ठूलो भिड देखे पन्छने तर सानो समूह भेट्नेबित्तिकै जाइलाग्ने रणनीति नेपाल प्रहरीको प्रवृत्ति नै बनिसकेकाे हिजो (साेमवार) प्रधानमन्त्री निवासतर्फ जान लागेका प्रदर्शनकारीमाथि भएको व्यवहारबाट पनि पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा भङ्ग गर्ने कदमविरुद्ध नागरिक तहबाट पनि विभिन्न विरोध प्रदर्शन भइरहेका छन् । यही क्रममा काठमाडाैंमा आइतवार प्रधानमन्त्री निवास घेर्न कार्यक्रमअनुरूप बालुवाटारतर्फ गएको नागरिकहरूको शान्तिपूर्ण जुलुसमाथि पानीको फाेहाेरा, लाठी प्रहार गरेर प्रहरी बढी नै ज्यादती गरेकाे देखियो । साथै पक्राउमा परेका शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने नागरिकहरूसँग पनि प्रहरीले अमानवीय व्यवहार गरेको गुनासाे सार्वजनिक भइसकेको छ । अर्थात्, प्रहरी सोमवार आन्दोलन दमन गर्ने आदेशसहित तैनाथ भएको हुनुपर्छ । किनभने, प्रतिनिधि सभा विघटनपछि अहिलेसम्मका विरोधहरूमा प्रहरी आक्रामक देखिएको थिएन ।
प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानको अक्षर र भावनाविपरीत प्रतिनिधि सभा भङ्ग गराएपछि त्यसका विरुद्ध देशभर आन्दोलन भइरहेको छ । वर्तमान संविधान र लोकतन्त्र बचाउन चाहने सबै राजनीतिक दल, बुद्धिजीवी र चेतनशील नागरिकहरू आन्दोलित भएका छन् । यहीक्रममा राजनीतिक दलहरूले पनि काठमाडाैंमा ठूला जुलुस निकाली सकेका छन् । सहरको आवागमनलगायत जनजीवन अस्तव्यस्त हुने गरी काठमाडाैंबाहिरबाट सहभागी ओसारेर प्रदर्शन गर्दा पनि प्रहरीले राजनीतिक दलको जुलुसमा हस्तक्षेप गरेको थिएन । तर, शान्तिपूर्ण रूपमा निस्केको नागरिकहरूको जुलुसमा बर्बर दमन गरेर सरकार र प्रहरीले समेत कस्ताे सन्देश दिन खोजेको हो ? ठूलो भिड देखे जे गर्न पनि दिने र सानो शान्त समूहमाथि बर्बरतापूर्वक जाइलाग्ने राणाकालीन मानसिकता अहिलेको गणतान्त्रिक प्रहरीमा पनि कायमै देखियो । यो चिन्ता र आपत्तिको विषय हो ।
नेपालका राजनीतिक नेताहरू पटकपटक गैरजिम्मेवार सिद्ध भएका छन् । आफू सत्तामा हुँदा नहुँदा उनीहरूको विचार र व्यवहारमा सधैँ फरक देखिएको छ । केही दिन पहिलेमात्रै पनि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक जना अध्यक्षले आन्दोलन शान्तिपूर्ण भएकोमा असन्तुष्टि प्रकट गर्दै ‘ननभेज’ (हिंसात्मक) बनाउन कार्यकर्तालाई उक्साएको समाचार सार्वजनिक भएको थियो । यो अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति थियो । राजनीति गर्नेहरूका लागि आन्दोलन रणनीतिमात्र होला तर स्वतन्तन्त्रता चाहने नागरिकका लागि त यो आफ्नो अस्त्तित्वसँग जोडिएको विषय हो । प्रकारान्तरले सोमवार बालुवाटार जान लागेका नागरिकहरूलाई रोक्न प्रहरीले गरेको ज्यादतीले पनि जनमानसलाई उद्वेलित र आक्रोशित बनाउने काम गरेको छ । अतः यो व्यवहार पनि आपत्तिजनक र निन्दनीय छ । सत्ताले जनआकाङ्क्षा दबाउने उद्देश्यले अपनाएको दमन धेरैजसो प्रत्युत्पादक भएको छ । यसैले नेपाल प्रहरीले विवेक प्रयोग गर्नु आवश्यक र उचित दुवै देखिन्छ । संविधान र विवेकले निषेध गर्ने दमन र बल प्रयोग गर्नु कर्तव्यपरायणता होइन । अनुचित बल प्रयोग गर्ने वा आवश्यक हस्तक्षेप पनि नगर्ने प्रवृत्ति दुवै आधुनिक प्रहरीलाई सुहाउने कर्तव्य होइन ।