site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
प्रधानमन्त्रीकै कारण पार्टीभित्र समस्या उत्पन्न भयो, दुई अध्यक्षले मात्रै समाधान दिन सक्दैनन्

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को किचलो साम्य भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दूरी बढेपछि पूर्वमाओवादी केन्द्रका केही नेता र पूर्वएमालेका पनि केही नेता दुईजना अध्यक्ष मिलाउने कोसिसमा छन् । तथापि दुईजनाबीच संवाद हुन सकेको छैन । बुधबार संवाद हुने भनिए पनि सम्भावना नरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

तर, सचिवालयका अरू नेताहरूको दुईजना बसेर संवाद–सहमतिलाई पार्टीको निष्कर्ष मान्न नसकिने बताउँदै आएका छन् । उनीहरूले बैठककै माग गरिरहेका छन् । दुईजना अध्यक्षको समझदारीमा पार्टी चल्न नसक्ने र समस्याको समाधान पनि ननिस्कने भन्दै पार्टी कमिटीमै छलफलको माग गरेका छन् ।

नेकपाको पछिल्लो विवाद र समाधानमा केन्द्रित रहेर वरिष्ठ नेता झलनाथ खनालसँग बाह्रखरीले गरेको सङ्क्षिप्त कुराकानी :–

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेकपाको विवादमा सचिवालयका धेरै नेताहरूको आवाज सुनिएको छैन, दुई अध्यक्षबीच कुरा नमिलेकाले समस्या देखिएको हो, समग्र पार्टीको अन्तरविरोध होइन भन्ने यहाँहरूको मत हो ?

पत्रपत्रिकामा पार्टीका अन्तरविरोध छारस्ट तुल्याएर, नेताहरूबीच दन्त बझान गरेर केही हुनेवाला छैन । पार्टी नीति र विधिमा चल्छ भने तीनका नेता कार्यकर्ताहरू पनि त्यहीअनुसार चल्नुपर्छ । पार्टी बैठकहरूले जे निर्णय गर्छन्, त्यही निर्णयअनुसार अगाडि बढ्नुको विकल्प छैन । पार्टी कमिटीको बैठक यो बीचमा हुन सकेको छैन । चाँडोभन्दा चाँडो बैठक बस्नुपर्छ । सतहमा अहिले पनि जति पनि अन्तरविरोध देखिएको छ, तिनको समाधान खोज्नुपर्छ ।

बैठककै निष्कर्ष कार्यान्वयन भएन भन्ने यहाँहरूको गुनासो छ, फेरि बैठकको के जरुरत ?

पार्टी कमिटीले गरेका निर्णय कार्यान्वयन गर्नुको कुनै विकल्प छैन । निर्णय कार्यान्वयन गर्न नसक्ने हो भने पार्टीका कुनै पदमा रहन योग्य हुन सकिँदैन ।

तपाईं पनि सचिवालय सदस्य हो । नीति अध्ययन प्रतिष्ठानको प्रमुख पनि । निर्णय कार्यान्वयन गराउने दायित्व यहाँको पनि हो । प्रष्ट भनिदिनुस् न को–को पार्टी कमिटीका निर्णय कार्यान्वयनमा बाधक भए ?

अहिलेसम्म जे निर्णय भएका छन्, प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्णय कार्यान्वयन गर्नु भएन । बैठकले पटकपटक निर्देशन दिएको छ, उहाँबाट त्यसको पालना भएको छैन ।

उहाँले त बैठककै निर्देशनअनुसार सरकार सञ्चालन गरेको बताइरहनुभएको छ, पार्टी सञ्चालनमा बढ्ता भूमिका त अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै छ नि !

पार्टीको नीति, निर्देशनअुनसार सरकार सञ्चालन भएको भए समस्या आउने नै थिएन । पार्टीको मार्ग निर्देशन एकातिर सरकार, अर्कोतिर भयो, त्यसैले समस्या सिर्जना भएको हो । तर, यी विषय पार्टीका एजेन्डा बन्नुपर्छ । बहुआयामिक छलफल गर्नुपर्छ । तब मात्रै निकास निस्कन्छ ।

कतिपय नेताहरूको चाहना दुईजना अध्यक्ष मिलुन् भन्ने छ । उहाँहरूबीच समस्या सिर्जना भएकाले उहाँहरू मिल्नेबित्तिकै समाधान निक्लन्छ भन्ने तर्क पनि गरिरहनुभएको छ, दुईजना अध्यक्षबीचको समझदारीले अहिलेका अन्तरविरोध हल होलान् त ?

दुईजना अध्यक्षको छलफल र सहमति पार्टीको सहमति बन्ने अवस्थाको अन्त्य भइसक्यो । अब त्यो कल्पना नगरौं ।

दुईजना अध्यक्षले छलफल गर्न सक्छन् । कतिपय विषय ल्याउन सक्छन् । तर, निर्णय पार्टीले गर्ने हो । दुईजना अध्यक्षको सोचका आधारमा पार्टी किमार्थ चल्न सक्दैन ।

अहिले प्रयत्न त त्यही भइरहेको छ ?

त्यही कारणले त पार्टी विधिभन्दा बाहिर गइरहेको छ । पार्टी विधि, नीतिमा पो चल्नुपर्छ । दुईजना अथवा तीनजना व्यक्तिको सहमति, इच्छाको आधारमा चल्दैन ।

यस्तै अन्तरविरोध रहिरहे, देखिइरहे चैतमा नेकपाको महाधिवेशन होला त ?

अन्तरविरोधको विधिसम्मत हल गर्न पनि एकता महाधिवेशन अनिवार्य छ । तोकिएकै समयमा हुनुपर्छ । हामीले एकता गरेका छौं, पार्टीको नयाँ कार्यदिशा, नीति, सिद्धान्त, पद्धति, विधान आएको छ, ती सबै कुरालाई अनुमोदन गरेर पार्टीलाई वैधता दिन पनि महाधिवेशन अत्यावश्यक छ । महाधिवेशन गर्ने भनेर कार्ययोजना बनाइसकेपछि तलतल विचारहरू बहस छलफल हुन्छ । त्यसको निचोडले हामीलाई अगाडि बढ्न पनि मद्यत पुर्‍याउँछ ।

नेकपाले एकवर्षदेखि सरकारको कामको समीक्षा गर्न सकेको छैन, यत्रो कोभिडको कहर पनि बैठकको कार्यसूचीमा परेका छैनन्, आवश्यकता नभएको कि, कमिटीले उपेक्षा गरेको ?

महाधिवेशनकै सन्दर्भमा सरकारको कामको समीक्षा पनि हुन्छ । पार्टी कामको समीक्षा हुन्छ ।

तपाईंलेचाहिँ सरकारको कामलाई कसरी मूल्याङ्न गर्नुभएको छ ?

सरकार पार्टीको कार्यदिशा, नीति, सिद्धान्त, आम पार्टीको इच्छा, आकाङ्क्षाअनुसार चल्न सकिरहेको छैन । 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १५:२९
प्रतिक्रिया दिनुहोस्