site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
कोरोना नियन्त्रणबाहिर जाँदैछ, दसैं तिहार पर्खनुपर्दैन 

नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा लगायो तर नियन्त्रणमा आउन सकेन । अहिले बजारदेखि सवारी साधनलगायत सबै खुलेका छन् । भिडभाड बढ्दै गएको छ । चाडपर्व समेत नजिकिँदै छन्  । कोरोनाभाइरस संक्रमणको अवस्था र संक्रमण नियन्त्रणमा किन आउन सकेनलगायतका विषयमा संक्रमण रोग विशेषज्ञ डा.अनुप सुवेदी सँग सञ्जिता खनालले गरेको कुराकानीः 

निषेधाज्ञा खुकुलो भएर जनजीवन सहज बन्दैछ तर कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा छ । यसको सन्तुलन कसरी मिलाउने ?

कोरोना महामारीका कारण अस्पतालहरुका बेड, आईसीयू बेड नपाउने समस्या देखिन सुरु भएको छ । जुन दिनदेखि आईसीयू र भेन्टिलेटर बेड अभाव हुन थाल्छ नि त्यो समयमा अर्थतन्त्र चलायमान हुँदैन । सरकारले हाम्रोमा जसरी निषेधाज्ञा र लकडाउन खुलेका छन् । सबै गतिविधिहरु एकैपटक खुलेका छन् । तर त्यसरी खोल्न हुँदैन थियो । सरकारले विपन्न वर्ग तथा न्युन आय भएका व्यक्तिहरुलाई राहत दिन सक्थ्यो । तर त्यस्तो गर्न सकेन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोरोना महामारीले संसारभरको अर्थतन्त्र कमजोर त बनाएको छ । विकसित देशहरुकै उदाहरण पनि हेर्न सकिन्छ । जुन–जुन देशहरुले अर्थतन्त्र चलयमान बनाउन व्यापार, आगमन, वाणिज्य खोलेका थिए त्यो पनि हेर्नुपर्छ  । 

अर्को केही देशहरुले कोरोना संक्रमण सुरुमै नियन्त्रण गरेका थिए । लकडाउन र निषेधाज्ञा खोल्दा अर्थतन्त्र चाडो अगाडि बढेको देखिन्छ । अहिले पनि राम्रोसँग गति लिएको छ । कोरिया, सिंगापुर र युरोपका देशहरु–जसले राम्रोसँग कोरोना नियन्त्रण गरेका छन् । यी देशहरुले लकडाउन निषेधाज्ञा खोल्न हतार पनि गरेनन् । अन्य देशको तुलनामा अर्थतन्त्र धेरै राम्रो छ । जुन देशहरुले महामारी नियन्त्रण गर्न सकेका छैनन् । तिनीहरुमा दोस्रो चरणको लहर देखिन थालेको छ । महामारी नियन्त्रण नभएसम्म अर्थतन्त्र चलायमान हुँदैन ।

कोरोना न्यूनीकरण र नियन्त्रणका लागि जुन कदम चाल्नुपर्ने थियो त्यो हुन सकेन भनिन्छ नि, हो ?

सरकारले लकडाउन र निषेधाज्ञाको खासै पालना जनतालाई गराउन  सकेन । जुन पालना गर्न नसक्नु भनेको जनतालाई कुनै विश्वास दिलाउन नसकेकै हो । सरकारले कोरोना नियन्त्रणका साना साना बुँदाहरु पनि कार्यान्वयन गर्नुपर्थ्यो । त्यो पनि हुन सकेन । यदि सरकारले राम्रोसँग कोरोना महामारी नियन्त्रण गर्न सकेको भए अहिले अर्थतन्त्र राम्रो बनाउन सक्ने अवस्थामा पुग्थ्यो । विश्वव्यापी रुपमा के भइरहेको छ हेरेर सोहीअनुसार गरेको भए अहिले महामारी धेरै राम्रोसँग नियन्त्रण गर्न सक्थ्यौँ । तर त्यसैमा सरकार चुकेको देखिन्छ ।

सरकारले महामारी नियन्त्रण गर्न अस्पतालहरुलाई जिम्मा दिएको देखिन्छ । सरकारको तर्फबाट केही गर्दैनौँ भनेजस्तो देखिन्छ । यसरी महामारी नियन्त्रण गर्न सकिँदैन । 

सरकारले समुदायस्तरमा संक्रमणलाई फैलन दिनुभएन,त्यसका लागि के काम गर्नुपर्ने हो त्यो गर्नुपर्‍यो । फैलन नदिन बढीभन्दा बढी परीक्षण गर्नुपर्‍यो, उनीहरुको सम्पर्कमा आएकाहरु सबैको राम्रो कन्ट्याक ट्रेसिङ गरेमा थप अन्य कोरोना संक्रमित समेत भेटिन्छन् । तिनीहरुलाई आइसोलेसन वा क्वारेन्टिनमा राखेपछि उनीहरुबाट अन्यमा फैलने डर हुँदैन । 

कोरोना नियन्त्रण गर्न परीक्षण र कन्ट्याक ट्रेसिङ् राम्रो भएमा संक्रमण समुदायमा बढी फैलन पाउँदैन ।

अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दैन । धेरै सिकिस्त बिरामी हुँदैनन् । संक्रमितको संख्या बढन पाउँदैन । अर्थतन्त्र पनि खोल्दै राम्रोसँग लैजान सकिन्छ । तर हाम्रोमा कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्ति खोजिँदैन । यसो गर्दा संक्रमणदर त समुदायमा फैलिदै जान्छ । कोही पनि अछुतो हुँदैन ।
कोरोनाले युवाहरुलाई कम समस्या पार्न सक्ला तर बालबालिका र बूढाबूढी तथा दीर्घरोगीहरुलाई भने अप्ठेरो पार्छ । हाम्रो देशको समग्र स्वास्थ्य संरमचना वा क्षमता हेर्दा विकसित देशमा कोरोनाबाट मृत्युदर कम छ भने हामी ढुक्क हुने अवस्था छैन । 

विकसित देशहरुमा युवाको मृत्युदर कम छ तर हाम्रोमा कोरोनाबाट युवाको मृत्यु हुने दर बढी नै छ ।  यी विभिन्न कारणले गर्दा मृत्यु नहुने व्यक्ति पनि उपचार सेवा नपाएर मृत्युवरण गर्छन् । 

दसैं तिहारजस्ता चाडपर्व नजिकिँदैछन् । सबैजना आ आफ्नो घरमा पुग्दैछन् । विदेशबाट पनि आउँदैछन् यस्तो बेलामा कोरोना नियन्त्रणबाहिर जान सक्ने अवस्था कत्तिको हुन्छ ?

कोरोना संक्रमण नियन्त्रण बाहिर जान दसैँ तिहार पर्खनुपर्दैन । अहिले पनि संक्रमितको तथ्यांक हेर्दा अब चाँडै कोरोना नियन्त्रण बाहिर जाँदैछ भन्ने देखिन्छ ।  यदि हामीले प्रदेश २ मा केही दिनअघि कोरोना संक्रमितको तथ्यांक हेर्‍यौँ भने सो दिन कूल परीक्षणको आधामा कोरोना पोजेटिभ देखिएको थियो । 

यदि त्यो परीक्षणको दर दुईगुणाले बढाएको भए अझै पोजेटिभ दर दुई गुणाले बढ्थे । कम परीक्षण गर्दा त आधामा कोरोना पोजेटिभ देखिनु भनेको त कोरोना नियन्त्रण बाहिर गएको भन्ने हो ।

एउटै प्रदेशमा १ हजारदेखि १५ सयसम्म संक्रमित भेटिने सम्भावना छ ।  हाम्रोमा असाध्यै कम परीक्षण गर्दा पनि कम पोजेटिभ देखिएको हो । अहिले पनि हरेक दिन गरेको कोरोना परीक्षणको रिपोर्टमा १० देखि १५ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ ।  यदि आज गरेको परीक्षणभन्दा भोलि आजको दोब्बर परीक्षण गरियो भने कोरोना पोजेटिभको  संख्या पनि त्यसैअनुसार बढ्न सक्छ ।

कोरोना परीक्षणको मापदण्ड खुम्च्याइएको छ भने कन्ट्याक्ट ट्रेसिङलाई कमजोर बनाइँदै छ यसरी महामारी नियन्त्रणमा आउँछ त ?

कोरोना परीक्षण केहीदिन अघि बढ्न थालेको थियो । अब परीक्षणको दर बढ्यो भन्ने भएको थियो । तर पुनः परीक्षणको दायरा खुम्चिएको छ । कन्ट्याक्ट ट्रेसिङ जसरी हुनुपर्ने हो त्यसरी भएको छैन । सरकार संक्रमित खोज्न कन्ट्याक्ट ट्रेसिङ गर्न नै नपरे हुनेजस्तो गर्छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ नै नगर्ने र क्वारेन्टिनमा नराख्ने हो भने कोरोना अझ फैलने देखिन्छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या अन्य जिल्लाको तुलनाभन्दा बढी छ, अब कसरी घटाउने ?

काठमाडौं उपत्यकामा कोरोना संक्रमित खोज्न परीक्षण बढाउने, व्यापक मात्रामा ट्रेसिङ् राम्रोसँग भएमा कोरोना संक्रमण घटाउन सकिन्छ । तर सरकारले संक्रमित खोज्न परीक्षण र ट्रेसिङ् गर्नुपर्छ भन्ने अठोट नगर्दा घट्नुका साटो बढेको छ ।

कोरोनाबाट बच्न खोज्दा अन्य रोगका बिरामीले समेत उपचार राम्रोसँग पाउन सकेका छैनन् । मनको डर पनि बढी देखियो । कसरी न्यूनीकरण गर्दै लैजानुपर्ला ?

सबै समस्या समाधान गर्न सुरुमा कोरोना संक्रमण नियन्त्रण हुनुपर्छ । अस्पतालमा कोरोना संक्रमितको चाप घटाउने र समुदायमा फैलन रोक्नुपर्छ । 

जस्तै हृदयघात भएका व्यक्तिले पनि समयमा उपचार नपाउने भए । अर्को चिकित्सक र स्वास्थ्यकर्मीहरु संक्रमण भएर घरमा बस्नुपरेको अवस्था बढ्दै गएको छ । जसले स्वास्थ्य सेवामा समस्या आउँछ । सरकारले कोरोना महामारी नियन्त्रण गर्नैपर्छ ।

कोरोना संक्रमणको पिक टाइम कहिले पुग्ला त ?

कोरोना संक्रमणको पिक टाइम कहिले आउँछ ठ्याकै भन्न सकिँदैन । यदि हामीले बेवास्ता गरेमा एक दुई महिनामै देखिन पनि सक्छ ।  अर्को जाडो महिनामा कोरोना अझ फैलने देखिन्छ । रुघाखोकी बढेपछि यो भाइरस पनि धेरै समय बाँच्छ । कोरोना महामारीले हामीलाई वैशाखसम्म नै यतिकै दुख दिने अनुमान गर्न सकिन्छ ।

कोरोना संक्रमण जसलाई पनि हुन सक्छ । अहिले तपाईंले अरुलाई हेयभावले हेर्नुभएको छ । भने भोलिका दिनमा तपाईंलाई पनि कोरोना देखिएमा हेयभावले समाजले हेर्नेछ । त्यसैले कोरोना लागेकालाई फरक व्यवहार गर्नुहुँदैन । संक्रमितलाई दुर्व्यवहार गरेमा कोरोनाको आशंका गरिएका व्यक्ति पनि परीक्षण गर्न जाँदैनन् । जसले महामारी नियन्त्रणमा आउँदैन । यदि तपाईँ महामारी छिटो नियन्त्रण होस् भन्ने चाहनुहुन्छ भने हेयभावले संक्रमितलाई नहेर्नुस् ।

धेरैले एकपल्ट कोरोना लागेको व्यक्तिलाई फेरि लाग्दैन भन्छन् यो कुरामा कत्तिको सत्यता छ ?

सामान्यतया एकपटक कोरोना संक्रमण देखिएको व्यक्तिमा पुनः संक्रमण देखिने सम्भावना धेरै कम हुन्छ । आफु यस्तो अभागी हुन सकिन्छ कि पुनः दोहोरिएर गम्भीर अवस्थामा पु¥याउन सक्छ । त्यसकारण ढुक्क भएर हिँड्ने अवस्था भने छैन । 

सरकारले एन्टिजेन परीक्षण बढाउने चर्चा आइरहेको छ, त्यसले सहि नतिजा दिन्छ ?

एन्टिजेनको परीक्षणबाट अझ मानिसमा द्धिविधा बढाउँछ । अनावश्यक विवाद र आशंका उत्पन्न हुन थाल्छ । जसले चिकित्सकप्रति अविश्वास बढ्छ । यो गुणस्तरहिन परीक्षण हो । यदि सरकारले एन्टिजेनबाट परीक्षण गर्ने सोचेको छ भने त्यो गलत गर्न खोज्दैछ ।

कोरोना संक्रमणबाट बच्न के गर्ने त ?

कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउने, दुरी कायम गर्ने, भिडभाडमा नजाने र बिनाकाम घर बाहिर नजाने नै हो ।  घर बाहिरबाट आएपछि अनिवार्य साबुनपानीले हात धुने  र ह्यान्ड स्यानिटाइजर साथमा बोकेर समय समयमा प्रयोग गर्नुपर्छ ।

तस्बिर : डा. सुवेदीको फेसबुकबाट 


 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १२:१५
प्रतिक्रिया दिनुहोस्