ठमेलमा जन्मेकी उनको बाल्यकाल त्यसै क्षेत्रमा बित्यो । उनको घरमा पठन पाठनको वातावरण राम्रो थियो । उनका पिताजीले संस्कृत पढेका थिए । आमा सामान्य साक्षर मात्रै भए पनि आफ्ना सन्तानलाई पढाउनु पर्छ, उच्च शिक्षा दिलाउनु पर्छ भन्ने विषयमा स्पष्ट थिइन् ।
उनको ध्यान छोराछोरीहरूको पढाइमा धेरै थियो । उनकी आमा महिला शिक्षाप्रति उदार थिइन् । आमा जहिले पनि ‘महिलाले पनि पढ्नु पर्छ । पढिलेखी ठूलो मानिस बन्नुपर्छ, भन्नु हुन्थ्यो’ उनले सुनाइन् ।
यसले सधैँ शशिकला सुब्बा (७६) लाई पढाइप्रति उत्साही बनायो । आमाको वचनले उनलाई सधैँ घचघच्याइ रह्यो । भन्छिन्, ‘‘आमा मेरो पहिलो शिक्षक ।’’ उहाँकै प्रेरणाले आफू आज यो स्थानमा आएको उनी गर्वका साथ सुनाउँछिन् ।
मंगलबार सहकर्मी सुनील प्रधानसँग वरिष्ठ स्वास्थ्यकर्मी (नर्स) तथा सुषमा कोइराला नर्सिङ्ग क्याम्पसकी पूर्व क्याम्पस प्रमुख शशिकला सुब्बाको निवास पुग्दा उनले आफू आमाको विशाल सोचका कारण नै यहाँ पुगेको बताइन् ।
उनले भनिन्, “आमामा त्यो दृष्टिकोण कसरी आयो ? मलाई थाहा छैन ! हामी सम्पन परिवारका नै थियौं, उतिखेर । खान लाउन कमी थिएन । आमामा महिलाले पनि पढ्नु पर्छ भन्ने सोच सधैँ रह्यो ।” आमामा रहेको सोही तत्त्वज्ञानले शशिकलाको भविष्य उज्यालो हुँदै गएको थियो ।
तत्कालीन समयमा परिवार नियोजनको चलन थिएन । जति बच्चा भए पनि भगवान्ले दिएको हात थाप्नै पर्छ भन्ने हुन्थ्यो । सायद धेरै सन्तान जन्माउनुको पीडा आमाले भोगेकै कारण, छोरीलाई पनि शिक्षित बनाउनु पर्छ भन्ने सोचाइ आएको हुनुपर्छ, उनी भन्छिन् ।
त्यसबेला सेन्टमेरिज र सेन्ट जेभियर्स स्कुल गोदावरीमा थिए । सहरतिर सरकारी विद्यालयहरू मात्रै । उनको शिक्षादीक्षा पनि सहरकै सरकारी स्कुलबाट प्रारम्भ भयो ।
उनले फेरि पुराना कुरा सम्झिन् । पिताजीको जायजेथा अन्त पनि भएकाले जाडोमा उनीहरू सबै गाउँ जान्थे । उतैको स्कुलमा भर्ना भएर पढ्थे । यसरी शशिकला आफूले धेरै स्कुलहरूमा पढेको सुनाउँछिन् ।
कहिले कुन स्कुल त कहिले कुन । एउटा विद्यालयबाट अर्कोमा जाँदा एक कक्षा उकालेर भर्ना गरिन्थ्यो । यसरी कक्षा बढ्दा बढ्दै उनले १४ वर्षको उमेरमै २०१६ सालमा एसएलसी दिइन् ।
शशिकला भन्छिन्, “आमाले पढ्नु पर्छ भन्नु भएकाले मलाई जसरी पनि एसएलसी पास गर्नुपर्छ भन्ने लागि रहन्थ्यो । हुन त म कक्षामा फस्र्ट हुन्थेँ । तर पनि त्यो समयमा एसएलसी पास हुनु नै पनि ठूलो कुरा हुन्थ्यो !”
०००
उनलाई सुरुदेखि नै नर्सिङ पढ्ने रुची रह्यो । किनभने आठ कक्षामा पढ्दा उनले फ्लोरेन्स नाइटिङ्गलको विषयमा पढेकी थिइन् । नाइटिङ्गलको कथाले उनलाई असाध्यै प्रेरित गरेको थियो । उनको कामका बारेमा पढ्दा मनमा कता कता खुसी भरिएर आउँथ्यो । त्यसैले उनको रुची नर्सिङ पढ्नुपर्नेतर्फ नै रह्यो ।
त्यसताका एसएलसीबाटै नर्सिङ्ग तालिमका लागि कोलम्बो प्लान अन्तर्गत छात्रवृत्तिमा जाने व्यवस्था थियो । उनले पनि त्यसमा आवेदन दिइन् । उनी छनोटमा पनि परिन् ।
त्यसपछि उनी नर्सिङ्ग तालिमका लागि भारतको राजधानी दिल्ली पुगिन् । दिल्लीमा मौलाना आजाद कलेजसँगै एउटा नर्सिङ्ग स्कुल थियो । उनी त्यही स्कुलमा नर्सिङ्ग तालिम लिन थालिन् । यद्यपि त्यो एकेडेमिक कक्षा नभएर तालिम मात्रै भएको उनी बताउँछिन् ।
यो तालिमको अवधि साढे चार वर्षको थियो । त्यो पूरा समय उनले तालिममा बिताइन् । नाइटिङगलबाट प्रेरित भएकैले सिक्नलाई उनले कहिले पनि अल्छी गरिनन् ।
दिल्लीबाट तालिम लिएर काठमाडौं फर्किएपछि उनको जागिरे जीवन सुरु भयो । उनी सरकारी सेवाको स्टाफ नर्स ‘ननगजेटेड फर्स्टक्लास’ मा प्रवेश गरिन् । उनको सुरु नियुक्ति टोखा सेनिटोरियममा भयो । त्यसअघि उनले केही महिना जनस्वास्थ्यका क्षेत्रमा काम गरेकी थिइन् ।
कार्यक्षेत्रले एकेडेमिक अध्ययनलाई अभिप्रेरित ग¥यो । जागिरसँगै अर्को अध्ययन प्रारम्भ भयो । नियमित कलेज जाने अवस्था थिएन । प्राइभेटबाटै आईएको परीक्षा दिइन् । कामप्रतिको जिम्मेवारी र पढाइप्रतिको लगनशीलताले उनलाई कहिल्यै असफलता भोग्नु परेन । राति अस्पतालमा ड्युटी र दिनको पढाइ सँगै भयो ।
शैक्षिक प्रमाणपत्रले अगाडिको मार्ग सहज बनाइदियो । इन्टरमिडिएट पास गरिसकेपछि उनी बीएससी नर्सिङ्ग पढ्न चण्डिगढ गइन् ।
जागिरको कुरा उठाउँदा उनी आफूलाई सुरुमा वीर अस्पतालमा काम गर्न बोलाइएको सम्झछिन् । तर, उनलाई अस्पतालमा काम गर्नुभन्दा जन–स्वास्थ्यका क्षेत्रमा काम गर्न रुची थियो । जन–स्वास्थ्यप्रतिको रुची दिल्लीमा तालिम लिँदादेखि नै बढेको हो ।
टोखास्थित टीबी अस्पतालमा केही वर्ष काम गरेपछि उनको सरुवा महाराजगन्जस्थित कान्ति अस्पतालमा भयो । त्यतिबेला कान्ति बाल अस्पतालमा परिणत भएको थिएन । त्यो अस्पताल रुसी सहयोगमा सञ्चालनमा थियो । जहाँ उनले लामो समय अस्पतालमा रहेर बिरामीहरूको सेवा गरिन् ।
शशिकला भन्छिन्, “मैले आफ्नो जीवन आफैंले बनाउनु छ भन्ने नै सधैँ सोचेँ । मलाई सधैँ मेरी आमाको कुराले अगाडि बढ्न प्रेरित गरिरह्योे । मलाई लाग्थ्यो, कसै गरी पनि अगाडि बढ्नु छ । कान्ति अस्पतालमा कार्यरत रहँदा नै मैले फेलोसिप ट्रेनिङ्ग पनि लिएँ र बीएससी नर्सिङ्ग गर्न चण्डिगढ पनि गएँ ।”
०००
दिल्लीमा पहिलो पटक नर्सिङ्ग तालिमका लागि जाँदाको त्यो समयलाई आफ्नो जीवनको सर्वाधिक रमाइलो समय मान्छिन्, उनी । अझै यसलाई ‘गोल्डेन पिरियड’ नै भन्छिन् ।
त्यसबेला तालिम लिन गएकाले पढ्नु त छँदैथियो । यस अतिरिक्त छात्रवृत्ति वापत आउने पैसाले उनले आफ्ना रुची पूरा गर्थिन् ।
शशिकला सुब्बा भन्छिन्, “त्यो समयमा स्कलरसिप बापत २ सय रुपैयाँ भारु आउँथ्यो । र धोबी र खाना खर्च कटाएर मेरो हातमा करिब १ सय ५० रुपैयाँ जति पर्दथ्यो । काठमाडौंमा रहँदा हातमा पैसा नै हुन्थेन । त्यहाँ हातभरि पैसा हुन्थ्यो । त्यो पैसा मैले सधैंँ रमाइलो गर्नमा, खाना खानमा र लुगा सिलाउनमा नै खर्च गरेँ, तर म आफ्नो नसिङ्ग तालिमको ड्युटी पनि राम्र्रोसँग गर्थेँ । तालिम र ड्युटी पछिको फुर्सदको समयमा आफ्नो रुची हेर्थेँ । वास्तवमा मैले कहिल्यै पैसा बचाउने सोचिनँ । त्यो साढे चार वर्ष खुबै इन्जोय गरेँ । काममा पनि खर्चमा पनि ।”
१४–१५ वर्षको उमेरमा एसएलसी पास गरेर नर्सिङ्ग तालिमका लागि गएकी उनको उमेर रमाइलो गर्ने नै थियो । यद्यपि उनी पढ्न भने पछि परिनन् । पढाइ र तालिममा खुबै ध्यान दिइन् ।
फ्लोरेन्स नाइटिङ्गलको प्रभावले उनलाई गम्भीर बनाएको थियो । त्यसैले आफ्नो जिम्मेवारीलाई उनी महत्त्वपूर्ण मान्थिन् ।
एउटा नर्समा सेवा भावका साथै अथाह करुणा भरिएको हुनुपर्ने उनको भनाइ छ । यदि करुणा हुन्न भने नर्सिङ पेसा गर्न सजिलो नहुने उनको तर्क छ ।
नर्सिङ्ग तालिम लिँदा अस्पतालमा गएर सिक्नु पर्दथ्यो । क्लासमा एकपटक अभ्यास गरेर देखाइन्थ्यो । सिद्धान्त अलिअलि पढाइन्थ्यो । बाँकी त अभ्यास नै तिखार्ने हो, उनले अनुभव सुनाइन् ।
शशिकला भन्छिन्, “हामीले सिक्ने भनेकै अस्पतालमा गएर बिरामीको सेवा गरेरै हो ।”
दिल्लीको एउटा घटना उनी आज पनि सम्झन्छिन् । उनी नर्सिङ्गको दोस्रो वर्षकी छात्रा थिइन् । अस्पतालमा रातिको ड्युटी थियो । सयभन्दा बढी बिरामी थिए । एउटा पियन मात्रै थियो । स्टाफ नर्सहरू पनि थिएनन् । त्यसैबेला एउटा बिरामीलाई अपरेसनका लागि तयार गर्नुपर्ने भयो । पियन पनि कता गए–गए ।
उनले नै बिरामी युवकलाई अपरेसनका लागि तयार गरिन् । सेभिङ गर्नुदेखि लिएर नाकबाट पाइप हाल्नु र स्लाइनका लागि आईभी पनि हालिन् । ती युवक सायद लजाउँदै थिए ।
सुब्बा भन्छिन्, “म त्यसबेला त्यो बिरामीको आमाको भूमिकामा थिएँ । मैले बिरामीको सेवा गर्नु नै पर्छ । त्यहाँ अरु सबै कुरा गौण हुन्छ । वास्तवमा नर्सिङ्ग सेवाको काममा एउटा नर्सलाई ‘बिरामी’ आफ्नो ‘बच्चा’ हो भन्ने अनुभूति हुन्छ । त्यसले मात्रै बिरामीप्रतिको सेवामा नर्सले आफूलाई लगाउन सक्छ ।”
दिल्लीमै भएको एउटा अर्को घटना उनले सुनाइन् । एउटा इमरजेन्सी केस आयो । तत्काल अपरेसन गर्नुपर्ने भयो । अपरेसन थिएटरमा सबै नर्सहरू व्यस्त थिए । तेस्रो वर्षका विद्यार्थी उनीहरू दुई जनामात्रै अस्पतालमा थिए ।
सरदारजी डाक्टर थिए । डाक्टरले ‘तिमीहरूले अपरेसनमा मद्दत गर्न सक्छौ ?’ भनेर सोधे । शशिकलाले ‘जानेका छैनौं तर प्रयास गर्छु’ भनिन् । उनकी साथी कता गइन् गइन् । तर, उनले जे परे पनि सिक्नु छ भन्दै आफू अगाडि सरेर काम सम्हालिन् । ती सरदारजी डाक्टरले अर्को डाक्टरलाई अपरेसन गर्न सिकाउँदै थिए भने
शशिकलालाई सामानहरू दिन ।
उनी भन्छिन्, “यो हिम्मतले मलाई धेरै कुरा सिकायो । म काम सिक्ने विषयमा कहिले पनि पछाडि हटिन ।”
उनको इच्छाशक्ति दह्रो थियो । त्यसैले पनि आफूले पढाउनुभन्दा अगाडि नै धेरै कुरा सिकेको उनी स्वीकार्छिन् ।
शशिकलाका अनुसार एउटा नर्स भएपछि बिरामीको सेवालाई प्राथमिकतामा राख्नुपर्छ । बिरामी भनेको एउटा हेल्पलेस पार्टी हो । डाक्टर र नर्सको हातमा उसको जीवन हुन्छ । यदि डाक्टर र नर्समा करुणा, माया र प्रेम छ भने त्यो बिरामी चाडै निको हुन्छ । खेलाची गर्दा त्यसको असर बिरामीलाई पर्न सक्छ ।
०००
उनी दिल्लीबाट नर्सिङ्ग तालिम लिएर काठमाडौं आइन् । त्यसबेला उनलाई वीर अस्पतालमा काम गर्न भनिएको थियो । तर, उनलाई अस्पतालमा काम गर्नुभन्दा पब्लिक हेल्थका क्षेत्रमा काम गर्ने रुची थियो । त्यसैले अस्पतालमा जागिर खान्न भन्दै पब्लिक हेल्थको काम सुरु गरिन् ।
उनले दिल्लीमा देखेकी थिइन्, लेडी हेल्थ भिजिटर । तिनले घर घरमा गएर बिरामीलाई एडभाइस दिन्थे । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु राम्रो भन्ने सोचका साथ त्यो काम हुँदैआएको थियो । उनले काठमाडौंमा त्यो काम सुरु गरिन् । तर, उनलाई सरकारी सेवामा आउन लेखेको रहेछ । उनले टोखा सेनेटोरियममा काम गर्ने गरी जागिर पाइन् ।
त्यसबेला उनी टोखा जाँदा हिँडेरै जान्थिन् । हुन त उनी अस्पतालको क्वाटरमा नै बस्थिन् । तर, शुक्रबार घर आउँदा र आइतबार टोखा जाँदा पैदल नै जाउआउ गर्नुपर्दथ्यो ।
त्यसबखत उनको तलब ४ सय रुपैयाँ थियो । त्यो पैसाले पुग्थ्यो पनि । आज त त्यसबेलाको तलब सपना जस्तो लाग्ने उनी बताउँछिन् ।
टोखाबाट उनको सरुवा कान्ति अस्पतालमा भयो । कान्तिलाई पछि बाल अस्पताल बनाइयो । शशिकला सुब्बाका अनुसार बाल अस्पतालको आवश्यकता महसुस गरिएकाले कान्तिलाई बाल अस्पतालका रूपमा विस्तार गरिएको थियो ।
उनले दुवैमा काम गरिन् । उनलाई बच्चाहरूप्रति औधी माया थियो । उनी अस्पतालमा आउने बच्चाहरूको खुबै सेवा गर्थिन् । त्यसैले त उनी भन्छिन्, ‘नर्सिङ सेवामा लागेकाहरूमा दया माया प्रेम हुनैपर्छ ।’
कान्ति बाल अस्पतालमा काम गर्दाको एउटा प्रसंग उनले सुनाइन् । एउटा बच्चा तीन चार तलाबाट तल झरेकाले अस्पतालमा ल्याइएको थियो । उनी त्यहीँ थिइन् । बच्चा माथिबाट झरेको भनेपछि उनले फर्म भर्ने औपचारिकता पूरा गर्न नलगाई सिधै बच्चालाई उपचार गर्नतर्फ लागिन् । यसरी समयमा नै उपचार भएकाले त्यो बच्चा बाँच्यो ।
उनी भन्दैथिइन्, “आज पनि ती बच्चा कि आमाले मलाई भेट्दा भन्छिन्, ‘तपाईंले मेरो बच्चालाई बचाई दिनुभयो ।’ त्यसैले बिरामीको केस कस्तो छ भन्ने विषयमा डाक्टर र नर्स दुवै चनाखो हुनुपर्छ भन्ने मलाई लाग्छ । त्यसबेला मलाई मेरो आत्माले अह्राएको थियो, ‘पहिले यो बच्चाको उपचार गर ।”
‘‘हुन त बच्चाको उपचार गर्न गाह्रो हुन्छ । बच्चाले बोल्न नसक्ने र केही बताउन नसक्ने भएकाले धेरै कुरा डाक्टर र नर्सले नै बुझ्नुपर्छ,’’ शशिकलाले भनिन्, “बिरामीको सेवा गर्नुपर्छ । सेवा गर्दा करुणा र माया पनि हुनुपर्छ । करुणा नहुँदा गाह्रो हुन्छ । हरेक नर्समा करुणाका अतिरिक्त सजगता पनि आवश्यक हुन्छ । वास्तवमा हामीले हमेसा सजग हुनुपर्छ ।”
उनका अनुसार कहिले काहीँ नर्सहरूले डाक्टरहरूलाई पनि करेक्सन गर्छन् । किनभने बिरामीको नजिक धेरै समय नर्स नै हुन्छन् । र डाक्टरहरूले यसलाई मानेको पनि उनी सुनाउँछिन् ।
०००
टोखा अस्स्पतालबाट सुरु उनको सरकारी जागिर करिब साढे ३६ वर्षसम्म रह्यो । यस अवधिमा उनले कान्ति अस्पतालमा मात्रै १९ वर्ष काम गरिन् । बाँकी समय उनको विभिन्न जिल्लाका अस्पतालहरूमा बित्यो ।
उनका पति प्रहरी सेवामा थिए । पतिको सरुवासँगै उनी पनि स्थानीय अस्पतालमा काम गर्न पुग्थिन् । यसरी कहिले बुटवल पुगिन् त कहिले कलैया अनि कहिले महेन्द्रनगर उनका सेवा क्षेत्र बने ।
सरकारी जागिरले उनलाई केही अवसर दियो । उनी सेकेन्ड क्लास अधिकृतसम्म भइन् । र पेन्सनकासाथ अवकाश लिइन् ।
सरकारी जागिरबाट अवकास लिएपछि उनी केही गर्ने सोच्दै थिइन् । त्यसैबेला सुषमा कोइराला नर्सिङ कलेज स्थापना भयो । क्याम्पस प्रमुखको प्रस्ताव आयो । उनले संस्थापक प्रिन्सिपलको जिम्मेवारी पाइन् । जहाँ उनले तीन वर्षको समय बिताइन् ।
त्यसपछि उनी होली भिजन टेक्निकल क्याम्पसमा पनि प्रमुख भइन् । यसरी निजी क्षेत्रका क्याम्पसहरूमा रहेर उनले करिब साढे १३ वर्षको समय बिताइन् । ती कलेजहरूमा रहँदा उनले नर्सिङ्ग पढ्न आउनेहरूलाई आफूले जानेको ज्ञान र अनुभव बाँडिन् ।
उनी भन्छिन्, “हरेक नर्सका लागि पेसेन्ट उसको मन्दिर हो । त्यही सम्झेर काम गर्नसक्नु पर्छ एउटा नर्सले । र अर्को कुरा, एउटा नर्स सबैभन्दा कुशल गृहिणी र आमा पनि हो । किनभने एउटा नर्सलाई सारा कुरा थाहा हुन्छ ।”
नर्सिङ्ग सेवामा लामो समय बिताएकी वरिष्ट व्यक्तित्व शशिकला सुब्बाका अनुसार नर्सिङ्ग पेसा एकदमै राम्रो पेसा र संसारभरि बिक्ने पेसा हो । यस पेसामा लाग्नेमा करुणा माया र सेवाभाव हुनै पर्ने उनको भनाइ छ ।