काठमाडौं उपत्यकाको प्राकृतिक तथा सांस्कृतिक वैभव हेर्दा यहाँका शासक एवं बासिन्दा यस सुरम्य नगरमा बस्न ‘नालायक’ ठहरिने देखिन्छ । रानीपोखरीको पुनःनिर्माणमा गरेको गल्ती कमलपोखरीमा पनि दोहोरिनु यही नालायकीको पछिल्लो उदाहरण हो । पुरातत्त्व विभागले सोमवार काठमाडौं महानगरपालिकालाई परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरेर कमलपोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी निर्माण कार्य सञ्चालन नगर्न निर्देशन दिएर पत्राचार गरेको थियो । विडम्बना, सोमवार राति नै काठमाडौं महानगरपालिकाले कमलपोखरीमा एस्काभेटर लगाएर माटो खन्ने र ट्रकमा हालेर बाहिर ओसार्ने काम गरायो । संयोगले कमलपोखरीको सांस्कृतिक अतिक्रमण भएको सम्पदा संरक्षण अभियन्ताले थाहा पाए । त्यसपछि उनीहरू तत्काल जम्मा भएर थप क्षति हुनबाट जोगाए । सम्पदा संरक्षणमा समर्पित अभियन्ताहरूको जागरूकता र तदारुकता सराहनीय छ । तर, प्रश्न उठ्छ - महानगरपालिकाले सांस्कृतिक, पुरातात्त्विक सम्पदा मासिरहने र केही सचेत नागरिकहरूले जोगाइरहने क्रम कति समय चल्नसक्छ?
रानीपोखरीजस्तै कमलपोखरी पनि भूकम्पका कारण सुकेको होइन । सरकारी उपेक्षा, स्थानीय बासिन्दाहरूको उदासीनता र महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको बेइमानीका कारण कमलपोखरी पनि सुकाइएको हो । काठमाडौं महानगरपालिकाले रानीपोखरीलाई ‘पौडी पोखरी’ बनाउन ठेक्का पनि लगाइसकेको थियो । तर, स्थानीय बासिन्दा तथा सम्पदा संरक्षण अभियन्ताहरूको विरोधका कारण अन्ततः रानीपोखरीको पुरानै स्वरूपमा पुनःनिर्माण भयो । रानीपोखरीमा महानगरपालिकाका पदाधिकारीको मूर्खताले राज्यको करोडौं रूपियाँको क्षति भयो । दुर्भाग्य, रानीपोखरीको गल्तीबाट तिनले केही पनि सिकेनछन् र कमलपोखरीमा त्यही गल्ती दोहोरियो । यसैले कमलपोखरीलाई कंक्रिटको ताल बनाउन खोज्नेहरूको नियतमै शंका हुन्छ । कंक्रिटको ताल बनाउँला आउने कमिसनका कारणमात्र यस्तो अपराध गरेका होलान् कि अरू कुनै कारण पनि होला रु काठमाडौं उपत्यकाको पुरातात्त्विक, सांस्कृतिक र भौगोलिक सम्पदामाथि गरिएको अतिक्रमणले सीमा नाघिसकेको छ । यसमा सबैभन्दा दुःखद पक्ष के छ भने उपत्यकाको सौन्दर्य र सम्पदा ध्वस्त बनाउने काममा जनप्रतिनिधि र सरकारी कर्मचारीसँगै स्थानीय बासिन्दासमेत लागेका देखिन्छन् ।
सांस्कृतिक वैभव र भौगोलिक सुन्दरताका दृष्टिले अतुलनीय काठमाडौं उपत्यकाको सभ्यता विश्वकै प्राचीन र भव्यमध्येको मानिन्छ । नेपाल मण्डलको सभ्यतामा शाह कालमा सुरू भएको अतिक्रमण समयसँगै बढ्दै गयो । पुनःनिर्माण र जीर्णोद्धारका नाममा अज्ञानवश पुराना संरचनाको वास्तु तथा शिल्प नै नबुझी चलाउने काम भयो । त्यस प्रकारको मूर्खताले काष्ठमण्डपजस्तो अद्वितीय सम्पदामा क्षति पुग्यो । यो सबै थाहा पाएर पनि सरकारी कर्मचारी र महानगरपालिकाका जनप्रतिनिधिहरूले पुरानै प्रवृत्ति एवं शैली अपनाउन छाडेनन् । यो सबैभन्दा आपत्ति र चिन्ताको विषय हो । रानीपोखरी जोगाउन वरपरका बासिन्दा र सम्बन्धित वडाका अध्यक्षले देखमएको तदारूकता कमलपोखरी क्षेत्रमा भने नदेखिनु अर्को ठूलो चिन्ताको विषय हो । यस महान् नगरका बासिन्दा हुन नालायक नठहरिने हो भने कमलपोखरी क्षेत्रका स्थानीयहरू नै सम्पदा संरक्षणको महत्त्व बुझेर सजग हुनुपर्छ । कमलपोखरीमा कंक्रिटको हैन सक्कली कमल फूलेमात्र शोभा बढ्नेछ ।