काठमाडौं । अहिले नोभेल कोरोनाभाइरसको उच्च जोखिममा सुदूरपश्चिम छ । देशभर कोरोना देखिएका ३० जनामध्ये पाँचजना सुदूरपश्चिममा रहेका छन् । कोरोना संक्रमण पुष्टि भएका दुबइबाट आएका एकजना ३४ वर्षीय पुरुष, भारतबाट आएका दुईजना पुरुष, वीरगन्जबाट आएकी एक ६५ वर्षीया महिला र अर्की ३४ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
३४ वर्षीया महिला दुबइबाट आएका संक्रमित परिवारकै सदस्य हुन् । नेपालमै पहिलो सामुदायिक संक्रमण सुदूरपश्चिममा देखिएका कारण यहाँ कोरोनाको संक्रमण दोस्रो चरणमा पुगेको भएकाले पनि सुदूरपश्चिम जोखिममा छ । कोरोना स्थानीय संक्रमण भएर दोस्रो चरण प्रवेश गर्नु भनेको स्थिति खतरापूर्ण भएको वरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थले बताए ।
सुदूरपश्चिममा फागुनको अन्तिम हप्तादेखि लकडाउनको पहिलो दिनसम्म सुदूरपश्चिममा करिब डेढलाख मानिस भित्रिएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । भारतबाट भित्रिएका सयौं मानिसको भीडमा भएका कञ्चनपुरका एकजनालाई कोरोना पुष्टि भएको छ । यसले जोखिम थप बढेको छ ।
सेतीलाई कोभिड-१९ को 'हटस्पट' बन्न नदिन कोरोना विशेष अस्पताल आवश्यक
सुदूरपश्चिममा हालसम्म एक हजार २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । शुक्रबारसम्म सुदूरपश्चिममा चार हजार ८०० को आरडीटी जाँच गरिएको छ भने दुई हजार चार सय २८ को आरडीटी र पीसीआर दुबै जाँच गरिएको छ । जसमध्ये पाँच जनालाई कोरोना संक्रमण देखिएको हो ।
आईसीयू विशेषज्ञ अर्जुन कार्कीले विदेशबाट आएका वा संक्रमित व्यक्तिको नजिकमा रहेका वा कुनै पृष्ठभूमि रहेका व्यक्तिमा पहिलो पटकमा कोरोना संक्रमण देखिएन भने पुनः दोहोर्याएर परीक्षण गर्नुपर्ने सुझाव दिएका छन् । उनले भने," पहिलो कोरोना परीक्षणमा पीसीआर विधि सबैभन्दा उत्तम विधि हो । अर्को, क्वारेन्टाइनमा बसेको छु, कोरोना परीक्षण गर्दा संक्रमण देखिएन भन्दैमा मलाई ठिक छ भनेर सतर्कता अपनाउन छोडेर हिँड्नु हुँदैन । ती व्यक्तिलाई संक्रमण नभएको होला तर अन्य व्यक्तिलाई संक्रमण भएको रहेछ भने त संक्रमण फेरि सर्न सक्छ । क्वारेन्टाइनबाट निक्लने बित्तिकै केही हुँदैन भनेर हामीले लापरबाही गर्नुहुँदैन ।"
सुदूरपश्चिममा क्वारेन्टाइनमा रहेकाहरुमध्ये केहीको आरडीटी जाँच गरिएको छ भने थोरै संख्यामा आरडीटी र पीसीआर दुबै जाँच गरिएको छ । अन्यको पनि जाँच गर्ने क्रम चलरहेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. नरेन्द्र कार्कीले बताए ।
कोरोना संक्रमण फैलिनसक्ने उच्च जोखिममा रहेको सुदूरपश्चिममा संक्रमितको उपचारका लागि एउटामात्रै अस्पताल सेती प्रादेशिक अस्पतालमा निर्भर रहनु परेको छ । नेपाल सरकारले सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताललाई अब अस्पतालसहित परीक्षण केन्द्रका लागि तोकेको छ । दुई दर्जनभन्दा बढी सेवाहरु दिँदै आएको २४० बेड क्षमताको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमिको उपचारका लागि २४ बेड तयार गरिएको वरिष्ठ इमर्जेन्सी फिजिसियन तथा अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए । उनले भने, "तत्काल २५ जनासम्मलाई उपचार गर्न सकिने क्षमता हामीसँग छ । अहिले २५ जनासम्मलाई कोरोना संक्रमितको उपचार गर्नका लागि हामी तयार छौं ।"
सुदूरपश्चिममा कोरोना संक्रमितको उपचार गर्न दुईवटा अस्थायी अस्पताल बन्दै
उनले पाँच बेडसहितको आइसियु तथा भेन्टिलेटर निर्माण भइरहेको जानकारी दिए । अहिले अस्पतालमा पार्टेशन गरेर कोरोना संक्रमितको उपचार गर्ने स्थान अलग्याइएको भए पनि अन्य बिरामीलाई संक्रमण हुनसक्ने जोखिम भने नटरेको उनले बताए ।
कोरोना संक्रमितको संख्या एकैदिन सय पनि देखिनसक्ने भए पनि सुदूरपश्चिममा अहिले यसको तयारीका बारेमा सम्बन्धित निकायहरु अनविज्ञ छन् । सुदूरपश्चि प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले भने, "हामी ५० जना कोरोना संक्रमितको उपचार गर्न सक्षम छौं । १५-२० दिनमा दुईवटा अस्थाई अस्पताल बनाएर त्यहाँबाट उपचार थाल्नेछौं । ती दुई अस्पतालमा ५०-५० आइसोलेसन बेडसहित चार-चार भेन्टिलेटर सुविधा हुनेछ ।"
तर, अस्थाई अस्पताल बन्नुअघि नै सयजना कोरोना संक्रमित पुष्टि भएमा के गर्ने भन्ने प्रश्नमा मन्त्री सुवेदीले भने, "अहिले त्यस्तो जोखिम छैन । तत्काल देखिँदैनन् । हामी तयारी अवस्थामा छौं ।"
हाल कोरोना संक्रमितको उपचारमा ७४ जनाको टोली
सेतीमा रहेका पाँच जना कोरोना संक्रमितको उपचारमा ७४ जना चिकित्सकको टोली खटिएको छ । उनीहरुलाई प्रदेश सरकारको समन्वयमा गेष्ट हाउसमा राखिएको मन्त्री सुवेदीले जानकारी दिएका थिए ।
सेतीमा पहिलो कोरोना संक्रमित राखेदेखि यता तीन साता चलिरहेको छ । तीन सातामा विभिन्न शीफ्टमा चिकित्सकहरु खटाइएका छन् । शुक्रबारसम्म चिकित्सक १९ जना, ३१ जना नर्सहरु, ९ जना प्यारामेडिक्स र १५ जना ल्याबमा गरी ७४ जना खटिएको अस्पतालका प्रवक्ता जगदिश जोशीले बताए ।
उनीहरुलाई पाँच जनाको चिकित्सकको अन्य नर्स र प्यारामेडिक्सको टोली एक साताका लागि खटिने गरेको छ । हाल उनीहरुलाई आवश्यक पर्ने पीपीई, मास्क, ग्लभ्स पर्याप्त छ । तर, संक्रमितको संख्या बढ्दै जाँदा अभाव सिर्जना हुने एक चिकित्सकले जानकारी दिए ।
हालसम्म पाँचै जनाको अवस्था सामान्य रहेको तर कोरोना भाइरस निर्मुल भइनसकेको कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । बिरामीहरुको लक्षण जटिलता नभएको उपचारमा संलग्न चिकित्सक शेरबहादुर कमरले बताए । उनले भने, "पहिलो संक्रमितलाई ज्वरो आइरहेको छ भने खोकीको एलर्जी छ । अन्यको अवस्था सामान्य छ । सुरुआतभन्दा सुधारको अवस्था छ ।"
तत्काल व्यवस्था नगरिए स्थिति भयावह !
कोरोना संक्रमण एकैपठक हजारौंलाई पनि हुनसक्ने भएकोले सुदूरपश्चिममा तत्काल स्रोतसाधन र सावधानीका साथ आवश्यक उपकरणको व्यवस्था नगरिए स्थिति भयावह हुने देखिन्छ ।
कोरोना भाइरसले फोक्सोमा आक्रमण गर्छ । स्वास फेर्न निकै गाह्रो हुन्छ । त्यस्तो बेलामा बिरामीलाई आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, सुदूरपश्चिममा एकैपटक धेरैलाई आईसीयू र भन्टिलेटरमा राख्नुपर्ने स्थिति सिर्जना भएमा प्रदेश सरकार मुख दर्शक बन्नेछ भने संक्रमितले दुर्भाग्य व्यहोर्नुपर्ने हुनसक्छ ।
३३ जना चिकित्सक टोली पुग्यो सुदूरपश्चिम, कुन जिल्लामा कति ?
अस्पतालमा इमर्जेन्सीसहितका अन्य १०-१५ जना बिरामीहरु नियमित आइरहेको अस्पतालका प्रवक्ता डा. जोशीले बताए । नियमित इमर्जेन्सीसहितका बिरामीहरु आइरहेका कारण केही चिकित्सकहरु नियमित बिरामीको उपचारमा खटिनुपर्ने हुन्छ । कोरोना संक्रमितको उपचारमा खटिने बिरामीहरुले अन्य बिरामीहरु हेर्न मिल्दैन । त्यसका कारण चिकित्सक अभाव हुनेस्थिति पनि सिर्जना हुन्छ ।
केन्द्र सरकारले शुक्रबार ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम पठाए पनि ती सबै चिकित्सकहरु विभिन्न नौ जिल्लामा परिचालन हुनेछन् । यदि संक्रमितको संख्या एकाएक बढेमा अहिलको चिकित्सकको स्रोतले पनि धान्ने स्थिति नभएको फिजिसियन डा. कमर बताउँछन् ।
उनले भने, "अहिले उपलब्ध स्रोतहरु उपचारमा रहेका कोरोना संक्रमितका लागि ठिक्क छ । तर, कोरोना संक्रमणको अवस्था थपिँदै गएमा चिकित्सकहरु अभाव त हुने नै छन् भने अर्कातिर स्रोत र साधनसमेत अभाव हुनेछ ।"
पहिलो पटक कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकीय टोलीले १०-१२ जना चिकित्सकको कोरोना जाँच गरिएको र उनीहरुको नतिजा अहिले नेगेटिभ देखिएको छ । भोलि चिकित्सकलाई नै संक्रमण हुने स्थिति भएमा अवस्था विकराल हुनेछ । यी सबै समस्याको समाधानका लागि प्रदेश सरकार तयार रहेको देखिँदैन ।