काठमाडौं । सन् २०१९ को बिदाइ र २०२० को स्वागतका लागि तयारी गरिरहेको विश्वलाई एकाएक विचलित बनाइदियो, कोरोना भाइरसले ।
चीनको हुबेई प्रान्तको वुहानमा डिसेम्बर ८ मा कोरोनाभाइरसको लक्षण भएको पहिलो बिरामी भेटिएका भए पनि त्यसको एक महिनापछि जनवरी ७ मा मात्र उक्त भाइरस कोरोना नै भएको चीनले स्वीकार गर्यो ।
जनवरी ८ मा पहिलो कोरोना संक्रमितको मृत्यु भए पनि चीनले जनवरी ११ मात्र मृत्यु भएको घोषणा गर्यो ।
चीनलगायत हङकङ, ताइबानमा नयाँ वर्षका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिए । एकाएक विश्वभर फैलिएको कोरोना भाइरसका कारण हालसम्म साढे पाँच हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब डेढ लाखभन्दा बढी संक्रमित छन् ।
यसरी नोबल कोरोनाभाइरस अर्थात कोभिड-१९ को संक्रमण तीव्ररुपमा विश्वभर बढ्दै गएपछि जनवरी २९ मा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार अर्थात मार्च १२ मा विश्वव्यापी महामारी भएको घोषणा गर्यो ।
कोरोनाबाट बच्ने विभिन्न उपायहरुको खोजी भइरहेको छ । चिकित्सा वैज्ञानिकहरु पनि कोरोनाविरुद्धको भ्याक्सिनको खोजीमा जुटिरहेका छन् । हालसम्म यसको उपचारका लागि औषधी र भ्याक्सिन पत्ता लागिसकेको छैन । तर, यसबाट बच्न मास्क प्रयोग गर्ने, हाँछ्यु गर्दा मुख छोप्ने, स्यानीटाइजरको प्रयोग गर्ने, राम्रोसँग साबुनपानीले हात धुनेलगायतका सुझाव डब्लुएचओले दिएको छ ।
यसैबीच निकै चर्चामा छ - 'नमस्ते' । हात मिलाउँदा संक्रमण हुनसक्ने भन्दै विश्वभरका नेता र उच्च पदस्थ व्यक्तिहरुले नमस्ते गरेका भिडियो भाइरल भइरहेका छन् । कोरोना संक्रमणको त्रासले एकअर्कालाई स्पर्श नगर्न र बिरामीबाट टाढै रहन चीनमा प्रकोप सुरु हुँदादेखि नै सचेत गराइएको थियो । हात मिलाउन नमिल्ने भएपछि चीनमा खुट्टा जोडेर अभिवादन गरेको भिडियो भाइरल भएको थियो । फ्रान्सेली सञ्चारमाध्यमहरुले हात मिलाउन र चुम्बन गरेर अभिवादन गर्ने शैली त्याग्न सुझाव दिएका छन् । एकअर्कामा नाक जुधाएर अभिभादन गर्ने शैली अपनाएको न्युजिल्यान्डले पनि हात जोडेर अभिभादन गर्न आग्रह गरेको छ ।
कुनै व्यक्तिलाई पहिलो पटक भेट्दा हग, हयान्सेक र किस गर्ने संस्कृतिमा रमाइरहेका पश्चिमाहरु अहिले 'नमस्ते' को अस्त्र प्रयोग गरेर कोरोनाबाट बच्ने उपाय अपनाइरहेका छन् । ह्यान्डसेक र हगको बानी परेकाहरुलाई एकाएक दुई हात जोडेर अलि परबाट शिर निहुँराउदै 'नमस्ते' गर्नुपर्दा हात मिलाउने र अंकमाल गर्न अघि सरेकाहरु करेन्ट लागेजस्तै गरी झस्किएर पछि सर्दै नमस्ते गरेको भिडियो क्लिपहरु झन रोचक देखिन्छन् ।
बिहीबार मात्र बेलायती राजपरिवारबाट सार्वजनिक गरिएको एउटा भिडियोमा युवराज चार्ल्सले आफूसँग हात मिलाउन खोज्ने पाहुनाबाट तर्किँदै दुई हात जोडेर नमस्ते गरिरहेका थिए । प्रिन्सेज ट्रष्ट अवार्ड समारोहमा उनी दुईपटक हात मिलाउन खोज्दै झुक्किएर पुनः नमस्ते गरिरहेका देखिन्थे ।
त्यसैगरी शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि हृवाइट हाउसबाट ‘नमस्ते’ गर्दै थिए जहाँ आयरल्याण्डका प्रधानमन्त्रीले पनि नमस्तेबाटै ट्रम्पलाई अभिवादन फर्काएका थिए ।
ट्रम्पले नमस्ते संस्कार भारतबाट सिकेको बताएका थिए ।
इजरालयका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसअघि नै अभिभावदन गर्दा भारतीयहरुले गर्ने अभिवादन शैली नमस्ते गर्न देशवासीलाई आग्रह गरेका थिए ।
पश्चिमा नेताहरु भारत आउँदा होस् अथवा भारत र चीनका नेताहरु नेपाल आउँदा होस्, अपनत्वको अनुभूत गराउन सम्बोधनको सुरुआत 'नमस्ते' बाट गर्छन् ।
१८ असोज २०७१ मा पहिलो पटक प्रधानमन्त्री भएपछि नेपाल आएका नरेन्द्र मोदीले नेपालको संसदमा 'नमस्ते' गर्दै आफ्नै सम्बोधन सुरु गरेका थिए ।
नेपाली अखबारहरुले नमस्तेलाई नै विशेष प्राथमिकतासाथ प्रकाशन गरेका थिए । त्यसैगरी २०७६ असोज २५-२६ मा नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि नमस्ते गर्दै आफ्नो सम्बोधनको सुरुआत गरेका थिए । फेब्रुअरी २४-२५ अर्थात २०७६ फागुन १२-१३ मा भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्बोधन सुरुआत 'नमस्ते' बाटै गरेका थिए ।
अहिले नमस्ते नेपाली अथवा भारतीय कसको संस्कृति हो भन्ने अघोषित वैचारिक द्वन्द्वजस्तो पनि देखिन्छ । नमस्तेलाई नेपाल तथा भारत दुबैले उही शैलीमा भने पनि नेपालमा यसको प्रयोग भने व्यापक छ ।
पछिल्लो समय नेपालीहरु पनि हेलो, ह्यान्डसेक र हगको युगमा प्रवेश गर्नतिर अग्रसर हुँदै पश्चिमा संस्कृतिको वचर्श्व बढ्दै गएका बेला बेलायती र अमेरिकीहरु भने विपत्तिबाट जोगिन अथवा कोरोनाबाट बच्न पूर्वी सभ्यताको रुपमा रहेको 'नमस्ते' तिर फर्किएका छन् ।
करिब एक शताब्दीभन्दा अघि नेपालबाहेक दक्षिण एसियाका सबै भूभागमा बेलायती उपनिवेश थियो ।
त्यससमयमा भारतसहितका दक्षिण एसियामा नमस्तेभन्दा पनि हेलो, ह्यान्डसेक र हग नै प्रचलित हुँदा नेपालमा भने नमस्ते कायम थियो ।
श्रीलंकाका एकजना लेखक नकाला गुणवद्धानेले नमस्ते दक्षिण एसियाको प्राचिन अभिवादन शैली भएकोले 'नमस्ते' नै कोरोना संक्रमण मुक्त रहने अभिवादनको शैली रहेको बताएका छन् । बेलायती पत्रिका गार्जियनले दी इन्ड अफ ह्यान्डसेक (हात मिलाउने समयको अन्त्य) (https://www.theguardian.com/world/2020/mar/03/the-end-of-the-handshake-saying-hello-during-the-coronavirus-outbreak) शीर्षकको आलेख प्रकाशन गरेको छ । उक्त आलेखमा चीन, फ्रान्स, अस्ट्रेलिया, ब्राजिल, स्पेन, रोमानिया, पोल्यान्ड, इरान र युएईमा पनि ह्यान्डसेक नगर्न चेतावनी दिइएको उल्लेख छ ।
नमस्ते अर्थात् नमस्कारको अर्थ !
'नमः' को शास्त्रीय अर्थ हो - जोडिएका दुई हात निधारमा पु्र्याई शिरलाई अलिकति झुकाएर गरिने अभिवादन । जसलाई सामान्यतः नमनः, प्रणाम, अभिवादन, नमस्ते, नमस्कार, प्रणति आदि भन्ने गरिन्छ । नमस्तेमा उत्तरोत्तर विशिष्टता थपिँदै जाँदा क्रमशः पादस्पर्श र साष्टाङ्गदण्डवत् हुन्छन् । यही नमस् पदमा तिमीलाई भन्ने अर्थ बताउने ते (सर्वनाम) जोडिएपछि नमस्ते बन्दछ ।
अतः नमस्तेको अर्थ हुन्छ- तिमीलाई नमस्कार । त्यस्तै नमस् पदमा भावार्थक कार जोडिएपछि नमस्कार शब्द बन्छ, यसले पनि नमनको भाव बताउँछ । यी दुवैले सामान्यतः ठूला मानिस र ईश्वरप्रति गरिने अदब, अभिवादन, सम्मान, नमस्क्रिया आदि शिष्टाचार बताउँछन् ।
पूर्वीय संस्कृतिमा सूर्य नमस्कार गरी योग गर्ने चलन छ। बिहान व्यायाम गर्दा शरीरले प्रशस्त भिटामिन डी पाउँछ ।
नमस्कारले हामीभित्र भएको क्रोध र अहंकार पनि हटाउने योगीहरुको तर्क छ ।
सनातन धर्ममा नमस्कार संस्कारलाई सबैभन्दा उत्तम अभिवादन मानिएको छ ।
भारतका जग्गी वासुदेव अर्थात् सद्गुरुका अनुसार हाम्रो शरीरले स्पर्शलाई लामो समयसम्म याद राख्छ । त्यसमा सकारात्मक र नकारात्मक दुवै विचार हुन्छन् । नमस्कारले आत्मादेखि गरेको आदर बुझाउँछ । नमस्कारले दुई व्यक्तिबीचको सम्बन्धलाई आत्मासँग जोड्छ।
नमस्ते र नमस्कारमा कुन राम्रो र उपयुक्त होला भनी खोज्दा देवतालाई अभिवादनका लागि नमस्ते शब्दको प्रयोग गरिएको पाइन्छ ।
वेदसहित उपनिषद्, ब्राह्मणग्रन्थ र विभिन्न पुराणहरूमा समेत देवीदेवताहरूलाई वन्दना, स्तुति, अभिवादन, आराधना, प्रार्थना आदि अर्थमा जतासुकै नमस्ते सम्बोधन गरिएको पाइए पनि तत्समानार्थी नमस्कार भने एकाध ठाउँबाहेक प्रयोग गरिएको छैन ।
नमस्तेको यही प्राचीनता र वैदिकतालाई समातेर आर्यसमाजका अनुयायीहरू विश्वको सर्वप्राचिन, सर्वोत्तम र निर्विकल्प अभिवादन नमस्ते हो भनी तर्क गर्दछन् ।
नमस्कार गर्नुको वैज्ञानिक कारण पनि छन् । दुवै हात जोड्दा औंलामाथि जोड पर्छ र एक प्रकारको एक्युप्रेसर हुन्छ । यसले हाम्रो दिमाग, कान र आँखा सक्रिय बनाउँछ । आफू सामुन्ने आएका व्यक्तिलाई लामो समयसम्म याद गर्न सकिन्छ ।
सफ्ट-पावर नमस्ते !
अहिले कोरोनाले विश्वव्यापी महामारीको रुप लिएपछि नमस्कार अथवा नमस्ते पनि विश्वव्यापी बनेको छ । कोरोनाको कुनै औषधी नभेटिएका बेला यसबाट जोगिने उत्तम विकल्प 'नमस्ते' मानिनु पनि पनि 'पावर'को प्रतीक हो ।
आर्थिक प्रणाली, नीति निर्माण र बलियो रक्षा सामग्रीको पर्याप्ततालाई आधार बनाउँदै यूएस न्युज एन्ड वर्ल्ड रिपोर्टले सन् २०१९ मा सार्वजनिक गरेको तथ्यांकअनुसार संसारका १० बलिया मुलुकमा अमेरिका, रुस, चीन, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स, जापान, इजराइल, साउदी अरेबिया र दक्षिण कोरिया रहेका छन् । हाल यी सबै मुलुकलाई कोरोनाले आक्रान्त पारेको छ । सबै कुरामा सम्पन्न हुँदाहुँदै पनि कोरोनालाई नियन्त्रणमा ल्याउन यी मुलुकहरुले विभिन्न जुक्ती अपनाइरहे पनि पर्याप्त भने हुन सकेको छैन ।
उनीहरुले अपनाएका जुक्तीहरुमा 'नमस्ते' अथवा नमस्कारले व्यापकता पाएको छ । जुन उनीहरुको आफ्नो संस्कृति र अभिभावद शैली होइन । आफ्नो मौलिक अभिभावदन शैलीलाई बिदा गर्दै पूर्वीय सभ्यता नमस्तेलाई कोरोनाविरुद्धको बलियो अस्त्रको रुपमा अर्थात 'सफ्ट पावर'का रुपमा शक्तिशाली मुलुकहरुले प्रयोग गरिरहेका छन् ।
कोरोनाको टार्गेटमा 'हाइ-प्रोफाइल'
चीनमा कोरोना संक्रमितको संख्यामा कमी आए पनि पश्चिमा मुलुकहरु यसबाट निकै प्रभावित बनिरहेका छन् ।
इटालीमा आइतबार एकैदिनमा ३६८ जनाको मृत्यु भयो । जुन अहिलेसम्मकै उच्च हो । चीनमा कोरोना संक्रमितको उपचारमा खटिएका चारजना चिकित्सक र इरानमा स्वास्थ्य विभागका प्रमुखको मृत्यु भयो ।
इरानमा सर्वोच्च नेता अतोतल्या खामेनीका वरिष्ठ सल्लाहकारको पनि मृत्यु भयो ।
बेलायतका स्वास्थ्य मन्त्री, फ्रान्समा संस्कृति मन्त्री, स्पेनको भोक्स पार्टीका महासचिवव, इरानमा २३ जनाभन्दा बढी सांसदलाई कोरोनाको संक्रमण भएको छ ।
त्यस्तै अस्ट्रेलियाका गृहमन्त्री, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडुकी पत्नी, संयुक्त राष्ट्र संघका लागि फिलिपिन्सका प्रतिनिधि, ब्राजिलका राष्ट्रपतिका प्रेस सेक्रेटरीलाई पनि कोरोनाको संक्रमण भएको छ ।
ओस्कार विजेता अभिनेता टम ह्याङ्क्स र उनकी पत्नी अभिनेत्री रिता विल्सनलगायतका हाइ-प्रोफाइललाई पनि कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ ।