site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
 ‘आन्दोलनमा जाने’ विषयमा देउवा-पौडेलबीच चर्काचर्की

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको छ । केन्द्रीय सदस्यहरुले बोल्ने क्रममै बीच-बीचमा सभापति देउवाले हस्ताक्षेप गरेपछि पौडेल र देउवाबीच बैठककै बीचमा घोचपेच सुरु भएको थियो । बैठक सकिँनै लाग्दा सभापति देउवाले आगामी १६ गते देशव्यापी आन्दोलन गर्ने घाोषणा गरेका थिए ।

देउवाको घोषणाले अनर्थ हुने भन्दै पौडेलले मेलमिलापका दिन आफ्ना अन्य कार्यक्रम गर्नुपर्ने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । ती केन्द्रीय सदस्यका अनुसार पौडेलले १६ गते आन्दोलन नभएर मेलमिलाप दिवसको कार्यक्रम गर्नुपर्ने तर आन्दोलन छिटो थाल्नुपर्ने बताएका थिए ।

‘‘सत्तापक्षदेखि विपक्षसम्म सडकमा गइसकेका छन्, हामी प्रमुख प्रतिपक्षले सडक अरुलाई छाडिदिनु हुँदैन,’ पौडेलको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘‘उहाँले आन्दोलन हाम्रो विमति लिएर भोलि पर्सिदेखि नै थाल्नुपर्छ, तर १६ गते मेलमिलाप दिवसका कार्यक्रम अन्य पार्टीहरुलाई पनि सँगै राखेर गर्नुपर्छ ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पौडेलले भोलिदेखि नै आन्दोलन गर्नुपर्छ भनेपछि देउवाले विमति जनाउँदै ठूलो स्वरमा गाली गरेका थिए । ‘‘तैंले भन्‍नेबित्तिकै आन्दोलन हुन्छ, अदालतको आदेश कुर्नु पर्दैन ?’’ भन्दै झपार्ने शैलीमा प्रस्तुत भएका थिए ।

त्यसपछि पौडेलले निर्वाचन आयोग अदालतका विषय प्राविधिक भएको भन्दै कांग्रेसको धारणा के हो भन्ने विषय ती संस्थाले पनि थाहा पाउने गरी कार्यक्रम गर्नुपर्ने बताएका थिए । त्यतिकैमा देउवाले ‘तलाईं जे कुरामा पनि विमति राख्नुपर्ने, मिलेर केही पनि गर्न नहुने ?’ भनेपछि देउवानिकटका केन्द्रीय सदस्यले पौडेललाई घेरेका थिए । त्यसपछि पौडेल पक्षका केन्द्रीय सदस्यहरुले ‘यो के तमासा हो, केन्द्रीय समितिको मर्यादा यही हो ?’ भन्दै प्रश्न उठाएका थिए ।

स्रोतका अनुसार केन्द्रीय सदस्य शंकर भण्डारीले ‘आन्दोलमा कसरी जाने, हामीले बोल्न नपाउने ?, के चाहियो ?’  भन्दै पौडेल नजिक पुगेर औंला ठड्याएका थिए । भण्डारीले औंला ठड्याएपछि ‘कोसँग बोल्दै हुनुहुन्छ, नेतासँग बोल्ने तरिका यही हो ?’ भन्दै अर्का केन्द्रीय सदस्य गुरुराज घिमिले प्रश्न उठाएका थिए ।

यत्तिकैमा महामन्त्री पूर्णबहादुर खड्काले तपाईंहरु दुईजना कोठामा बसेर कुरा गर्नुस् भनेपछि देउवा-पौडेल बाहिरिए पनि शंकर भण्डारी र गुरुराज घिमिरेबीच भने औंला ठड्याएर वादविवाद भएको थियो । नेता शंकर भण्डारीले आन्दोलनमा भोलिदेखि नै जानुपर्छ भनेपछि भनाभन भएको स्वीकार गरे ।

‘‘पौडेलजीले भोलिदेखि नै आन्दोलन गर्नुपर्छ भन्नुभयो, त्यसमा सभापतिजीले पनि ठूलो स्वरमा विमति राख्नुभयो,’’ भण्डारीले भने, ‘‘हामी केन्द्रीय सदस्य बोलेकै छैनौं, पार्टीले धारणा बनाएकै छैन, भोलिदेखि कसरी आन्दोलन गर्ने भनेर मैले विमति जनाएको हुँ ।’’

भण्डारीले देउवा र पौडेलबीचको भनाभन सामान्य भएको भन्दै त्यस्तो धेरैपटक हुने गरेको बताए । ‘‘सभापति देउवा र वरिष्ठ नेताबीच तँ-तँ म-म हुने सामान्य हो, त्यो उहाँहरुबीच सधैंजसो हुने गर्छ,’’ भण्डारीले भने, ‘‘उहाँ भोलिदेखि नै आन्दोलनमा जानुपर्छभन्दा सभापतिबाट विमति आएको हो ।’’

केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने पार्टीले १६ गते आन्दोलनमा जाने विषय ठीक भएन भनेपछि विमिति सुरु भएको जानकारी दिए । ‘‘१६ गते हाम्रो विशेष तिथि हो, त्यसदिन विभिन्न कार्यक्रम गर्नुपर्छ आन्दोलन होइन, आन्दोलन चाँडै सुरु गर्नुपर्छ भन्नुभएको थियो,’’ नेता घिमिरेले भने, ‘‘त्यसपछि सभापतिजी चर्किएर कुरा गर्नुभयो, उहाँ निकटका साथीहरु रामचन्द्र पौडेललाई घेरा हाले औंला ठड्याउँदै जानुभयो ।’’ उनले नेता भण्डारीले ठूलो स्वर गर्दै औंला उठाएपछि यो कस्तो तरिका हो भनेर आफूले विमति जनाएको बताए ।

घिमिरेले त्यसबाहेक केही नभएको बताए पनि भण्डारीले बढी नबोल्नुस् भनेपछि दुई नेताबीच थप भनाभन भएको थियो । उनीहरुको भनाभननजिक रहेका केन्द्रीय सदस्यका अनुसार शंकरले औंला ठड्याएर ‘बढी बोल्ने होइन’  भनेपछि गुरुराजले ‘बढी तपाईं बोल्दै हुनुहुन्छ, सम्हालिनुस् नत्र राम्रो हुँदैन’ भन्ने जवाफ फर्काएका थिए । त्यसपछि शंकरले तँ भनेर सम्बोधन थालेपछि दुवैबीच औंला ठड्याएर रातो मुख पार्दै तँ-तँ म-म चलेको थियो । दुई नेता बैठक हलबाट बाहिरिँदासमेत एक-अर्कालाई औंला ठड्याउँदै निस्किएका थिए ।

कांग्रेसमा अदालतको आदेश नआउँदासम्म केन्द्रीय समिति बैठक सञ्‍चालन गर्ने गरी दैनिक चारजनाका दरले मात्र बोलेर बैठक स्थगित भइरहेको छ । मंगलबार तीनजना बोलेर स्थगित बैठक बुधबार पनि त्यसैगरी टुंगिएको छ ।

राष्ट्रिय विषयमा बोल्दा कसैलाई पनि समय तोक्न हुँदैन भन्दै शंकर भण्डारीले नै बैठक सुरु हुनुअघि नै प्रस्ताव राखेका थिए । त्यसमा ध्यान दिएर बोल्नका लागि पर्याप्त समय दिनुपर्छ भन्दै रमेश लेखकले समर्थन जनाएपछि बोल्ने समय नतोकी बैठक सञ्‍चालन हुँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  २१:२८
प्रतिक्रिया दिनुहोस्