काठमाडौं । कर्माछिरिङ शेर्पाको एन्फा यात्रा २०५७ सालबाट सुरु भएको हो । तत्कालीन एन्फा अध्यक्ष गणेश थापा र वरिष्ठ उपाध्यक्ष टासी घलेको कमिटीले मनाङ मर्स्याङ्दीका तत्कालीन अध्यक्ष कप्ली गुरुङसँगै कर्मालाई पनि एन्फा कमिटीको सदस्यमा मनोनित गरेको थियो ।
त्यसपछि गणेश थापा एन्फाको अध्यक्ष हुँद एन्फाको उपाध्यक्षमा निर्वाचित भएका थिए कर्मा । त्यसको करिब एक दशकपछि अध्यक्ष थापा फिफा कारबाहीमा परेपछि एन्फाबाट निस्किन बाध्य भए । थापा एन्फाबाट बाहिरिएपछि कर्माले एन्फामा आफ्नो रफ्तार लिन सुरु गरे ।
त्यही रफ्तारसँगै वि.सं २०७५ वैशाख २२ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको १६ औँ साधारणसभाबाट कर्मा अध्यक्षमा निर्वाचित भए । कर्माले उनका प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका थिए । शेर्पा एन्फाको अध्यक्ष भएको सोमबार दुई वर्ष पुगेको छ । यसै सन्दर्भमा शेर्पासँग बाह्रखरीले गरेकाे कुराकानीकाे सम्पादित अंश–
दुई वर्षको कार्यकाललाई कसरी समीक्षा गर्नु हुन्छ ?
दुई वर्ष मेरा लागि एकदमै चुनौती पूर्ण नै बित्यो । निर्वाचित भएर आइसकेपछि हरेक क्षेत्रमा शून्य अवस्थामा रहेको फुटबललाई सुरुवात गर्नुपर्ने थियो । जुन काम हामीले गरेका छौं ।
हामीले फुटबल विकासका लागि पाँचवटा पिलरको योजना बनाएर अगाडि बढेका थियौं । क्षमता अभिवृद्धि, सुशान, प्रतियोगिता, प्रशिक्षण र भौतिक पूर्वाधार हुन् । त्यसमध्ये हामीले सुशान सुरु गरेका छौं । विधि र विधानलाई व्यवस्थित गर्ने काम भएको छ । ४५ वटाभन्दा बढी जिल्ला फुटबल संघ थिएनन् ।
हामीले ७७ वटै जिल्लामा संघको विस्तार गर्न मिल्ने नियम र वातावरण बनायौं । त्यस्तै आर्थिक नियमावलीलाई व्यवस्थित गर्दै हिसाब पारदर्शी बनाउन डबल इन्ट्री सिस्टमसँगै नयाँ सफ्टवयरको विकास गर्यौं । कर्मचारी नियमावली कार्यविधि जारी गर्यौं ।
एन्फाको केन्द्रीय कार्यालयलाई व्यवस्थित गर्नका लागि एएफसीसँगको छलफलमा आठवटा विभाग गठन गर्यौं । विदेशी टेक्निकल विभागको स्थापना गरेर त्यस अन्तर्गत चारवटा विभाग राख्दै प्रमुखहरू नियुक्त गरयौं । प्रदेशमा चार–चार जना हेड र प्रशिक्षकहरू नियुक्त गर्यौं । कुनै पनि संघको विकासका लागि टेक्निकल विभागको महत्त्वपूर्ण भूमिका हुने भएकाले हामीले यसलाई पहिलो प्राथमिकतामा राखेका हौं ।
पूर्वाधारका लागि ४५ वटै जिल्लामा आफ्नै प्रशिक्षण केन्द्र बनाउन पाँचदेखि दस लाखसम्म बजेट छुट्टाएका छौं । राम्रा कामहरूको थालनी भएको छ, कोरोनाका कारण केही काममा व्यवधान आए पनि धेरै योजना पूर्ण गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।
एन्फाका पूर्व अध्यक्षहरूले नेपाली फुटबलको स्तर खस्कँदै गएको आरोप लगाएका छन् नि ?
आरोप लगाउनु पूर्व आफ्नो कार्यकालमा के कस्ता काम भए, उहाँहरूले आफ्नै समीक्षा गर्नुपर्छ । कसै–कसैले एन्फामा २० वर्ष बिताउँदा के गर्नुभयो ? उहाँहरूले २० वर्षमा फुटबलका लागि काम गरेको भए अहिले नेपाली फुटबल कहाँ पुग्थ्यो होला । खोलिएको एकेडेमी पनि बन्द गर्नुभयो ।
मैले भन्न खोजेको के भने, हिजोे विधान किन संशोधन भएन ? आर्थिक नियमावली किन लागु भएन । आर्थिक पारदर्शिता खोई ? त्यति मात्रै गर्न सकेको भए पनि नेपाली खेलाडीको स्तर कहाँ पुगेको हुन्थ्यो । हाम्रो दुई वर्षे कार्यकालमा केही समय अख्तियार र केही समय कोरोनाले जटिल अवस्था सृजना गरे । जुन हिसाबले काम हुन पर्ने हो त्यो हुन सकेको छैन । म पनि पूर्ण सन्तुष्ट छैन । फुटबलका स्वतन्त्र समर्थकले मूल्यांकन गरुन् । वास्तविक ‘जज’ उहाँहरू नै हो ।
जहाँसम्म स्तरवृद्धिको कुरा छ त्यो दक्षिण एसियाली खेलकुदले देखाएको छ । त्योसँगै पहिलो पटक विश्वकप छनोटको दोस्रो चरणमा हामी प्रवेश गरेका छौं । महिला टोलीले इरान, इन्डोनेसिया जस्ता बलिया टोलीलाई हराउन सफल भएका छन् । भारतलाई पहिलो पटक हराउन सफल भएका छन् । हाम्रा खेलाडी ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश भएका छन् । एएफसी यू–१९ महिलामा हामी दोस्रो चरणमा प्रवेश गरेका छौं । त्यसैले फुटबलको स्तर टेक्निकल व्यक्तिले निर्धारण गर्ने हो । हामीले गर्ने होइन ।
त्यसो भए फुटबलको विकास कहिले र कसरी हुन्छ ?
फुटबलको विकास एन्फा अध्यक्षले र एन्फा कमिटीले मात्र गर्न सक्दैन । फुटबल विकासका लागि धेरै मानिसहरूको सहभागिता चाहिन्छ । यसमा स्थानीय सरकार, प्रदेश सरकार केन्द्रीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ ।
हामीले मोफसलको प्रतियोगिताहरूलाई नियमन गर्ने नियम पहिलो पटक बनाएका छौं । यो अर्को उपलब्धि हो ।
तपाईंको कार्यकालमा व्यावसायिक फुटबलको स्तर कहाँ छ ?
हामीले सुरुवात मात्र गरेका हौं । यही कार्यकालमा फुटबल पूर्ण व्यावसायिक हुनै सक्दैन । किनभने नेपाली फुटबल अहिले शिशु अवस्थामा छ । शिशुलाई पहिले हामीले आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु पर्दछ । फुटबल धान रोपेर तीन महिनामा फल्ने चिज होइन । यो चिया खेती जस्तो हो । एक चोटी रोपेपछि उम्रिन समय लाग्छ र उम्रिएपछि भने टिपेको टिप्यै गर्न पाइन्छ ।
हामीले फुटबलको फाउन्डेसन बलियो बनाउने काम गरेका छौं । अब व्यावसायिक बनाउन क्लबहरू पनि आर्थिक रूपमा बलियो हुनुपर्छ । क्लबहरूले करोडौं खर्च गरेर खेलाडीहरूलाई बाह्रै महिना राख्न सक्ने हैसित हुनुपर्छ । सबै क्लबहरूको आफ्नै मैदान हुनु पर्यो । उनीहरूको युवा टोली पनि हुन जरुरी छ । त्यसका लागि क्लबहरूले प्रायोजक पाउनुप¥यो । समर्थकहरूको संख्या बढ्नु प¥यो । त्यो काम पनि हामी गर्दै छौं ।
यसका लागि समय लाग्छ । सबैभन्दा ठूलो कुरा गन्तव्यका लागि सही बाटो तय गर्ने काम भएको छ ।
एन्फा विकास गर्छु भनेर आउनु भयो तर, तपाईं अध्यक्ष बन्दाका साथीहरूबीचकाे सम्बन्ध र विवाद छताछुल्ल भएर पोखियो । यस्तो अवस्थामा कसरी काम गर्नुहुन्छ ?
मैले निर्वाचन जितैकै दिन भनेको थिएँ । यो पाँचवटा पिलरलाई स्थापित गर्ने रेल हो र यो रेल गुडी सक्यो । उद्देश्यमा यो रेल पुगेरै छोड्छ । तर, यो रेल गुड्दै जाँदा प्रत्येक स्टेसनमा रोक्दै र गुड्दै जान्छ । स्टेसनका सवारी झार्दै र थप्दै पनि जान्छ । त्यसैले यसलाई सामान्य प्रक्रियाको रूपमा लिनु पर्छ । किनभने हरेक क्षेत्रमा नयाँ नयाँ मानिसहरू आउँछन् र विभिन्न कारणले केही पुराना मानिसहरूलाई छोड्दै पनि जानुपर्छ ।
यदि नेपाली फुटबलको विकासका लागि कसैलाई छोड्दै जानुपर्छ भने त्यो पनि राम्रो विषय होइन र ?
हामी एउटा मान्छे जाँदैमा फुटबलको विकासै रोकिने सिस्टमको विकास नगरौं । भोलि अर्को कुनै व्यक्ति आउँदा पनि यो रेलले लिग नछोडोस् । यसैका लागि आर्थिक पारदर्शिता र प्रविधिको विकास गरौं । मान्छे आउने जाने क्रमलाई गणना नगरौं ।
तपाईंका नजिकका व्यक्तिहरू पनि तपाईंबाट टाढा भागे । यसको कारण के होला ?
उहाँहरूले मलाई केही भनेर जानुभएको छैन । आफै जानु भएको हो । तपाईहरू किन टाढिनु भयो भनेर यो प्रश्न उहाँहरूलाई नै सोध्नु होला । उहाँहरूको असन्तुष्टि के हो मलाई थाहा छैन ।
मैले नेपाली फुटबल बिगार्नका लागि अपराध गरेको भए सजाए भोग्न तयार छु । तर, संस्थागत स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी भयो भने समस्या हुन्छ । हामीभित्र संस्था होइन संस्थाभित्र हामी छौं भन्ने सोच भयो भने समस्या समाधान भइहाल्छ ।
एन्फाको पहिलेदेखिको गुटबन्दी अहिलेसम्म पनि उस्तै छ । यसको अन्त्य कहिले हुन्छ ?
मानव सभ्यताको अन्त्य नभएसम्म गुटबन्दीको अन्त्य होला जस्तो छैन । धेरै मानिसहरू भएपछि फरक मत हुन स्वाभाविक हो । तर, कुन स्वार्थमा गुटबन्दी भएको हो भन्ने विषयमा महत्त्वपूर्ण हो । एन्फा विकासका लागि गुटबन्दी हुनु राम्रो हो । तर, यहाँ साझा समस्यामा नभई आफ्ना स्वार्थका लागि गुटबन्दी भइरहेका छन् । कसैलाई बिगार्नका लागि गुटबन्दी भइरहेका छन् । जबसम्म मान्छेहरू व्यक्तिगत स्वार्थबाट माथि उठ्दैनन्, तबसम्म यो अन्त्य होला जस्तो लाग्दैन ।
नेतृत्वबाहिर रहँदा प्रश्न उठाउनु र नेतृत्वमा रहेर कार्यान्वयन गर्नुमा कति अन्तर हुँदो रहेछ ?
एउटा कुरा ! आ-आफ्नो ठाँउमा दुबै गाह्रो छ । नेतृत्वमा बसेपछि जिम्मेवारी र गैर जिम्मेवारी तरिकाले काम गर्ने भन्ने हुन्छ भने बाहिर बस्दा नेतृत्वलाई सजग गराउने कार्य हुन्छ । तर, बाहिर बस्दा आफ्नो स्वार्थका लागि मात्र प्रश्न उठाउनु भएन ।
अब मेरो विषयमा कुरा गर्ने हो भने अरुको २० वर्ष र मेरो दुई वर्षमा धेरै भिन्नता छ । मैले केही गलत गरेको छु भने म सच्चाउँदै जान तयार छु । यस विषयमा राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरसम्म छर्लङ्गै छ । यसका लागि विगत र अहिलेको खेलाडी छनोट र प्रशिक्षणलाई पनि हेर्न सकिन्छ । त्यसैले विद्रोह र नेतृत्व दुबैमा 'च्यालेन्जिङ' छ ।
तपाईले खेलाडी छनोटको विषय उठाउनुभयो तर, तपाईंकै कार्यकालमा खेलाडी छनोटमा दुईपटक विवाद आयो नि ?
हामीले खेलाडी छनोटका पूर्ण जिम्मेवारी प्रशिक्षकलाई दिएका छौं । त्यसको विषयमा धेरै मानिसहरुले क्रिया-प्रतिक्रिया जनाइरहेका छन् । 'म्याच फिक्सिङ'को विषय पनि आइरहेको छ नी । तर, त्यो प्रमाणित हुन सक्यो ? कुरा उठाउँदैमा त्यो प्रमाणित हुन्छ भन्ने छैन । तथ्यसहित आउनु र विरोधका लागि आरोप लगाउनु फरक कुरा हुन् ।
अब यू-१६ को खेलाडी छनोटको जिम्मा प्रशिक्षक सुनिल श्रेष्ठलाई दिएका छौं । त्यस विषयमा कमिटिका साथीहरु पनि बोलिरहनु भएको छैन । कार्यसमितिको बैठकमा सबैले बोल्नुपर्छ नी ।
खेलाडी छनोटको विषयमा तपाईंलाई पनि सबै कुरा थाहा छैन र ? फेरी कस्तो प्रमाण चाहिन्छ ?
त्यसको छानबिनका लागि 'टेक्निकल कमिटी' ले हामीलाई रिपोर्ट बुझाउनुपर्छ । हामीले टेक्निकल कमिटिलाई भनेका छौं । बाहिरको मानिस कसरी भित्र आयो ? प्रशिक्षकको भूमिका के छ ? तर, कमिटिले रिपोर्ट बुझाउन सकेको छैन ।
अहिलेसम्म हामीले सुनिमात्र रहेका छैनौं कि काम पनि गरिरहेका छौं । यसको छलफलमै छौं । उठेको विषयको सम्बोधन गर्नैपर्छ र गर्छौं पनि ।
रोकिएको बी डिभिजन के हुन्छ ? र बी डिभिजन भएन भने, ए डिभिजनबाट झरेको क्लब के हुन्छ ?
बी डिभिजन मात्र होइन । कोरोनाका कारण एन्फा गतिविधि जहाँ रोकिएको छ, त्यहीबाट सुरु हुन्छ । कोरोनाको प्रभाव घट्ना पाँच महिना लाग्ला । हामी त्यहीबाट एन्फाका सबै गतिविधि सञ्चालन गर्नेछौं । लिग फुटबल पूरा हुन्छ । यसमा ढुक्क भए हुन्छ । हाम्रो लिगको सिजन पूरा भएको छैन र ए डिभिजन सिजनको पूरा भयो भन्न मिल्दैन । त्यसैले जसरी नि सिजनको पूरा हुन्छ ।
आफैंले मूल्यांकन गर्दा तपाईंको अहिलेसम्मको कार्यकाललाई सफल कि असफल ?
अब मैले आफ्नो बारेमा नराम्रो भन्छु र ? मैले आफ्नो बारेमा यत्रो कुरा भनिसकेको छु । त्यसैले म आफ्नो अहिलेसम्मको कार्यकाललाई सफल नै मान्छु । अहिलेसम्म गरेको कुरा र विगतका भए गरेका कुरा तपाईं आफै तुलना गर्नुस् । २० वर्ष र दुई वर्षको तुलना गर्नुस् । यसैबाट थाहा हुन्छ मेरो कार्यकाल सफल कि असफल भनेर ।