काठमाडौं । सूर्यबहादुर केसी दाइलाई मोटरसाइकल चलाएर निर्माण व्यवसायी भएर हिँड्दादेखिनै चिन्छु । निर्माण व्यवसायी भएकै बेलामा उहाँ राजनीतिमा पनि आउनुभयो । पञ्चायतकालमा प्रधानपञ्च हुनुभयो । त्यो बेलादेखि नै पोखराको चल्तापुर्जा व्यक्ति हो उहाँ । हामीले उहाँलाई वास्तवमै राम्रो उद्यमीकारुपमा चिन्छौं ।
आफ्नो जीवनकालमा निर्माण क्षेत्रबाट सुरु गरेर धेरै क्षेत्रमा काम गर्नुभयो, लगानी गर्नुभयो ।
निर्माण कम्पनी, राजनीति, रियल स्टेट, पर्यटन, हाइड्रो, बैंकिङ्ग, रारा उद्योगलगात धेरैमा लाग्नुभयो । ट्रेडिङ्गमा लागेको भने मलाई थाहा छैन । उहाँ एक सफल उद्योगी हुनुहुन्थ्यो ।
उहाँ ‘वान मेन शो’ हुनुहुन्थ्यो । यसलाई कमजोरी वा बलियो जे भने पनि हुन्छ । तर मैले त्यसलाई कमजोरी मान्छु । यदी उहाँले ‘वान मेन शो’ नगरेर ‘स्पेशलाइज्ड’ गर्नुभएको भए अझ धेरै माथि पुग्नुहुन्थ्यो । फेरि त्यो उहाँको बलियो पक्ष पनि हो । त्यसैले नै उहाँ यहाँसम्म आउन पनि सफल हुनुभएको हो ।
नेपालमा पहिलो पटक चाउचाउ उत्पादन गर्ने भनेको त्यो बेलामा ठुलो जोखिम मोल्नुभएको हो ।
उहाँ जोखिम लिन सक्ने क्षमता भएको मान्छे हुनुहुन्थ्यो । हामीले माछापुच्छ्रे बैंक खोल्ने निर्णय गरिसकेपछि उहाँ पनि जोडिनुभयो । माछापुच्छ्रे बैंकमा पनि हामीले नै उहाँलाई भित्र्याएका हौँ, जलविद्युतमा पनि मेजोरिटी सेयर बेचेको छु । उहाँमा निकै ठूलो जोखिम लिन सक्ने क्षमता भएको ‘वान म्यान शो’ हो ।
उहाँमा उद्यमी चरित्रजत्तिकै राम्रो राजनीतिक चरित्र थियो । उहाँ व्यवसायिक क्षेत्रमा अगाडि रहनुभयो । चन्दा दिने, सामाजिक क्षेत्रमा सहयोग गर्न अति उत्साहित हुनुहुन्थ्यो । पोखरा आसपासका क्षेत्रमा उहाँले निकै धेरै सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको छ ।
...
राजनीतिमा कांग्रेसमा आउने बेलामा उहाँलाई एमालेले पनि बोलाएको हो । केपी शर्मा ओलीको तहबाटै एमालेमा आउनुहोस्, समानुपातिक दिन्छु भनेकै हामीले बुझेका थियौँ । तर उहाँले कम्युनिष्टमा जाँदिन भन्नुभयो, कांग्रेसमा आउनुभयो । उहाँलाई कांग्रेसमा ल्याउनु मैले पनि प्रत्यक्ष भूमिका खेल्ने अवसर पाएँ । हुन त त्यो बेलामा धेरै कांग्रेसीहरुले विरोध पनि गरे । पञ्चहरुलाई कांग्रेसमा ल्यायो भन्ने कुराहरु पनि गरिए ।
उहाँको एक्स्पोजर उद्यमी हुँदाहुँदै पनि बोल्ने, लेख्ने, सहयोग गर्ने इत्यादी सबै राजनीतिक चरित्र थियो । राजनीतिमा अझै धेरै सफल हुनुपर्ने व्यक्ति हुनुहुन्थ्यो । मन्त्री बन्न सक्ने व्यक्ति हुनुहुन्थ्यो, त्यो हुन सक्नुभएन । तर, उहाँ पोखराको सफल प्रधानपञ्च हो ।
...
उहाँलाई मैले जोखिम लिन सक्ने राम्रो उद्यमीको रुपमा लिन्छु । प्रायः मान्छेहरु उद्यमी बन्न खोज्छन् तर जोखिम लिन सक्ने क्षमता नभएसम्म राम्रो उद्यमी बन्न सक्दैन । तर, उहाँलाई ‘वान म्यान शो’ भयो, त्यो नगर्नुहोस् भन्थें । मैले उहाँका छोराहरुलाई भेटेर यो कुरा भनेको छु ।
बुबाले वान म्यान शो गर्नुभएको हो, बुबाले यति धेरै व्यवसाय जोड्नुभएको छ, सम्पत्ति जोड्नुभएको छ, त्यसलाई व्यवस्थापन मात्रै पनि गर्ने हो भने धेरै क्यापिटलाइज हुन्छ । त्यसैले अब केसी गु्रप राख्ने हो कि वा अन्य के नाम राख्ने हो भनेर मैले आफ्नै भनेर छोराहरुलाई सुझाव दिएको हुँ । त्योबाहेक जोखिम लिन सक्ने, सामाजिक व्यक्ति पनि हो उहाँ ।
यसअघि बिरामी भएर एयर एम्बुलेन्समा भारतमा लगेर उपचार गराएर अर्को नयाँ जिन्दगी लिएर आउनुभएको थियो । निमोनियाँ भएपछि उहाँको बोलिमा केही समस्या भएको थियो । ६३ वर्षको उमेर भनेको धेरै होइन तर उहाँले हामी सबैलाई छाडेर जानुभयो ।
...
रारा चाउचाउको कुरा गर्दा कृष्ण आचार्यको पनि उत्तिकै भूमिका थियो । रारा चाउचाउको कुरा गर्दा कृष्ण दाईको नाम नलिने हो भने उहाँलाई अन्याय हुन्छ ।
अझै पनि रारा चाउचाउ खोजीखोजी किन्छन् । बिक्री राम्रो छ । उपभोक्ताले अहिले पनि रारा नै खोज्छन् । उहाँ धेरै जोखिम लिन सक्ने व्यक्ति भएका कारणले पनि सफल हुनुभएको हो ।
...
हामीसँगको भेटघाटमा बढी राजनीतिक कुरा नै गर्नुहुन्थ्यो । हामी माछापुच्छ«े बैंकमा सँगै बस्यौँ । जलविद्युतमा पनि सँगै छौं । उहाँको व्यवसायहरु भइरहेको हुन्थ्यो । कुराकानी गर्दा बढी राजनीतिक र सामाजिक कुरा नै गर्नुहुन्थ्यो । पैसा नकमाउँदै राजनीतिमा आउनुभएको मान्छे, राजनीतिको नशा थियो । उहाँले मलाई भाइको हिसाबले हेर्नुहुन्थ्यो, मैले आदर गर्दथेँ । हाम्रो सम्बन्ध पनि निकै राम्रो थियो । मसँग बढी सामाजिक र राजनीतिक कुराहरु हुन्थे ।
व्यक्तिगत व्यवहार ‘माइ डियर’ थियो । उहाँलाई गफ गर्नुपर्ने, सुनिदिने मान्छे चाहिन्थ्यो । तर, निमोनिया भएपछि उहाँलाई बोल्न अलि गाह्रो भएको थियो । साथीभाइलाई बोलाउने, खुवाउने, बस्ने, गफ गर्न निकै रमाउने व्यक्ति हुनुहुन्थ्यो । उहाँ एक्लै बस्न सक्ने व्यक्ति नै होइन । गफ गर्दा कसैको कुरा काट्ने बानी थिएन ।
राजनीति उहाँको चासोको विषय थियो तर व्यवसाय गरेर, काम गरेर देश समृद्ध बनाउन सकिन्छ, उद्यम गर्नुपर्छ भन्ने सोंच उहाँमा थियो । त्यो सही पनि थियो । विश्वका समृद्ध मुलुकहरु निजी क्षेत्रको योगदानकै कारण अघि बढेका छन् ।
नेपालमा निजी क्षेत्रलाई कम प्राथमिकतामा राखिएको छ । उहाँमा हामीले नै काम गरेर उद्यम गरेर देशलाई समृद्ध बनाउनुपर्छ भन्ने थियो ।
...
गोरखा भिलेज नाममा ठूलो पाँचतारे होटेल खोल्ने उहाँको इच्छा थियो । पोखरा फुलबारीभन्दा पारिपट्टी निर्माण पनि सुरु गर्नुभएको थियो, तर त्यो अपुरै रह्यो । २ सय रोपनी जग्गामा पाँचतारे होटेल बनाउन लाग्नु भएको थियो, पछि रोक्नुभयो ।
त्यो पाँचतारे होटेलभित्र नेपाली होम, थारु होम, गुरुङ होम...भनेर ठूलो योजनाका साथ निर्माण पनि सुरु गर्नुभएको थियो ।
करिब २५ वर्ष अगाडि १० प्रतिशत निर्माण कार्य त्यो बेलामा सकिएको थियो । अहिले पनि त्यो त्यत्तिकै छ । त्यो परियोजना भने उहाँको अधुरै रह्यो । माओवादी द्वन्द्वकालमा उहाँलाई बढी दुःख दिइयो, त्यसपछि पनि उहाँले होटलमा त्यति चासो देखाउनुभएन ।
उहाँले सुरु गरेर पूरा नभएको भनेको त्यही एउटा परियोजना होला ।
उहाँले धेरैलाई उद्यमी बनाउनुभयो । उहाँसँग संगत गर्ने निर्माण व्यवसायी, एकाउन्टेन्ट, इन्जिनियर आज ठूला व्यवसायी बनेका छन्, सफल छन् ।
पोखराको मुस्ताङ चोकमै घर तलपट्टी लिगेसी भन्ने होटेल छ । अन्य दुई तीनवटा होटल उहाँको अखडा नै हुन्थ्यो । मान्छेहरुलाई भेट्नुप¥यो भने त्यहीँ बोलाउनुहुन्थ्यो । त्यहीँ बोलाउने, खुवाउने, धेरै सोच्नुहुँदैनथ्यो । उहाँले ‘ड्रिंक’ गरेको मैले कहिले पनि देखिन र सुन्दा पनि सुनिनँ ।
...
पोखराका सायदै त्यस्ता क्लब, संघ, संस्था छैनन् होला उहाँले सहयोग नगरेको । सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । मलाई लाग्छ, उहाँले २–४–५ लाख गरेर २० औंँ करोड रुपैयाँ सहयोग गर्नुभयो होला । तर, एकैपटक धेरै रकम सहयोग गरेर अस्पताल बनाउनुभएन । अर्थात् संस्थागत रुपमा उहाँ कम जानुभयो । एकै ठाउँमा धेरै सहयोग गरेको भए देखिन्थ्यो, त्यो गर्नुभएन ।
उहाँले पोखराका हरेक गतिविधिलाई सहयोग गर्नुहुन्थ्यो । वार्षिक १ करोड रुपैयाँ आहा रारा गोल्ड कपका लागि दिनुभयो । त्यसरी सहयोग गर्नुमा उहाँको राजनीतिक चासो थिएन । पोखरालाई स्पोर्टस् टुरिजमको रुपमा विकास गर्नुपर्छ भनेर नै वर्षको १ करोड रुपैयाँ खर्च गर्नुहुन्थ्यो । पोखराको व्यवसायीले एक करोड रुपैयाँ वार्षिक खर्च गर्ने भन्ने सानो कुरा होइन । उहाँ सामाजिक मान्छे हो । जोखिम लिन सक्ने क्षमता भएको राम्रो उद्यमी मात्रै होइन राम्रो सामाजसेवी पनि गुमायौँ ।