प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफू खतरामा भएको सार्वजनिक घोषणा गर्नु भने जानाजान सन्त्रास फैलाउने प्रयत्नजस्तो देखिएको छ । प्रधानमन्त्री ओलीले पोखरामा आयोजित कार्यक्रममा सोमबार आफूमाथि ‘शारीरिक हमला’ हुनसक्ने, आफ्नो ‘ज्यान तलमाथि‘ हुनसक्ने भन्दै पार्टीका कार्यकर्तालाई तर्साउने र उत्तेजित गराउने कार्य गरेका छन् ।
मारिने डर लाग्नु एक प्रकारको मानसिक स्थिति हो । मानसिक अवस्था कमजोर भएमा व्यक्तिले विनाकारण यस्तो डर मान्न वा प्रकट गर्न थाल्छ । उसले आफूलाई लागेको डर मानसिक अवस्थामात्र भएको थाहा पाउँदैन । जनमानसलाई भ्रममा पारेर आफ्नो अभिष्ट पूरा गर्न चाहनेहरूले भने जानाजान सन्त्रास फैलाउने चेष्टा गर्छन् ।
नागरिकको जीवन र सम्पत्तिको रक्षा राज्यको प्रमुख र प्राथमिक दायित्व हो । सरकारका सबै अङ्ग र निकायको पनि मूल कर्तव्य यही नै हो । यस अर्थमा खड्गप्रसाद शर्मा ओलीको जीवन रक्षा पनि प्रधानमन्त्री ओलीकै जिम्मेवारी हो । जनताको भय दोहनको नियतले नै भनिएको भए पनि प्रधानमन्त्री ओलीको यस अभिव्यक्तिले उनकै अक्षमताको पोल खोलेको छ ।
देशको प्रमुख कार्यकारीको यस्तो अभिव्यक्तिले सुरक्षा निकायको मनोबलमा पनि चोट लागेको हुनुपर्छ । यही कारणले सुरक्षा निकायका पूर्व र बहालवाला अधिकारीहरूले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आश्चर्य र आक्रोश प्रकट गरेको हुनुपर्छ ।
हुनत, सुरक्षा मामिलाका जानकार धेरैले प्रधानमन्त्री ओलीको सन्त्रासको अभिव्यक्तिलाई जनसहानुभूति बटुल्न गरिएको सस्तो र पाखण्डपूर्ण प्रचारवाजी मानेका छन् । परन्तु, उच्च सुरक्षा घेरामा रहने प्रधानमन्त्रीले साँच्चै नै आफू असुरक्षित भएको ठानेकै हुन् भने तत्काल सुरक्षा कमजोरी केलाएर आवश्यक प्रबन्ध मिलाइहाल्नुपर्छ ।
साँच्चै नै प्रधानमन्त्री ओलीले डर देखाएजस्तै उनको ज्यान ‘तलमाथि’ भयो भने त देशकै सुरक्षा व्यवस्थामा अविश्वास उत्पन्त हुनेछ । यसैले ज्यानै जोखिममा पर्नेगरी सुरक्षा व्यवस्थाले थेग्न नसक्ने हो भने उनलाई सार्वनिक कार्यक्रममा जानसमेत रोक्नेसम्मका विकल्प सुरक्षा निकायले प्रयोग गर्नुपर्ने हुन्छ ।
धेरैले विश्वास गरेजस्तै यो सन्त्रास फैलाउने अभिव्यक्ति सहानुभूति पाउन गरिएको सस्तो प्रचारवाजीमात्र हो भने यो चरम गैरजिम्मेवार कार्य हो । यसैले कि त प्रधानमन्त्री ओलीले देशका सुरक्षा निकायहरूको साख र मनोबल गिराउने आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ नभए उनलाई सुरक्षा जोखिम बढी हुने सार्वजनिक सभाहरूमा जान रोक्नुपर्छ ।
सस्तो प्रचार पाखण्ड महँगो नपरोस् १