site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महासंघमा फोटो झुन्ड्याउन आएको होइन, काम गरेरै देखाउँछौं

सरकारपछिको सबैभन्दा ठूलो सन्जाल भएको संस्था हो, नेपाल उद्योग वाणिज्य महासंघ । महासंघले शेखर गोल्छाको नेतृत्वमा नयाँ टिम पनि पाइसकेको छ । महासंघभित्रका विभिन्‍न समिति, फोरम पनि सक्रिय भइसकेका छन् ।

गोल्छाको नेतृत्वमा महासंघले के कस्ता काम गर्छ ? कोभिड सिर्जित समस्या र तिनको समाधानको विषय, निजी क्षेत्रको ‘भिजन पेपर’, महासंघभित्रको गुटबन्दी, आर्थिक दिशा, पछिल्लो राजनीतिक घटनाक्रमको सेरोफेरोमा रहेर कुराकानी गोल्छासँग गरिएको भिडियो संवाद । 

महासंघको नेतृत्व सम्हालेको एक महिनाको समयमा कार्यसमितिको बैठक बसेको छ । पदाधिकारीको चारवटा बैठक पनि गरिसकेका छौं । र, धेरै महत्त्वपूर्ण निर्णय पनि गरेका छौं । विशेषगरी भविष्यमा हाम्रो प्राथमिकता, महासंघ चल्ने भनेको नै समितिहरूले हो, सबै समितिहरूको गठन भइसकेको छ । त्यस्तै सबै फोरम पनि बनिसकेको छ । महासंघले पूर्णता पाइसकेको छ । पूर्वअध्यक्षज्यूहरूलाई पनि सम्मानका साथ केही जिम्मेवारी दिएका छौं ।

चुनावको ह्‍याङओभर करिब सकियो

चुनावमा साथीहरू प्रतिस्पर्धा गरेका थिए । चुनाव जितेकाहरूले दम्भ गर्ने र हारेकाले प्रतिशोध गर्ने विषयलाई मेटाउन जरुरी थियो । यो एक महिनाको समयमा धेरै साथीहरूले गुट, उपगुटमा नलागी महासंघलाई नै सर्वोपरी राखेर काम गर्छौ भन्ने सार्वजनिक रुपमै प्रतिबद्धता जनाइसकेका छन् । पदाधिकारीको बैठक पनि सौहार्दपूर्ण रुपमा हुँदै आएको र निर्णयहरू सोहीअनुसार भएका छन् । म आज के भन्न सक्नुभने महासंघमा गुट, उपगुट सकिएको छ ।

चुनावको ह्‍याङओभर सकिन केही समय लाग्ला । त्यो स्वभाविक पनि हो । चुनावको ९० प्रतिशत ह्याङओभर भने सकिसकेको छ ।

सामान्य गुटबन्दी स्वाभाविक

कुनै पनि संस्थामा निर्वाचित व्यक्तिहरू नै सर्वोपरी हुँदैनन् भने विकृति आउनु स्वभाविक हो । अहिले निर्वाचित सबै व्यक्तिहरूले नै महासंघको सबै कामहरू हेरिरहेका छन्, उनीहरूले नै काम अगाडि बढाइरहेका छन् । कुनै संस्थामा हामी यति डटेर लाग्छौं भने त्यहाँ अलिअलि राजनीति हुनु, अलिअलि गुटबन्दी हुनु स्वभाविक हो । कुनै संस्थामा राजनीति हुँदैन भने सायद त्यो संस्थामा कुनै काम पनि हुँदैन । त्यो आधारमा मैले निर्वाचनमा भएको गुटबन्दीलाई नकारात्मक रुपमा लिएको छैन । हामी सबै जना ‘भोलेन्टियर्स’ नै हौं । हामीले यहाँ (महासंघ) बाट लिएर जाने त केही छैन । आफ्नो समुदाय (निजी क्षेत्र) कै लागि केही गर्छौं भनेर नै यहाँ आएका छौं । त्यो आधारमा अलिअलि मनमुटाव हुने, अलिअलि गुटबन्दी हुने स्वभाविक हो । तर, अब यस्तो गुटबन्दी छैन, जहाँ मैले, यो पदाधिकारीले, यो कार्यसमितिले काम नगर्ने कुनै बाहना पाउन सक्छ । स्पष्ट मत लिएर आएका छौं । अब हामीले काम गरेरै देखाउनुपर्छ । बाहनावाजी हामीले गर्न पाउँदैनौं । 

गुटबन्दी नभएको कामबाटै देखिनेछ

गुटबन्दी नभएको र नरहेको कामबाटै देखिन्छ । हामीले समिति, फोरम बनाउँदा पनि एकरुपता देखियो । त्यसले राम्रो संकेत पनि दिएको छ कि हामीबीचमा गुटबन्दी धेरै मात्रामा कम भइसकेको छ ।

मैले एउटा पक्ष लिएर अगाडि बढेको थिए । र, त्यसको कारण महासंघभित्र आएको एउटा विकृतिलाई टाढा पुर्‍याउनु नै मेरो लक्ष्य थियो । हामीले सम्मान गरेर राखेका व्यक्तिहरूले नै पदाधिकारीलाई ‘डोमिनेट’ गर्न थालेपछि उनीहरूलाई महासंघबाट बाहिर राख्नका लागि मैले एउटा गुटलाई सहयोग गरेकै हो । र, यो मैले कुनै राजनीतिक कारणले भन्दा पनि काम गर्नलाई सहज होस्, विकृति समाप्त होस् भन्ने आधारले एउटा शुद्ध मनले गरेको हो । अहिले जुन टिम आएको छ, ती साथीहरूले मेरो मनमुटाव छैन, रिसिइबी छैन, हामी साथीभाइ नै हौं । हामीले एउटै ग्रुप भएर अगाडि बढेका छौं ।

एउटा महत्त्वपूर्ण विषय के पनि हो भने उद्योग वाणिज्य महासंघमा जो आउँछ, निर्वाचन लड्छ, तर हामी कुनै राजनीतिक विचारधारा बोकेर आउँदैनौं । जब राजनीतिक विचारधारा बोक्दैनौं तब हाम्रो एउटै लक्ष्य निजी क्षेत्रलाई सवल बनाउने, अझ सुदृढ बनाउने नै हो भनेपछि हामी किन एउटै समूह बनाएर काम गर्न सक्दैनौ र ? महासंघभित्र गुटबन्दी छैन भन्नको लागि हाम्रो कामले नै देखाउँछ, मैले बोल्दा मात्रै विश्वास नलाग्न पनि सक्छ । हाम्रो कामले महासंघमा गुटबन्दी समाप्त भइसकेको छ । अब काम नगर्ने कुनै बहाना छैन । जुन लक्ष्यका लागि महासंघमा आएका छौं, जुन लक्ष्यका लागि निर्वाचित भएका छौं, त्यो लक्ष्य प्राप्तिका लागि लागिपर्नेछौं ।

विधान संशोधन किन ?

कुनै पनि गतिशील संस्थाहरूमा विधान पनि गतिशील नै हुनुपर्छ । समय, परिस्थिति हेरेर त्यसमा परिमार्जन गर्नुपर्छ । देश संघीयतामा गइसकेपछि महासंघ पनि संघीयतामा जानुपर्ने थियो । त्यसैले गर्दा विधान संशोधन भएको थियो । मुख्य यही कारणले विधान संशोधन भएको थियो । र, अहिले धेरै साथीहरूको मत वरिष्ठ उपाध्यक्ष स्वतः आगामी कार्यकालमा अध्यक्ष हुने भन्ने विषयमा पुनः छलफल गरौं भन्ने छ । त्यसैले विधान संशोधन गर्ने भनेर मैले घोषणा पनि गरेको छु । यसका लागि समिति पनि बनिसकेको छ । विधान संशोधनको प्रयास अगाडि बढ्छ । जुन हाम्रा सदस्यहरू छन्, उनीहरूको मनले चाहेको जस्तो विधान बन्नुपर्छ । व्यक्ति विशेषलाई ‘प्रमोट’ गर्नका लागि वा कुनै आफ्नो निजी स्वार्थको लागि हुनुहुँदैन । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्तिलाई कुनै असर नपर्ने गरी नै विधान संशोधन गर्ने हो । 

जब म वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए त्यसको एक/डेढ महिनाभित्र नै ममाथि षड्यन्त्र भएको थियो । विधान संशोधनका कुरा ल्याइएको थियो । यहाँसम्मको मेरो यात्रा पक्कै सहज थिएन । जुन पीडा मैले सहेको छु, त्यो पीडा अरुलाई दिन्न भनेर नै वरिष्ठ उपाध्यक्षमा निर्वाचित उहाँ (चन्द्र ढकाल) लाई फरक नपर्ने गरी विधान संशोधन गर्छौ भनेर पहिलो कार्यसमिति बैठकमै घोषण गरेको छु । जब उहाँले मत प्राप्त गरिसक्नु भएको छ भने फेरि उहाँलाई असर पर्ने गरी जिस्क्याइ राख्नु पनि उचित हुँदैन । 

विधान समिति बनिसकेको छ । अहिले हामीले प्रयोग गरिरहेको विषय (वरिष्ठ उपाध्यक्ष स्वतः आगामी कार्यकालमा अध्यक्ष हुने) ठीक छ वा छैन भन्ने साथीहरूको राय बुझेर विधान संशोधन गर्दा उचितै होला । अहिले हाम्रो विधानमा यो मात्रै विषय होइन, अन्य धेरै विसंगतिहरू छन् । जसले संगठनको विकासका लागि रोकावट गरेको छ । विधान संशोधन गर्दा गहन चिन्तन नगरी नै गरिएको थियो, त्यसमा धेरै त्रुटि छन् । विधान संशोधन भएपछि महासंघमा भएका विसंगतिलाई फालेर अगाडि बढ्न सक्छौं ।

निजी क्षेत्रको समस्या

स्थिर सरकार आइसकेपछि हाम्रो अपेक्षा बढ्नु स्वभाविक नै थियो । त्यहीअनुसार हामीले काम पनि गरिरहेका थियौं । केही सकारात्मक लक्षण पनि देखिन थालिसकेका थिए । तर, जब कोभिड आयो त्यसले विश्वलाई नै असर पारेको छ । नेपालमा पनि कोरोना आएपछि अब अर्थतन्त्र कतातिर जाने हो ? भनेर डराएका थियौं, विभिन्न शंका गरेका थियौं । लाखौं युवाहरू बाहिरबाट फर्कने, र उनीहरूलाई कसरी काम दिने भन्ने ठुलो शंका हामीमा थियो । शोधनान्तरस्थिति पनि बिग्रिएर जाने हो कि भन्ने प्रश्न पनि उठेका थिए । यहीबीचमा कोभिडको असर कम गर्ने गरी नीति-नियम पनि बनाइएको थियो । तर, तीन महिनाको लकडाउन, एक महिनाको निषेधाज्ञा र अहिलेसम्मको अवस्था हेर्दा सायद जति हामीले सोचेका थियौं, त्यति अर्थतन्त्र प्रभावित भएको छैन । धेरै क्षेत्रहरूमा सकारात्मक सुधारहरू भएका छन् । केही क्षेत्र चिन्ताजनक स्थितिमा छन् । 

पर्यटनसँग सम्बन्धित व्यवसाय अहिले पनि निकै प्रभावित भएका छन्, पर्यटक आउन सकिरहेको छैनन् । त्यसैगरी मिडिया, सिनेमादेखि मनोरञ्‍जन क्षेत्र, खास गरेर साना तथा मझौला व्यवसाय अहिले पनि संकुचित अवस्थामा छन् । कोभिडको यो संकटमा केही सकारात्मक कुराहरू देखिए पनि धेरै क्षेत्रहरूमा काम गर्न बाँकी छ । अहिले हाम्रो प्राथमिकताका यी संकुचनमा परेका क्षेत्रहरूलाई कसरी बाहिर निकाल्न सकिन्छ भन्ने नै हाम्रो लक्ष्य रहेको छ, त्यसको लागि विभिन्न सुझावहरू पनि दिएका छौं ।

पक्कै पनि महासंघलाई गतिशील बनाउनेछौं । निजी क्षेत्रको समस्या समाधानका लागि लागि पर्नेछौं । समग्र निजी क्षेत्रका लागि काम गर्न महासंघमा आएको हुँ । काम नगर्ने कुनै बहाना हुदैन, काम गरेरै देखाउँछौं । महासंघमा फोटो झुन्ड्याउनका लागि आएको होइन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro