यकिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन नै लागि सकेको हुनुपर्छ । मध्य वर्षात्मा हराभरा बनेका खेतबारी र वन बुट्यानले गर्मी यामको खपिनसक्नु उष्णतालाई रोक्न सकिरहेका थिएनन् । म भने कहिल्यै नगएका–नपुगेका वस्तीहरू छिचोल्दै पार्टीका एकजना स्थानीय कार्यकर्तासँग मोरङको इटहरा गाउँ खोज्दै हिँडिरहेको थिएँ । मेरो यात्रा ‘झापाली क्रान्तिकारी लाइन’बाट प्रभावित भइ ‘को–अर्डिनेशन केन्द्र’ (कोके) मा भर्खरै सामेल भएका एक जना क्रान्तिकारी ‘जीवन शर्मा’लाई कोकेको ‘तेस्रो सम्मेलन’मा सहभागी गराउने उद्देश्यबाट प्रेरित थियो ।
कुरा के थियो भने– पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको ‘मोर्चा संगठन’ का अधिकांश नेता–कार्यकर्ताले भर्खरै ‘विद्रोह’ गरेका थिए । नेतृत्वको ‘अवसरवादी आचरण’का कारण देखाउँदै विद्रोह गरी उनीहरूले ‘झापाली क्रान्तिकारीहरू’ ले गठन गरेको ‘को–अर्डिनेशन केन्द्र’मा सामेल हुने घोषणा गरेका थिए । उनीहरूको संगठन ‘मुक्ति–मोर्चा’ नामले चिनिन्थ्यो । ‘जीवन शर्मा’ त्यही समूहका एकजना अगुवा हुनुहुन्थ्यो र म उहाँलाई सम्पर्क गरी २०३५ साउन ४–९ गते हुन लागेको ‘कोके’ को ‘तेस्रो सम्मेलन’मा सहभागी गराउन गएको थिएँ । सोध्दै–खोज्दै, रात–साँझ गर्दै म ‘जीवन शर्मा’को गाउँ इटहरा पुगेको थिएँ । एकदिनको पखाईपछि कालो टोपी, फिक्का आकासे रंगको टेरिकटनको सर्ट र हाफ प्यान्ट लगाएको, जुँगा पालेको र कम्मरमा खुकुरी भिरेको एउटा नौजवानलाई मैले भेटेँ । आखिर ‘जीवन शर्मा’को नामले मसँग चिनाइएका ती व्यक्तित्व नै मदन भण्डारी हुनुहुँदो रहेछ !
०००
‘कोके’ को ‘तेस्रो सम्मेलन’ अत्यन्त कडा सुरक्षाका बीचमा भैरहेको थियो । हाम्रो कार्यक्रमको छनक पाएर पञ्चायती व्यवस्थाका पुलिसहरू बाहिर बाक्लो गस्तीमा खटिएका थिए । कार्यक्रम स्थलमा कुनबेला छापा मारिने हो त्यसको ठेगान थिएन, कुनै पनि बेला छापा मारिन सक्थ्यो । जनस्तरबाट तह तहमा सुरक्षा प्रबन्ध त हामीले गरेका थियौं तर पनि पुलिसहरूको अस्वाभाविक आक्रमणको सम्भावनालाई टार्न सकिन्नथ्यो ।
हामीले सहभागीहरूकै तर्फबाट थप सुरक्षाको विशेष व्यवस्था गर्यौं । यसका लागि हामीहरूले आफूसँग भएका दुई थान बन्दुक प्रयोग गर्ने निधो भयो । ती बन्दूक प्रयोग गर्ने जानकार साथीहरूको छनोट गरियो, जसमा रत्नकुमार वान्तवा, मदन भण्डारी र सङ्खुवासभाबाट आउनुभएका वासु शाक्यको टीमलाई जिम्मेवारी तोकियो । रत्न र वासुका बारेमा त साथीहरूले केही केही बुझ्नुभएको थियो तर मदन पनि बन्दुक चलाउन सक्नुहुन्छ भन्ने कसैलाई थाहा थिएन । जब मदनले बन्दुक समातेर पोजिसन लिनुभयो, सबै चित खाए । यद्यपि, सम्मेलनले भिडन्तको सामना गर्नुपरेन । कार्यक्रम सुरक्षित र सफलतापूर्वक सम्पन्न भयो । मदनले भने हामी सबैमा एउटा नयाँ छाप छोड्नुभयो– वैचारिक रूपमा प्रखर, वाचाल नेता त उहाँ हुनुहुन्थ्यो नै, आवश्यक परे भौतिक लडाईंका निम्ति पनि तयार नेताका रूपमा हामीले उहाँलाई चिन्यौं ।
०००
‘कोके’ को संगठन विस्तारमा मदनको भूमिका वेगवान थियो । मेची–कोशी अञ्चलका दक्षिणतिरका जिल्ला समेटेर ‘पूर्व–दक्षिण क्षेत्र’ नामको सांगठनिक संरचना खडा गरियो, जसको प्रमुख स्वयम् मदन हुनुहुन्थ्यो । आफ्नो क्षेत्र अन्तर्गत पर्ने सबै जिल्लामा नेतृत्वदायी कमिटीहरूलाई पुनव्र्यवस्थित गर्ने काम मदनले पूरा गर्नुभयो ।
२०३५ साल पुस ११–१४ मा ‘कोके’ को राष्ट्रिय सम्मेलनबाट ‘नेकपा (माले)’ को जन्म भयो । मोरङको इटहरामा स्थानीय आधारभूत वर्गका किसानहरूको वस्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसको सम्पूर्ण व्यवस्थापनको नेतृत्व मदनले गर्नु भएको थियो । सम्मेलन चलिरहँदा नै एकातिर संखुवासभामा पञ्चायती व्यवस्थाले हरि नेपाल र चन्द्र पुरीको हत्या गर्यो भने अर्का तिर पार्टीभित्र पोलिटव्युरो सदस्य रामचन्द्र यादव र धनुषा जिल्ला कमिटीका सदस्य अशेश्वर यादवले उग्रवामपन्थताको वकालत गरे । त्यसैको समानान्तर मणिलाल राई लगायतका केही साथीहरूले ‘कोके’ ले उग्रवामपन्थता त्याग्न नसकेको भन्दै अलग विचार पनि अघि सारेका थिए ।
‘राष्ट्रिय सम्मेलन’ स्थलमै केही साथीहरूले बाहिर कतै प्राप्त गरेको एउटा लामो पर्चा ल्याउनुभयो– पर्चाको शीर्षक नै ‘पथभ्रष्ट चन्द्र नेतृत्वदायी गुटके उपर गोलाबारी करें !’ थियो । त्यसवेला चन्द्रप्रकाश (सीपी) मैनाली पार्टी महासचिव हुनुहुन्थ्यो र, उहाँ बहुचर्चित हुनुहुन्थ्यो । हिन्दीमा छापिएको उक्त पर्चाले हामीलाई अत्यन्त आक्रोशित बनायो । पार्टी स्थापना गर्ने दिनमै रामचन्द्र–अशेश्वरहरूको उग्रवामपन्थी चिन्तन र दक्षिणपन्थी चिन्तनको सामना गर्नुपर्ने भयो । त्यसको प्रतिवादमा मदनले सकृयताका साथ भूमिका खेल्नुभयो । हामीले केही समयभित्रै यी दुवै विचारलाई निस्प्रभावी बनायौं ।
०००
२०३९ साल साउन २४ गते– अर्थात्, आजभन्दा ३८ वर्ष पहिले । त्यो दिन मदनको विवाहको आयोजना गरिएको थियो । बेहुली हुनुहुन्थ्यो– विद्या पाण्डे (अर्थात् वर्तमान सम्माननीय राष्ट्रिपति भण्डारी) । तत्कालीन नेकपा (माले)को ‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’ले बिहेको आयोजना गरेको थियो । ‘मध्य दक्षिण क्षेत्रीय कमिटी’का सचिव माधवकुमार नेपाल र सदस्यहरू म र मुकुन्द न्यौपाने– भूमिगत ढङ्गले आयोजना गरिएको उक्त विवाह समारोहमा सहभागी थियौं । पार्टीका राम्रा समर्थक र सहयोगीहरूको उपस्थितिमा विराटनगरस्थित देवकोटाजीको एकान्तमा रहेको डेरामा बिहेको कार्यक्रम आयोजना गरिएको थियो । बेलुकी ८ बजे सुरु गरिएको बिहेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि माधवकुमार नेपाल हुनुहुन्थ्यो र कार्यक्रमको सभापतित्व मैले गरेको थिएँ ।
‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’का सचिव मदन स्वयम् बेहुला हुनुहुन्थ्यो भने त्यस कमिटीका अशोक राई, राजेश वान्तवा राई, चित्र निरौला आदि उपस्थित हुनुहुन्थ्यो । परिवारका सदस्यहरूमा मदनका भाई प्रेम र बहिनी गीता मात्र हुनुहुन्थ्यो । बेहुली बन्नु भएकी विद्याजी त्यसबेला विराटनगर नगर कमिटी तथा मोरङ जिल्ला कमिटीमा सङ्गठित हुनुहुन्थ्यो र मोरङ क्याम्पसको अनेरास्ववियूको राजनीतिक– सांगठनिक काममा नेतृत्व गरिरहनु भएको थियो ।
त्यसदिन विवाह समारोहमा हामी सबैले उहाँहरूलाई ‘क्रान्तिकारी जीवनले सफलता प्राप्त गरोस्, देश र जनताको हितमा काम गर्न सक्नुहोस्....’ भन्दै शुभकामना व्यक्त गर्यौं । उहाँहरू दुबै जनाले पार्टीको झण्डा सामु उभिएर प्रतिज्ञा गर्नुभएको थियो । त्यसरात अबेरसम्म हामीहरूले क्रान्तिकारी गीत गायौं– कविताहरू वाचन गर्याैं र, क्रान्तिकारी जोडी उदाहरणीय बनोस् भनेर शुभकामना व्यक्त गर्यौं । तर, बिहे पछिको झण्डै ११ वर्षको अवधिमा मदन–विद्याको जोडीले प्रायः प्रतिकूलता नै झेल्नुपर्यो, अनिश्चितताको स्थितिको सामना गर्नुपर्यो । बिहे गरेको ११ वर्ष बित्न नपाउँदै मदनको शहादतपछि विद्याजीले वियोगको पीडा सहेर बस्न बाध्य हुनुपर्यो । पति वियोगको असहज पीडा सहनु परे पनि मदनका सपना र सङ्कल्पलाई पुरा गर्ने परिवर्तित अभिभारा सहित विद्या भण्डारी अविचल भएर उभिनु भएको छ । परिस्थिति बदलिएको छ, जिम्मेवारीहरु फेरिएका छन्– तर हाम्रा उद्देश्यहरू फेरिएका छैनन् ।
०००
२०४० सम्म मदन केन्द्रीय सदस्य मात्र हुनुहुन्थ्यो । तर बैठकहरूमा उहाँको उपस्थिति र त्यहाँ वैचारिक छलफलहरूमा स्पष्ट दृष्टिकोणका साथ गम्भीर सहभागिताका कारण उहाँ सबैको केन्द्र बन्दै जानुभयो । २०३९ मा सिपीसँगको विवादपछि महासचिव बन्नुभएका झलनाथ खनालको अगुवाइमा पोलिट्ब्युरो र मदनको अगुवाइमा जस्तो भएको थियो, केन्द्रीय कमिटी । बैठकमा बहस छलफल हुँदा म लगायतका अरू कति साथीहरू मदनले अगुवाइ गर्ने बहसमा पक्ष भएर उभिँदा गौरवबोध हुन्थ्यो । पछिपछि त उहाँकै विश्लेषण र दृष्टिकोण नै यति प्रभावी बन्दै जान थाल्यो कि उहाँलाई पोलिट्ब्युरोमा ल्याउनै पर्ने भयो ।
मदन पोलिटब्युरोको सदस्य बनेपछि तुरुन्तै पार्टीभित्र वैचारिक नेताका रूपमा स्थापित हुनुभयो । राजनीतिक छलफल थप सशक्त र जीवन्त बन्दै गयो । विगतको समीक्षा गर्ने, पार्टी परिचालनमा योजना निर्माण गर्ने र कार्यक्रमिक विषयहरूलाई अध्यावधिक गर्ने सवालमा उहाँको क्षमता प्रकट हुन थाल्यो । उहाँका यिनै क्षमताले २०४६ को चौथो महाधिवेशनबाट मदन सर्वसम्मतिका साथ पार्टीको महासचिव चयन हुनुभएको थियो ।
०००
चौथो महाधिवेशनबाट मदन सर्वसम्मतीले महासचिव पदमा निर्वाचित भएपछि त्यही सालको अन्त्यतिर भएको ऐतिहासिक जनआन्दोलन पश्चात् खुला भएका राजनीतिक पार्टीहरू वैधानिक ढङ्गले काम गर्न सक्ने भएका थिए । परिवर्तित राजनीतिक अवस्थामा आफ्नै पार्टीभित्र र मुलुकभित्रै देखिएका समकालीन नेताहरूमध्ये पृथक उचाईका साथ मदन सार्वजनिक हुनुभएको थियो । उहाँमाथि सबैको नजर गढेको तथ्यलाई त्यसबेला सहजै वुझ्न सकिन्थ्यो ।
साझा शत्रुका विरुद्धको संघर्षमा निर्णायक रूपमा विजय प्राप्त गर्न विभिन्न वामपन्थी समूहहरूलाई सके एउटै पार्टीमा, नसके पनि एउटै मोर्चामा ल्याउनैपर्छ भन्ने मान्यता थियो– मदनको । सिद्धान्त, कार्यक्रम र अन्य कतिपय विषयहरूमा एउटै धारणा र मान्यता भएका तर कार्यनीतिक प्रश्नहरूमा भने एक ठाउँमा नआइसकेका वाम समूहलाई मित्रवत् वहस, छलफल गर्दै नजिक रहने अवस्था सिर्जना गर्नुपर्छ भन्ने मान्यता पनि थियो– मदनको । छरिएका वाम पार्टीहरूलाई गोलबन्द गर्न सक्नुपर्छ, त्यही संयुक्त शक्तिका बलमा मुलुकमा परिवर्तन चाहने अन्य पक्षसित समेत सहकार्य गर्दै राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने निष्कर्षमा हुनुहुन्थ्यो– मदन । यिनै मान्यता र निष्कर्षका आधारमा तत्कालीन नेकपा (माले)ले २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्त्वपूर्ण र निर्णायक भूमिका खेल्न सक्यो ।
मदन महासचिव जस्तो गरिमामय र जिम्मेवार पदमा पुग्ने कुरा कसरी सम्भव भयो ? त्यसबेला उहाँ केवल ३९ वर्षको मात्र हुनुहुन्थ्यो । कतिपय मानिसले, यहाँसम्म कि अहिले नेपाल कम्युनिष्ट पार्टी भित्रकै कतिपयले समेत मदनको यो विकासक्रमलाई राम्ररी बुझ्नसकेका छन् जस्तो लाग्दैन । मदनको व्यक्तित्व र भूमिकाका सम्बन्धमा आ–आफ्नै धारणा राख्नेहरूको काफी सङ्ख्या छ । नेपाल कम्युनिष्ट पार्टी भित्रकै केही मदनको भूमिका र योगदानलाई अवमूल्यन गर्ने खालका पनि देखिएका छन् र कतिपयले त उहाँलाई भावनात्मक हिसावले मात्र बुझिरहेका पनि छन् । मदनलाई बुझ्नु एउटा व्यक्तिलाई बुझ्नेजस्तो मात्र कुरा होइन । यो त आन्दोलनलाई र कम्युनिष्ट आन्दोलन भित्रका सही विचारको विकासक्रम–गतिशीलतालाई कसरी बुझ्ने वा बुझ्नुपर्छ भन्ने विषय पनि हो । मदन कम्युनिष्ट आन्दोलन भित्रको व्यक्ति मात्र नभएर, विचार–प्रवृत्तिको अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनु भयो ।
पूर्वीय साहित्य, दर्शन तथा माक्र्सवादी सिद्धान्तको गहन एवम् समीक्षात्मक अध्ययनका साथै तिनको सिर्जनात्मक प्रयोग गर्ने प्रतिबद्धताले विकसित भएको व्यक्तित्व हुनुहुन्थ्यो, मदन भण्डारी । नेकपा (एमाले) को महासचिवको जिम्मेवारी लिने स्थानसम्म आइपुग्दाको यात्राक्रमलाई फर्केर हेर्दा मैले उहाँमा रहेको त्यो क्षमतालाई अत्यन्त तिलस्मी मानेको छु ।
०००
मुलुक ऐतिहासिक जनआन्दोलनको सम्मुखमा थियो । योजनाहरूको कार्यान्वयनमा सामञ्जस्यता, पार्टी शक्तिको सही विन्यास, आवश्यक र सम्भव सबै राजनीतिक शक्तिका बीचमा समन्वय आदि विषयमा मदनको नेतृत्वले काङ्ग्रेस र वामपन्थी बीच सहकार्यको मार्गचित तय गर्यो । उहाँको यही वस्तुनिष्ठ विश्लेषणमा आधारित नेतृत्वले २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल बनाउन निर्णायक भूमिका खेल्यो ।
आन्दोलन अगाडि बढाउन हामीबीचमा समन्वयका लागि छलफल हुन्थ्यो । तर प्रकृयाको ढिलाइले र विषयलाई बोक्ने प्रतिनिधिको कमजोरीका कारण केन्द्रमा राम्ररी समन्वय हुन सक्दैन्थ्यो । कतिपय बेला त विषयको सार समेत मरिसक्थ्यो । धेरैपटक त्यस्तो समन्वय केन्द्रमा खटिएका राधाकृष्ण मैनालीसँग फिल्डमा काम गर्नेहरूको समूह खासगरी मदन, केपी शर्मा ओली, माधव नेपाल र मेरो ठाकठुक परिरहन्थ्यो । म त्यसबेला काठमाडौं उपत्यकामा आन्दोलन परिचालनको प्रमुख थिएँ । २०४६ चैत्र २६ गतेको राजा, काङ्ग्रेस र वाम मोर्चासँगको त्रिपक्षीय सम्झौतामा जसरी राधाकृष्ण मैनालीले ‘माले’को तर्फबाट भूमिका खेल्नुपर्ने थियो, त्यस्तो गर्न नसकेको, दक्षिणपन्थी अवसरवादी रूझान राखेको भन्ने हामीलाई लागेको थियो । हाइकमान्डसँग परामर्श नगरी वा दिइएको निर्देशन विपरीत सम्झौताका लागि लहसिएको आरोप लाग्यो । मदन पनि राधाकृष्णसँग आक्रोशित नै बन्नुभयो । यही ‘सेन्टिमेन्ट’मा चैत्र २६ गतेको ऐतिहासिक र संयुक्त विजयसभामा राधाकृष्णलाई सभास्थलबाट बाहिर ल्याइयो, बोल्न दिइएन । अहिले मेरो मनमा सधैं एउटा प्रश्न उठिरहन्छ– त्यसबेला मदनसहितका हामीहरूले राधाकृष्णप्रति विवेक पुर्याउन सकेका थियौं कि थिएनौँ ? मदन आफैँ यसबेला रहनुभएको भए यो प्रशंगका बारेमा कसरी सोच्नुहुन्थ्यो होला ?
०००
२०४७ मा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको माक्र्सवादी समूहका बीचमा एकीकरण हुने स्थिति बन्यो । मदन यी दुई समूहका बीचमा एकीकरण गराएर कम्युनिष्ट आन्दोलनमा इतिहास र उर्जाको सम्मिश्रण गराउने पक्षमा हुनुहुन्थ्यो । दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहहरूका बीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो । तर यही काम पूरा गरी छाड्ने सङ्कल्प लिएर मदनले मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाउने कुराको पक्षपोषण गर्नुभयो । आफू महासचिव बनेर पार्टीलाई नेतृत्व दिने कुरामा उहाँ सङ्कल्पबद्ध हुनुहुन्थ्यो ।
यसपछि मनमोहन अधिकारीलाई साथमा लिएर देशव्यापी रूपमा एकीकरणको सन्देश सभाहरू गर्दै मदन निस्कनुभयो । सूदुरपूर्वदेखि सूदुरपश्चिमसम्म मनमोहन अधिकारी लगायतका नेताहरूलाई साथमा लिएर उहाँ एउटा राष्ट्रिय अभियानमा निस्कनु भएको थियो । नेकपा (एमाले) एउटा नयाँ र उदीय, उदीप्तमान शक्तिका रूपमा एउटा अभियान बनेर देशव्यापी रूपमा निस्केको थियो, मदनको नेतृत्वमा । त्यो अभियानले मुलुकमा एउटा राजनीतिक तरङ्ग मात्र होइन, एमाले नामको एउटा नयाँ शक्तिलाई स्थापित गर्यो ।
तीव्र वैचारिक बहसकै वीचमा २०४९ माघमा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन आयोजना गरिएको थियो । त्यो राष्ट्रिय महाधिवेशनले मदनको नेतृत्वमा जुन विचारलाई (जनताको बहुदलीय जनवाद) अत्यधिक बहुमतले पारित गरेको थियो, त्यसले मुलुकको प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनलाई क्षमताका साथ नेतृत्व गर्ने उद्घोष गरेको थियो । विचारको उत्कृष्ट प्रस्तुतिले महाधिवेशनका सहभागीहरूको ठूलो समर्थनमा मदन भण्डारी एमालेको महासचिव चुनिनु भयो ।
०००
आम निर्वाचनमा भर्खरै काँग्रेसका लोकप्रिय नेता एवम प्रधानमन्त्री कृष्णप्रसाद भट्राईलाई पराजित गर्ने मदनले बहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रीकरणको मान्यतालाई अघि सारेर माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको थियो । मैले अहिले पनि राम्ररी बुझ्न नसकेको एउटा प्रसङ्गको सम्झना भइरहन्छ । पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र काठमाडौंको दशरथ रंगशालामा बीसौं हजार जनताका बीचमा आयोजना गरिएको थियो । प्रतिनिधि, पर्यवेक्षक र आम जनताको त्यो विशाल उपस्थितिले मदनलाई खोजिरहेको थियो, उहाँलाई सुन्न चाहिरहेको थियो । विदेशी पाहुनाहरू समेत मदनलाई सुन्न लालयित देखिन्थेँ ।
तर अचम्म ! मदनले हजाराैंको त्यो उपस्थितिमा बोल्न पाउनु भएन ! त्यहाँ मनमोहनले बोल्नुभो, माधव, झलनाथ र सीपीलेसमेत वोल्नुभो तर मदनले बोल्न पाउनु भएन ! मदनले बोल्नुपर्छ भनेर मैदानमा बस्नेहरू आवाज उठाइरहेका थिए, तर पनि उहाँलाई वोल्ने अवसर दिइएन ! यसमा कसको योजना र कुन मनोविज्ञानले काम गरेको थियो कुन्नी ? उद्घाटनसभा सकेर मदन र मसँगै फर्किएका थियौं । उहाँले आफू चढ्नुभएकै गाडीमा मलाई पनि बस्न आग्रह गर्नुभयो । उद्घाटन सभामा आफूलाई बोल्न नदिएको बारेमा मुखै खोलेर त केही बोल्नु भएन तर पार्टीमा भित्रभित्रै मौलाउन खोज्दै गरेको अस्वस्थ्यताका बारेमा केही सङ्केत भने गर्नुभयो । यी सबै कुराका वावजूद पनि महाधिवेशनको बन्द सत्रमा उहाँले प्रस्तुत गर्नु भएका विचार, योजना र नेतृत्वको शानदार विजय भएको थियो ।
०००
२०४८ को आम निर्वाचनमा काङ्ग्रेसले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको थियो, जसले ऊभित्र भनि नसक्नुको उन्माद जन्मायो । काङ्ग्रेसको सर्वसत्तावादी चिन्तन र व्यवहारका कारण एमाले प्रमुख प्रतिपक्षी बनेको यथार्थलाई पनि स्वीकार गर्न नसक्ने अवस्था थियो । एमालेलाई प्रमुख प्रतिपक्षीको मान्यता समेत दिन नचाहने उसको व्यवहारका कारण राजनीतिक मुठभेडको स्थिति वन्यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काङ्ग्रेसभित्र देखापरेको अलोकतान्त्रिक चरित्र र गतिविधिका विरूद्ध एमाले लगायतका प्रतिपक्षीहरू मात्र नभएर स्वयम् काङ्ग्रेसभित्रै पनि विरोध हुन थालेको थियो, जसको अगुवाइ काङ्ग्रेसकै सर्वोच्च नेता गणेशमान सिंहले गर्नुभएको थियो । गणेशमानजी कै आग्रहमा यस मोर्चाबन्दीको एउटा महत्त्वपूर्ण भूमिकामा मदन भण्डारी रहनु भएको थियो ।
यस सिलसिलामा मदनको गणेशमानजीसित धेरैपटक भेटघाट र छलफलहरू भए । मलाई लाग्छ, केही महत्त्वपूर्ण सल्लाह भएका थिए र योजनाहरू समेत बनेका थिए । २०५० जेठ १ गते मदन र मेरो लगभग एक घण्टाजतिको भेटमा उहाँले यही जानकारी तथा अन्य केही सम्भावित विषयहरूतर्फ पनि सङ्केत गर्नुभएको थियो । गणेशमानजीहरूसित त्यसबीच पटकपटक भएका भेटघाटवारे जानकारी गराउँदै आफू काठमाडौं बाहिर रहेका बेला मलाई सम्पर्क विन्दुका रूपमा रहन निर्देशन दिनुभयो । त्यस प्रयोजनका लागि मदनले मेरो कोठाको ल्यान्डलाइन टेलिफोन नम्बर गणेशमानजीलाई दिनुभएको थियो । उहाँहरूले सम्पर्क गरेपछि आफूलाई तुरून्त सूचना दिन विभिन्न मितिमा आफू पुग्ने ठाउँ र सम्पर्क गर्नुपर्ने व्यक्तिबारे विवरण सहितको एउटा टिपोट पनि दिनु भएको थियो ।
मैले त्यसबेला मदनले भन्नु भएका सबै विषयलाई गम्भीरताका साथ सुनिरहेँ । आवश्यक केही केही कुराहरू नोट गरेँ र आफूलाई लागेका केही विषयबारे जिज्ञासा पनि राखेँको थिए । मदनको निर्देशन थियो– यी धेरै गम्भीर र दूरगामी महत्त्वका विषय हुन्, गोपनीयता बचाउनु होला, मैले दिएको मेरो कार्यक्रमको चिट पनि सुरक्षित राख्नुहोला । हामीबीच कुराकानी सकिनासाथ मदन कास्की जिल्ला अधिवेशनको उद्घाटनका लागि हिँड्ने तयारीमा जुट्नुभयो । म एकछिनपछि मदनलाई शुभ–यात्रा भन्दै आफ्नो ज्ञानेश्वरमा रहेको कोठातिर लागे । २०३५ असार आखिरीमा पहिलोपटक भेट भएको मदनसँग २०५० साल जेठ १ गते बिहान साढे आठ बजेपछि कहिल्यै भेट भएन !
मदन भण्डारीसित चौध वर्ष १० महिनाको लामो र निरन्तरको सम्बन्ध–सहकार्य, मित्रता र सान्निध्यतामा, अत्यन्त विश्वास र आत्मियतामा, एउटै कमिटीका सदस्य र सहयोद्धा कमरेडको रूपमा व्यतीत भएको थियो । मदनसित बिताएका ती दिनहरू मेरो राजनीतिक जीवनमा अत्यन्त महत्त्व राख्ने प्रेरणादायी दिनहरू हुन्, जसलाई म कहिल्यै बिर्सन सक्दिनँ ।
हार्दिक श्रद्धान्जली जननेता मदन भण्डारी !