site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
१५ किलो नक्कली सुन र पेस्तोल बोकेको गाडीमा को थिए ?  कसरी फुत्कियो सिंहदरबारको मुखैबाट ?
SkywellSkywell

काठमाडौं । काठमाडौंको व्यस्त चोकमध्येको एक हो कृष्ण पाउरोटी चोक ।  नजिकै छ प्रहरी प्रधान कार्यालय भने अर्कोतिर छ सिंहदबार ।  सोही व्यस्त चोकमा मंगलबार बिहान करिब ८ बजे बा ६ च ५५१९ नम्बरको स्कोर्पियो अघि बढ्दै थियो । 

प्रहरी स्रोतले दिएको जानकारीअनुसार उक्त गाडीलाई सादा पोशाकमा रहेका प्रहरीले पिछा गरिरहेको थियो । उक्त गाडीलाई कृष्ण पाउरोटी चोकमा पनि रोक्न नखोजिएको होइन । रोक्न खोज्दाखोज्दै गाडी अगाडि बढ्यो । गाडी कताबाट आएको थियो भन्ने प्रहरीले खुलाउन चाहेको छैन तर उक्त गाडी बीचको बाटोबाट दरबारमार्गतर्फ अघि बढ्यो । 

प्रहरीका अनुसार उक्त गाडी कमलादीमा रहेको नबिल बैंकको नजिकैबाट अघि बढ्दै थियो । गाडीबाट सेतो रङको कपडाको झोला बाहिर फालियो । गाडी अघि बढ्यो । सादा पोशाकमा रहेका प्रहरीले उक्त झोला फेला पारे । सोही झोलामा १५ किलो सुन र दुई थान चाइनिज पेस्तोल पनि रहेको प्रहरी स्रोतले सञ्चारमाध्यमलाई जानकारी गरायो ।

KFC Island Ad
NIC Asia

काठमाडौंमा १५ किलो सुनसहित हतियार फेला पारेको र आफूहरु परीक्षणको क्रममा रहेको प्रहरी स्रोतले जानकारी गराएपछि सञ्चारमाध्यममा उक्त समाचार प्रकाशित र प्रशारण भयो । तर महानगरीय प्रहरी परिसरले दिउँसो गरेको पत्रकार सम्मेलनमा आधा किलो मात्रै सुन रहेका बाँकी साढे १४ किलो सुनको जलप लगाइएको चाँदीमात्रै थियो ।

काठमाडौंको व्यस्त सडकमा रहेको गाडी पनि फेला नपर्नु, पहिले सुन भनिएको वस्तु चाँदी भएको भन्दै पत्रकार सम्मेलन गरिएपछि प्रहरीको नेतृत्वसम्मले यो विषयमा चासो देखायो । घटना केही शंकास्पद रहेको भन्दै प्रहरीले बुधबार छानबिन समिति पनि बनाएको छ ।

समयमै भएन अरु प्रहरीलाई खबर

प्रहरीले गाडी बा ६ च ५५१९ नम्बरको स्कोर्पियो भएको बताएको छ । बिहान ८ बजे घटना भएको भनिए पनि ट्राफिक प्रहरीलाई ९ बजेमात्रै गाडीबारे जानकारी गराइयो ।  एकघण्टासम्म त्यो गाडी कहाँ पुग्यो भन्नेबारेमा चासो र सोधिखोजी भएन । प्रहरीका एक उच्च अधिकारीका अनुसार यहाँनेर शंका गर्नुपर्ने ठाउँ के छ भने प्रहरीले पत्रकार सम्मेलनमा भनेको गाडी नम्बर र ट्राफिक प्रहरीलाई टिपाएको गाडी नम्बर फरक छ ।

प्रहरी परिसरले महानगरीय ट्राफिक महाशाखालाई टिपाएको नम्बर थियो–बा ६ च ५५११ । एकघण्टापछि टिपाइएको गाडीको ‘लोकेसन’ ट्राफिकले पत्ता लगाउन सकेन ।

ट्राफिक प्रहरीका एक अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “समयमै खबर भएको भए ५ मिनेटमै गाडी नियन्त्रणमा आउन सक्थ्यो । हामीले सो क्षेत्रमा ५ मिनेटमात्रै गाडी होल्ड गरेको भए गाडी रोकिन्थ्यो । भाग्न पाउँदैनथ्यो । तर खबरै एकघण्टा ढिलोगरि आयो । खबरै ढिला भएपछि हामीले के गर्न सक्छौं र ?”

गाडी नम्बर किन फरक पर्‍यो वा हतारमा टिपाउँदा फरक पर्‍यो भन्नेबारेमा परिसरका प्रहरी मौन छन् । अर्कोतिर महानगरीय अपराध महाशाखालाई पनि घटनाबारे जानकारी दिइएन । जघन्य प्रकारका घटनामा महाशाखाको पनि सहयोग लिने गरिन्छ । महानगरीय प्रहरी कार्यालयबाट सेटमा जानकारी गराउने हो भने एकैचोटी उपत्यकाका सबै युनिटमा त्यो खबर प्रेषित हुन्छ तर त्यसो पनि गरेको नदेखिएको एकजना उच्च प्रहरी अधिकृत बताउँछन् ।

को थिए त गाडीमा ?

आखिर त्यो गाडीमा को थिए त ? उनीहरुको योजना के थियो ? प्रहरीले बरामद गरेका हतियार अत्यधुनिक प्रकृतिका रहेका छन् । उनीहरुको लुटपाटकै योजना देखिए पनि त्यो गाडीमा उनीहरुले फालेको धातु र पेस्तोलमात्रै थियो कि अरु केही पनि यसबारे प्रहरीभित्रै हल्लीखल्ली छ ।

एक प्रहरी अधिकारीका अनुसार गाडीमा चारजना थिए । प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको बा ६ च ५५१९ नम्बरको गाडीमा हतियार र धातुबाहेक अरु केही थियो वा थिएन खुल्न सकेको छैन । तर सो गाडी एक महिलाको नाममा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर त्यो गाडी उनैले प्रयोग गर्थिन् वा अरुले गर्थे खुलेको छैन ।

नक्कली नम्बरको आशंका

प्रहरीले चेकप्वाइन्ट राखेर कृष्ण पाउरोटी चोकमा जाँच गरिरहेको थियो । गाडी उम्कियो तर त्यसको खबर किन माथिल्लो निकाय र अन्य प्रहरी कार्यालयमा समयमै गरिएन ? महानगरीय प्रहरी परिसर काठमाडौंकै एक अधिकारीको भनाइलाई आधार मान्ने हो भने गाडीको पिछा गर्नेमा सादा पोशाकका प्रहरी मात्रै थिए ।

सादा पोशाकमै रहेका प्रहरीले त्यो गाडीलाई कृष्ण पाउरोटी चोक नजिकै रोक्न खोजेका थिए । तर गाडी रोकिएन । केही अघि पुगेपछि गाडीभित्रबाट झोला बाहिर फालियो । त्यसपछि गाडीको पिछा गरेको नपाइएको प्रहरीकै उच्च अधिकारी बताउँछन् । त्यहाँ भनिएको गाडी नम्बर सही हो या नक्कली भन्ने खुल्न सकेको छैन । प्रायःजसो अपराधका घटनामा गाडीमा नक्कली नम्बरको प्रयोग गरिने भएकाले यो घटनामा पनि प्रहरीले भनेको नम्बर नक्कली हो कि भन्ने आशंका छ ।

टेकुबाट गायब भयो गाडी !

एक अधिकारीका अनुसार सो बा ६ च ५५१९ नम्बरको गाडी टेकुबाट गायब भएको पाइएको छ ।  कृष्ण पाउरोटीबाट टेकुसम्म पुग्दा पनि गाडीबारे किन खबर भएन ? प्रहरी अधिकारी घटनाबारे स्पष्ट बोल्न खोज्दैनन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुनिलकुमार यादव घटनाको अनुसन्धान जारी रहेको बताउँछन् । 

उनले भने,“छिट्टै केही आउला । अनुसन्धान हुँदैछ । प्रहरीले नै हेर्दैछ ।”

गाडी नै नभेटिन सक्छ !

प्रहरीकै एक अधिकारीका अनुसार प्रहरीले दाबी गरेको त्यो गाडी नै नभेटिन पनि सक्छ । 

समयमै उनीहरुलाई नियन्त्रणमा लिन नसक्दा गाडी भेट्न मुस्किल पर्न सक्छ । ती अधिकारी भन्छन्,“गाडीमा वास्तविक नम्बर नभएको रहेछ वा रहेछ भने पनि गाडी भेट्न मुस्किल पर्न सक्छ । किनभने गाडी ग्यारेजमा हालेर सबै पुर्जा खोलेर यत्रतत्र हुन सक्ने सम्भावना छ । त्यसैले यो घटनाको रहस्य सजिलै बाहिर आउने सम्भावना कम छ ।”

काठमाडौंजस्तो सुरक्षा संवेदनशिलता भएको स्थानमा भएको यो घटनाले कयौं आशंका जन्माएको छ ।

छानबिन समिति गठन

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । समितिमा एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डीएसपी राजकुमार केसी छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro