‘समृद्ध नेपाल’को नारा बोकेर अगाडि बढेको भनिएको नेपाल सरकारले विद्यालय शिक्षाको पाठ्यक्रममा पनि परिवर्तन गर्न लागेको छ । आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी तयार पारिएको पाठ्यक्रममा गणित विषयका विद्वान्लगायत अन्य विषयका विद्वान्हरूले भने गणित विषयको कक्षा ११ र १२ को पाठ्यक्रमगत संरचनामा असुन्तुष्टि प्रकट गरेका छन् । विशेषगरी नेपाल गणित समाज, गणित केन्द्रीय विभाग, विज्ञान संकायअन्तर्गत रहेका विभिन्न विज्ञान विषयका केन्द्रीय विभागहरू, अर्थशास्त्र केन्द्रीय विभाग, व्यवस्थापन संकाय केन्द्रीय विभागलका लगायत अन्य विशिष्ट विद्वान्हरूले पाठ्यक्रम विकास केन्द्रको यो पाठ्यक्रमगत संरचनाप्रति आपत्ति जनाएका थिए । यसरी चौतर्फी विरोधपछि पछिल्लो चरणमा पाठ्यक्रम विकास केन्द्रले यस सम्बन्धमा जाँचबुझ गरी रिर्पोट दिन एउटा समिति गठन गरेको थियो ।
पाठ्यक्रम विकास केन्दको त्यस कदमको उद्देश्य विरोधमा देखिएका स्वरहरूलाई स्थगन गर्ने भए पनि वा साँच्चीकै प्रतिवेदन सहीरूपमा संकलन गरी लागू गर्ने जे भए पनि हामीले सकारात्मक ठानेका थियौँ । पाठ्यक्रम विकास केन्द्रलाई त्यस समितिले कस्तो प्रतिवेदन दियो भन्ने थाहा त भएन तर सरकारले त्यो प्रतिवेदन पनि सार्वजनिक गर्न चाहिरहेको छैन । त्यसैबाट समेत यो सरकार जसरी पनि गणित हटाउने प्रयासमा लागेको स्पष्ट हुन्छ । जेहोस्, ढिलै भए पनि सरकारमा रहनेहरुको बुद्धि फिरेमा एउटा पुनर्निवेश बनोस् भन्ने उद्देश्यले यो लेख तयार गर्ने जमर्को गरेको छु ।
कुनै पनि विषयको गहिराइ, गाम्भीर्य, महत्त्व बुझ्न त्यसको इतिहासदेखि वर्तमानसम्मको ज्ञान आवश्यक हुन्छ । त्यसैले यस लेखमा विशेषगरी आदिकालदेखि हालसम्म गणित विषयलाई कसरी लिइन्थ्यो र लिइरहिएको छ भन्ने त्यस समयका विशिष्ट विद्वान्हरूको भनाइको आधारमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
सम्बन्धित इतिहास, त्यस विषयका विशिष्ट विद्वान् र समकालीन अन्य विद्वान्हरूको लेख, विचार र विमर्शबाट कुनै पनि विषयको महत्त्व प्रकट हुन्छ । त्यसले त्यस विषयको उत्पत्ति, विकास अनि विनाश पनि कसरी हुन्छ भन्ने ज्ञानको सूचना दिन्छ । फलस्वरूप, त्यसका बारेमा भविष्यको योजनाको लागि निर्णय लिन सजिलो हुनेछ ।
प्राचीन कालदेखि आधुनिक कालसम्म जति पनि ज्ञान, सभ्यता र शिक्षाको विकास भयो यसको आदीम स्रोत हिन्दुहरूको मूल धार्मिक ग्रन्थ वेद नै मानिन्छ । प्रसिद्ध विद्वान् मनुले वेदका बारेमा भनेका छन्— “भूतं भव्यं भविष्यं च सर्व वेदात्प्रसिद्धयति” अर्थात् भूत, वर्तमान र भविष्यमा वेदको महत्त्व थियो, छ र रहिरहने छ ।
चार वेदमध्ये ऋग्वेदमा उल्लेख भएको (१७ औं अध्यायको दोस्रो श्लोक) “तल्लक्षण” अर्थात् १० को घात अंक १२ अर्थात् १०१२ र त्यस्तै गणितको गुणा सम्बन्धमा उल्लेख भएको “त्रिस्रश्च मे”, “चतुस्चत्वारिम्सश्च मे” आदिले गणितको महत्त्व आदिम कालदेखि देखापरेको र सोही सभ्यताले आजको समाजलाई यहाँसम्म डोर्याउँदै ल्याइपुर्याइएको प्रशस्तै प्रमाण भेटिन्छन् ।
अस्ट्रियन स्टफेन वानाचले गणितको इतिहास सम्बन्धमा भनेका छन् —मानिसको उत्पत्तिसँगै गणितको विकास भएको देखिन्छ । उनले भनेका छन् — गणित सिर्जनशील मनोभावलाई सबल र सशक्त बनाउने विज्ञान हो ।
इसापूर्व नै खगोलशास्त्र, ज्योतिषशास्त्र आदिको विकास भइसकेको हामीसँग प्रशस्तै प्रमाण छन् । त्यही शास्त्रको आधारमा आधुनिक विज्ञानले संसारलाई चामत्कारिक योगदान गर्न सकेको छ । त्यसैले गर्दा अहिले संसार चरम आधुनिक युगमा प्रवेश गरेको कल्पना गरिन्छ । वेदका विभिन्न अंगहरूमध्ये ज्योतिषशास्त्र वेदको चक्षु (आँखा) मानिन्छ । ज्योतिषशास्त्रमा गणितको महिमा यस्तो देखिन्छ—
“यथाशिखा मयूराणां, नागानां मणयो यथा ।
तद्वद् वेदाङ्गशास्त्राणाम् गणितं मुध्र्नि स्थितम् ।।”
अर्थात् जसरी मयुरको सिउर, नागको मणि शीर्ष स्थानमा हुन्छ त्यसैगरी वेदाङ्गमध्ये गणितशास्त्र पनि अग्रभागमा हुन्छ ।
यसैगरी सूर्य सिद्धान्त (आर्ष), श्लोक–१ मा उल्लेख श्लोकमा गणितको बारेमा लेखिएको छ —
“अचिन्त्याव्यक्तरूपायनिर्गुंणाय गुणात्मने ।
समस्तजगदाधारमूर्तर्यै ब्रह्मणे नम ।।”
अर्थात् अचिन्त्य, अव्यक्त, निर्गुण भई गुणयुक्त सम्पूर्ण जगतको आधाररूप ब्रह्मस्वरूप गणितलाई नमस्कार छ ।
यसैगरी पश्चिमी सभ्यतामा हुर्किएका विद्वान्हरूले पनि गणितको महत्त्वका बारेमा उल्लेख गरेका कुराहरू यहाँ प्रस्तुत गर्न प्रासाङ्गिक हुनेछ । प्रसिद्ध फ्रेन्च विद्वान् तथा कुशल प्रशासक नेपोलियन भन्छन्— अर्थात् गणितको सुधार, विस्तार तथा विकास राष्ट्रको समृद्धिसँग जोडिएको हुन्छ । गणितका बारेमा स्विस मनोविद् जिन पियाजेट भन्छन्— तर्कशास्त्र र गणितशास्त्र विशेष केही नभएर आफैँमा एउटा भाषिक प्रणाली हुन् ।
ब्रिटेनका प्रसिद्ध विद्वान्, दार्शनिक, इतिहासकार, राजनीतिक विश्लेषण, लेखक व्रर्टान्ड रसेल गणितको बारेमा भन्छन् — गणितलाई सही तरिकाले हेर्ने हो भने यसमा सत्यता मात्र नभएर आफँैमा एउटा आकर्षक सुन्दरता छ ।
गणितको महत्त्वको बारेमा कोलम्बिया युनिभर्सिटीका प्रोफेसर रिकार्ड स्ट्रैट हेमिल्टनले व्यक्त गरेको भनाइ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । उनले भनेका छन् — गणितको अध्ययनले ध्यानलाई सजगताका साथ निरन्तर कुनै पनि विषयमा एकाग्रता सिर्जना गर्न मद्दत गर्छ ।
माथि उद्धृत गरिएका भनाइहरूले गणितको महत्त्व मानव जीवनमा कति छ र यसले देशको समृद्धिमा कसरी टेवा पुर्याउन सक्छ भन्ने बुझिन्छ । यो विषयको महत्त्व, योगदान, गहिराइ नबुझी हल्का ढंगले ग्रहण गरियो भने त्यो विषयमाथि मात्र हैन सम्पूर्ण विद्यार्थी, अभिभावक, समाज र देशमाथि नै अन्याय हुन पुग्छ । त्यसैले नेपालको विद्यालय शिक्षाको पाठ्यक्रम निर्माण गर्दा पाठ्यक्रम निर्माणकर्ताहरूले तल उल्लेख गरिएका बुँदाहरूलाई ख्याल गर्नु जरुरी छ ।
१. कुनै पनि विषयवस्तुको ज्ञान हासिल गर्न, ज्ञानको अवस्थालाई सुधार्न निश्चित प्रकारको तालिम र अभ्यासको जरुरत पर्छ । यो तालिम र अभ्यास गराउने मुख्य स्रोत गणित शिक्षण तथा गणितको समस्याको समाधानको अभ्यास हो । गणितको अध्ययनले बौद्धिक क्षमता वृद्धि गर्न, तार्किक क्षमता अभिवृद्धि गर्न, सत्यताको प्रमाणीकरण गर्न, विद्यार्थीमा आलोचनात्मक चेत र सिर्जनात्मक सीपको विकास गर्न, गणितबाहेकका अन्य विषयको अध्ययनलाई समृद्ध तुल्याउन तथा विद्यार्थीलाई कुशल र सिर्जनशील बनाउन सहयोग गर्ने हुनाले गणित विषय हरेक क्षेत्रको समृद्धिको द्योतक हो ।
२. गणित विषय शिक्षण भनेको पाठ्यपुस्तकमा अभ्यासका लागि राखिएका समस्याहरू समाधान गर्नुमात्र होइन । बरु ती समस्याहरू जीवनको कुन तह र समयमा कसरी जीवन उपयोगी बनाउन सकिन्छ भनेर खोजी गरी व्यवहारमा उतार्नु पनि हो ।
३. पढ्ने र पढाउने बेलामा सजिलो विषयको मात्र खोजी गरी व्यावहारिक र मेहनत गर्नुपर्ने विषयहरूको अवमूल्यन गर्दा उत्पादित जनशक्ति ज्यादा कमजोर बन्न गई देशको भविष्य बर्बाद हुन्छ । राज्यले दीर्घकालसम्म ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । पढ्ने र पढाउने समय भनेको कुनै उद्योग खोल्दा तुरुन्त प्रतिफल प्राप्त नहुन सक्ने सुरुको अवस्थामा गरिएको लगानीजस्तै हो । विद्यार्थीको उत्तीर्ण प्रतिशतलाई मात्र आधार नबनाई देशको भविष्य सुनिश्चित गर्ने आधार तय गर्ने अवस्था हो । त्यसैले गणितको विकल्प अरू सजिलो विषयको खोजी हुन सक्तैन ।
४. प्रत्येक अभिभावकलाई भविष्य सुनिश्चित बनोस् भन्नका लागि आफ्नो छोराछोरीले राम्रोसँग अरू विषयको तुलनामा गणित अझ बढी जानोस् र बुझोस् भन्ने इच्छा तथा चाहना रहन्छ । अभिभावकको आकांक्षा पूरा गर्न पाठ्यक्रम विकास केन्द्रले यस विषयलाई सबै विद्यार्थी माझ अनिवार्य गरी सबैले सिक्न सक्ने, बुझ्न सक्ने, व्यवहारमा उतार्न सक्ने गणित विषयको पाठ्यक्रम तयार गर्नु जरुरी छ । गणित विषयमा राम्रो ज्ञान राख्ने विद्यार्थीले अरू विषयमा स्वतः राम्रो परिणाम हासिल गर्न सकेको सबै विद्यार्थी, अभिभावक, शिक्षकलाई जानकारी छ ।
५. माध्यमिक शिक्षा उत्र्तीण गरेको विद्यार्थी न्यूनतमरूपमा पनि कर प्रणाली, सेयर बजारको हिसाबकिताब, आय आर्जन, बिजुृली, टेलिफोन, मोबाइल आदिको बीलको हिसाब, नाफानोक्सानको ज्ञान, थोरै लगानीबाट धेरै उत्पादन कसरी गर्न सकिन्छ भन्ने ज्ञान, समय र लगानीको उपयोग, विदेशी मुद्रा सटहीको ज्ञान, बिजुलीको ज्ञान, घर निर्माणमा अपनाउनुपर्ने सामान्य ज्ञान आदिको व्यावहारिक जनकार हुनुपर्छ जो गणितको अध्ययनविना सम्भव पनि छैन ।
६. माथि उल्लेखित सबै समस्या समाधान गर्न विद्यार्थीहरूलाई पढाइने पाठ्यक्रम मजबुत, व्यावहारिक, जीवन उपयोगी बनाउन आवश्यक छ । यसका लागि सम्बन्धित विषयका राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा समेत ख्याति कमाइसकेका, विदेशीहरूले समेत विज्ञको रूपमा विश्वास गरेका आफ्नै देशका गणितिज्ञहरूबाट सम्भव भएकोले गणितको पाठ्यक्रमलाई जीवन उपयोगी, सरल, व्यावहारिक, चाखलाग्दो बनाउन सकिन्छ । सरकारले यसमा विश्वास गरी गणितको विकल्पमा अरू विषयको खोजी नगरोस् ।
अन्त्यमा, गणित सारसंग्रहबाट उद्धृत यो श्लोक मननयोग्य छ
“बहुभिर्विप्रलापैः किं त्रैलोक्ये सचराचरे ।
यतकिञ्चिद् वस्तु तत सर्वं गणितेन विना नहि ।”
अर्थात् यो संसारमा गणितविना के सम्भव छ र ? अरू कुरा के गरौँ गणितविनाको संसार कल्पना पनि गर्न सकिँदैन । यसलाई विद्यार्थीको उत्तीर्ण प्रतिशत वृद्धि गर्ने निहुँमा हटाउने प्रयासमा विकल्पको अर्को सजिलो विषयको खोजी गरियो भने देशको भावि शैक्षिक भविष्य अन्धकारतिर धकेलिन्छ । पद र जिम्मेवारीमा रहेका सबै सचेत बनौं ।
सहप्राध्यापक (गणित),
वाल्मीकि क्याम्पस, काठमाडौं