अपेक्षाकृत सफल भ्रमण पूरा गरेर भारतका विदेश सचिव हर्षवर्धन शृंगला हिजो (शुकवार) स्वदेश फर्के । चीनका रक्षामन्त्री वेई फेङ्हे एक दिने भ्रमणमा भोलि (आइतवार) नेपाल आइपुग्दै छन् । विदेश सचिव शृंगलाको भ्रमणले भारत र नेपालबीचको लामो संवाहीनताको अन्त्य गरेको छ । यस्तै चिनियाँ रक्षामन्त्री कोभिडको कहरपछि नेपाल भ्रमण गर्ने सबैभन्दा उच्च अधिकारी हुन् । यी दुवै भ्रमण भारत र चीन दुवै मुलुकले नेपाललाई महत्त्व दिएको उदाहरण हुन् । भारतीय विदेश सचिवको भ्रमणमा सीमा विवादको विषय पनि उठेको बताइएको छ भने विकास निर्माणक थाती रहेका योजनाहरू पूरा गर्न भारतीय प्रतिबद्धतासमेत व्यक्त भएको छ । चिनियाँ रक्षामन्त्रीको भ्रमणबाट पनि केही यता शिथिल प्रायः देखिएको चीनसँगको सहकार्य पुनः थालिने अपेक्षा गर्न सकिन्छ । अब नेपालले आफ्नातर्फबाट सक्रियता देखाएर सहमति कार्यान्वयनमा गति दिनुपर्छ ।
यी दुवै भ्रमण नेपालका लागि सन्तोषका विषय हुन् । साथै, यसले नेपालका लागि कूटनीतिक चुनौती पनि बढाएको छ । भारत र चीन दुवैसँग भूरणनीतिक निकटताका सापेक्षतामा मित्रताको पुनव्र्याख्या गर्नुपर्ने अवस्थामा नेपाल पुगेको छ भने अर्कातिर नेपालको राजनीतिक नेतृत्वले यो चुनौती धान्न सक्तैन कि भन्ने सन्देह देशभित्र व्यापकरूपमा प्रकट भएको छ । साथै, नेपालले भारत र चीनसँगको सम्बन्धलाई दिएको महत्त्वका सापेक्षतामा युरोप र अमेरिकासँगको सम्बन्धलाई उपेक्षा गरिआएको देखिएको छ । त्यस अवस्थामा युरोप र अमेरिकाले पनि नेपाललाई चीन र भारतबीचको सम्बन्धका आधारमा रणनीतिक महत्त्वमात्र दिने जोखिम बढ्छ । पश्चिमसँग पनि सन्तुलित सम्बन्ध कायम राख्न सकेन भने नेपाल भारत र चीनको छायामा पर्नेमात्र हैन बाँकी विश्वबाट एक्लिन पनि सक्छ । यसैले छिमेकीहरूको बढ्दो ‘सद्भाव’ पनि नेपालका लागि चुनौतीपूर्ण हुन्छ ।
केही वर्ष यता नेपालको कूटनीतिक सन्तुलन खलबलिएको छ । विशेषगरी सत्तारुढ दलका नेताहरूको ‘बेला न कुबेला भेनेजुयला’ गर्ने ‘डन किहोटे’ प्रवृत्तिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि अपरिपक्व देखिनथालेको छ । त्यसैले अहिले अमेरिका र युरोपसँग नेपालको सम्बन्ध सम्भवतः इतिहासमै सबैभन्दा चिसो हुनपुगेको हुनुपर्छ । अर्कातिर पछिल्ला केही वर्षमा नेपालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चीनको कम्युनिस्ट पार्टीबीचको निकटता निकै बढेको छ । भारतले केही समय यता नेपालमा आपत्तिजनक कूटनीतिक गतिविधि गरेको देखिएको छैन तर नेकपाको आन्तरिक विवादमा चीनका नेपालस्थित राजदूतको अकूटनीतिक देखिने सक्रियताले राजनीतिक र कूटनीतिक वृत्तमा सन्देह बढाएको छ । चीन वा भारतले नेपालका राजनीतिक दल विशेषसँग अनुचित र अनावश्यक निकटता बढाउन थालेपछि अमेरिका र युरोपेली मुलुकहरूले पनि नेपालमा आफ्नो प्रभाव बढाउने प्रयत्न पक्कै गर्न थाल्नेछन् । त्यस अवस्थामा नेपालमा राजनीतिक गञ्जागोल सुरु हुनसक्छ । यसैले नेपालमा करिब साठी वर्षअघि लागेको एउटा नारा अहिले सान्दर्भिक र मननीय हुने देखिन्छ - ‘ हिन्दी-चिनी भाइभाइ : बाहिरै बस भित्र नआई’ ।