site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुविचारले दिएको सय वर्ष
SkywellSkywell

नेपाली साहित्यका मूर्धन्य स्रष्टा राष्ट्रकवि माधवप्रसाद घिमिरे असोज ७ गते आइतबार आफ्नो सयौं जन्मदिन मनाउँदैछन् । उनी आम नेपाली जनको मनमा विराजित कवि हुन् । उनको कविताजस्तै उनको व्यक्तित्व पनि सरल छ, सुस्पष्ट छ । शतक आयु टेक्दै गरेका कविवर घिमिरे अनुभवका अजस्र स्रोत पनि हुन् । कर्मशीलता, लगनशीलता र काव्यधारा भरिएका द्रोणाचार्य हुन् उनी, जसबाट हरेक नेपालीले केही न केही पाइरहेका छन् । सिकिरहेका छन् ।

राष्ट्रकवि घिमिरे वि.सं. १९७६ को असोजमा जन्मिए, पश्चिम पहाडी जिल्ला लमजुङकोे पुस्तुन गाउँमा । बाल्यकालमै उनी मातृवात्सल्यबाट टाढिए । आमाको ममताले सिञ्चित गरेको भए के हुन्थ्यो कुन्नि, तर उनलाई आमाको माया र छायाँ दुवै उनमा विद्यमान काव्यस्रोतले दियो । 

उनले ६ वर्ष हुँदा साँवा अक्षर चिने । त्यसअघि नै उनले संस्कृतका श्लोकहरु, विभिन्न स्तोत्रहरु कन्ठ गरेर भट्याउन थालिसकेका थिए । घरमै उनको प्रारम्भिक शिक्षादीक्षा पनि सुरु भयो । उमेर उक्लिएसँगै उनको पढाइ अघि बढ्दै गयो । तत्कालिन परिवेशमा संस्कृत शिक्षाको महत्व बढी थियो । त्यसैले पनि उनले स्थानीय स्कुलमा भर्ना भएर संस्कृत पढ्न थाले । 
किशोर उमेरमै अर्थात् १७ वर्षको हुँदा नै उनी काठमाडौं छिरे । राजधानी भित्रिएसँगै उनको पढाइलेखाइ काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशालामा भयो । उनले संस्कृत अध्ययनलाई निरन्तरता दिँदैगए ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

एक सय वर्षमा टेक्नै लाग्दा उनको मुहारको चमकले हरेकलाई ऊर्जाशील बनाउँदै गरेको अनुभव हुन्छ । असोज ३ गते लैनचौरस्थित उनको निवासमा सहकर्मी सौरभ रानाभाटसँग पुग्दा उनको मुहारबाटै काव्यधारा प्रस्फुटित भइरहेको भान भयो । 

जन्मदिनको चार दिनअघि नै उनलाई जन्मदिनको शुभकामना दिँदा उनको मुहारमा मधुर मुस्कान छायो । उनले  धन्यवाद दिँदै भने, “जीवनको आखिरीमा तँ धेरै बाँचिस् भनेर सुन्नुजत्तिको आनन्द अरु के हुन्छ र ।”

कुराकानीकै क्रममा उनले आफ्नो दीर्घजीवनको रहस्य खोले । उनले दीर्घजीवनको पहिलो आधार सद्विचार भएको बताए । कसैको निन्दा गर्दा निन्दा गर्नेलाई नै असर पार्ने उनको ठम्याइ छ । अरुको निन्दा गर्दा आफ्नै मन कालो हुनसक्छ । तर, अरुलाई राम्रो भनिदिए उसको मनले जे सोचे पनि आफ्नो मनमा खराब विचार प्रवाह नहुने कविवर घिमिरेको तर्क थियो । 

उनी भन्दैथिए, “त्यसको राम्रो असर भनेको मानिसको अनुहारमा फूल फुलेको हुन्छ, जसले मलाई नै फाइदा गरिरहेको हुन्छ । त्यसैले मलाई लाग्छ, हामीले सद्चिन्तन र सद्विचार हरहमेसा राख्नुपर्छ । नचाहिँदो किसिमबाट खराब विचार राख्यो भने आयु क्षीण हुन्छ ।”

राष्ट्रकवि माधव घिमिरेले दीर्घजीवनको अर्को रहस्य पनि उप्काए । त्यो थियो, सिर्जनशीलता । उनका अनुसार हरेक मान्छेले केही न केही गरिरहनु पर्छ । उनले एउटा उदाहरण पनि दिए– कुनै घरमा बूढो ६० वर्षमै पनि बितेको हुनसक्छ । तर उसकी बूढीचाहिँ ९० वर्ष सय वर्ष बाँच्छिन् । किनभने महिलाहरु कुनै न कुनै काममा निरन्तर लागिरहने प्रवृत्तिका हुन्छन् । तिनलाई एकैछिन फुर्सद नहुने राष्ट्रकविको तर्क थियो । केही नभए पनि बिस्कुन सुकाएरै भएपनि व्यस्त रहने बताउँदै थिए । त्यसैले सक्रियता पनि दीर्घजीवनको महत्वपूर्ण आधार भएको उनको भनाइ थियो । 

यसका अतिरिक्त योगले पनि मानिसलाई दीर्घजिवी बनाउने उनले बताए । उनी भन्दै थिए, “हरेक मानिसले मनलाई पवित्र राख्नुपर्छ । श्वासको सिद्धि, मनको सिद्धि र हाम्रो आत्मा, यी तीनैलाई पवित्र राख्न सकेमा हामी धेरै बाँच्छौं । योग त्यही हो । योग भनेको जोडिने हो, छरिने होइन । अर्को कुरो प्रशन्न हुनु, उज्यालो हुनु पनि हो । राम्रो चिन्तन गर्नु पनि उज्यालो हो ।”

अर्थात्, उज्यालोले मानिसलाई दीर्घजीवन प्रदान गर्ने सन्देश उनको थियो । यसै सन्दर्भमा उनले सुनाए एउटा काव्यांश ः
कुन भन्छ नराम्रो छु नजाती कुन भन्छ र 
छ ईश्वर तिमी भित्र सोच रे शिव सुन्दर

अनि भने, सद्विचार यहि हो ।

उनी आफूलाई शौभाग्यशाली ठान्दछन् । पहिलो हो, उनको जन्म गीतै गीतको क्षेत्रमा भयो । जहाँ दिउँसो पनि झरना झरझर बगिरहन्छ । राति नदी सुसाइरहेको हुन्थ्यो । चारैतिर चराचुरुङ्गीहरु गीत गाइरहेका हुन्थे । मेलापातमा काम गर्ने मान्छे मिठो भाका हालेर गीत गुनगुनाइरहेका हुन्थे । यसरी जुनैबेला पनि उनी गीतिभाका र लयमा रमाउँथे । 
उनी भन्छन्, “अर्को कुरो, मेरो जन्म साहित्य कलालाई मनपराउने राष्ट्रमा भयो । किनभने नेपालीहरु कला र कलाकारलाई औधि सम्मान गर्छन् ।”
वास्तवमा आज सारा नेपाली राष्ट्रकवि माधव घिमिरेको सम्मान गर्छन् । यी काव्यमूर्तिलाई नेपालीले मनमनमा राखेका छन् ।

वेद र उपनिषदको अध्ययन गरेका कविवर घिमिरे वेदका ऋचाहरुमा पनि रमाउँछन् । त्यहीबाट अमरताको, सयवर्ष बाँच्ने संकल्पको, प्रत्येक दिन नयाँ सूर्य हेर्न पाउने प्रेरणा लिँदै आएका छन् । 

कुराकानीको क्रममा उनी भन्दै थिए, “पहिलेपहिले हामीलाई कुनै रोग लाग्दा हामीसँग औषधि उपचार थिएन । अहिले रोगसँग जुध्ने सामथ्र्य हामीसँग छ । म नै आन्द्राको रोगबाट जान सक्थेँ । तर औषधि खाएर बाँचेँ । त्यसैले औषधि उपचारले धेरैलाई बचाएको छ ।” 

तनहुँबाट काठमाडाैं आएका माधव घिमिरे थप पढाइ गर्न बनारस पुगे र त्यहीँबाट शास्त्री सिध्याए । उनी भन्छन्, “मैले ग्राजुएट भएर छोडेँ । साथीहरु त आचार्य भए । म शास्त्रीमात्रै भएँ । त्यसपछि सबै कुरा छोडेर म कवितामा लागेँ । धन्न होस् मेरो देश, जसका सबैले मेरो कविता रुचाइदिए ।”

उनको काव्य लेखन बाल्यकालदेखि नै शुरु भयो । उनी १४ वर्षको हुँदा पहिलो रचना पत्रिकामा प्रकाशित भएको पाइन्छ । उनको ‘ज्ञानपुष्प’ शीर्षकको कविता तत्कालिन समयमा गोरखापत्रका छापिएको थियो । आजभन्दा करिब ८५ वर्षअघि नै उनले कवितारुपी पुष्पहार आम नेपालीका लागि प्रस्तुत गरेका थिए । 

उनका कविता जीवनवादी छन् । उनका कवितामा पाठकले आफ्नो जीवनको कथा पाएको हुन्छ । आम मानिसको जीवनसँग अति निकट सन्दर्भ, बिम्ब माधव घिमिरेका कवितामा हुने गरेको धेरैले स्वीकार गर्छन् ।

वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा माधव घिमिरेका कवितालाई चिटिक्क मिलाइएको इँटाको पर्खाल मान्छन् । इँटाको पर्खालमा एउटा इँटा झिक्दा प्वाल देखिने र एउटा इँटा थप्दा उवडखावड देखिने, यो स्थिति उनको कवितामा रत्तिपनि नपाइने जिकिर गर्छन् उनी । 

बनारसबाट पढाइ सकाएर नेपाल फर्किएपछि घिमिरेले वि.सं. १९९९ सालमा भाषानुवाद परिषद्मा जागिर खाए । त्यसबेला उनको मासिक तलब २५ रुपैयाँ थियो । त्यसपछि उनी २००२ सालमा गोरखापत्रसँग जोडिए । 

त्यसउप्रान्त उनी यशोब्रह्म स्कुलको प्रधानाध्यापक बने । २०१४ सालमा रोयल नेपाल एकेडेमीको स्थापना भइसके पछि उनी एकेडेमीको सदस्यका रुपमा प्रवेश गरे । त्यहाँ रहँदा उनले पद्य विभागको प्रमुख, कविता योजना प्रमुख र लोकगीत अनुसन्धान कार्यका क्षेत्रमा पनि प्रमुखको भूमिका निर्वाह गर्दै गए । 

यसै सन्दर्भमा राष्ट्रकवि माधव घिमिरे भन्छन्, “एकपटक अलिकति सोचेँ पनि । एउटा मामुली मास्टरमात्रै भएर बसेको छु । के नै होला र ? तर आखिर एकेडेमिसियन, उपकुलपति, कुलपति र राष्ट्रकविसम्म भएँ । निश्चय पनि मेरो इज्जत राष्ट्रले गरेको छ । आम जनताले मेरा गीतहरु मनपराएका छन् । त्यहाँभन्दा मैले के पाउने ।”

नेपाल प्रज्ञा प्रतिष्ठानमा लामो समय बिताएका उनले नेपाली काव्य साहित्यलाई शिखरमा पुर्याउन आफ्नो तर्फबाट भरमगदूर प्रयासरत रहे । घिमिरे २०३६ सालदेखि ०४५ सालसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेका थिए । 

माधव घिमिरेले यसरी जहाँ रहँदा पनि नेपाली साहित्यको सेवा गरेरै बसे । उनी नेपाली काव्य क्षेत्रका सुयोग्य कवि हुन्, महाकवि देवकोटा र कविशिरोमणि लेखनाथ पौड्याल पछिका । यो बीचमा धेरै कवि आए । ती कविहरुको उत्कृष्टता आफ्नो ठाउँमा होला, तथापि माधव घिमिरेको काव्यकारिताप्रति धेरै नेपाली कायल रहेको कसैबाट लुकेको तथ्य होइन ।
माधव घिमिरेले कविता र गीतमात्रै होइन, गद्य पनि लेखेको वरिष्ठ साहित्यिक पत्रकार शर्मा बताउँछन् । माधव घिमिरको गद्य लेखनका सन्दर्भमा शर्मा भन्छन्, “उहाँका गद्य पनि उत्तिकै राम्रा हुन्छन् । उहाँले लेखेका भूमिका वा अन्य कुनै रचनाहरु पढ्नुस्, त्यहीँबाट थाहा हुन्छ । उहाँ कवितामात्रै होइन, अन्य विधामा पनि आफ्नो कलम अत्यन्तै शक्तिशाली रुपमा चलाउनु हुन्छ ।”

माधव घिमिरेका एउटा कथा संग्रह र समीक्षा लेखहरुको संग्रह पनि प्रकाशित भएको छ । यसले पनि देखाउँछ उनी पद्यमा मात्रै होइन, गद्यमा पनि उनको कलम चल्छ ।
घिमिरेले दुई सयभन्दा बढी गीत लेखिसकेका छन् । उनका अधिकांश गीत आज पनि आम स्रोताको ओँठमा झुण्डिएको छ । चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ होस् वा ‘फूलको थुङ्गा बगेर गयो गंगाको पानीमा’, स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको ‘आजै र राति के देखे सपना मै मरी गएको’ होस् वा अहिलेका युवा कलाकार शिशिर योगीको स्वरमा रहेको ‘सारंगी त रेटे पनि बोल्छ मिठो ध्वनी’ होस्, जुनै गीत पनि अहिलेका स्रोताहरुको ओँठमा गुनगुनाइन्छन् । 

त्यसदेखि बाहेक उनले कैयन् कविता लेखे, कैयन् खण्डकाव्य लेखे, कैयन् गीति नाटक लेखे । ती पनि आज चर्चाको शिखरमा छन् । माधव घिमिरेको गीति नाटक मालती मङ्गलेलाई आज पनि त्यसका दर्शकहरुले भुलेका छैनन् ।

उनले आफ्नी प्रथम पत्नी गौरीको देहावसानपछि गौरी खण्डकाव्य लेखे । त्यो आज पनि पाठकको प्रिय पुस्तक बनेको छ । त्यस अतिरिक्त उनले कैयन् गीत र कविता रचना गर्दैगए । मानिसले पनि उनको गीतमा कविता र उनको कवितामा गीत पाउँदै गए । संगीत र लयमा रमाउँदै गए ।

राष्ट्रकवि घिमिरेका हरेक काव्य रचनाले सर्वसाधारणको मनमष्तिष्कलाई झङ्कृत गरिरहेको हुन्छ । उनका हरेक शब्दले मानिसको कथा बोलिरहेको हुन्छ, सरल भाषा शैलीमा । माधव घिमिरेको काव्यकारितामाथि अनुसन्धान गर्ने साहित्यकार डा. लेखप्रसाद निरौला भन्छन, “माधव घिमिरेका हरेक काव्य प्रकृति र मानव जीवनसँग जोडिएको हुन्छ । उनको अभ्यास र अनुभूतिले नै उनको कवितालाई आम नागरिकहरुको मन मुटुमा बास गराएको छ । उनी मानव जीवनको भित्री तहसम्म पुग्छन्, प्रकृतिको साथसाथै । त्यसैले पनि उनका कविता हरेक मानिसका लागि आफ्नो जीवन कथा भएको छ ।”

केही समय पूर्व कविवर घिमिरेले गद्य कविता कविता नभएको टिप्पणी पनि गरे । यो टिप्पणीको व्यापक चर्चा र आलोचना पनि भयो । यसै विषयमा उनीसित कुरा उठाउँदा कविवर भन्दै थिए, “कतिलाई त्यसले पर्यो पनि होला । तर गद्य कविताको बयान मैले पनि गरेको छु । गरेको छैन भन्ने होइन । लक्ष्मीप्रसाद देवकोटाको, गोपालप्रसाद रिमालको पनि प्रशंसा मैले गरेको छु । तिनका गद्य कवितामा लय पनि भेटिन्छन् । त्यसैले त्यो मनपराउँछु । मैले कस्तो गद्य कविता मन नपराएको हो भने छेउ न टुप्पोको कविता । त्यस्ता कवितामा अविष्मरणीय कुरा केही हुन्नन् । त्यस्ता कविता मैले रुचाउन्न । वास्तवमा हामीले जे पायो उसैलाई कविता भन्न थाल्यौं भने कविताको समाज बिग्रिएर जान्छ । उनीहरुले अलिकति मन नपराए पनि तिनीहरुलाई भन्नुपर्छ । तिमीहरु राम्रो बाटोमा लाग । गद्य कविता लेख्छौ भने लक्ष्मीप्रसादको जस्तो, गोपालप्रसाद रिमालको जस्तो लय भएको लेख भन्नैपर्छ । कविता पढ्न थाल्दा मानिसलाई राम्रो रहेछ भन्ने होस् । हैन, जथाभावी लेखेर कविता हुँदैन ।”

लामो समयदेखि कविवर माधव घिमिरेसित आफ्नो आत्मिय सम्बन्ध रहेको बताउने नगेन्द्रराज शर्मा उनको काव्य परिमार्जन शैलीको प्रशंसा गर्छन् । उनी भन्छन्, “माधव घिमिरे त एउटा कविता ५० पल्टसम्म पनि परिमार्जन गर्छन् । त्यसैले थोरै लेखे पनि राम्रो लेख्ने कवि हुन् उनी । वास्तवमा माधव घिमिरे कविताका कलाकार हुन् । कुनै प्रस्तरकलाका शिल्पीले पत्थरलाई कुँदीकुँदी एउटा सुन्दर आकृतिमा ढालेझैं कवितालाई पनि त्यस्तै सुन्दर र पठनीय बनाउन कुँदेर चिटिक्क सिँगार्ने काव्य शिल्पी हुन् । मलाई थाहा भएसम्म उनी आफ्नो अर्को महाकाव्य ‘ऋताम्भरा’ को सम्पादनमा व्यस्त छन् पछिल्लो समय । सायद त्यो अन्तिम अवस्थामा छ । मैले पनि कतिपय श्लोक सुनेको थिएँ उनका मुखारबिन्दबाट ।”

राष्ट्रकवि माधव घिमिरेसित भेट हुँदा उनको यसै महाकाव्यका विषयमा पनि कुरा भयो । उनी यसलाई आफ्नो हर्षको कुरा पनि र विषादको कुरा भएको बताउँदै थिए । उनका अनुसार उनले ‘ऋताम्भरा’ सक्न पाएको भएदेखि यसबारेमा कसैले उनलाई सोध्ने थिएनन् । तर बितेको पाँच वर्षदेखि यसलाई सक्छु सक्छु भन्दाभन्दै पनि सकेका छैनन् । 
घिमिरे भन्दैथिए, “एकचोटी म बारीमा टहल्दा बजारिएँ । शीरदेखि पाउसम्म पसिना आयो । त्यसअघि म भावनात्मक थिएँ । त्यसपछि भने म तार्किकजस्तो भएँ ।  विचार गर्न थालेँ । विचार र भावनामा फरक हुन्छ । भावना भनेको प्रेम हो, विचार भनेको तर्क हो । भावना हृदयको कुरा भयो भने तर्कना मष्तिष्कको कुरा भयो । त्यसैले त्यसको काम रोकें ।”
‘ऋताम्भरा’लाई चम्काउने क्रममा हृदयभन्दा चिन्तन पक्ष बढी हावी हुन थालेपछि उनले केही समय पर्खिए । तर पनि सय वर्ष मनाउनु अघि यो महाकाव्य सिध्याउने उनको विचार थियो, जुन सकिएको छैन । 

उनी भन्छन्, “मेरो सास त्यहीँ अड्किएको छ । भगवानको इच्छा भयो भने म सक्छु ।”   राष्ट्रकवि माधव घिमिरेले अनगिन्ती पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरिसकेका छन् । उनको उचाइमा अरु कोही पुग्नै नसक्ने अर्का साहित्यकार श्रीओम श्रेष्ठ रोदन बताउँछन् । नेपाली सेनाले गत वर्ष राष्ट्रकवि घिमिरेलाई मानार्थ रथीबाट सम्मानित गरेबाट पनि यो कुराको पुष्टि हुन्छ ।

वास्तवमा माधव घिमिरेको नाम र कर्म नै यति अग्लो छ, जसका अगाडि साराका सारा मानसम्मान होचा लाग्छन् । 

(सन्दर्भ स्रोत : विभिन्न पत्रपत्रिका)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  २०:१९
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro