कोभिड—१९ को संक्रमण नियन्त्रण गर्न अपेक्षाकृत सफल मानिएका जापान र दक्षिण कोरियाजस्ता मुलुकमा पनि चिसो बढेसँगै संक्रमण ह्वात्तै बढेको समाचार छ । अमेरिकामा त संक्रमण घट्न सुरु भएकै छैन । युरोपमा पनि कोभिड—१९ को संक्रमणको अर्को लहर देखिएको छ । भारतको अवस्थामा पनि खासै सुधार भएको छैन । संक्रमितको दैनिक संख्यामा घटबढ भइरहेको छ । नेपालका सीमावर्ती प्रान्तहरूमा संक्रमण नियन्त्रण भएको देखिँदैन । नेपाल अपवाद हुने कुरै भएन । संक्रमितको संख्यामा परीक्षणका आधारमा घटबढ हुने गरे पनि अवस्था सामान्य हुनसकेको छैन । यद्यपि, बजार र सरकारी कार्यालयमा भने जनसाधारणले समेत कोभिड—१९ को संक्रमण नियन्त्रित भइसकेको ठानेजस्तो देखिन्छ । यसैले चिसोसँगै संक्रमणको महामारी फैलने जोखिमप्रति सजग हुनुपर्ने देखिन्छ ।
कोभिड—१९ को संक्रमण नियन्त्रणमा सरकारले नागरिकको सहयोगको महत्त्व अहिलेसम्म बुझ्ने प्रयास गरेन । गत २०७६ चैत्रदेखि २०७७ असारसम्म लागू गरिएको बन्दाबन्दी (लकडाउन) को राम्ररी व्यवस्थापन गर्न सकिएको भए नेपालमा कोभिडको संक्रमण धेरै हदसम्म नियन्त्रण गर्न सकिने थियो । जनस्वास्थ्य विज्ञहरूले दिएका सुझावलाई स्वीकार गरेर जनमुखी उपाय र अभ्यास अपनाउनुको साटो सरकारले आफ्ना ‘भारदारी विज्ञ’हरूको सल्लाहमात्र मान्यो । जनताको पीरमर्काको सरकारले ख्याल नगरेपछि जनताले पनि सरकारले अपनाएका उपायहरूलाई स्वेच्छाले पालन गरेनन् । यही कारणले चार महिना लामो बन्दाबन्दी र त्यसपछिका दिनमा सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रण गर्न खोज्दा पनि कोभिड—१९ फैलनबाट रोकिएन । अहिलेसम्म देशमा २ लाख २० हजारभन्दा बढीलाई कोभिड—१९ को संक्रमण भएको र तीमध्ये १ हजार ३ सयभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ ।
व्यापक परीक्षण भएको भए संक्रमितको संख्या पक्कै पनि यसभन्दा बढी हुने थियो । त्यसै संक्रमितकै पनि घरमा मृत्यु भएको र सरकारी अभिलेखमा तिनको संख्या नदेखिएको हुनसक्छ । यसैले संख्यामात्र भन्दा पनि समुदायमा परेको प्रभावका आधारमा अब कोभिड—१९ को संक्रमण नियन्त्रण गर्ने रणनीति अपनाउनु आवश्यक देखिन्छ । विद्यालय खोल्ने निर्णय स्थानीय तहले गर्नसक्ने निर्णय यस दिशामा एउटा सही कदम भएको छ । महामारीले जनस्वास्थ्यप्रति सरकार र समुदायको दृष्टिकोण पनि बदलेको हुनुपर्छ । जनस्वास्थ्यको व्यवस्थापनमा जनता र विशेषगरी स्वयंसेवी सामाजिक संघसंस्थासँग सहकार्य गर्न सकेमा संक्रमण नियन्त्रणका उपायहरू अपेक्षाकृत सफल हुनेछन् । ढिलोचाँडो खोप आउनेछ र कोभिड—१९ को संक्रमण नियन्त्रण हुनेछ भनेर अहिले लत्तो छाड्न मिल्दैन । समुदायमा संक्रमण रोक्न अपनाउनुपर्ने उपायप्रति हेलचेक्य्राइँ बढ्दै गएको देखिन्छ । त्यसले संक्रमण नियन्त्रण गर्न अपनाइने उपाय विफल बनाउने जोखिम बढाएको छ । यसैले समुदायसँग निकट सहकार्य गरेर संक्रमण नियन्त्रण गर्ने रणनीति सरकारले अपनाउनुपर्ने देखिन्छ । जनसाधारणले पनि संक्रमण नियन्त्रण सरकारका लागि होइन भन्ने मनन गरेर कम्तीमा व्यक्तिगत सावधानी र सजगता अपनाउनु अपरिहार्य छ । समुदाय, स्वयंसेवी ससंघसंस्था र सरकारले सहकार्य गरेर संक्रमण नियन्त्रण गर्ने रणनीति अपनाइयोस् ! खोप वितरणका लागि पनि यही सहकार्य प्रभावकारी हुनेछ ।