site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 साथीहरु भन्थे – ९९ पैसा सापट लिएको छस् !
SkywellSkywell

काठमाडौं । वाल्मीकि क्याम्पसबाट उनले अध्यापन सुरु गरे । संस्कृत, संस्कृति र इतिहासका ज्ञाता उनले आफूले जानेको कुरा विद्यार्थीलाई सिकाउन थाले । संस्कृतका विभिन्न विषयमा दख्खल भएकाले उनी आफूले जानेको ज्ञान झिँझो नमानी सिकाउँथे ।

सहायक प्राध्यापकदेखि पढाउन सुरु गरेका दिनेशराज पन्त (७१) पछि प्राध्यापक भए । आफ्नो जीवनको लामो समय वाल्मीकि क्याम्पसका विद्यार्थीलाई सिकाउनमा नै खर्च गरेका पन्त, आज पनि केही रमाइला र रोचक प्रसंग सम्झिन्छन् ।

२०३१ सालदेखि ०६९ सम्म पढाउँदा कलेजमा उनले हाजिरी दस्तखत नगरेर वा अघिल्लो दिनको हाजिरी अर्को दिन गरेर पढाएनन् । हाजिर गरे पछि मात्रै उनले पढाए । जबकि धेरैजसो शिक्षक भोलिपल्ट वा पर्सिपल्ट गएर हाजिर गर्थे ! 

KFC Island Ad
NIC Asia

उनी क्याम्पस पुगेपछि विद्यार्थी उनको कोठामा आउँथे । कोही न कोही उनको कोठामा पसेपछि उनी कक्षा कोठामा जान्थे । विद्यार्थीलाई पढाउँथे । बुझ्न कठिन भए विद्यार्थी आफै पन्तको कोठामा आउँथे । सिक्थे । बुझ्थे । उनी ती विद्यार्थीलाई सबै कुरा सम्झाएर बुझाएर पढाउँथे । उनले विद्यार्थीको शिक्षालाई नै विशेष महत्त्व दिए । 
मंगलबार अपराह्न प्रज्ञा प्रतिष्ठानको आफ्नो कार्यकक्षमा कुरा गर्दै उनले भने, “मैले कहिले काँही आफ्नो विषयको किताब नपाइएको अवस्थामा आफूसँग भएको किताब नै विद्यार्थीलाई दिएर पठाउँथेँ । यसले गर्दा कतिपय शिक्षकले त ‘दिनेशले हामीलाई डाउन गर्न विद्यार्थीलाई किताबै दिएर पढाउँछ’ भन्नसम्म पनि भ्याए । तर यथार्थमा मेरो उद्देश्य नै विद्यार्थीले बुझेर पढुन् भन्ने नै हुन्थ्यो ।”

प्राध्यापक पन्तको दृष्टिमा विद्यार्थीको पढाई नै प्राथमिकतामा भएकाले विद्यार्थीलाई राम्रो शिक्षा दिनमै उनी तल्लीन रहे । यदि त्यस्तै सबैले गर्ने भए नेपालको शिक्षा बलियो हुने र विद्यार्थी झनै विद्वान् हुने उनको तर्क छ । 

Royal Enfield Island Ad

इतिहासविद् प्राध्यापक पन्तका अनुसार २०३६ सालसम्म विद्यार्थीहरू राजनीतिमा बढ्ता लागेर भरसक पढ्न नपरे हुन्थ्यो भन्नेतिर सोच्थे । तर पछिको समयमा भने विद्यार्थीले पढ्न चाहे पनि शिक्षकले पढाउन नचाहेको देखिन्छ । किनभने विद्यार्थीको पढाइ भन्दा शिक्षकहरूले जागिरलाई मात्रै प्राथमिकतामा राखे ।

तर उनको प्राथमिकतामा सधैँ विद्यार्थी नै अगाडि रहे । त्यसैले उनले धेरै विद्यार्थीलाई तिमी भने पनि, कडा बोले पनि, ती विद्यार्थीले तिनको हमेसा सम्मान नै गरे । 

उनले एउटा रोचक प्रसंग सुनाए, “एक दिन बिहानै म आफूले पढाउने विषयका लागि अपडेट हुँदैथिएँ । ‘कल्चर’ पढाउनु थियो । त्यसको एउटा क्लास थियो । मेरी गृहिणीले केही कुरा गरिन् । मैले ‘एकैछिन् म पढाउनका लागि तयारी गर्दैछुँ’ भनेँ । अनि उनले भनिन्, ‘किताब हेरिहेरी पनि विद्यार्थीलाई पढाउने हो त । त्यसो त नजान्नेले पो गर्छन् !”

उनको यो भनाइले विद्यार्थीलाई ज्ञान दिने शिक्षक आफैमा दक्ष हुनुपर्ने देखाउँछ । र, यही कर्ममा उनी सधैँ लागिरहे ।

०००

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, प्राध्यापक दिनेशराज पन्त काठमाडौंका पुराना बासिन्दा हुन् । उनको जन्म काठमाडौंको केन्द्र, ओटु सवलबहालमा भयो र बाल्यकाल त्यहीँ बित्यो ।  

पन्तले त्यो ठाउँ चिनाए । उनका अनुसार, नयाँसडकबाट प्युखातिर लागेपछि महाबौद्धतिर जाने मोडको बाटो हुँदै चोक आउँछ । त्यो चोक अहिलेको खासा बजारका रूपमा चर्चित छ । यही सबलबहाल चोकमा उनको बालवय बितेको हो । उनी ५३ वर्षको हुँदासम्म पनि यही पुख्र्यौली थलोमा आउजाउ हुँदैैथियो । किनभने उनको घर जावलाखेलमा पनि भएकाले त्यहाँ पनि बस्थे । अहिले उनी काठमाडौंकै धुम्बाराहीमा बस्छन् ।

प्राध्यापक नयराज पन्त र बुद्ध कुमारीका कान्छा छोरा हुन् दिनेशराज । उनी पाँच वर्षको हुँदा उनको आमाको निधन भयो । त्यसबेला उनकी बहिनी जम्मा २८ दिनकी थिइन् ।

यतिबेलै उनले पिताजीसँग जोडिएको एउटा रोचक प्रसँग सुनाए । उनको आमाको निधन हुँदा उनका पिताजीको उमेर चालीस वर्षको थियो । यो घटना २०११ सालको हो । दिनेशराजकी आमाको निधनपछि उनका पिताजीलाई धेरैले अर्को बिहे गर्न कर गरे । तर उनका पिताजी दोस्रो विवाहका विरोधी थिए । र, आफ्नो विचारमा दृढ पनि । अरु कसैले दोस्रो बिहे गर्दा त उनका पिताजी त्यो बिहेमा जाँदैनथे भने आफैंले दोस्रो बिहे कसरी गर्थे ! त्यसैले उनले दोस्रो बिहे गरेनन् । न त यतातिरै कहिल्यै सोचे ।

प्राज्ञ पन्त भन्छन्, “तपाईलाई आश्चर्य लाग्ला, मेरा पिताजीलाई लागि दोस्रो बिहे गर्ने व्यक्ति कहिल्यै पनि मन परेनन् । त्यस्ता व्यक्तिसँग पिताजीले कहिल्यै सम्पर्क गर्नुभएन । मौका मिल्दा दोस्रो बिहे गर्नेलाई सार्वजनिक रूपमै यस्तरी पेल्नु हुन्थ्यो, ती व्यक्ति गलित हुन्थे । ती मानिस घर तिरका हुन वा ससुराली तिरका । जबकि त्यसबेला दोस्रो बिहे गर्ने चलन नै थियो । तर कसैको पनि दोस्रो बिहेमा जानु भएन । सायद बुवाको पछि लागेरै होला, म पनि कैयन दोस्रो बिहेमा गएको छैन ।”

उनका पिताजी बनारसको विश्वविद्यालयबाट दीक्षित थिए । त्यहाँ पढ्दा नै उनका पिताजीले धेरै व्यावहारिक कुरा पनि थाहा पाए । उनको पिताजीलाई जाँचमा कहिले पनि गाह्रो भएन, तर कहिले काहीँ परीक्षकहरूमा नै उनले दोष देखे । 

उनका पिताजीलाई लाग्यो, यसरी त कसैले पनि राम्ररी विद्या आर्जन गर्न सक्दैनन् । त्यसबेला भारतमा स्वतन्त्रता संग्रामको वातावरण थियो । राजनीतिप्रति सचेत उनका पिताजी, कहिले काँही नेताहरूको भाषण सुन्न गइरहन्थे । 

उनका पिताजी भन्थे अरे, ‘विद्वान्का रूपमा हिँडेको मान्छेले कि त अर्को पेसामा जानु पर्‍यो । धार्मिक कुरामा आफ्नो आस्था राख्नु पर्छ । तर पुजाकोठा बाहिर धर्मलाई ल्याउने मानिस पनि सच्चा विद्वान् होइन’ । 

दिनेशराजको मामाघर सम्पन्न थियो । मामाको घर बनारसमा पनि थियो । उनको मामाघरको परिवारका कतिपय व्यक्ति बनारसमा नै बस्थे । त्यसैले उनका पिताजी पढ्न बनारस गएका थिए । 

दिनेशराजका अनुसार उनको ठाइँँलो मामा नेपालको नोटमा पहिलो पटक सही गर्ने व्यक्ति हुन्, खजाञ्ची नरेन्द्रराज । मोरु एकमा उनको सही छापिन्थ्यो ।

दिनेशराजले पिताजीको प्रसंग उल्लेख गर्दै पिताजीलाई शिक्षाको क्षेत्रका केही फरक काम गर्नुपर्‍यो भन्ने अनुभूत भयो । अनि उनका पिताजी प्रा. नयराज पन्तले पुरानै पद्दतिलाई शैक्षिक क्षेत्रमा प्रस्तुत गर्ने सोचाइ बनाए ।

त्यसमा वैदिक पद्दतिका ग्रन्थ कन्ठस्थ गर्ने अनि अनुसन्धान गर्दै आफ्नो अध्ययनलाई अगाडि बढाउँदै जाने परम्पराको सुरुआत गर्ने सोचे । जरामै पुगेर अनुसन्धान गर्ने पद्दति हराउँदै पाश्चात्य शैलीको अनुसन्धान मौलाउँदै गएकाले पनि प्रा. नयराजले काठमाडौं फर्किएपछि बेग्लै स्वरुपको शिक्षालय खोल्ने दृष्टिकोणलाई पूर्णता दिए । 

दिनेशराजका पिताजी १९९५ सालमा काठमाडौं फर्किए । र १९९७–९८ तिरबाट वृत्तिका लागि रानीपोखरी संस्कृत पाठशालामा पढाउन सुरु गर्दै ‘संशोधन मण्डल’ शिक्षा पद्दतिको सुरुआत गरे । जहाँबाट धेरै मानिस शिक्षित दीक्षित भएको दिनेशराज पन्त बताउँछन् । दिनेशराजका अनुसार संशोधन मण्डल शिक्षा पद्दतिबाट पूरा अध्ययन गरेर बाहिरिएका युवाहरूलाई स्नातकोत्तर पढाइ सरहको मान्यता थियो । 

प्राध्यापक दिनेशराज भन्छन्, “म पिताजीको शिक्षा पद्दति चरम सीमामा पुगेको बखतमा जन्मिएको थिएँ । र पिताजीबाट प्रतिपादित सोही शिक्षा पद्दतिका माध्यमबाट म शिक्षित दीक्षित हुँदै गएँ । त्यो शिक्षा पद्दतिको कान्छो विद्यार्थी नै म हूँ ।” 

प्राध्यापक दिनेशका अनुसार एकजना वैद्यराजले उनलाई भनेका थिए रे, ‘‘मलाई बाल्यकाल पनि आएन । यौवन पनि आएन । एकैपटक ‘बार्धक्य’ आयो ।’’ त्यस्तै दिनेशराजको पनि सामान्य मानिसकोजस्तो बाल्यकाल भएन ।

उनले त्यसरी नै पढ्दै र अनुसन्धान गर्दै आफ्नो शिक्षा अगाडि बढाउँदै लगे । सोही पठन पद्दतिले नै होला, उनी सात आठ वर्षको हुँदा उनले धेरै किताब पढिसकेका थिए । धेरै अनुसन्धान गरिसकेका थिए ।

०००

‘संशोधन मण्डल’को शिक्षा पद्दति भनेकै कुनै पनि शैक्षिक वस्तुको वा सन्दर्भको जडमा पुग्नु रहेको प्राध्यापक दिनेशराज पन्त बताउँछन् । जरासम्म पुगेर तत् विषयमा अनुसन्धान गर्नु र त्यसका बारेमा जान्नु नै उक्त शिक्षा पद्दतिको  मूल ध्येय हुन्थ्यो ।

सो पद्दतिमा हरेक विषयको पाठ्यक्रम तयार गरिन्थ्यो । संस्कृत, संस्कृति, इतिहास, नेपालीलगायतका धेरै विषय पढ्नु पथ्र्यो । र यही शैक्षिक पद्दतिबाट उनले अध्ययन अनुसन्धान गर्दै स्नातकोत्तरसम्मको अध्ययन पूरा गरे ।

उनका अनुसार बाल्यकालमा साथी पनि उनका धेरै थिएनन् । त्यसको कारण पढाइ नै थियो । उनको पढाइ सोही उमेरका साथीहरूको तुलनामा माथिल्लो भएकाले पनि उनको संगत आफूभन्दा पाकाहरूसँग हुन्थ्यो । पढाइका कारण खरोसँग गलतलाई गलत भन्न सक्ने भएकै कारण धेरैलाई यो कुरा पच्दैनथ्यो । त्यसैले कि त साथी बन्थेनन् । कि त रिसाउँथे ।

दिनेशराजले हाँस्दै सुनाए, “एक पटक त्यसबेलाका कुनै मन्त्रीले गलत लेखेको कुरा ‘संशोधन मण्डल’ शिक्षा पद्दतिबाट दीक्षित व्यक्तिले भनिदिएछन् । त्यसबेला ती मन्त्री नै रिसाए ।”

प्राध्यापक दिनेशराज पन्तका अनुसार त्यसबेला विद्यालयमा दिइने शिक्षालाई ‘त्रिखण्डी पद्दति’ मान्थे उनका पिताजी । कुनै पनि विषयको मूल्यांकन एक सय नम्बरको हुन्थ्यो । तर, विद्यार्थीले ३३ नम्बर ल्याउँदा पनि पास हुने चलन थियो । अर्थात् तीन खण्डको एक खण्ड मात्रै पढेर पनि पास भइन्थ्यो । उनका पिताजी यसलाई पूर्ण शिक्षा मान्दैनथे । पूर्ण शिक्षा भनेको त १ सय नम्बरमा विद्यार्थीले कम्तीमा ९०–९५ त ल्याउनै पर्छ भन्ने थियो । 

त्यसैले पूरा विषय पढेर अनुसन्धान गरेर त्यस विषयमा विज्ञ भएर लिएको ज्ञान नै पूर्ण ज्ञान भएको मान्दै दिनेशराजका पिताजीले ‘त्रिखण्डी शिक्षा पद्दती’को विरोध गर्दै चुनौती दिए । र आफूले थालेको शिक्षा पद्दतिलाई पूर्णता । 

दिनेशराज भन्छन्, “पिताजी भन्नुहुन्थ्यो सय नम्बरको जाँच हुन्छ, ३३ नम्बरमै पास भइन्छ भने सय नम्बरको किताब नै किन बनाइयो ?”

आफूले पढ्दाको समयको एउटा सन्दर्भ दिनेशराजले सुनाए । उनका पिताजीले कायम गरेको शिक्षा पद्दतिमा अष्टमी परेवामा बिदा हुन्थ्यो । त्यसरी पाएको बिदामा उनी कहिले काहीँ सिनेमा हेर्न जान्थे । कहिले घर नजिकैको रञ्जनामा त कहिले अन्त कतै । 

एक पटक उनी सिनेमा हेरेर फर्किए । उनका पिताजी संस्कृतमै भने, ‘कुत्रगत्वा आगतः’ । अनि दिनेशले पनि झुठो नबोली भने, ‘चलचित्रम् दृष्ट्वा आगतः ।’

त्यतिबेला उनका पिताजीले केही भनेनन् । भोलिपल्ट कक्षामा पाठ सुनाउँदा अलिकति पनि तलवितल पर्‍यो कि त उनका पिताजी भन्थे अरे, ‘त्वम् दुष्ट । नपठसी । चलचित्रम् पस्यसी ।’ कहिले काहीँ पिताजीको यस्तो कडा भनाइ उनको भागमा पर्दथ्यो ।

दिनेशराज भन्छन्, “यति गाली खाँदा पनि मैले कहिल्यै झुठो बोलिनँ । मैले झुठो नबोलेको मात्रै होइन, मैले कसैसँग एक पैसा पनि सापट लिइनँ ।” यतिभन्दै गर्दा उनी हाँसे । अनि भने, “पहिले पहिले म एक रुपैयाँ पनि सापट लिएको छैन भन्थेँ म । अनि मेरा साथीभाइ भन्थे ‘त्यसो भए तैले ९९ पैसा सापट लिएको छस्’ । त्यसपछि मात्रै मैले एक पैसा पनि सापट लिएको छैन भन्न थालेँ ।”

०००

सानैदेखि किताबमा झुम्मिने बानी लागेका उनी आज पनि किताबमै झुम्मिन्छन् । अहिले पनि कुनै किताब उनको हातमा परेको छ भने त्यो किताब अद्योपान्त पढेर सिध्याउँछन् । अनि मात्रै उठछन् । उनको बानी नै छ, किताब हात परेपछि त्यसलाई सिध्याएरै छोडने ।

पढ्ने मात्रै होइन, उनी लेख्छन् पनि । लेख्नमा पनि उनको क्रियाशीलता उस्तै छ । अहिलेसम्म दिनेशराज पन्तको ४३ वटा किताबहरू प्रकाशन भइसकेका छन् । त्यसमा कुनै संयुक्त छन् त कुनै एकल । 

प्राज्ञ दिनेशलाई किताब लेख्दा ‘स्त्रीबेथा’ लाग्दाको जस्तै अवस्था हुन्छ । ‘ह्रस्व दीर्घ बिग्रियो कि ? विषय र भाव मिलेन कि ? दिनेशराज पन्तले लेखेको हो । नयराज पन्त पनि आफ्नो नामसँग जोडिन्छन् ।’ त्यसैले पुस्तक लेख्दा उनलाई साहैं गाह्रो हुन्छ । 

उनी भन्छन्, “तर पनि म लेख्छु । किनभने लेखपढ नै मेरो काम हो । मलाई लेख्न र पढ्नमा नै आनन्द आउँछ ।” 

०००

बितेको ४० वर्षदेखि सुगरसँग लडिरहेका दिनेशराज एक पटक स्वास्थ्य जँचाउन भेलोर गए । लेखपढ गर्ने मानिस । भेलोरमा पनि फुर्सद मिल्यो कि लेख पढमा भिड्थे । एक पटक कसैले उनको विषयमा कुरा गर्दै उनी ‘प्रोफेसर’ भएको सुनाए । त्यसबेला प्रोफेसरको तलब १४ हजार रुपैयाँ थियो ।

खरोखास कुरा गर्ने दिनेशराजले कुराकानीकै क्रममा प्रोफेसरको तलब १४ हजार भएको सुनाए । भेलोरका ती मानिस छक्क परे । उनले भनेछन्, ‘हैन सर, यहाँ त प्रोफेसरलाई कम्तीमा पनि ८० देखि १ लाख २० हजारसम्म दिन्छन् ।’

तर जेजस्तो भए पनि आफूले पाएको जिम्मेवारी पूरा गर्नुनै आफ्नो दायित्व भएकाले आफूले जुनै अवस्थामा पनि विद्यार्थीको पढाइलाई नै विशेष ध्यान दिएको बताउँछन् ।

उनले संस्कृत पढे । संस्कृत र संस्कृति पढाए । यद्यपि, उनी इतिहासविद्का रूपमा पनि चिनिन्छन् । दिनेशराजको भनाइ अनुसार उनले प्राप्त गरेको शिक्षा पद्दति नै यस्तो थियो, जहाँ इतिहासको मूल जरोसम्म पनि पुग्नु पथ्र्यो । र इतिहास पनि सिक्नु पर्दथ्यो । जडमा पुगेर अनुसन्धान गर्नु पनि इतिहासको नै एउटा पाटो भएको उनी बताउँछन् ।  

प्राध्यापक दिनेशराज पन्त भन्छन्, “हामीले पढेको इतिहासको पढाइ र अरुको इतिहास पढाइमा निक्कै फरक छ । अरुले अर्काले लेखेको इतिहास पढे । त्यसमा दिइएको प्रमाणलाई नै प्रमाण माने । तर हामीले शिलालेख खोजेरै त्यसमा उल्लेखित भाषा र लिपिको अर्थ खाज्यौं । बुझ्यौँ र इतिहास पढ्यौं । हामीले पुराना सामग्रीबाटै सबै कुरा सिक्दै गएका हौं । हामीले संस्कृत पढ्दा पनि मूल सामग्रीमा नै गएर पढेकाले इतिहासमा हाम्रो पकड बढ्नु अस्वाभाविक होइन ।”

प्रज्ञा प्रतिष्ठानमा दोस्रो कार्यकाल प्राज्ञ रहेका प्रा. दिनेशराज पन्त यतिबेला सामाजिक शास्त्र विभागको जिम्मा लिएर बसेका छन् । कामको चटारोमै भए पनि पुस्तक पाउँदा उनी त्यो पढेरै सिध्याउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro