर दुई टुक्रा हुँदा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी एउटै छ र त्यसको संसदीय दलको नेता केपी ओली हो भन्दै बस्यो ।

प्रदेश नम्बर–१ र वाग्मती प्रदेशमा नेकपाकै सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा आफूलाई ‘जसले नेतृत्व दिन्छन्, उहीसँग सहकार्य’ गर्ने भन्दै संसद्को अवरोधविरुद्ध समेत आवाज नउठाई ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष भएर विभाजित भएको थियो । त्यही विवादमा राष्ट्रिय राजनीतिमै दुई भागमा विभक्त कांग्रेस केन्द्रीय समितिको सर्वसम्मत निर्णयको विषयमा समेत जनतामा फरक–फरक सन्देश लिएर गएको थियो ।

प्रतिनिधिसभा विघटनपछि घोषित निर्वाचनमा सभापति देउवा ‘चुनावका लागि तयार हुनुस्’ भन्दै कार्यकर्ता हौस्याउन लागेका थिए भने संविधान र लोकतन्त्र जोगाउन त्यसका विरुद्ध बलियोसँग उभिनुपर्छ भन्ने सन्देश दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेल हिँडेका थिए । तर, कांग्रेसको सर्वसम्मत निर्णय भने ‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकउन्मुख भएकाले त्यसका विरुद्ध उभिने’ थियो । त्यही निर्णयका विषयमा सभापति र वरिष्ठ नेता पौडेलसहित कृष्णप्रसाद सिटौला पक्ष फरक–फरक ध्रुवमा विभाजित भएर प्रतिष्ठानको लडाइँमा केन्द्रित हुँदा कांग्रेसले निर्णयक भूमिका निर्वाह गर्न सकेन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फलस्वरुप, अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश–१ र वागमती प्रदेशमा सत्तापक्षले नै संसद् अवरोध गरेर संसदीय व्यवस्थाको खिल्ली उडाउँदा प्रतिपक्ष किनाराको साक्षी झैँ बनिदियो र सत्तापक्षलाई मौन साथ दियो । पार्टी सम्हाल्न नसकेका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आफैँले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनःस्थापित हुँदासमेत अझ निर्णायक र बलिया भएका छन् । अनि, प्रतिनिधिसभा विघटनकै दिनदेखि दुईवटा प्रदेश र संघमा समस्या हुँदा कांग्रेसले कसैलालई साथ नदिने नीति अख्तियार गर्‍यो र ‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याउँदै छ’ भन्ने अवस्थाबाट कांग्रेस नेतृत्व ‘प्रधानमन्त्री हैन, अब पार्टी सभापति बन्छु’ भन्ने अवस्थामा पुगेको छ ।

विश्लेषक डा. विष्णु दाहाल कांग्रेस अवसरको सदुपयोग गर्ने समयमा आपसी मतभेदमा गुज्रँदा अवसरको सदुपयोग गर्नबाट चुकेको बताउँछन् । “कांग्रेसले प्रदेश–१ र वाग्मती प्रदेशका सरकार त्यस बेला नै ढालीदिन सक्थ्यो, त्यहाँ चुकेकै हो,” दाहालले भने, “तर, यो कांग्रेस, एमाले माओवादी वा जसपाले कसैले खेलेको राजनीति होइन, चीन, अमेरिका, भारत, युरोपिएनहरुले खेलिरहेका छन् । यसो हेर्छन्, जसको हातमा ठूलो तास आउँछ, उसैले मार्दिन्छन् ।” अहिले सर्वोच्चको फैसलाले राजनीतिक अवस्थामा थोरै परिवर्तन गरे पनि राजनीतिक कोर्ष भने अझै प्रस्ट नभएको उनको बुझाइ छ । 

“माधव नेपाल, भीम रावलले अहिले जे भने पनि ओलीलाई थपडी बजाउन एमाले भएका छैनन्,” दाहालले भने, “उनीहरुका गतिविधि सार्वजनिक भएपछि मात्र राजनीतिक कोर्ष अनुमानयोग्य बन्नसक्छ ।”

नेकपा नाम विवादमा सर्वोच्चको फैसलाले एकताबाट धेरैअघि पुगेर पुराना पार्टीका गुटसमेत विभाजित हुँदै क्षतविच्छेद भएका बेला पुरानै पार्टी कायम गरिदिएको छ । पुराना पार्टी कायम भइसक्दासमेत कतिपय सांसदहरु अर्को समूहमा लागिरहेकै अवस्था छ । तर, यो अवसरलाई आफ्नो अनुकूल बनाउने र परिस्थिति व्यवस्थापनको अवसर आएको कांग्रेस भने महाधिवेशनमा कसले बाजी मार्ने भनेर राजनीतिक मुद्दामा विभाजित हुन छोडेको छैन ।

पछिल्लो समय कांग्रेस एकमुष्ट रूपमै निर्वाचनको मुडमा छ । तर, जति बेला निर्वाचनका लागि बाध्य पार्नसक्ने अवस्था थियो, त्यस बेला कांग्रेसको निर्णय र मत फरक–फरक दिशामा देखापरेको थियो । अहिले कांग्रेस एकमुष्ट रूपमै ‘अर्लि इलेक्सन’का पक्षमा छ । तर, प्रतिनिधिसभा विघटन गर्ने ओली नेकपा फरक–फरक पार्टी भइसक्दासमेत थप बलिया भएका छन् र निर्वाचन घोषणा गरेका ओलीलाई अब निर्वाचन चाहिने अवस्था छैन ।

प्रा. डा. लोकराज बराल कांग्रेसले खेल्नुपर्ने समयमा निर्णायक भूमिका नखेल्नुमा संसद्मा उसको संख्याले नै कांग्रेसलाई लघुताभाषी बनाइदिएको बताउँछन् । “अविश्वास प्रस्ताव आएपछि कांग्रेसले स्पष्ट निर्णय र एउटै अभिव्यक्ति बनाउनै सकेन,” प्रा. डा. बरालले भने, “यस्तो हुनुको प्रमुख कारण कांग्रेसको संसद्मा रहेको संख्या हो । आउँदै गरेको महाधिवेशन दोस्रो कारण थियो ।”

उनले त्यो अवसर नछोपेको कांग्रेसले अहिले लिएको नीति भने ठिकै देखिएको बताए । “कम्युनिस्ट पार्टी विभाजनका लागि ठूलो द्वन्द्व देखिए पनि दुईवटा पार्टी भइसक्दासमेत सरकारलाई दिएको समर्थन फिर्ता नहुँदा छुट्टै हुन उनीहरुको रणनीति मात्र थियो कि भन्ने पनि देखिँदै छ,” प्रा.डा. बरालले भने, “अहिलेको अवस्थामा जसपा निर्णायक बनेको छ । उसले निर्णय नगर्दासम्म कांग्रेसले सरकार बनाउँछु भन्नुको कुनै औचित्य छैन ।”

बरालले जसपाले एकमतबाट ओलीको विकल्प खोज्ने निर्णय गर्‍यो भने फेरि पनि देउवा प्रधानमन्त्री बन्नसक्ने बताए । “जसपाले एकमतले निर्णय गर्‍यो भने माओवादी त तयार नै छ जस्तो देखिन्छ,” बरालले भने, “त्यस्तो अवस्था आयो भने फेरि पनि देउवाको नेतृत्वमा सरकार बन्नसक्छ ।” 

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १३:५१
प्रतिक्रिया दिनुहोस्