
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) मा रडाको चुलिएको छ ।
पार्टी लेटरहेडको दुरुपयोग गर्दै सह-संयोजक रञ्जित तामाङले २१ बुँदे ज्ञापनपत्र सरकारलाई बुझाएको भन्दै सङ्गठनभित्र विवाद बढेको हो । तर तामाङले विधान उल्लंघन नगरेको र विधि-पद्धति ननाघेको बरु संयोजक ऐन महरले गुटको भेला गरेको भन्दै आफ्नो बचाऊ गरिरहेका छन् ।
गुटगत गतिविधिबाट सुरु भएको सङ्गठनको विवाद अहिले सामाजिक सञ्जालमा पुगेको छ । पुरानो भिडियोलाई माध्यम बनाएर एकले अर्कालाई हिलो छ्याप्ने क्रम पनि बढेको छ । यसै विषयमा बाह्रखरीले तामाङसँग गरेको कुराकानी :
सङ्गठनात्मक एकता पूरा नहुँदै अखिलभित्र रडाको देखिएको छ, विवादको चुरो के हो ?
विवादको आरम्भभन्दा पनि कहाँबाट कुराकानी मिलेन भन्दा बुझ्दा राम्रो होला । एकता प्रक्रिया टुङ्गोमा नपुग्दै पार्टीभित्र अन्तरसङ्घर्ष चल्यो । बुझाइमा विविधता देखियो । पार्टी नेतृत्वमा बहस चले । त्यो कुनै व्यक्तिगत बहस थिएन । पार्टीगत–कमिटीगत बहस नै चलेको हो, सचिवालय, स्थायी कमिटीको बैठकमा ।
पार्टीभित्रको अन्तरसङ्घर्ष कमिटीका जस्ताको तस्तै ल्याउन खोजियो । व्यक्त गर्न गराउन खोजियो । यद्यपि, हामीले पार्टीका दैनन्दिन भएका कुराकानी, सङ्घर्ष, छलफलमा चासो नराख्ने भन्ने त होइन । तर, पार्टीको जुन तहमा र कमिटीमा भइरहेको छ, त्यो तल्लो, जनसङ्गठनको तहमा ल्याउने, अन्तरसङ्घर्ष पैदा गर्ने, विद्यार्थीमा पनि हुबहु लागु गर्ने, छलफल-बहस गराउने प्रयत्न भयो ।
सङ्गठन एकता भएको यत्रो लामो समय भइसक्यो । तर, पूर्वअनेरास्ववियूभित्रको एउटा समूहले संयोजक ऐन महरको नेतृत्वमै भेला गरिसकेपछि कुराकानी नमिलेको हो । सङ्गठनात्मक एकता टुङ्ग्याउने चरणमा थियौं हामी । हाम्रा सामु नयाँ दायित्व, कार्यभार थिए । त्यो निर्वाह गर्ने बेलामा संयोजक गुटगत गतिविधिमा सक्रिय भएपछि एकरूपता भङ्ग भयो ।
भनेको विवादको चुरो नै संयोजक महर बन्नुभयो, उहाँका गतिविधि बने ?
सङ्गठनका कसैसँग परामर्श नगरी एकल रूपमा भेला गर्नुपर्ने वा सङ्गठन, कमिटीभित्रका अरू साथीहरूलाई थाहा नदिईकन, पार्टीमा जसरी छलफल भइरहेको छ त्यसरी बहस गर्नुपर्ने, गुटभेला गर्नुपर्ने जरुरी र आवश्यकता थिए । संयोजक त्यसरी प्रस्तुत भइसकेपछि हामीलाई पार्टी फुटको वातावरण बनाउन संयोजक नै लाग्नुभयो भन्ने पर्यो । त्यसपछि अलि बढी समस्या सिर्जना भएको साँचो हो ।
ऐन महर पार्टी विभाजन गर्ने उत्तोलक नै बन्नुभयो त ?
हाम्रो पुस्ताले पार्टीको एकताको आधारहरूमा टेकेर अघि बढ्ने हो । नेताहरूका बीचमा उचित कार्यविभाजन गर्न, परिस्थितिको ठीक ढङ्गले संश्लेषण गर्न, पार्टीले हिजो निर्वाचनका बखत गरेका वाचाहरू, प्रतिबद्धता पूरा गर्न नेताहरूलाई खबरदारी गर्नुपर्थ्यो । पार्टीको विवाद मिलाउन भूमिका खेल्नुपर्थ्यो । पार्टी एकताको पक्षमा तलतल वातावरण, माहोल बनाउनुपर्थ्यो । विडम्बना, अनेरास्ववियू पार्टी फुटको पक्षमा आफैं गुटको भेला गर्न थालेपछि समस्या सिर्जना हुने नै भयो ।
तर, संयोजक पक्षका नेताहरू त यो कुरा मान्न तयार हुनुहुन्न । केपी ओली नेतृत्वको सरकारको प्रतीरक्षाका लागि अनेरास्ववियू संस्थागत हिसाबले सडकमा नउत्रिएको दाबी गरिराख्नुभएको छ नि ?
यो मात्र होइन । धेरै कुरामा एकल ढङ्गबाट सङ्गठन अनेरास्ववियूको हिजोको विरासतभन्दा बाहिर गएको छ । अनेरास्ववियूलाई शोभा नदिने कतिपय कुरामा सङ्गठन संलग्न भएको छ । सङ्गठनको नाम जोडिएको छ । मुछ्ने प्रयत्न गरिएको छ ।
खासगरी बाबुराम भट्टराईको मानमर्दन गर्न होस् या अरू विषयमा । मेरो त्यतापट्टि खासै चासो छैन । सङ्गठनको संयोजक नै विधान, विधिलाई बेवास्ता गरेर गुटमा सक्रिय हुन थालेपछि विधि-पद्धति कसबाट उल्लंघन भयो ? सङ्गठनभित्र अनेकता, असमझदारी कहाँबाट सिर्जना भयो र एकरूपता र एकताबद्ध ढङ्गले जान सकेन भनेर बहस गरिरहनुपर्ला र ?
समस्या यहीँबाट सुरु भयो । सङ्गठनलाई विधिमा यहीँबाट लैजान सकिएन । अनेरास्ववियू यहीबाट विभाजित हुन थाल्यो । शैक्षिक, राष्ट्रियता र जनजीविकाको सवालमा अनेरास्ववियूको उपस्थिति यहीँबाट कमजोर भयो ।
तपाईंले जसरी सङ्गठनभित्र कसैसँग सल्लाह नगरी, एकपक्षीय ढङ्गले शैक्षिक विषय उठान गर्ने नाममा २१ बुँदे ज्ञापनपत्र बुझाउनु भयो नि, योचाहिँ विधिभित्र पर्छ त ? यो त संयोजककै कार्यशैलीको कपी-पेस्ट भएन र ?
सङ्गठनको संयोजकले नै विधिको बाटो छाडेपछि, पद्धति नाघेर अघि बढेपछि अरूले मानिराख्नुपर्छ भन्नु कहीँ जायज हुन्छ र ? जसले विधान लागु गर्नुपर्ने हो, जसले विधानको संरक्षण गर्नुपर्ने, विधि र पद्धति बसाल्ने हो, उसले नै उल्लंघन गरेपछि अरू मान्नुपर्ने भन्ने हुँदैन । संयोजकले नमाने पनि हुन्छ, अरूले मान्नुपर्छ भन्नु निरङ्कुशता हो । राजामहाराजको शैली हो ।
यो कुराको गम्भीर समीक्षा गर्न आवश्यक छ । पार्टीको फ्र्याक्सनसँग बस्न आवश्यक छ । विद्यार्थीको कमिटीमा बसेर छलफल गर्न आवश्यक छ । असार २३ गतको गुटको बैठकपछि उहाँले कुनै कमिटीको बैठक बोलाउनुभएको छैन । यो कुराको समीक्षा गर्न चाहनुभएको छैन ।
शिक्षा क्षेत्रमा देखिएका यावत् समस्यमा उहाँको कुनै दिलचस्पी छैन । चासो, चिन्ता छैन । अनेरास्ववियूले विद्यार्थीहरूका समस्या बोक्नुपर्छ भन्नेमै उहाँको रुचि देखिँदैन । आफूले गर्दा जे पनि जायज हुने, अरूले त्यही विधि, पद्धतिका कुरा गर्ने कुरा आउँदैन । गम्भीर समीक्षा हुनुपर्छ ।
विवाद कसरी किनारा लाग्ला त ?
पार्टीको विद्यार्थी फाँट हेर्ने हुनुहुन्छ । हामी उहाँहरूसँग बस्छौं । छलफल गर्छौं । हरेक घटनामा कसको कहाँ गल्ती भयो भनेर समीक्षा गर्ने, गल्ती भएका ठाउँहरूमा आत्मआलोचना गर्ने, स्वीकार गर्ने, वा गल्ती भएको छैन, सङ्गठनलाई एकताबद्ध बनाएर लैजान सकिँदैन भने त्यसबारे पनि छलफल हुन्छ । पार्टीको विद्यार्थी हेर्नेले पनि सोच्नुहोला ।
सङ्गठनमा जुनप्रकारको अराजकता, मनपरीतन्त्र सिर्जना गर्न खोजिएको छ, अनेरास्ववियूको एकता प्रक्रिया निष्कर्षमा पुर्याएर शैक्षिक मुद्दामा स्थापित गराउनेभन्दा पनि अन्य ढङ्गबाट सङ्गठनलाई अगाडि बढाउन खोजिएको छ, यसबारे राम्रो समीक्षा नगरी अब हुँदैन । अब पार्टीसँगै बसेर कुरा हुन्छ ।
तर, संयोजकको समूहले त तपाईंमाथि नै कारबाहीको माग गरेको छ । सङ्गठनको दुरुपयोग गरियो भन्ने आरोप छ ?
यस्ता कपोलकल्पित कुरा गरेर केही हुँदैन । त्यस्तो कुरा गर्ने हो भने जसले सबैभन्दा पहिले सङ्गठनमा विधि उल्लंघन गर्यो, कमिटीलाई थाहा नदिई गुटको भेला गर्यो कारबाही उसलाई हुन्छ । हिम्मत छ भने मलाई कारबाही गरेर देखाए हुन्छ । सङ्गठनको विधि-पद्धति मिचेको हुँ भने मलाई कारबाही गर्दा हुन्छ ।
उहाँले मिचेको हो भने उहाँलाई पनि कारबाही गर्ने निकाय छ । यो कुरामा आत्तिनुपर्ने केही छैन ।
अहिले सामाजिक सञ्जालमा एउटा अडियो चर्चामा छ ? यो विषय के हो ?
यो एकता हुनुभन्दा अगाडि कै कुरो हो, दुई वर्षअगाडिको । त्यतिबेला सामान्य विषयमा गलत बुझाइ थियो । सन्दर्भको बारेमाचाहिँ उहाँहरूलाई नै सोध्नुहोला, जसले अहिले मसला बनाइरहनुभएको छ । हिलो छ्यापिरहनुभएको छ ।
अडियोमा जुनपात्रको बारेमा कुरा गरिएको छ, उहाँसँगै बसेर सल्ट्याइसकिएको विषय हो । तर, अहिले जनु मनसाय, मनोवृत्तिका साथ मसला बनाइँदै छ, यो विद्यार्थी आन्दोलनकै घटिया बुझाइ हो । चिन्तन हो । यस्तो निच हर्कतले आमविद्यार्थीका बीचमा भ्रम छर्न र कमजोरी लुकाउन सकिँदैन ।